दिनभर आज : यी हुन् तपाईंले छुटाउन नहुने मुख्य समाचारहरू | Khabarhub Khabarhub

दिनभर आज : यी हुन् तपाईंले छुटाउन नहुने मुख्य समाचारहरू


२७ भाद्र २०७९, सोमबार  

पढ्न लाग्ने समय : 5 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – आज दिनभर आगामी निर्वाचनमा आयोगले तोकेको खर्च सीमा हेरफेर नहुने, सिट बाँडफाँटमा सहमति जुटाउन ढिलाई, चिनियाँ जनकंग्रेसका अध्यक्ष लि झान्सु नेपालमा, नेपालले पाकिस्तानलाई २ करोड रुपैयाँ बराबरको राहत दिने, त्रिभुवन विश्वविद्यालयको नेविसङ्घ समिति  विघटन लगायतका समाचारले प्रमुख स्थान पाए ।

आज दिनभरका मुख्य समाचारहरू:

आगामी निर्वाचनमा आयोगले तोकेको खर्च सीमा हेरफेर नहुने
निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले आगामी निर्वाचनमा आयोगले तोकेको खर्चको सीमा हेरफेर नहुने स्पष्ट पारेका छन ।

सिंहदरबारमा सोमबार बसेको राष्ट्रिय सरोकार तथा समन्वय समितिको बैठकमा थपलियाले खर्चका सीमाका बारेमा बिभिन्न टिकाटिप्पणी सुनिएको भन्दै यसमा आयोगले कुनै हेरफेर नगर्ने स्पष्ट पारे । नेपालको निर्वाचन प्रणाली महङ्गो भयो भन्नेहरु नै खर्चको सीमामा असन्तुष्ट देखिएको उनले बताए ।

थपलियाले निर्वाचनमा दलले भाग लिने भएकाले उम्मेदवारहरुको खर्च पनि सवै दलले नै व्यहोर्ने व्यवस्था भए झन उचित हुने जिकिर गरे ।त्यस्तै उहाले आगामी निर्वाचनमा राजनीतिक दलले ३३ प्रतिशत महिला उम्मेदवार हुनुपर्ने गरि निर्वाचन ऐन संशोधन प्रस्ताव तयार गरेको जानकारी दिनुभयो । बैठकमा समिति सदस्यहरुले निर्वाचन खर्च, प्रचारप्रसार लगाएतका बिषयमा आयोगले गरेको व्यवस्थाका बारेमा ज्ञिसासा राखेका थिए ।

सिट बाँडफाँटमा सहमति जुटाउन ढिलाई
आगामी निर्वाचनमा एउटै क्षेत्रको सिटमा बिभिन्न दलको दावी परेपछि सत्ता गठबन्धनभित्र सिट बाँडफाँटमा सहमति जुटाउन ढिलाई भएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार बसेको सत्ता गठबन्धनको बैठकमा सिट बाँडफाँटका बिषयमा बिभिन्न तहमा छलफल भएपनि सहमति भने हुन नसकेको हो ।

बैठकपछि सञ्चारमन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले दुई पक्ष, तीन पक्षिय र सर्वपक्षिय छलफलबाट सहमतिको प्रयास जारी रहेको जानकारी दिए । उनले सिट बाँडफाँटमा सहमति नजिक पुगेपनि अन्तिम टुङ्गो लाग्न बाँकी रहेको बताए । उनले एउटै क्षेत्रको सिटमा पनि दुई तीनवदा दावी गरेको अवस्था रहेको र यसको समाधानको प्रयास भइरहेको उल्लेख गरे ।

चिनियाँ जनकंग्रेसका अध्यक्ष लि झान्सु नेपालमा
सभामुख अग्निप्रसाद सापकोटाको मैत्रीपूर्ण निमन्त्रणामा जनवादी गणतन्त्र चीनको राष्ट्रिय जनकांग्रेस, स्थायी समितिका अध्यक्ष लि झान्शु नेपाल आएका छन ।

