महागढीमाई नगर प्रमुख र उपप्रमुखबीचकाे विवादले चार महिनादेखि बस्न सकेन नगर सभा « Khabarhub

महागढीमाई नगर प्रमुख र उपप्रमुखबीचकाे विवादले चार महिनादेखि बस्न सकेन नगर सभा


१६ भाद्र २०७९, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बारा- नगर प्रमुख उपेन्द्रप्रसाद यादव र उपप्रमुख तारादेवी कानुसहित कार्यपालिकाका बहुमत सदस्यहरूबीचको असमझदारीले महागढीमाई नगरपालिकामा विवाद बढ्दै गएको छ ।  गत स्थानीय निर्वाचनमा दुवै जना नेपाली कांग्रेसबाट विजयी भएका थिए ।

नगरपालिकामा अहिले प्रमुख यादव र उपप्रमुख कानुसहित कार्यपालिका बहुमत सदस्यहरू दुई ध्रुवमा विभाजित भएका छन् । कार्यपालिकामा भने एमाले र जनता समाजवादी पार्टीको बहुमत छ ।

मेयर यादव र कार्यपालिका बहुमत सदस्यहरूबीचको विवादले निर्वाचन सम्पन्न भएको चार महिना बित्न लागिसक्दा पनि नगर सभा बस्न सकेको छैन । नगर सभा हुन नसक्दा चालू आर्थिक वर्षको बजेट पारित हुन नसकेको मात्रै होइन, नगरपालिकाका कर्मचारी, शिक्षकको तलब र सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने लाभग्राहीको भत्ता वितरणसमेत रोकिएको छ ।

अल्पमतमा रहेका नगर प्रमुख यादवले सबैको सहमतिमा काम गर्नुको साटो एकलौटी र मनोमानी रूपमा काम गर्न खोजेपछि विवाद चुलिएको उपप्रमुख कानुले बताइन् । अल्पमतमा परे पनि नगर उपप्रमुख कानु र कार्यपालिकाका सदस्यहरूलाई बेवास्ता गर्दै अघि बढ्न खोजेपछि मेयर यादवलाई नगर सभा गर्न समस्या भएको बताइएको छ ।

आफ्नै पार्टीबाट विजयी उपप्रमुखलाई समेत मेयर यादवले बेवास्ता गरेको आरोप छ । ‘म कार्यपालिका सदस्यहरूलाई विश्वासमा लिएर काम गर्नुपर्ने पक्षमा छु,’ उपप्रमुख कानुले भनिन्, ‘तर मेयर यादवले अन्य दलबाट निर्वाचित वडाध्यक्ष र कार्यपालिका सदस्यहरूको त कुरै छाडौँ एउटै दलबाट निर्वाचित ममाथि समेत शंका गरेका छन् ।’

११ वटा वडा रहेको महागढीमाईमा कांग्रेसले मेयर र उपमेयरमा जित हात पारे पनि वडाध्यक्षमा भने एमाले र जसपाको बहुमत छ । कार्यपालिकाको सदस्य निर्वाचनको क्रममा उपमेयर कानुलाई मतदान गरेको मतपत्र आफूलाई देखाउन मेयर यादव दबाब दिएपछि दुवैबीच अविश्वास सुरु भएको थियो ।

आफूले मतदान गरे पनि कार्यपालिका सदस्यमा कांग्रेस उम्मेदवारहरू पराजित बनेपछि मेयर यादव अराजनीतिक रूपमा प्रस्तुत हुन थालेको र आफूमाथि बारम्बार अभद्र व्यवहारसमेत हुँदै आएको उपमेयर कानुले आरोप लगाइन् ।

कार्यपालिकाका सबै सदस्यमा एमाले र जनता समाजवादी पार्टीको तर्फबाट उम्मेदवारहरू विजयी बनेका थिए । उपमेयर कानुको कार्यकक्षमा मेयर यादवले सुनियोजित ढंगले तोडफोड गर्न लगाएको आरोप पनि छ । अस्पतालको सामान्य विषयलाई बहाना बनाएर आफ्ना नजिकका महिलालाई प्रयोग गरेर मेयर यादवले कायकक्षको ढोका तोडफोड गर्न लगाएको मेयर यादवमाथि आरोप लाग्दै आएको छ ।

११ वटा वडा रहेको महागढीमाई नगरपालिकामा कांग्रेस र एमालेबाट चार/चारजना वडाध्यक्ष विजयी बनेका छन् । जसपाबाट दुई र एकीकृत समाजवादीबाट एक जना वडाध्यक्षमा विजयी भएका छन् । नगर कार्यपालिका सदस्यको निर्वाचनपछि भने नगर कार्यपालिकामा विपक्षी दलहरूको दुई तिहाइभन्दा बढी मत छ ।

अल्पमतमा परेपछि नगर प्रमुख यादवले एकलौटी रूपमा नगर सभा गराउने असफल प्रयाससमेत गरेका थिए । नगरपालिका बोर्डमा अल्पमतमा परेपछि सबैको सहमतिमा काम गर्नुको विकल्प नभएको उपप्रमुख कानुको भनाइ छ । मेयर यादवको अराजनीतिक र असहिष्णु व्यवहारले नगरपालिका अस्तव्यस्त बनेको कार्यपालिकाका एक सदस्यले बताए ।

प्रकाशित मिति : १६ भाद्र २०७९, बिहीबार  ३ : ५३ बजे

सरकारले स्वास्थ्य सुधारका लागि २०.७ मिलियन डलर अनुदान स्वीकार गर्ने

काठमाडौं– सरकारले अमेरिकी सरकारबाट स्वास्थ्य सेवा सुधारका लागि प्राप्त हुने २०.७

बाढी प्रभावित प्रहरीका सन्ततिलाई निःशुल्क स्नातकोत्तर तहसम्मको शिक्षा

काठमाडौं– नेपाल प्रहरीले कर्तव्यपालनको सिलसिलामा भोटेकोशी बाढीबाट प्रभावित २८ जना

म्यान्माको हवाई आक्रमणमा मृत्यु हुनेको सङ्ख्या ५० पुग्यो

याङ्गुन – पश्चिम म्यान्माको राखाइन राज्यमा सेनाले गरेको हवाई आक्रमणमा

चोलेन्द्र पक्राउबारे सरकारका प्रवक्ता भन्छन्- सुरक्षित स्थानमा सारिएको हो

काठमाडौं– पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा पक्राउबारे सरकारका प्रवक्ता सस्मित पोखरेलले

सयुक्त राष्ट्रसङ्घको ८१औँ महासभा सम्पन्न

एजेन्सी– संयुक्त राष्ट्रसङ्घीय महासभाको ८१औँ सत्रको बहस सोमबार सम्पन्न भएको