आज भदौ २९ २०७९ या अंग्रेजी क्यालेन्डर अनुसार सेप्टेम्बर १४, २०२२ । तपाईंले थाहा पाउनुपर्ने आज संसारभर भएका प्रमुख घटनाहरू यसप्रकार रहेका छन् :
अडियो सुन्नुहोस्-
पाकिस्तानमा बाढी – थप ५४ जनाको मृत्यु
पाकिस्तानका विभिन्न भागमा अविरल वर्षासँगै आएको बाढीमा परी गएको २४ घन्टा यतामात्र ५४ जनाको ज्यान गएको छ । साथै बाढीमा परेर हालसम्म अरु कैयौँ व्यक्ति घाइते भएका बताइएको छ ।
बितेका दुई महिनामा यहाँका एक हजार चार सय ८१ जनाको बाढीबाट ज्यान गएको बताइएको छ । त्यसैगरी पाकिस्तानको राष्ट्रिय प्रकोप व्यवस्थापन प्राधिकरण (एनडिएमए) ले यहाँका हजारौँ व्यक्ति बाढी र पहिरोमा परेर घाइते भएका जनाएको छ ।
एनडिएमएले प्रकाशन गरेको एक तथ्याङ्कमा यसबारे जानकारी दिइएको हो । पछिल्लो २४ घण्टामा बाढीमा परेर ५४ जनाको ज्यान गएको र अरु छ जना घाइते भएका सो संस्थाले जनाएको छ ।
बाढीबाट सबैभन्दा बढी पाकिस्तानको दक्षिणी प्रान्त सिन्ध प्रभावित भएको छ । सिन्धमा मात्र थप ४४ जनाको ज्यान गएको हो । तीमध्ये अधिकांश बालबालिका र महिला परेका बताइएको छ ।
यहाँका तीन करोड ३० लाखभन्दा बढी नागरिक बाढीबाट प्रभावित भएका छन् । हजारौँ घर बाढीले बगाएको र लाखौँ नागरिक घरविहीन भएर आश्रय लिइरहेका छन् ।
उत्तरपश्चिमी प्रान्त खैबर पख्तुनख्वा र पञ्जाब प्रान्तमा पनि बाढीले असर गरेको छ । सबैभन्दा बढी सिन्धमा र त्यसपछि बलुचिस्तान, गिल्गिट र बाल्टिस्तान क्षेत्रहरु बाढीको चपेटमा परेका छन् ।
बाढीबाट देशको भौतिक संरचनामा पनि अकल्पनीय क्षति पुगेको यहाँका अधिकारीहरुले जनाएका छन् । बाढीले निम्त्याएको विनाशसँगै १२ अर्ब डलरभन्दा बढीको आर्थिक क्षति भएको अनुमान गरिएको छ ।
एलिजावेथको शव बकिंघम ल्याइयो
महारानी एलिजाबेथ द्वितीयको शव राखिएको कफिन लन्डनको बकिंघम प्यालेसमा पुगेको छ । स्थानीय समयअनुसार राति ८ बजे इडिनवर्गबाट दरबारमा कफिन लैजादा भव्य स्वागत गरिएको थियो ।
महारानी एलिजावेथको ९६ वर्षको उमेरमा बिहीबार निधन भएको थियो । उनको सेप्टेम्बर १९ मा अन्तिम संस्कार गरिनेछ । बीबीसीका अनुसार महारानीको राजकीय अन्त्येष्टिमा शाही परिवार, विभिन्न देशका विशिष्ट व्यक्तिहरु सहभागी हुनेछन् ।
उक्त दिनमा सार्वजनिक बिदा घोषणा गरिएको छ । अन्तिम संस्कार गर्नुअघि महारानीको पार्थिव शरीरलाई चार दिन राजकीय अन्तिम श्रद्धाञ्जलिका लागि राखिने भएको छ ।
प्यालेस्टाइनी र इजरायली फौजबीच झडप, दुई प्यालेस्टाइनी र एक इजरायली सैनिकको मृत्यु
प्यालेस्टाइनी र इजरायली फौजबीच भएको झडपमा परी दुई जनाको ज्यान गएको छ । इजरायली कब्जामा रहेको प्यालेस्टाइनको वेस्ट बैंकमा अवस्थित एक प्रहरी जाँच चौकीनजिकै झडप भएको हो ।
झडपका क्रममा मारिनेमा दुई प्यालेस्टाइनी र एक इजरायली सैनिक रहेको प्यालेस्टाइनी स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
गिल्बोआ क्रसिङ नजिकै रातभर प्यालेस्टाइनी आतङ्ककारीहरुसँगको झडपमा इजरायली रक्षा बल (आइडिएफ) एक अधिकारीको मृत्यु भएको इजरायली सेनाद्वारा प्रकाशित विज्ञप्तिमा जनाइएको छ ।
