विश्वभर आज : यस्ता छन् तपाईंले थाहा पाउनुपर्ने अन्तर्राष्ट्रिय घटनाक्रम (अडियोसहित) | Khabarhub Khabarhub

विश्वभर आज : यस्ता छन् तपाईंले थाहा पाउनुपर्ने अन्तर्राष्ट्रिय घटनाक्रम (अडियोसहित)


१५ भाद्र २०७९, बुधबार  

पढ्न लाग्ने समय : 6 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

आज १५ भदौ, २०७९ या अंग्रेजी क्यालेन्डर अनुसार अगष्ट ३१, २०२२ । तपाईंले थाहा पाउनुपर्ने आज संसारभर भएका प्रमुख घटनाहरू यसप्रकार रहेका छन्:

अडियो सुन्नुहोस्-

पूर्व सोभियत नेता मिखाइल गोर्बाचेभको निधन

शीतयुद्धको शान्तिपूर्ण अन्त्य गर्ने पूर्व सोभियत नेता मिखाइल गोर्बाचेभको ९१ वर्षको उमेरमा निधन भएको छ ।

सन् १९८५ मा सोभियत सत्तामा पुगेका गोर्बाचेभले तत्कालीन सोभियत संघलाई विश्वका लागि ढोका खोलेको र सुधारको खाका प्रस्तुत गरेको बताइन्छ ।

तर उनले सोभियत संघको पतन रोक्न सकेनन्, जसका कारण आधुनिक रूसको उदय भयो । उनको निधनमा विश्वभरका नेताले श्रद्धाञ्जली अर्पण गरेका छन् ।

संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेर्रेसले उनको मृत्युपछि सन्देश जारी गर्दै गोर्बाचेभले इतिहासको पाठ्यक्रम परिवर्तन गरेको टिप्पणी गरेका छन् । ‘मिखाइल गोर्बाचेभ एक दयालु राजनीतिज्ञ थिए’ महासचिव गुटेर्रेसले भनेका छन् ।

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले अन्तिम सोभियत नेता गोर्बाचेभको निधनप्रति गहिरो सहानुभूति व्यक्त गरेका छन् । क्रेमलिनका प्रवक्ता दिमित्री पेस्कोभले भने, ‘राष्ट्रपति पुटिनले मिखाइल गोर्बाचेभको मृत्युप्रति गहिरो सहानुभूति व्यक्त गर्नुभएको छ ।’

यता अमेरिकी राष्ट्रपति जो बाइडेनले पनि रुसको राजधानी मस्कोमा ९१ वर्षको उमेरमा निधन भएका पूर्व सोभियत नेता मिखाइल गोर्बाचेभलाई विश्वलाई सुरक्षित स्थान बनाउने ‘दुर्लभ नेता’ को रूपमा टिप्पणी गरेका छन् ।

‘यी दुर्लभ नेताका यस्ता कार्य थिए– एउटा भिन्न भविष्य सम्भव छ भन्ने कल्पना र साथ हेर्ने र यसलाई प्राप्तिका लागि आफ्नो सम्पूर्ण करिअरलाई जोखिममा राख्ने साहस’ बाइडेनले अगाडि भनेका छन् ‘त्यसको परिणाम सुरक्षित संसार र लाखौँ मानिसहरूका लागि ठूलो स्वतन्त्रता थियो ।’ गोर्बाचेभ महत्वपूर्ण भिजन भएका व्यक्ति भएको पनि बाइडेनले बताए ।

लामो समयदेखि बिरामी भएका गोबाचेभको मंगलबार निधन भएको थियो । सन् १९८५ देखि १९९१ सम्म शक्तिमा रहेका उनले अमेरिका र सोभियत सम्बन्धलाई सुधार्न सहयोग गरेका थिए । उनी शीतयुद्धका अन्तिम नेता हुन् ।

चिनियाँ कम्युनिष्ट पार्टीको महाधिवेशन अक्टोबर १६ बाट सुरु हुने

चिनियाँ कम्युनिष्ट पार्टीको २० औं महाधिवेशन आगामी अक्टोबर १६ देखि राजधानी बेइजिङमा आयोजना हुने भएको छ ।

चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिको राजनीतिक ब्यूरोले मङ्गलबार चिनियाँ कम्युनिष्ट पार्टीको १९ औँ केन्द्रीय समितिको सातौँ पूर्ण बैठक र २०औँ चिनियाँ कम्युनिष्ट पार्टीको राष्ट्रिय महाधिवेशनको तयारीका लागि बैठक आयोजना गरेको छ ।

चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिका महासचिव सी जिन्पिङको अध्यक्षतामा बसेको सो बैठकले पार्टीको २० औं महाधिवेशन अक्टोबर १६ मा बेइजिङमा आयोजना गर्ने प्रस्ताव गरेको हो ।

बैठकले चिनियाँ कम्युनिष्ट पार्टीको १९औँ केन्द्रीय समितिको सातौं पूर्ण बैठक अक्टोबर ९ तारिख बेइजिङमा आयोजना गर्ने निर्णय गरेको छ ।

सम्पूर्ण पार्टी र सिङ्गो राष्ट्रले सबै हिसाबले आधुनिक समाजवादी देश निर्माणको नयाँ यात्रामा अघि बढेकाले २०औँ चिनियाँ कम्युनिष्ट पार्टीको राष्ट्रिय महाधिवेशन महत्त्वपूर्ण क्षणमा बोलाइने महाधिवेशन भएकोमा जोड दिइएको छ ।

महाधिवेशनले चिनियाँ विशेषतासहितको समाजवादको लक्ष्यमा माक्र्सवाद–लेनिनवाद, माओत्सेतुङ विचारधारा, देङ सियाओपिङ सिद्धान्त, तीन प्रतिनिधिको सिद्धान्त र विकासको वैज्ञानिक दृष्टिकोणलाई समर्थन गर्ने र चिनियाँ विशेषतासहितको समाजवादबारे सी जिन्पिङको विचारलाई पूर्णरूपमा कार्यान्वयन गर्ने जनाइएको छ ।

त्यसैगरी महाधिवेशनले कार्ययोजना र प्रमुख नीतिहरू तर्जुमा गर्ने, पार्टीका सबै सदस्य र देशका सबै जातजातिलाई इतिहासप्रति विश्वास कायम गर्न, ऐतिहासिक पहललाई सुदृढ गर्न, भएका कामका आधारमा नयाँपन र बहादुरीका साथ अगाडि बढ्नको लागि परिचालन गर्ने पनि बताइएको छ ।

पञ्चक्षेत्रीय एकीकृत योजना र चार–पक्षीय एकीकृत योजनालाई अगाडि बढाउनका लागि पार्टी सदस्यहरू र देशभरका सबै जातजातिका मानिसहरूलाई परिचालन गरिने पनि बताइएको छ ।

साथै सबैको साझा समृद्धिलाई अगाडि बढाउने, पार्टी निर्माणको महान् नयाँ परियोजनालाई अगाडि बढाउने र मानवताको साझा भविष्यसहितको समुदायको निर्माणलाई प्रवर्द्धन गर्ने गरी समन्वयात्मक ढङ्गले विस्तारित बृहत् रणनीति निर्माण गरिने पनि जनाइएको छ ।

चीनलाई आधुनिक समाजवादी राष्ट्रको रूपमा निर्माण गर्न र चिनियाँ राष्ट्रको महान् पुनर्जागरणलाई सबै पक्षमा अगाडि बढाउनका लागि सबै पार्टीका सदस्यहरू र देशका सबै जातजातिका जनतालाई एकसाथ काम गर्न परिचालन गरिने बताइएको छ ।

महाधिवेशनले अन्तराष्ट्रिय र घरेलु परिस्थितिको गहन समीक्षा गर्दै नयाँ युगमा पार्टी र देशको विकासका लागि नयाँ आवश्यकताका साथै जनताका नयाँ अपेक्षालाई व्यापक रूपमा बुझ्ने गरी निर्णय लिने जनाइएको छ ।

