काठमाडौँ – बिहानैदेखि आज पनि विभिन्न राजनीतिक, आर्थिक तथा सामाजिक घटनाक्रम चलिरहेका छन् । पछिल्लो चौबिस घण्टामा राजधानी काठमाडौँदेखि देशभरका समाचार अपडेटका साथै अन्तर्राष्ट्रिय र खेलकुदका विभिन्न गतिविधि तथा कार्यक्रम भइरहेका छन् । बिहान १० बजेसम्मका मुख्य १० समाचार यस्ता छन् :
१. सिट बाँडफाँटबारे छलफल गर्न सत्ता गठबन्धनको बैठक जारी
सत्तारूढ गठबन्धनले बनाएको कार्यदलको बैठक आज पनि बसिरहेको छ । गठबन्धनमा आबद्ध दलहरुबीच सिट बाँडफाँडबारे छलफल गर्न बिहान ९ बजे बोलाइएको बैठकमा शीर्ष नेताहरूसमेत उपस्थित रहेको जनाइएको छ । बालुवाटारमा सुरु बैठकमा सिट बाँडफाँटसहित समसामयिक विषयमा छलफल केन्द्रित हुनेछ । यसअघि हिजो बस्ने भनिएको बैठक माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ चितवन गएकापछि स्थगित गरिएको थियो ।
२. एमालेको पोलिटव्युरो बैठक बस्दै
नेकपा एमालेको पोलिट्ब्युरो बैठक आज बस्दै छ । बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालय च्यासलमा बस्ने बैठकमा भोलिदेखि सुरु हुने केन्द्रीय कमिटीको पाँचौं बैठकका एजेण्डा र समसामयिक राजनीतिक अवस्थाबारे छलफल हुने जनाइएको छ । अध्यक्ष केपी शर्मा ओलीले केन्द्रीय कमिटी बैठकमा प्रस्तुत गर्ने राजनीतिक प्रतिवेदनबारे पोलिटव्युरोलाई जानकारी गराउने कार्यसुची रहेको छ ।
३. एकीकृत समाजवादीले आज पार्टी पुनर्गठन दिवस मनाउँदै
नेकपा (एकीकृत समाजवादी) ले आज पार्टी पुनर्गठन दिवस मनाउने भएको छ । एकीकृत समाजवादीले निर्वाचन आयोगबाट पार्टी दर्ता प्रमाणपत्र पाएको दिनको सम्झनामा भदौ ९ गतेलाई पार्टी पुनर्गठन दिवसको रुपमा मनाउन लागेको हो । पार्टीले गत वर्ष नेकपा एमालेबाट विभाजन भई माधवकुमार नेपालको नेतृत्वमा भदौ ९ गते नयाँ दलको मान्यता पाएको थियो । पार्टीका प्रवक्ता जगन्नाथ खतिवडाले आज दिउँसो १ बजे बानेश्वरस्थित अर्पण बैंक्वेटमा पुनर्गठन दिवस मनाउन लागिएको जानकारी दिए।
४. सुदूरपश्चिमका प्रदेश अध्यक्षले छाडे एकीकृत समाजवादी
नेकपा एकीकृत समाजवादीका सुदूरपश्चिम प्रदेश अध्यक्ष विक्रमबहादुर शाहीले पार्टी परित्यागको घोषणा गरेका छन् । पार्टी पुनर्गठनकै दिन अध्यक्ष शाहीले एकीकृत समाजवादी छाड्ने घोषणा गरेका हुन् । पार्टीको सातौं स्थायी कमिटी बैठकले शाहीलाई प्रदेश अध्यक्षको जिम्मेवारी दिएको थियो । सामाजिक सञ्जालमार्फत शाहीले विगत ५-६ महिनादेखि पार्टी काम छाडेर निष्क्रिय रहेको भन्दै आजबाट कुनै दलसँग आबद्ध नरहेको घोषणा गरे ।
५. अग्निपथ योजनामा नेपाली युवा भर्ती नगर्न भारतलाई नेपालको आग्रह
भारतीय सेनाको ‘अग्निपथ’ योजनामा नेपाली युवा भर्ती नगर्न नेपाल सरकारले भारतलाई आग्रह गरेको छ । परराष्ट्रमन्त्री डा. नारायण खड्काले नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवलाई मन्त्रालयमा बोलाएर नेपाली युवा भर्ती गर्ने योजना स्थगित गर्न आग्रह गरेका हुन् । भारतमै विवादित बनेको अग्निपथ योजनाबारे नेपालका सबै दलको एकीकृत धारणा बनाउनुपर्ने भन्दै मन्त्री खड्काले त्यतिन्जेल भर्ती रोक्न आग्रह गर्नुभएको जनाइएको छ ।