उनी विशेष विमानबाट सोमबार अपराह्न साढें ३ बजे काठमाडौं आएका हुन । अध्यक्ष लीले चारदिने भ्रमणका क्रममा राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री शेरबहादुर देउवासँग शिष्टाचार भेट गर्ने छन । यसैगरी प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालसँग उनले भेट गर्ने कार्यक्रम छ ।

नेपालले पाकिस्तानलाई २ करोड रुपैयाँ बराबरको राहत दिने
नेपालले पाकिस्तानलाई दुई करोड रुपैयाँ बराबरको राहत सामग्री प्रदान गर्ने भएको छ । मन्त्रिपरिषद्को बैठकले बाढी, पहिरोका कारण ठूलो जनधनको क्षति बेहोरिरहेको पाकिस्तानलाई दुई करोड रुपैयाँ बराबरको राहत सामग्री प्रदान गर्ने निर्णय गरेको गृह मन्त्रालयले विज्ञप्तिमार्फत जानकारी गराएको छ ।

सरकारले पाकिस्तानमा बाढी, पहिरोका कारण ज्यान गुमाउनेहरूप्रति श्रदाञ्जली व्यक्त गर्दै शोकमा रहेका परिवारलाई समवेदना पनि व्यक्त गरेको छ । गएको दुई महिनादेखिको वर्षाका कारण भएको बाढी, पहिरो पाकिस्तानमा एक हजार चार सय जनाभन्दा धेरैको ज्यान गइसकेको छ । झन्डै एक तिहाइ भू–भाग डुबानमा परेको अन्तर्राष्ट्रिय सञ्चारमाध्ययमले जनाएका छन् ।

देश बचाउन एमालेले जित्नु पर्छ :ओली
नेकपा एमालेका अध्यक्ष केपी ओलीले देश बचाउनका लागि एमालेलाई बहुमत आवश्यक रहेको बताएका छन् । सोमबार जनकपुरधाममा नेपाल बुद्धिजीवी परिषदको प्रथम मधेस प्रदेश अधिवेशन उद्घाटन गर्दै ओलीले एमालेलाई सरकारमा जान मात्रै नभएर मुलुकलाई बचाउन, समृद्धिको बाटोतर्फ अघि बढाउन बहुमत आवश्यक रहेको बताएका हुन्।

उनले एमालको नेतृत्वमा मात्रै देशका शिक्षा, स्वास्थ्य पूर्वाधार लगाएतको बिकास हुने बताए । आगामी निर्वाचनले देशप्रति समर्पित सरकार दिन सक्नुपर्ने पनि उनको भनाई छ । अध्यक्ष ओलीले अहिलेको निर्वाचन समान्य निर्वाचन नभएको र देशको भाग्य र भविष्यको फैसला गर्ने निर्वाचन भएको धारणा राखे ।

मन्त्रीले पनि चुनाव प्रचार गर्न पाउनुपर्छ : नारायणकाजी श्रेष्ठ
नेकपा (माओवादी केन्द्र) का वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले मन्त्रीलाई चुनाव प्रचारप्रसार गर्न रोक लगाउने गरी जारी गरिएको निर्वाचन आचारसंहिता तत्काल हटाउन निर्वाचन आयोगसँग माग गरेका छन् ।

बहुदलीय राजनीतिक प्रणालीमा नेताहरू नै मन्त्री हुने हुनाले उनीहरूले चुनाव प्रचारप्रसार गर्न नमिल्ने भन्ने कुरा नहुने उल्लेख गर्दै त्यो प्रावधान तत्काल हटाउन निर्वाचन आयोगसँग उनको माग छ ।

सोमवार सिंहदरबारमा बसेको राष्ट्रिय सभा अन्तर्गतको राष्ट्रिय सरोकार तथा समन्वय समितिको बैठकमा बोल्दै उपाध्यक्ष श्रेष्ठले निर्वाचन आयोगले राज्यको स्रोत÷साधनको दुरुपयोग हुन नदिन भने निर्वाचन आचारसंहिता कडाइका साथ लागू गर्नुपर्ने स्पष्ट पारे ।

