मुस्ताङबाट १२ हजार भेडा तथा च्याङ्ग्रा पोखरा ल्याइँदै | Khabarhub Khabarhub

मुस्ताङबाट १२ हजार भेडा तथा च्याङ्ग्रा पोखरा ल्याइँदै


३ आश्विन २०७९, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


273
Shares
  • change font
  • change font
  • change font

गण्डकी – मुस्ताङबाट यस वर्षका लागि १२ हजार भेडा तथा च्याङ्ग्रा पोखरा ल्याइने भएको छ। पोखरामा प्रत्येक वर्षको दसैँमा भेडा तथा च्याङ्ग्राको राम्रै खरिद बिक्री हुने गरेको छ। हिमाली जडीबुटी खाएर हुर्केका भेडा तथा च्याङ्ग्रा स्वास्थ्यको दृष्टिकोणले पनि उपयुक्त हुने विश्वासका कारण पोखरा र आसपासमा च्याङ्ग्राको माग बढ्दो छ।

पोखरामा मुस्ताङका साथै छिमेकी राष्ट्र चीनबाट पनि भेडा च्याङ्ग्रा आउने गरेकोमा यस वर्ष कोराला नाका नखुलेका कारण त्यताबाट नआउने भएको छ। मुस्ताङसहित केही मात्रामा मुस्ताङ तथा डोल्पाबाट तथा भेडा च्याङ्ग्रा आउनसक्ने भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र मुस्ताङका सूचना अधिकारी ऋषिराम पोखरेलले जानकारी दिए। उनका अनुसार यस वर्ष मुस्ताङबाट लगभग १२ हजार भेडा तथा च्याङ्ग्रा आउनसक्ने देखिएको छ।

च्याङ्ग्राको बढ्दो मागसँगै मुस्ताङका वारागुङ मुक्तिक्षेत्र, ल्होघेकर दामोदर कुण्ड, ल्होमन्थाङ गाउँपालिकामा च्याङ्ग्राको व्यावसायिक पालन बढ्दै गएको उनले जानकारी दिए। उनका अनुसार मुस्ताङको ल्होघेकर दामोदरकुण्ड गाउँपालिकामा स्थानीयवासीले करिब २० हजार भेडा तथा च्याङ्ग्रा पालिरहेका छन्। त्यस्तै वारागुङ मुक्तिक्षेत्र गाउँपालिकामा १६ हजारको सङ्ख्यामा भेडा तथा च्याङ्ग्रा पालन गरिएको छ। उपल्लो मुस्ताङको ल्होमन्थाङ गाउँपालिकामा करिब १० हजारको सङ्ख्यामा भेडा तथा च्याङ्ग्रा पालन गरिएको सूचना अधिकारी पोखरेलले जानकारी दिए।

पछिल्ला वर्षमा ऊनको व्यापार कम हुँदै गएपछि यहाँ किसान भेडाभन्दा पनि च्याङ्ग्रातिर आर्किषत बनेको देखिन्छ। ल्होघेकर दामोदरकुण्ड, वारागुङ मुक्ति क्षेत्र र ल्होमन्थाङ गाउँपालिकामा अधिकांश च्याङ्ग्रा पालन भइरहे पनि मुस्ताङका थासाङ र घरपझोङ गाउँपालिकामा भने अधिकांशः भेडा पालन भइरहेको छ। सामान्यतः एउटा च्याङ्ग्रा जन्मेको चार वर्षपछि बेच्न लायक हुने गरेको बताइएको छ।

