पक्की पुल नबन्दा नागरिकलाई सास्ती « Khabarhub

पक्की पुल नबन्दा नागरिकलाई सास्ती


९ भाद्र २०७९, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मेलम्ची- मेलम्ची र इन्द्रावती खोलामा अघिल्लो वर्ष असार १ र साउन १६ मा आएको बाढीले नोक्सान गरेको सडक र पुल पुलेसाहरूको पुनः निर्माण नहुँदा नागरिकले सास्ती व्यहोरिरहेका छन् । खोलामा पानीको बहाव बढ्ने बित्तिकै कैयौँ ठाउँमा बाटो अवरुद्ध हुने समस्या अहिले पनि छ ।

मेलम्ची नगरपालिकाका केही वडा र पाँचपोखरी थाङ्पाल गाउँपालिकाका नागरिकका लागि वैकल्पिक रूपमा रहेको झोलुङ्गे पुलको सहायक पर्खाल बाढीले बगाएका कारण एकै पटक धेरै मानिस आवतजावत गर्दा हल्लिने गर्दछ । मेलम्चीबाट दोभानटार र दोभानटारबाट रामपुरबेँसी जोड्ने यो पुल नै ओहोरदोहोरको माध्यम बनेको छ ।

बाढीले मेलम्ची बजारमा रहेको पक्की पुल बगाएपछि बजार आउन कि त झोलुङ्गे पुल आउनुपर्छ कि त बाहुनेपाटी हुँदै घुमेर लामो बाटो प्रयोग गर्नुपर्ने बाध्यता रहेको छ । पाँचपोखरी थाङपाल गाउँपालिका–१ र २, मेलम्ची नगरपालिका–७ र ८ का नागरिकका लागि गाडी प्रयोग गर्न भने हेलम्बु गाउँपालिकाको चनौटे पुगेर मेलम्ची आउनुपर्ने अवस्था रहेको छ । हेलम्बु गाउँपालिकाको चनौटेमा बाढीले मोटर गुड्ने पुल बगाएपछि नेपाली सेनाको सहयोगमा बेलीब्रिज निर्माण गरी सञ्चालन भइरहेको छ ।

पुल नहुँदा बिरामी र सुत्केरी हुने महिला मारमा परेका छन् । मोटर बाटो प्रयोग गर्दा घुमेर लामो बाटो प्रयोग गर्नुपर्ने बाध्यता रहेको छ । आकस्मिक सेवा लिनुपर्ने प्रकारका बिरामीलाई भने हेलिकोप्टर प्रयोग गर्नुपर्ने अवस्था रहेको छ । पाँचपोखरी थाङपाल र हेलम्बु गाउँपालिकाले आकस्मिक रूपमा अस्पताल लैजानुपर्ने बिरामी र सुत्केरीलाई हेलिकोप्टरमार्फत पनि सेवा दिँदै आएका छन् ।

मेलम्ची नगरपालिका–९ र १० लगायत आसपासका नागरिकका लागि दैनिक जसो मेलम्ची बजार ओहोरदोहोर गर्नु पर्दछ । उत्पादित तरकारी, फलफूल, दूध र मासुजन्य वस्तुको बजार भनेको मेलम्ची नै हो । सामान बोकेरै ल्याउनुपर्ने भएकाले पनि उत्पादित सामान बजारसम्म ल्याउन समस्या भएको मेलम्ची–१० की लक्ष्मी अधिकारीले बताइन् ।

पाँचपोखरी थाङपाल गाउँपालिकाकी डिलकुमारी श्रेष्ठ आफन्त र छोराछोरीसँग भेटघाटका लागि काठमाडौँ ओहोरदोहोर गरी रहन्थिन् । तर अहिले बाढीपछि भने उहाँ तीन महिनामा एक पटक मात्र आउने–जाने गर्नुहुन्छ । बाटो कति बेला बन्द हुन्छ भन्ने डरले पनि उनलाई रोकिरहन्छ । पहिलेको तुलनामा गाडी पनि नियमित रूपमा सञ्चालन नहुँदा यात्रा गर्न सहज नभएको उनको भनाइ छ ।