प्यालेस्टाइनको स्वास्थ्य मन्त्रालयले प्रहरी जाँच चौकी नजिकै दुई युवा ‘शहीद’ भएको पुष्टि गरेको छ ।
पछिल्लो केही समययता प्यालेस्टाइनी र इजरायली पक्षबीच बेलाबेला तनाव उत्पन्न हुँदै आएको बताइएको छ ।
पछिल्लो पटक गत अगस्ट महिनाको प्रारम्भीक सातामा इजरायली फौजले प्यालेस्टाइनविरुद्ध कारवाही गरेको थियो । उक्त कारवाहीका क्रममा दर्जनौँ प्यालेस्टाइनीको मृत्यु भएको जनाइएको छ ।
पाकिस्तानी आतंकवादीहरु भारत प्रवेश गर्न खोजिरहेको भिडियो सार्वजनिक
पाकिस्तानबाट भारतीय भूमितर्फ आतंकवादीहरु प्रवेश गर्न खोजिरहेको भिडियो सार्वजनिक भएको छ । भारत र पाकिस्तानबीच विवादमा रहेको कश्मीरस्थित उरी क्षेत्रबाट पाकिस्तानी आतंकवादीहरुले भारतीय भूमितर्फ प्रवेश गर्न खोजिरहेको भिडियो सार्वजनिक भएको हो ।
विद्युतीय निगरानी उपकरणमा तीन आतंकवादीहरु भारतीय भूमिमा प्रवेश गर्न खोजिरहेको दृश्य कैद भएको भारतीय समाचार संस्था एएनआईले जनाएको छ ।
यद्यपि भारतीय सैनिक कारवाहीका क्रममा तीनै जना आतंकवादीहरु मारिएको समेत एएनआईले जनाएको छ ।
‘गोप्य स्रोतले दिएको जानकारीपछि विद्युतीय निगरानी उपकरणमा तीन आतंकवादीहरुको पहिचान भएको थियो । यद्यपि सेनाको तैनाथ दस्ताको कारवाहीमा उनीहरुको मृत्यु भएको छ ।’ नाम नखुलाइएका सैनिक अधिकारीलाई उद्धृत गर्दै एएनआईले जनाएको छ ।
सैनिक कारवाहीका क्रममा उनीहरुको शव, र सोही स्थानबाट दुई एके राइफल र एक चिनियाँ एम १६ राइफल बरामद गरिएको भारतीय सेनाले जनाएको छ ।
केन्यामा विलियम रुटोद्वारा राष्ट्रपतिको सपथ ग्रहण
केन्याको पाँचौ राष्ट्रपतिका रुपमा विलियम रुटोले सपथ लिएका छन् । नवनिर्वाचित राष्ट्रपति रुटोलाई सपथ खुवाउनका लागि राजधानी नैरोबीमा विषेश समारोहको आयोजना गरिएको थियो ।
समारोहमा २० अफ्रिकी देशका नेताहरू सहभागी थिए । केन्याका प्रभावशाली नेता रुटोले मुलुकको शान्ति सुरक्षा, आर्थिक अवस्था, जनताको जीवनस्तर लगायतमा सुधार ल्याउने प्रतिवद्धता व्यक्त गरेका छन् । सन् १९६६ मा जन्मिएका रुटोले गत अगस्ट ९ मा भएको राष्ट्रपतिय निर्वाचनमा जित हासिल गरेका छन् ।
उनीले विपक्षी दलका नेता राइला ओडिङ्गालाई झिनो मतान्तरले पराजित गरेका हुन् । पराजित भएका नेताले निर्वाचन धाँधली भएको भन्दै परिणाम अस्वीकार गरेका थिए । तर सर्वोच्च अदालतले भने निर्वाचन परिणाम सही नै भएको फैसला गरेको छ ।
कडा सुरक्षा व्यवस्थाका बीचमा निवर्तमान राष्ट्रपति उहुरु केन्याटाले रुटोलाई पद हस्तान्तर गरेका छन् ।
‘तालिबानले महिला विद्यार्थीलाई विदेश जान अनुमति समेत दिँदैन’
अफागानिस्तानमा शासन चलाइरहेको तालिबानले अध्ययनका लागि विदेश जान चाहने महिला विद्यार्थीलाई अनुमति नदिने गरेको पाइएको छ ।
रुसी समाचार संस्था स्पुत्निकका अनुसार अध्ययनका लागि कतार, कजाखस्तानजस्ता मुलुक जान चाहने महिला विद्यार्थीलाई तालिबानले अनुमति दिन अस्वीकार गरेको हो ।
