'नेपाली उत्पादन बाहिर बेचेपछि मात्रै समृद्धि सम्भव छ' | Khabarhub Khabarhub

‘नेपाली उत्पादन बाहिर बेचेपछि मात्रै समृद्धि सम्भव छ’

'युवाहरुलाई व्यवसायमा ल्याउन सके देशको विकास हुन्छ'


११ भाद्र २०७९, शनिबार  

पढ्न लाग्ने समय : 3 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – पछिल्लो समय युवा व्यवसायीहरुका लागि नेपाल उद्योग परिसंघले नयाँ कार्यक्रम नै सुरुवात गरेको छ । ‘स्टार्ट अफ फेस्टिभल’ नाम दिएर परिसंघले सुरु गरेको कार्यक्रममा युवा व्यवसायी र लगानीकर्तालाई प्रोत्साहन गर्ने लक्ष्य राखिएको छ । यो कार्यक्रम अहिले केही ठाउँमा सफलतापूर्वक सम्पन्न भएको छ । परिसंघले यससँगै युवा व्यवसायीलाई उद्यमशीलतामा लगाएर देशको समृद्धिमा युवा नै अगाडि सार्नुपर्ने आकर्षक नारा पनि अघि बढाएको छ । युवाहरुलाई व्यवसायमा स्थापित गरेपछि मात्रै देशको समृद्धि सम्भव भन्ने नारासहित परिसंघका महानिर्देशक दीपकराज जोशी यस्ता कार्यक्रममा लागिरहेका छन् । नेपाल पर्यटन बोर्डका पूर्व सीइओसमेत रहेका जोशीसँग खबरहबका लागि सुभास प्रधानले गरेको कुराकानीको सम्पादित अंशः

नेपाली उत्पादनलाई विश्व बजारमा लैजाने उद्देश्य र योजना के छन् ? जसका लागि तपाई नेपाल उद्योग परिसंघको महानिर्देशक बन्नुभयो ?
पछिल्लो नेपालको अवस्थामा १२ प्रतिशत स्वदेशी उत्पादनहरू थिए । तर अहिले त्यो घटेर ५ प्रतिशतमा झरेको छ । हाम्रो अर्थतन्त्रमा परनिर्भरता बढ्दै गयो । यो दिगो विकासको लागि राम्रो हैन किनभने देशमा उद्योगहरू विकास भएनन् भने रोजगारी बन्द हुन्छ । देशको अर्थतन्त्र घाटामा जान्छ । अर्थतन्त्रको दिगो विकास हुँदैन । त्यसैले अहिले हामीले नेपाल सरकारसँगको सहकार्यमा ‘नेपाल स्वदेशी अभियान’  चलाइरहेका छौँ । देशको चिन्ताजनक अवस्था देखेर नै हामीले यो अभियान चलाएको हौँ । यो अभियानको मुख्य उद्देश्य भनेको नेपालमा नै वस्तु उत्पादन होस् र ती उत्पादन बाहिर पनि बेच्न सकियोस् भन्ने हो । जसले गर्दा नेपालको अर्थतन्त्र राम्रो होस् । नेपालले नै उत्पादन गरेको कुरा बाहिर बेचेर मात्रै देशको समृद्धि सम्भव छ ।

सरकारको तर्फबाट जुन सहयोग हुनु पर्ने हो, त्यो भएन भन्ने धेरै उद्योगीहरुको गुनासो छ, तपाईँहरूले सहयोग पाउनुभयो ?
नेपाली उत्पादकहरू एक भएर हामीसँग जोडिनु पर्दछ । स्वदेशी वस्तुहरू पहिला त गुणस्तरीय हुनुपर्दछ । त्यसैले हामीले एउटा लोगो नै यो राम्रो हो भनेर राखेका छौँ । उपभोक्ताहरूले जहिले पनि राम्रो र बलियो बस्तुहरू खोजेका हुन्छन् । त्यो हामीले बनाउन सक्नु पर्छ । त्यस्ता उद्योगहरू जसलाई सरकारी निकायबाट जुन सहयोग आवश्यक परेको हुन्छ वा अन्य सहयोग आवश्यक परेमा त्यसलाई हामीले सहयोग गरेका छौँ । गुणस्तरीय सामानहरूको लागि दक्ष जनशक्तिहरूको आवश्यकता पर्दछ । त्यसको लागि हामीले कामदारहरूमा सीप र दक्षता अभिवृद्धिको लागि समन्वयकारी भूमिका खेल्दिने कामहरू गरेका छौँ । विदेशमा सामान निर्यात गर्दा कुन मार्केट राम्रो छ र कहाँ पठाउँदा बढी फाइदा हुन्छ, त्यसको आधारमा बजारीकरण गर्दछौँ ।