पाकिस्तानमा राजनीतिक नेताको हत्या

पाकिस्तानमा एक जना राजनीतिक नेताको हत्या भएको छ । पाकिस्तानको उत्तरी वजिरिस्तान जिल्लामा जमात उलेमा ए इस्लाम फज्लका स्थानीय नेताको गोली हानी हत्या भएको पाकिस्तानबाट प्रकाशित हुने डन अखबारको अनलाइन संस्करणले जनाएको छ ।

प्रहरीका अनुसार बन्दुकधारीले स्थानीय नेता करी समसुद्दिन र उनका साथी हफिज नुमान दवारको हत्या गरेका हुन् ।

स्थानीय इदेक गाउँ जाने क्रममा उनीहरु चढेको कारलाई बिची सडकमा रोकिएको थियो । त्यसपछि बन्दुकधारीले उनीहरुमाथि गोली चलाएका थिए ।

बन्दुकधारीको आक्रमणमा दुबै जनाको घटनास्थलमै मृत्यु भएको डनले जनाएको छ ।

करी समसुद्दिनका आफन्तले उनको कसैसँग कुनै किसिमको दुश्मनी नरहेको जनाएका छन् ।

हत्या गरिएका नेता स्थानीय राजनीतिमा निकै क्रियाशील रहेको बताइएको छ । उनले सो क्षेत्रमा जारी कानूनविहीनता र लक्षित हत्याबारे स्थानीय प्रशासनको चर्को आलोचना गर्दै आएको बताइएको छ ।

पाकिस्तानमा बाढीको प्रकोप

पाकिस्तानमा भारी वर्षापछि उत्पन्न बाढी र पहिरोसँग सम्बन्धित घटनाका कारण पछिल्लो २४ घण्टामा थप ३६ जनाको मृत्यु भएको राष्ट्रिय प्रकोप व्यवस्थापन (एनडिएमए) का अधिकारीले जानकारी दिएका छन् ।

यस प्रकोपमा परी एक हजार नौ सय ४१ जना घाइते भएका पनि ती अधिकारीले जानकारी दिएका छन् । पाकिस्तानको पूर्वी भागमा रहेको पञ्जाब प्रान्त यस भीषण प्रकोपबाट सबभन्दा बढी प्रभावित भएको एनडिएमएले प्रकाशन गरेको विज्ञप्तिमा जानकारी दिइएको छ ।

यस क्षेत्रमा बाढी र वर्षा सम्बन्धित घटनामा परी १९ जनाको मृत्यु हुनुको साथै एक हजार नौ सय १९ जनाको घाइते भएका एनडिएमए जनाएको छ ।

त्यसपछि बाढीबाट प्रभावित प्रान्तमध्ये दोस्रो स्थानमा खैबर पाख्तुन्ख्वा रहेको छ । त्यहाँ नौ जनाको मृत्यु भएको समाचारमा जनाइएको छ । वर्षा र बाढी प्रभावित क्षेत्रमा एक हजार पाँच सय ९१ किलोमिटर सडक र ८१ पुल र तीन वटा पसल क्षतिग्रस्त भएको छ ।

पाकिस्तानमा यस वर्षको मौसमी वर्षा शुरु भएयता एक हजार एक ६२ व्यक्तिको मृत्यु हुनुको साथै अन्य तीन हजार पाँच सय ५४ जना घाइते भएका एनडीएमएनले जनाएको छ ।

एनडीएमएनका अनुसार यस प्रकोप शुरुभएयता एक लाख १८ हजार दुई ४७ व्यक्तिको उद्धार गरिएको छ । हाल चार लाख ६२ हजार दुई सय ३६ व्यक्ति अस्थाई शिविरमा बस्दै आएका छन् । यस प्रकोपको कारण तीन करोड ३० लाख ४६ हजार तीन सय २९ व्यक्ति प्रभावित भएका जनाइएको छ ।

बाढी प्रभावित क्षेत्रमा उद्धारकार्य गर्न एडीएमए, अन्य सरकारी सङ्गठन, गैरसरकारी सङ्गठन र स्वयमसेवकको सहभागिता रहेको जनाइएको छ ।