यद्यपि विदेश जान चाहने पुरुष विद्यार्थीले भने तालिबानबाट यस्तो अनुमति पाउने गरेका छन् ।
यसबाहेक तालिबानले अफगानिस्तानभित्रै पनि महिलाहरुलाई अध्ययनबाट बञ्चित गर्दै आएको छ । मुलुकका विद्यालयहरुमा महिला र पुरुषलाई बेग्लाबेग्लै राखेर पढाई हुँदै आएको छ भने छात्राहरुलाई ६ कक्षाभन्दा माथि अध्ययन गर्ने अनुमति छैन ।
यतिमात्रै नभई तालिबानको शासनकालमा महिला अधिकार कटौती भएको भन्दै विभिन्न अन्तर्राष्ट्रिय मानवअधिकारवादी संस्थाहरुले समेत चर्को आलोचना गर्दै आएका छन् ।
अमेरिकामा मंकीपक्सबाट पहिलो पटक एक जनाको मृत्यु
अमेरिकामा मंकीपक्स संक्रमणबाट पहिलो पटक एक जनाको मृत्यु भएको छ । मंकीपक्स संक्रमणबाट एक जनाको मृत्यु भएको क्यालिफोर्निया राज्यको लस एन्जलस काउन्टी जनस्वास्थ्य विभागले पुष्टि गरेको छ ।
पीडितको मृत्यु मंकीपक्स संक्रमणबाट भएको अमेरिकी रोग नियन्त्रण तथा उन्मुलन केन्द्रले पनि पुष्टि गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । विरामीलाई अस्पतालमा उपचार गरिएको भएपनि उनको प्रतिरोध क्षमता कमजोर रहेको जनाइएको छ ।
उनको मृत्युबारे अन्य कुनै जानकारी सार्वजनिक नगरिने अधिकारीहरूले जनाएका छन । लस एन्जलस काउन्टी अफ पब्लिक हेल्थ विभागले पोस्टमार्टम रिपोर्टबाट मृत्युको पुष्टि भएको जनाएको छ ।
अमेरिकामा मंकीपक्सका कारण कसैको मृत्यु भएको यो पहिलो घटना रहेको अमेरिकी टेलिभिजन सीएनएनको अनलाइन संस्करणले जनाएको छ ।
यो वर्ष अमेरिकामा सम्भावित र पुष्टि भएकासहित लगभग २२ हजार मंकीपक्सका घटनाहरू रेकर्ड भएका छन् ।
जापानका सबैभन्दा ज्येष्ठ नागरिकको मृत्यु
जापानका सबैभन्दा ज्येष्ठ नागरिक मिकिजो उएडाको निधन भएको छ । उनको ११२ वर्षको उमेरमा नारा शहरमा निधन भएको स्थानीय सरकारले जनाएको छ ।
उनको जन्म सन् १९१० मे महिनामा भएको थियो । उनको निधन भएपछि स्वास्थ्य मन्त्रालयले यसै साता देशकै वृद्धहरूमध्येबाट अर्को सबैभन्दा जेष्ठ नागरिक घोषणा गर्ने तयारी गरेको छ।
गिनिज वल्र्ड रेकर्ड्सले विश्वकै सबैभन्दा वृद्ध व्यक्तिको रूपमा मान्यता पाएकी ११९ वर्षीया जापानी महिला केन तानाकाको यस वर्षको अप्रिल १९ मा फुकुओका प्रिफेक्चरमा निधन भएको थियो ।
उनको मृत्युसँगै जापानको सबैभन्दा वृद्ध व्यक्ति अब ओसाका प्रिफेक्चरमा बस्ने ११५ वर्षीया महिला फुसा तात्सुमी बनेकी छिन् ।
जापानका जिरोमोन किमुरा, गिनिज वल्र्ड रेकर्ड्स द्वारा प्रमाणित सबैभन्दा लामो समय बाँचेका पुरुष थिए । उनको ११६ वर्ष र ५४ दिनको उमेरमा जुन २०१३ मा निधन भएको थियो ।
थाइल्याण्डको सैनिक विद्यालयमा गोली चल्दा दुई जनाको मृत्यु
थाइल्याण्डको सैनिक विद्यालयमा भएको गोलीकाण्डमा दुई सैनिकको मृत्यु भएको छ । राजधानी बैंककमा अवस्थित ‘रोयल थाई आर्मी वार कलेज’ मा बुधबार भएको गोलीकाण्डमा परी अर्का एक जना घाइते भएको शाही थाई सेनाका उपप्रवक्ता सिरिचन नगाथोङले जानकारी दिएका छन् ।