६. कामपाले अवैध संरचना निरन्तर भत्काउने
काठमाडौँ महानगरपालिकाले अवैधरुपमा निर्माण भएका र सार्वजनिक जग्गा मिचेर निर्माण गरिएका सम्पूर्ण संरचना भत्काउने काम निरन्तर जारी राख्ने भएको जनाएको छ । महानगर प्रमुख बालेन्द्र साहको सचिवालय सदस्य सुनिल लम्सालले यो अभियान निरन्तर जारी राख्दै महानगरका ३२ वटै वडामा अवैध रुपमा निर्माण भएका संरचना हटाइने बताए । नक्सा पास नगरी निर्माण भएका र नक्सा पासअनुरुप निर्माण नगरिएका दुवै संरचना हटाइने उनको भनाई छ ।
७. नख्खु कारागारका फरार कैदी लुभुबाट पक्राउ
त्रिवि शिक्षण अस्पतालबाट फरार भएका ललितपुरस्थित नख्खु कारागारमा कैद भुक्तान गरिरहेका कैदी ललितपुरको लुभबाट पक्राउ परेका छन् । कर्तव्य ज्यानको कसुरमा नख्खु कारागारमा कैद भुक्तान गरिरहेका रामेछापका ३८ वर्षीय भोला बुढाथोकी हिजो अस्पतालबाटै फरार भएका थिए । उनले गोजीमा हत्कडी राखेको प्रहरीले बताएको छ । जिल्ला प्रहरी परिसर ललितपुरको टोलीले उनलाई आज बिहान पक्राउ गरेको जनाएको छ ।
८. भारतीय सेना प्रमुख मनोज पाण्डे नेपाल आउने
भारतीय सेनाका प्रमुख मनोज पाण्डे भदौ १९ देखि पाँच दिने नेपाल भ्रमणमा आउने भएका छन् । सैनिक प्रवक्ता नारायण सिलवालले भदौ १९ देखि २३ सम्म भारतीय सेनापति नेपाल भ्रमणमा आउने जानकारी दिएका छन् । भारतीय प्रधानसेनापति पाण्डे नेपाली सेनाको मानार्थ प्रधानसेनापतिको पदवी लिन आउन लागेको उनले सुनाए। दुवैतर्फबाट भ्रमणको औपचारिक घोषणा हुन भने बाँकी रहेको छ ।
९.युक्रेनको रेलवे स्टेशनमा रुसी रकेट आक्रमण
रुसी सेनाले युक्रेनको रेल वे स्टेशनमा रकेट प्रहार गर्दा २२ जनाको मृत्यु भएको छ । आक्रमणमा परि ५० जना घाइते भएका छन् । युक्रेनको स्वतन्त्रता दिवस र युक्रेनमाथि आक्रमणको ६ महिना पुगेको दिन रुसी सेनाले दिप्रो पत्रोभ्स्की क्षेत्रको च्यापलिन रेलवे स्टेशनमा रकेट प्रहार गरेको हो । मृत्यु हुनेहरूमा ११ वर्षीय बालक समेत रहेको जनाइएको छ । पाँच जनाको घटनास्थलमै जलेर मृत्यु भएको र अन्यको उपचारका क्रममा अस्पतालमा मृत्यु भएको युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले बताएका हुन् ।
१०. नेपालले केन्यासँग खेल्दै
५ खेलको टी–ट्वान्टी अन्तर्राष्ट्रिय सिरिजका लागि केन्या भ्रमणमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टोलीले आज घरेलु टोलीसँग पहिलो टी–ट्वान्टी खेल्दै छ । नेपालले नैरोवीस्थित जिमखाना क्रिकेट मैदानमा केन्याको सामना गर्नेछ । घरेलु टोली र नेपालबीचको खेल नेपाली समय अनुसार दिउँसो ३ : ४५ बजे सुरु हुने छ । पाँच खेलको टी–ट्वान्टी सिरिका लागि केन्या पुगेको नेपाली टोली आज सुखद सुरुआतको योजनामा रहेको छ ।
प्रतिक्रिया