मुसलधारे वर्षापछिको बाढीले पाकिस्तानको एक तिहाइ भाग डुबानमा परेको छ । बाढीमा अहिलेसम्म ११०० जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ३८० बालबालिका छन् । पाकिस्तानको बाढीलाई ‘अप्रत्यासित जलवायु विपत्ति’ भन्दै राष्ट्रसंघले सहयोगका लागि आह्वान गरेको छ ।

भारी वर्षापछिको विनाशकारी बाढीले घर, व्यवसाय, पूर्वाधार र बालीहरू ध्वस्त पारिदिएको छ । का ३ करोड ३० लाख मानिसहरुलाई असर गरेको छ ।

वर्षाले देशको एकतिहाई भूभाग जलमग्न भएको पाकिस्तानकी जलवायुमन्त्रीले बताएकी छन् । ‘देशको एक तिहाइ भाग पानीमुनि छ’ जलवायु परिवर्तनमन्त्री सेरी रिहमानले भनिन् । पानी छिट्टै कम नहुने समेत उनले बताइन् ।

बाढीले १० अर्ब डलरभन्दा बढी क्षति पु¥याएको सरकारले प्रारम्भिक अनुमान गरेको छ तर, यो क्षति सरकारले अनुमान गरेभन्दा बढी हुन सक्ने प्रधानमन्त्री सहबाज सरिफले बताएका छन् ।

मानव निर्मित जलवायु परिवर्तनको असरसँग जुध्न पाकिस्तानलाई सहयोग गर्ने विश्वको दायित्व भएको सरकारको भनाइ छ । बाढीले बिचल्लीमा परेका पर्यटकसहित ३०० जनालाई हेलिकोप्टबार उद्धार गरिएको छ । सेनाको हेलिकप्टरले अलपत्र परेका परिवारहरूलाई निकाले र खाद्यान्न प्याकेजहरू दुर्गम क्षेत्रमा खसालेको छ ।

यता पाकिस्तानका प्रधानमन्त्री शहबाज शरिफले आफ्नो मुलुकलाई बाढीले इतिहासमै सबैभन्दा खराब रुपमा प्रभावित पारेको बताएका छन् ।

प्रधानमन्त्री शरिफले बाढीका कारण पाकिस्तानमा अहिले इतिहासमै सबैभन्दा बढी क्षति पुगेको बताउँदै सहयोगका लागि सबैसँग अपिल गरेका हुन् ।

उनले पाकिस्तानी नागरिकका साथै विदेशी दाता निकाय तथा देशसँग सो अपिल गरेको प्राप्त समाचारमा जनाइएको छ ।

बाढीका कारण विस्थापित भएका व्यक्तिको सङ्ख्या दशौँ लाख भएकाले उनीहरुको उद्धार, पुनस्र्थापना र राहतका लागि ठूलो आर्थिक सहयोग आवश्यक रहेको उनको भनाइ छ ।

पाकिस्तानका कैयौँ क्षेत्रमा बाढीले गरेको क्षति न्यूनिकरणका लागि सरकारले प्रयत्न गरिरहेको भए पनि सबै नागरिकलाई बास र खानपिनको उचित व्यवस्थापन गर्न सम्भव हुन सकेको छैन ।

त्यसैले उनीहरुलाई राहात र पुनस्र्थापनाका लागि ठूलो मात्रामा आर्थिक सहयोग आवश्यक परेको भन्दै अन्तर्राष्ट्रिय समुदायसँग पाकिस्तानी प्रधानमन्त्रीले सहयोगको अपिल गरेका हुन् ।

पाकिस्तानमा केही समययता अविरल रुपमा वर्षा भइरहेको छ ।

कोरोना अपडेट

दक्षिण कोरिया, न्युजिल्याण्ड र मलेसियामा कोभिड–१९ सङ्क्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या पछिल्लो २४ घण्टामा पनि अप्रत्यासित रूपमा बढेको छ । चिनियाँ समाचार संस्था सिन्ह्वाका अनुसार पछिल्लो २४ घण्टामा दक्षिण कोरियामा ७५, मलेसियामा चार र न्युजिल्याण्डमा थप १७ जनाको मृत्यु भएको छ ।