स्थानीय समयअनुसार बिहान ८ बजेर ५५ मिनेटमा उक्त सैनिक विद्यालयमा गोली चलेको हो । ५९ वर्षीय सार्जेन्ट योङ्गुत मार्कोर्नकिमले गोली चलाएको शाही थाई सेनाले जनाएको छ । उनी मानसिक रुपमा अस्वास्थ रहेको हुनसक्ने बताइएको छ ।
घटनापछि उनलाई नियन्त्रणमा लिइएको र गोली चलाउनुको कारण अझै स्पष्ट नभएको जनाइएको छ । घाइतेहरुलाई उपचारका लागि अस्पताल भर्ना गरिएको चिनियाँ समाचार संस्था सिन्ह्वाले जनाएको छ ।
घटनाबारे अनुसन्धान गर्न विशेष टोली गठन गरिने शाही थाई सेनाले जनाएको छ ।
अष्ट्रेलियामा कंगारुको आक्रमणबाट ७७ वर्षीय वृद्धको मृत्यु
कंगारुको हमलामा अष्ट्रेयिलयामा एक ७७ वर्षीय वृद्धको मृत्यु भएको छ । मारिने व्यक्ति ७७ वर्षे पिटर एडेस रहेको अष्ट्रेलियाबाट प्रसारण हुने एबीसी टेलिभिजनको अनलाइन संस्करणले जनाएको छ ।
उनले ६० भन्दा धेरै अल्पाका नामक घरपालुवा जनावर पालेर जीवन बिताउँदै आएका थिए । उनलाई आफन्तले पश्चिमी अस्ट्रेलियाको थोरै जनसंख्या भएको दक्षिणी सहर रेडमन्डको घरमा गम्भीर घाइते अवस्थामा फेला पारेको प्रहरीले जनाएको छ ।
उनको घरमा एम्बुलेन्सका कर्मचारी पुग्दा ती व्यक्तिको मृत्यु भइसकेको थियो । प्रहरीले कंगारुलाई गोली हानेर मारिदिएका छन् ।
३ वर्षे उक्त कंगारुलाई ती मानिसले पाल्तु जनावरको रूपमा राखेको हुन सक्ने प्रहरीको अनुमान छ ।
कंगारुले अस्ट्रेलियाली इतिहासमा ८६ वर्षपछि पहिलो पटक आक्रमण गरेको अमेरिकाबाट प्रकाशित हुने न्यूयोर्क टाइम्सले जनाएको छ ।
अष्ट्रेलियाका सञ्चारमाध्यमहरूका अनुसार यसअघि सन् १९३६ मा कंगारुको हमलामा मानिसको मृत्यु भएको थियो ।
आशियानका अर्थमन्त्रीहरुको बैठक कम्बोडियामा सुरु
दक्षिण पूर्वी एसियाली देशहरुको सङ्गठन (आसियान) का अर्थमन्त्रीहरुको बैठक कम्बोडियामा सुरु भएको छ । कोरोना भाइरसको महामारीपछि अस्तव्यस्त बनेको अर्थतन्त्रका बारेमा छलफल गर्न अर्थमन्त्रीहरुको बैठक आयोजना गरिएको हो ।
बुधबारबाट सुरु भएको आसियानका अर्थमन्त्रीहरुको यो ५४ औँ बैठक हो । बैठकमा अर्थतन्त्रका अन्य विविध आयामहरुका बारेमा पनि छलफल हुने जनाइएको छ ।
बैठकको उद्घाटन समारोहमा बैठक आयोजक कम्बोडियाका प्रधानमन्त्री हुन सेनले सम्बोधन गरेका थिए । विश्व समुदायले अहिले विकास र अर्थतन्त्रका क्षेत्रमा नयाँ चुनौती र समस्याहरुको सामना गरिरहनु परेको उनले सो अवसरमा बताएका छन् ।
आसियानमा आवद्ध देशहरुले नयाँ चुनौती र समस्याहरुलाई समाधानका उपायहरु पहिचान गरी अन्य देशहरुलाई त्यसतर्फ डो¥याउनुपर्नेमा उनले जोड दिएका थिए । त्यसैगरी कानुनको शासन, विश्वव्यापीकरण, बहुदेशीय सहकार्य, बहुदेशीय संरचना निर्माण तथा संचालन, व्यापार तथा लगानी, संरक्षणवादलगायतका विषयमा पनि छलफल गर्न उनले सुझाव दिए ।
सम्मेलनको अध्यक्षता गरेका कम्बोडियाका अर्थमन्त्री पान सोरासाकले दिगो, समावेसी र उदारवादी अर्थतन्त्रको विकासका लागि काम गर्नुपर्नेमा जोड दिएका छन् । आसियानमा ब्रुनाई, कम्बोडिया, इन्डोनेसिया, लाओस, मलेसिया, म्यानमार, फिलिपिन्स, सिङ्गापुर, थाइल्याण्ड र भियतानम सदस्य राष्ट्र छन् ।
प्रतिक्रिया