बिहान १० बजेसम्मका मुख्य १० समाचार | Khabarhub Khabarhub

बिहान १० बजेसम्मका मुख्य १० समाचार


५ आश्विन २०७९, बुधबार  

पढ्न लाग्ने समय : 3 मिनेट


15
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – बिहानैदेखि आज पनि विभिन्न राजनीतिक, आर्थिक तथा सामाजिक घटनाक्रम चलिरहेका छन्। पछिल्लो चौबिस घण्टामा राजधानी काठमाडौँदेखि देशभरका समाचार अपडेटका साथै अन्तर्राष्ट्रिय र खेलकुदका विभिन्न गतिविधि तथा कार्यक्रम भइरहेका छन्। बिहान १० बजेसम्मका मुख्य १० समाचार यस्ता छन्ः

१. राष्ट्रपतिको पछिल्लो निर्णयको निन्दा
राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयकलाई प्रमाणीकरण गर्न अस्वीकार गरेपछि देश तथा विदेशमा रहेका नेपाली नागरिक तथा संघसंस्थाले निन्दा व्यक्त गरेका छन्। नेपाली जनसम्पर्क  समिति बेलायतले विज्ञप्ति जारी गर्दै राष्ट्रपतिको पछिल्लो निर्णयको निन्दा गरेको छ। समितिका सभापति युवराज गुरुङले विज्ञप्ति जारी गर्दै दुवै संसदद्वारा पारित भएर दोस्रोपटक आएको विधेयकलाई १५ दिन भित्र प्रमाणीकरण गर्नै पर्ने संवैधानिक दायित्वबाट राष्ट्रपति भण्डारी पछि हट्नु नेपालको संविधानको ठाडो उल्लंघन भएको बताएका छन्।

२. राष्ट्रपतिलाई तत्काल राजीनामा दिन दबाब 
सर्वोच्च अदालतका पूर्व न्यायाधीश बलराम केसीले नागरिकता विधेयक प्रमाणीकरण नगरेर राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको गम्भीर उल्लंघन गरेको बताएका छन्। प्रतिनिधिसभा भएको भए महाअभियोग लगाउनुपर्ने गरी राष्ट्रपतिले संविधानको उल्लंघन गरेको भन्दै उनले तत्काल राजीनामा दिन आग्रह गरेका छन्। पूर्व न्यायाधीश केसीले राष्ट्रपतिबाट संविधानको गम्भीर उल्लंघन भएकोले यसमा क्षमा नहुने बताए।

३. सत्ता गठबन्धनको बैठक बस्दै
राष्ट्रपति विद्यादेवी भण्डारीको कदमपछि छलफल गर्न सत्ता गठबन्धनको बैठक बस्दै छ। प्रतिनिधिसभाले दोस्रो पटक पारित गरेर प्रमाणीकरणका निम्ति पठाएको विधेयक राष्ट्रपति भण्डारीले अस्वीकार गरेपछि सत्ता गठबन्धन रुष्ट बनेको छ। नागरिकता विधेयक अस्वीकृत भएपछि आवश्यक रणनीतिका विषयमा छलफल गर्न अहिले बिहान सत्ता गठबन्धन छलफलमा जुटेको हो। दोस्रो पटक पुगेको विधेयक प्रमाणीकरण गर्नै पर्ने संवैधानिक बाध्यतालाई उल्लंघन गरेर राष्ट्रपति भण्डारीबाट संविधानको गरिमा पालना नगरेको र संसदीय प्रणालीमाथि प्रहार गरेको गठबन्धनले निष्कर्ष निकालेको छ।

४. नेताहरुको प्रतिक्रिया
नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले राष्ट्रपतिबाट प्रणाली नै खतरामा पार्ने काम भएको बताएका छन्। नागरिकता विधेयक प्रमाणीकरण नगरेपछि नेता पौडेलले सामाजिक सञ्जाल ट्विटरमा आफ्नो धारणा राख्दै जन निर्वाचित सभाबाट अनुमोदित सहित प्रस्तावित विधेयकको संवैधानिक अधिकार प्रयोग गर्नुपर्नेमा राष्ट्रपतिबाट प्रणाली नै खतरामा पार्ने काम भएको टिप्पणी गरेका छन्। माओवादी केन्द्रका महासचिव देव गुरुङले राष्ट्रपतिले नागरिकता विधेयक प्रमाणीकरण नगरेर संविधानको परिकल्पनाभन्दा बाहिरको काम गरेको बताएका छन्। पूर्व प्रधानमन्त्री एवम् नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले लोकतन्त्रको डुंगालाई सबैले मौका मिल्नासाथ प्वाल पारेको भन्दै आक्रोश पोखेका छन्। राप्रपा नेपालका अध्यक्ष कमल थापाले भने नागरिकता विधेयक राष्ट्रपतिले प्रमाणीकरण नगरेर राष्ट्र हित काम गरेको बताए।

५. तेलको मूल्यमा थप १० रुपैयाँ छुट
खाद्य व्यवस्था तथा व्यापार कम्पनीले खाने तेलको मूल्यमा थप १० रुपैयाँ छुट दिएको छ। सुपथ मूल्य पसलमा बजारको भाउ भन्दा महँगो भएको भन्दै गुनासो आएपछि कम्पनीले लिटरमा थप १० रुपैयाँले घटाएको हो। कम्पनीका बिक्री वितरण विभाग प्रमुख भीमबहादुर थापाले नयाँ मूल्य हिजोदेखि नै लागू भइसकेको बताए। अब सनफ्लावर तेलको मूल्य प्रतिलिटर २ सय ८५ रुपैयाँ, तोरीको तेल २ सय ७५ रुपैयाँ र भटमासको तेल २ सय ४० रुपैयाँमा पाइने उनले जानकारी दिए।