वर्तमान सरकारका कारण मुलुकको सुशासन लज्जाजनक अवस्थामा पुगेको
नेकपा एमालेका बरिष्ठ उपाध्यक्ष इश्वर पोखरेलले वर्तमान सरकारका कारण मुलुकको सुशासन लज्जाजनक अवस्थामा पुगेको बताएका छन् । सोमबार काठमाडौंको बिशालनगरमा पुनर्निर्मित पञ्चकुमारी धर्मशालाको उद्घाटन गर्दै पोखरेलले संसद संसद, न्यायालय र सरकारको अवस्था हेर्दा लाज मान्नुपर्ने अवस्था आएको बताएका हुन् ।

उनले राजनीतिक दलहरुमा पनि बिकृति पैदा भएकाले खवरदारी गर्नुपर्ने बेला आएको बताए । मुलुकलाई सहि दिशामा लैजान अहिलेको प्रणालीलाई बलियो बनाउनुपर्ने उनको भनाई छ ।

त्यस्तै बागमती प्रदेश सांसद नारायण सिलवालले मापदण्डको पूर्वजानकारी नराखि काठमाडौं महानगरले आतंक फैलाएर संरचना भत्काउने काम गरेको बताए । उनले एक जना व्यक्ति पनि अन्यायमा नपर्ने गरि महानगरले आफ्नो काम अघि बढाउनुपर्ने धारणा राखे ।

त्रिभुवन विश्वविद्यालयको नेविसङ्घ समिति  विघटन
नेपाली कांग्रेसको भातृ सङ्गठन नेपाल विद्यार्थी सङ्घको केन्द्रीय समितिले त्रिभुवन विश्वविद्यालय समिति विघटन गरेको छ । नेपाल विद्यार्थी सङ्घका केन्द्रीय अध्यक्ष दुजाङ शेर्पाले विज्ञप्ति निकालेर विद्यालयस्तरीय समितिले पछिल्लो केही समययता त्रिभुवन विश्वविद्यालयलाई असर गर्ने गतिविधि गरेकाले समिति नै विघटन गरिएको जानकारी दिए ।

अब अर्को समिति घोषणा नहुञ्जेलसम्म नेविसङ्घको नाममा कुनै वक्तव्य निकाल्न नपाइने, कुनै निर्णय गर्नुपरेमा केन्द्रसँग अनिवार्य अनुमति लिनुपर्ने र व्यक्तिगत लहडबाजीमा नभइ आपसी सहमतिमा निर्णय लिनुपर्ने विज्ञप्तिमा भनिएको छ ।

त्रिवि प्रशासनमा लामो समय तालाबन्दी, प्राध्यापकहरुमाथि कुटपिटलगायत घटनाहरुमा नेविसङ्घका कार्यकर्ताहरु मुछिएकोबारे पनि नेविसङ्घ केन्द्रले चासो व्यक्त गरेको छ । अहिलेसम्म त्रिभुवन विश्वविद्यालयमा नेतृत्व गर्ने विद्यार्थी नेताहरुलाई धन्यवाद ज्ञापन गर्दै अब सङ्गठनलाई थप शसक्त र सङ्गठित गर्ने दायित्व केन्द्रीय समितिको भएको विज्ञप्तिमा जनाइएको छ ।

थप १ सय ७९ जनामा कोरोना सङ्क्रमण पुष्टि
पछिल्लो २४ घण्टामा एक सय ७९ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । पीसीआर र एन्टीजेन गरी चार हजार नौ सय ५९ जनाको नमुना परीक्षण गर्दा एक सय ७९ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । यही अवधिमा एक सय ७१ जना सङ्क्रमित निको भएका छन् ।

पछिल्लो २४ घण्टामा कोरोना सङ्क्रमणका कारण एक जनाको ज्यान गएको छ । नेपालमा कोरोना भाइरसका सक्रिय सङ्क्रमितको सङ्ख्या दुई हजार दुई सय ७१ जना पुगेको छ । यस्तै २४ घण्टामा कोरोना भाइरसविरुद्धको खोप लगाएको विवरण भने प्राप्त नभएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