उत्पादनको क्रममा चाहिने सामानमा केही छुट भए हुन्थ्यो भन्दै गर्दा तपाइँहरूको जिम्मेवारी के रहन्छ ?
नेपाल उद्योग परिसंघ भनेको एउटा निजी क्षेत्रका औद्योगिक व्यवसायीहरूको छाता संगठन हो । हामीले सरकारी निकायमा रहेका नीति निर्माताहरूसँग छलफल गर्छौँ । अनि जसले उत्पादन गर्नहुन्छ उहाँहरूलाई बुझाउने कार्यहरू गरेका छौँ । निजी क्षेत्रका लागि सहयोगी भएर काम गरेको छौँ । हामी सबैलाई सहयोग गर्न अगाडि बढेका हौँ।

युवाहरू यस कुरामा कत्तिको आकर्षित हुनु भएको छ ?
हरेक मानिसहरूको ध्यान नेपाली बस्तु भन्दा पनि बाहिरी सामानहरूमा गएको पाइन्छ । नेपालका समानहरू राम्रो हुँदैनन् कि भन्ने सोच रहेको पाइन्छ तर त्यो सत्य होइन । आजका उद्योगीहरुले धेरै जोखिम लिएर राम्रै सामान उत्पादन गर्नु भएको छ । त्यो गुणस्तरीय छ । चाहे त्यो गार्मेन्टमा, फ्याक्ट्रीमा हरेक ठाउँमा किन नहोस् । सिमेन्टहरू धेरै गुणस्तरीय उत्पादन भएका छन् । नयाँ पुस्ता अहिले आएर केही स्वदेशी उत्पादनमा बढी आकर्षित भएका छन् । जुत्तामा र कपडाहरूमा केन्द्रित भएका छन् ।

नेपाली उत्पादनलाई विश्व बजारमा लैजानुपर्छ भन्ने सोचाई कसरी आयो ?
नेपालमा रहेका उद्योगलाई कसरी माथि लैजाने भन्ने चिन्ता मनमा थियो। देशलाई अब माथि लैजाने भनेको स्थानीय उद्योगहरू नै हो भन्ने बुझाइ हाम्रो भयो । त्यसपछि हामीले परिसंघ खोल्यौँ। अहिले करिब ८० वटा कम्पनी हामीसँग जोडिएका छन् । हामीले नयाँ उद्यमीहरूलाई ‘स्टार्ट अफ फेस्टिभल’ भनेर केही समय अगाडि सुरु गरेका थियौँ । त्यो अहिले धेरै प्रभावकारी भएको छ । केही नयाँ योजनाहरू पनि छन् । लगानीकर्ताहरू पनि छन् है भनेर त्यो कार्यक्रमले पुष्टि गरेको छ । जहाँ ७ देखि ८ वटा स्टेप्सहरुलाई जोड्ने काम भएको छ। डेढ करोडदेखि ८ करोडसम्मको लगानी एकैछिनमा स्वाहा भयो भने कसरी आफूलाई सम्हालेर फेरि व्यापार-व्यवसायमा फर्किने भन्ने सोच आउन जरुरी छ । नयाँ आउने साथीहरूलाई पहिलाको जस्तो जागिरमा नै धेरै भ्यालु छैन । अहिले उद्योगहरूमा धेरै नै स्कोप बढेको छ । डिजिटल माध्यमले विश्वका ठुला–ठुला बजारहरूमा सहकार्य गर्न सकिन्छ ।