मेलम्ची–१० का कुमार दाहालको पनि समस्या उस्तै छ । पहिलेको पुल भएको ठाउँबाट झोलुङ्गे पुलसम्म आउन एक किलोमिटर छ भने बाहुनेपाटी जान दुई किलोमिटर घुमेर बजार जानुपर्ने बाध्यता छ । घरका लागि चाहिने सामान ल्याउन पनि समस्या भइरहेको उनले बताए । तीनै तहका सरकारले जतिसक्दो छिटो पुल निर्माणमा ध्यान दिनुपर्ने उनको भनाइ छ ।

बाढीका कारण धेरैले ज्यान गुमाएका छन् भने कतिको गरिखाने ठाउँ नै बगर बनेको छ । बाढीपछि राहत र पुनः स्थापनाको काममा पनि सरकारले चासो नदिएका कारण मेलम्चीको पुनः स्थापनामा ढिलाइ भएको मेलम्चीका बासिन्दा गणेश दुलालले बताए। गत वर्षको बाढीले बस्ती र खेतीयोग्य जमिनमा क्षति पुर्‍याएको थियो ।

मानिसको आवतजावत कम भएका कारण अघिल्ला वर्षको तुलनामा यो वर्ष व्यापार व्यवसाय पनि कम भएको मेलम्चीका व्यापारी प्रकाश दाहालले बताए। बोकेर लान सक्ने सामान पनि कमै मात्रामा बिक्री भइरहेको र गाडी प्रयोग गरेर लाने सामान लान गाडी भाडा महँगो पर्ने भएकाले पनि वर्षा याममा बिक्री धेरै घटेको उनको भनाइ छ ।

यसअघि मेलम्चीमा ह्युमपाइप राखेर बनाइएको अस्थायी संरचनाको प्रयोग गरेर सामान लैजान सहज भएको थियो । अब वर्षा रोकिने बित्तिकै खोलामा ह्युमपाइप राखेर यातायात सञ्चालन गर्न नगरपालिकालाई ध्यानाकर्षण गराइएको मेलम्ची नगर उद्योग वाणिज्य सङ्घका महासचिव ताराबहादुर बानियाँले बताए । नगरपालिका क्षेत्रमा नागरिकको सुविधाका लागि वैकल्पिक बाटो बनाउने र बन्द भएका बाटो खुलाउने काममा नगरपालिकाले काम गरिरहेको नगरप्रमुख आइतमान तामाङले बताए।

‘‘दीर्घकालीन रूपमा पुनः स्थापनाका लागि प्रदेश र सङ्घीय सरकारसँग समन्वय गरी जतिसक्दो छिटो मेलम्चीलाई पुरानै अवस्थामा ल्याउने छौँ”, उनले भने । क्षति भएका संरचनाको पुनः निर्माणमा पनि तदारुकताका साथ काम भइरहेको उनको भनाइ छ ।

प्रकाशित मिति : ९ भाद्र २०७९, बिहीबार  १ : ०३ बजे

गुल्मीमा ३५५ प्रजातिका चरा

गुल्मी – गुल्मीमा चराका प्रजातिको सङ्ख्या ३५५ पुगेको छ ।

समानुपातिक प्रतिनिधित्व सुनिश्चित गर्न माग गर्दै सर्वोच्च रिट

काठमाडौं – सर्वोच्च अदालतलमा अपाङ्गता भएका व्यक्तिहरूको संवैधानिकरूपमा सुनिश्चित राजनीतिक

पोलियोका शङ्कास्पद बिरामी खोजतलास गर्नेमा उत्कृष्ट मुलुकमा नेपाल

काठमाडौं – नेपाल पोलियो भाइरसका शङ्कास्पद बिरामी खोजतलास गर्ने उत्कृष्ट

नगरप्रमुख महर्जनविरुद्ध सर्वोच्च अदालतमा पुनरावेदन

काठमाडौं – अख्तियार दुरूपयोग अनुसन्धान आयोगले राजस्व चुहावट गरी भ्रष्टाचार

११ किलो गाँजासहित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट चारजना भारतीय पक्राउ

काठमाडौं- सशस्त्र प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट १० किलो ९६० ग्राम