पोखरामा घटस्थापना पछि क्रमशः भेडा च्याङ्ग्राको व्यापार हुने गरेको छ। भेडा तथा च्याङ्ग्रा उच्च हिमाली क्षेत्रमा बस्ने भएकाले पोखरा ल्याउँदा हिँडाएर झार्नुपर्ने हुन्छ। मुस्ताङबाट पोखरासम्म हिँडाएर ल्याउनका लागि करिब चार दिन समय लाग्ने विगत केही वर्षयता भेडा तथा च्याङ्ग्राको व्यापार गर्दै आएका सन्दीप गुरुङले बताए। ‘हिमाली भेगबाट पहाडी भेगमा गाडीमा ल्याउँदा भेडा तथा च्याङ्ग्रामा चाँडै नै स्वासप्रश्वासमा समस्या आउने गर्दछ, त्यसैले हिँडाएर ल्याउँदा सुरक्षित पुर्‍याउन सकिन्छ’, उनले भने, ‘हिँडाउँदै, चराउँदै ल्याउँदा बाटोमा हराउनेजस्ता समस्या पनि नभएका भने होइनन्।’

मुस्ताङबाट झर्ने भेडा तथा च्याङ्ग्राको जोमसोममा स्वास्थ्य परीक्षण गरेर पठाउने गरिएको पोखरेलले जानकारी दिनुभयो। विगतमा मुस्ताङसहित मुगु, डोल्पा, चीनबाट ल्याइने गरिए पनि यस वर्ष चीनबाट आउने सम्भावना नभएपछि बजारमा माग पुर्‍याउन गाह्रो हुने देखिएको छ। हिमाली क्षेत्रमा जडीबुटी खाएर हुर्केको भेडा च्याङ्ग्रा मासु स्वादिष्ट र स्वास्थ्यका लागि पनि फलदायी हुने भएकाले पोखरामा बर्सेनि माग बढ्दो अवस्थामा रहेको गुरुङले बताए।

अघिल्लो वर्ष पोखरामा दसैँको समयमा रु ६४ करोडको भेडा च्याङ्ग्राको कारोबार भएको पोखरा महानगरपालिका पशु सेवा शाखाका प्रमुख नवराज अधिकारीले जनाए।

पोखरामा च्याङ्ग्राको व्यापार भोटमा नुन लिन जाने प्रचलनदेखि नै सुरु भएको मानिन्छ। तत्कालीन समयमा नुन लिनका लागि भोट जाने र फर्कँदा हुनेखानेले दसैँका समयमा नुनसँगै च्याङ्ग्रा पनि ल्याउने गरेको पाइन्छ। तत्कालीन समयका टुक्रे राज्यका शासकले दरबारमा हिमाली क्षेत्रका झारल, घोरल तथा च्याङ्ग्राको मासु तथा सुकाएर सुकुटी खाने र आफ्नो रौबरबाफ देखाउने प्रचलन रहेकोमा पछि विस्तारै सर्वसाधारण पनि यसतर्फ आकर्षित हुँदै गएको बुढापाका बताउँछन्।

प्रकाशित मिति : ३ आश्विन २०७९, सोमबार  ९ : ४७ बजे

बाहिरियो रवि हिरासतमा सुतेको तस्बिर, रास्वपा नेताले उठाए प्रश्न

काठमाडौं – प्रहरी हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का

एकीकृत समाजवादीमा झलनाथलाई रोजेकै विभाग, विद्यार्थीको जिम्मा झाँक्रीलाई

काठमाडाैं – नेकपा (एकीकृत समाजवादी)ले केन्द्रीय नेताहरूको जिम्मेवारी तोकेको छ

एसइईमा अब ‘एनजी’ आएको विषयमा मात्रै परीक्षा दिन पाइने

भक्तपुर – यस वर्षदेखि कक्षा १० को अन्तिम परीक्षा अर्थात्

आपराधिक घटनामा वृद्धि : दैनिक १६२ मुद्दा दर्ता, ११७ पक्राउ

काठमाडौं – नेपाल प्रहरीको तथ्याङ्कले आपराधिक घटना न्यूनीकरण हुन नसकेको

पर्यटन क्षेत्रको विकासका लागि निजी क्षेत्र अघि सर्नुपर्छ : मन्त्री पाण्डे

काठमाडौं – संस्कृति पर्यटन तथा नागरिक उड्यनमन्त्री बद्रीप्रसाद पाण्डेले पर्यटन