न्युजिल्याण्डको स्वास्थ्य मन्त्रालयले बुधबार जनाएअनुसार अघिल्लो महिनाको तुलनामा नयाँ सङ्क्रमितको सङ्ख्या लगातार घटेको छ । मङ्गलबार मध्यरातसम्मको विवरण सार्वजनिक गर्दै सरकारी अधिकारीले बुधबार देशका विभिन्न भागमा दुई हजार दुई सय ४४ नयाँ बिरामी थपिएका बताएका छन् ।

एक महिनाअघि न्युजिल्याण्डमा दैनिकरूपमा १० हजारभन्दा बढी नयाँ सङ्क्रमित फेला परेका थिए । बिरामीको देशका विभिन्न अस्पतालमा उपचार भइरहेको छ । हाल न्युजिल्याण्डमा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या १७ लाख २४ हजार सात सय २४ रहेको छ भने यो रोगको सङ्क्रमणबाट एक हजार आठ सय ९३ जनाले ज्यान गुमाएका छन् ।

यसैबीच, मलेसियामा मङ्गलबार मध्यरातसम्मको विवरणअनुसार चार जनाले कोभिड–१९ बाट ज्यान गुमाएका छन् । हालसम्म मलेसियामा ३६ हजार दुई सय १० जनाको कोरोना सङ्क्रमणबाट मृत्यु भइसकेको छ । देशमा कुल ४७ लाख ८० हजार दुई सय ८४ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

दक्षिण कोरियामा भने महामारी साम्य हुने लक्षण देखिएको छैन । त्यहाँ पछिल्लो २४ घण्टामा ७५ जनाको मृत्यु भएको जनाइएको छ । पछिल्लो विवरणअनुसार उक्त मुलुकमा एक लाख तीन हजार नौ सय ६१ जना नयाँ सङ्क्रमित थपिएका छन् । हाल दक्षिण कोरियामा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या दुई करोड ३२ लाख ४६ हजार तीन सय ८९ पुगेको छ ।

यता भारतमा पनि कोरोना भाइरसका बिरामी बढेको पाइएको छ । भारतको केन्द्रीय स्वास्थ्य मन्त्रालयले पछिल्लो २४ घण्छामा थप सात हजार दुई सय ३१ जनामा कोभिड–१९ पुष्टि भएको जनाएको छ ।

नयाँ बिरामी थपिएसँगै देशभरका सङ्क्रमितको सङ्ख्या चार करोड ४४ लाख २८ हजार तीन सय ९३ पुगेको छ । पछिल्लो २४ घण्टामा उक्त रोग लागेर ४५ जनाको मृत्यु भएको छ । महामारी प्रारम्भ भएयता भारतमा कोरोना लागेर पाँच लाख २७ हजार आठ सय ७४ जनाको ज्यान गइसकेको छ ।

प्रकाशित मिति : १५ भाद्र २०७९, बुधबार  ८ : ०३ बजे

पूर्वराष्ट्रपतिको राजनीतिक पुनरागमन तटस्थताको सवाल कि लोकतान्त्रिक अभ्यास ?

नेपालको संविधानमा पूर्वराष्ट्रपतिहरूको भूमिकाबारे स्पष्ट व्यवस्था छैन । विश्वका केही

झापामा डेंगु बढ्न थालेपछि ‘खोज र नष्ट गर’ अभियान 

बनियानी– गत वैशाखयता जिल्लामा डेंगु  सङ्क्रमण बढ्न थालेपछि ‘खोज र नष्ट

बाजुरा जिल्ला पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा

धनगढी– बाजुरा जिल्लालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा गरिएको

प्रधानमन्त्रीद्वारा वृक्षरोपण महाअभियान शुभारम्भ (तस्बिरहरू)

काठमाडौं –  प्रधानमन्त्री केपी शर्मा ओलीले आज राष्ट्रिय वृक्षरोपण दिवसको

औद्योगिक क्षेत्र विस्तारमा कानुनी अड्चन प्रमुख बाधक : मन्त्री भण्डारी

धनगढी– उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले नेपालमा औद्योगिक