६. ललितपुर महानगरको निर्देशन
ललितपुर महानगरपालिकाले अतिक्रमण गरेर बनाइएका संरचना ३५ दिनभित्र हटाउनू निर्देशन दिएको छ। काठमाडौँ महानगरपालिकाले फुटपाथमा रहेका पसल हटाउनुका साथै सार्वजनिक स्थानमा बनाइएका संरचना भत्काइरहेका बेला ललितपुरले पनि हटाउन सूचना जारी गरेको हो। महानगरले आज सार्वजनिक सूचना जारी गरेर अतिक्रमण गरेर बनाइएका संरचना ३५ दिनभित्र हटाउन भनेको छ।

७. पेट्रोल भण्डारण गृह निर्माणमा ढिलाइ
बजेट अभावका कारण मोतिहारी–अमलेखगञ्ज पाइपलाइन परियोजनाको दोस्रो चरणको काम अगाडि बढ्न नसकेको जनाइएको छ। पाइपलाइनबाट पेट्रोल ल्याउन बाराको अमलेखगञ्जमा पेट्रोल भण्डारण गृह निर्माणको प्रक्रिया अगाडि बढ्न नसकेको हो। अमलेखगञ्जमा पेट्रोल भण्डारण गृह नहुँदा पाइपलाइनबाट पेट्रोल आयात भएको छैन। हाल पाइपलाइनबाट डिजेल मात्र आयात भइरहेको छ।

८. विश्व शान्ति दिवस आज
आज विश्व शान्ति दिवस, नेपालमा पनि विभिन्न कार्यक्रम गरेर मनाइँदै छ। हरेक वर्ष सेप्टेम्बर २१ तारिखका दिन विश्व शान्ति दिवस मनाउने गरिन्छ। यसवर्ष दिवसको नारा ‘जातिवादको अन्त्य र शान्तिको स्थापना’ भन्ने तय गरिएको छ। यो दिवस सन् १९८२ सेप्टेम्बर २१ देखि मनाउन सुरु गरिएको हो। नेपालमा भने विसं २०६५ सालदेखि दिवस मनाउन थालिएको हो।

९. युक्रेनका ४ शहरमा जनमतसंग्रह
रुसमा गाभिने कि नगाभिने भन्ने विषयमा युक्रेनका शहरहरुमा जनमतसंग्रह हुने भएको छ। रुसले कब्जामा लिएको युक्रेनका लुहान्स्क, दोनेत्स्क, खेरसान र जेपोरजियामा जनमत संग्रह हुन लागेको हो। सेप्टेम्बर २३ देखि २७ सम्म जनमत संग्रह हुने बीबीसीले जनाएको छ। लुहान्स्कमा आउँदो शुक्रबार जनमत संग्रहको तयारी भइरहेको रुसी अधिकारीहरुले बताएका छन्। युक्रेनी नागरिकहरुले रुसमा गाभिने कि नगाभिने भनेर आफ्नो मत व्यक्त गर्नेछन्।

१०. इंग्ल्यान्डसँग पाकिस्तान पराजित
पहिलो टी–२० क्रिकेटमा इंग्ल्यान्डले घरेलु टोली पाकिस्तानलाई हराएको छ। कराचीमा गएराति भएको खेलमा इंग्ल्यान्डले पाकिस्तानलाई ६ विकेटले हराएको हो। जितसँगै पाकिस्तान भ्रमणमा रहेको इंग्ल्यान्डले ७ खेलको श्रृंखलामा १–० को अग्रता बनाएको छ। पाकिस्तानले दिएको १ सय ५९ रनको लक्ष्य इंग्ल्यान्डले १९ ओभर २ बलमा ४ विकेट गुमाएर भेट्टायो। त्यसअघि पहिले ब्याटिङ गरेको पाकिस्तानले २० ओभरमा ७ विकेट गुमाएर १ सय ५८ रन बनाएको थियो। यी दुई देशबीचको दोस्रो टी–२० खेल भोलि हुनेछ।

प्रकाशित मिति : ५ आश्विन २०७९, बुधबार  १० : १० बजे

केही स्वार्थीहरूलाई मात्रै एमालेको महाधिवेशन लागेको हो : ओली

काठमाडौं– प्रधानमन्त्री एवं नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले

श्रमिकको स्वास्थ्य रक्षाका मुद्दा प्रभावकारी बनाउन मन्त्री पौडेलको पहल

काठमाडौं– स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलले विश्व स्वास्थ्य सङ्गठनमा

प्रधानमन्त्रीको स्पेन भ्रमणबारे संसद्लाई जानकारी

 काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले शनिबारदेखि हुन गइरहेको स्पेनको औपचारिक

राप्रपा र रास्वपाबाट प्रधानमन्त्रीको सम्बोधन बहिष्कार

काठमाडौं– प्रतिपक्षी दुई दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय

गृहमन्त्रीलाई राप्रपा सांसदको चेतावनी– धेरै फुर्ति नदेखाउनुस्, भोलि पल्लो छेउबाट ओल्लो छेउ आउनुहुन्छ

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद रोशन कार्कीले भिजिट