३० हजार घुस लिने राजस्व कार्यालयका अधिकृतविरुद्ध भ्रष्टाचार मुद्दा
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आन्तरिक राजस्व कार्यालय महाराजगन्जमा कार्यरत कम्प्युटर अधिकृत विन्दु श्रेष्ठ प्रधानविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । प्रधानले सेवाग्राहीबाट ३० हजार रुपैयाँ घुस लिएको पुष्टी भएको जनाउँदै अख्तियारले आज उनीविरुद्ध विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको हो ।

अख्तियारले उनलाई गत साउन १८ गते सेवाग्राहीबाट ३० हजार रुपैयाँ घुस लिइसकेको अवस्थामा नियन्त्रणमा लिएको थियो । अख्तियारले आज एक विज्ञप्ति जारी गर्दै अनुसन्धानको सिलसिलामा प्रधानले कम्प्युटर बिलिङ्ग स्वीकृत गर्ने प्रयोजनको लागि सेवाग्राहीसँग घुस लिएको जनाएको छ । आज दायर गरिएको मुद्दामा उनीसँग ३० हजार रुपैयाँ बिगो दाबी गरिएको छ ।

देउडा हेर्न गएकी बालिकालाई बियर खुवाएर बलात्कार
कैलालीमा देउडा हेर्न गएकी बालिकालाई बियर खुवाएर सामूहिक बलात्कार भएको पाइएको छ । घोडाघोडी नगरपालिकाको सुखडमा गत भदौ २१ गते देउडा हेर्न गएकी १५ वर्षीया बालिकामाथि बलात्कार भएको थियो ।

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) वेदप्रकाश जोशीका अनुसार देउडा हेर्न गएका बेला खाजा खाने भनेर उनलाई आरोपीहरुले होटलमा लगेर बियर खुवाएको पाइएको छ ।

होटलमा खानपिन गरेर पीडित बालिका साथीसँगै होटलबाट छुटिएर घर हिंडेकी थिइन् । प्रहरीकाअनुसार घर नजिकै छोडेर उनकी साथी आफ्नो बाटो लागेपछि पिछा गर्दै पुगेका एक जनाले ती बालिकालाई आफ्नो घरमा जान आग्रह गरेका थिए । बियरको नसामा रहेकी उनी ती युवकको घर गएको अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ ।

ती युवकको घर पुगेपछि बालिकालाई बाहिरबाट ढोका थुनेर अरु तीन जना साथीहरु बोलाएर पालैपालो बलात्कार गरेको पीडितको जाहेरीमा उल्लेख छ ।

प्रकाशित मिति : २७ भाद्र २०७९, सोमबार  ९ : १७ बजे

दक्षिण अफ्रिकालाई हराउँदै न्युजिल्यान्ड फाइनलमा

काठमाडौं – आईसीसी च्याम्पियन्स ट्रफीको दोस्रो सेमिफाइनलमा दक्षिण अफ्रिकालाई हराउँदै

स्वास्थ्य सचिवमा विकास देवकोटाकाे बढुवा

काठमाडौं – स्वास्थ्य सचिवमा विकास देवकोटा बढुवा भएका छन् ।

कुलमान घिसिङलाई स्पष्टीकरण सोध्ने मन्त्रिपरिषद्को निर्णय

काठमाडौं – सरकारले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई

छोराको हत्या अभियोगमा दम्पती पक्राउ

मकवानपुर – छोराको हत्या अभियोगमा यहाँको इन्द्रसरोवर गाउँपालिका–३ सिस्नेरीस्थित अदुवाबारीका

डिला संग्रौलाकाे प्रश्न : पत्रकार आचारसंहिताको मापन गर्ने क्षेत्राधिकार कसको हो ?

काठमाडौं – नेपाली कांग्रेसको पेशागत तथा बुद्धिजीवि विभागकी संयोजक डा.