अहिले युवाहरूले तपाईँ लगायत संघ-संस्थाबाट सहयोग पाउन के–कस्तो प्रक्रिया अपनाउनुपर्छ ?
त्यसको लागि हाम्रो एउटा प्रोसेस हुन्छ । एउटा त हामी यस वर्ष जुन ‘स्टार्ट अफ फेस्टिभल’ सुरु गर्‍यौ । त्यसलाई वार्षिक हिसाबले गर्ने भनेका छौँ । त्यति बेला हामीले आह्वान गर्ने छौँ । त्यहाँ धेरै प्रपोजलहरु आउँछन् । त्यसमा राम्रोलाई सहयोग गर्ने गर्दछौँ । लगानीकर्ताहरुसँग लगेर जोड्दिन्छौँ । अलि जान्ने मान्छेहरूमा भेटाइदिन्छौँ । अझै राम्रो योजना छ भने हाम्रो लगानीकर्ताहरुको नेटवर्क बनाउने छौँ ।

धेरैले पहिला लगानी गर्नुहुन्छ, पछि फाइदा भएन वा व्यापार चलेन भनेर डुब्ने खतरा देख्नु हुन्छ। त्यो जोखिम आउन नदिन के गर्नुपर्छ ?
हामीले धेरै क्षेत्रहरूमा अनुदान दिने चलन देख्यौँ । त्यो राम्रो फाइदाजनक होइन । अनुदानभन्दा पनि लगानीकर्ताहरूको नै लगानी भयो भने त्यो योजना सफल हुन्छ । अनुदानले मात्रै फाइदा गर्दैन । नाफा हुँदैन ।

अनुदान लिँदा सजिलै लिने अनि त्यसलाई दुरुपयोग गर्ने क्रम पनि बढेको छ नि यसलाई कसरी निगरानी गर्न सकिन्छ ?
ठुलो लगानीका लागि अनुदान आवश्यक हुँदैन । नयाँ आइडियाहरूलाई थोरै लगानी र निगरानीको आवश्यकता पर्दछ ।

प्राविधिक रूपमा युवा व्यवसायीहरूलाई कसरी तालिम दिइरहनु भएको छ ?
अहिले हाम्रो विकसित देशका लगानीकर्ताहरुसँग सहकार्य भएको छ । ठूलो निर्माण व्यवसायी तथा उद्योगहरुसँग सहकार्य भएको छ । युवाहरुलाई ती उद्योगमा जोड्ने र नयाँलाई तालिम दिएर फेरि जोड्ने काम गरिरहेका छौँ । नेपाल सरकारसँग सहकार्य गर्ने कार्यक्रम सुरु भएको छ । यसमा पनि पर्यटन क्षेत्रमा युवाहरुलाई जोड्ने र रोजगारी सिर्जना गर्ने हाम्रो योजना छ ।

 

(प्रस्तुति : पुष्पाञ्जली बस्नेत)

प्रकाशित मिति : ११ भाद्र २०७९, शनिबार  ७ : १२ बजे

भोजपुरका विद्यालयमा ‘इ-लर्निङ सेन्टर’

टक्सार– सूचना प्रविधिमा अभ्यस्त बनाउँदै विद्यार्थीलाई पठनपाठन गराउने उद्देश्यले भोजपुरका

पुरुषभन्दा धेरै बाँच्छन् महिला, ३० वर्षमा साढे २१ वर्षले थपियो नेपालीको आयु

काठमाडौं- राष्ट्रिय तथ्याङ्क कार्यालयले २०७८ को राष्ट्रिय जनगणनाका तथ्याङ्क र

पूर्वीयदर्शनमा आधारित अध्ययन केन्द्र स्थापना गरौँ : मन्त्री शर्मा

काठमाडौं– सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले नेपालमा पूर्वीयदर्शनमा आधारित

वैशाख २६ अगाडि एमालेले सोडारीलाई विश्वासको मत नदिने

काठमाडौं–सुदूरपश्चिमका मुख्यमन्त्री दीर्घबहादुर सोडारीलाई नेकपा एमालेले वैशाख २६ गतेअगाडि विश्वासको

साताको पहिलो दिन नेप्से २४.५८ अंकले घट्यो 

काठमाडौं– साताको पहिलो काराेबार दिन नेपाल स्टक एक्चेञ्ज (नेप्से) २४.५८