संविधान र लोकतन्त्रमाथि पुनः कालो बादल मडारिन लागेको छ : पूर्वराष्ट्रपति डा. यादव | Khabarhub Khabarhub

संविधान र लोकतन्त्रमाथि पुनः कालो बादल मडारिन लागेको छ : पूर्वराष्ट्रपति डा. यादव


५ आश्विन २०७९, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- पूर्वराष्ट्रपति डा. रामवरण यादवले संविधान र लोकतन्त्रमाथि पुनः कालो बादल मडारिन लागेको भन्दै चिन्ता व्यक्त गरेका छन्।

जनकपुरधामस्थित पुरानो ऐतिहासिक सरस्वती नमूना माध्यमिक विद्यालयको नयाँ भवन शिलान्यास कार्यक्रममा आज बोल्दै पूर्वराष्ट्रपति डा. यादवले पछिल्लो समय संविधान र लोकतन्त्रमाथि हमला हुने काम भएकाले पुनः मुलुकमा निरङ्कुशता जन्मिने खतरा बढेको बताए।

उनले जनता सजग र सचेत नभए पुनः मुलुकमा प्रतिगमन आउन सक्ने उल्लेख गर्नुहुँदै सबै निकाय संविधानको मर्म र भावनाअनुसार अघि बढ्न सके मात्र संविधानको रक्षा हुने बताए।

दुई/दुई पटक दुवै सदनबाट पारित भएको नागरिकतासम्बन्धी विधेयक फिर्ता गरेर राष्ट्रपतिले संविधान उल्लङ्घन गर्ने काम गरेको टिप्पणी गर्दै उनले संविधानमा राष्ट्रपतिलाई एक पटक पुनर्विचारका लागि विधेयक फिर्ता गर्न सक्ने अधिकार भए पनि दुई पटक फिर्ता गर्ने अधिकार नभएको जिकिर गरे।

अनधिकृत रूपमा भइरहेको चुरे दोहनका कारण तराई मधेस क्षेत्र मरुभूमि बन्ने अवस्थामा पुग्नै लाग्दासमेत सरकारले चुरे क्षेत्रको संरक्षणमा सरकारको ध्यान पुग्न नसकेको उनले गुनासो गरे।

“पहिला तराई क्षेत्र तराई थियो, यहाँ पर्याप्त पानी हुन्थ्यो, धान गहुँ पर्याप्त मात्रामा उत्पादन हुन्थ्यो”, पूर्वराष्ट्रपति डा यादवले भने, “तर अहिले तराई मधेसमा पानीको समस्या देखिएको छ, खाद्यान्न बाहिरबाट आयात गर्नुपर्ने अवस्था छ ।” यसको प्रमुख कारण अनधिकृत रूपमा भइरहेको चुरे दोहन र चुरेको विनाश भएको उनको भनाइ थियो ।

शिक्षाको स्वामित्व समाजले नलिएसम्म शिक्षा क्षेत्रले अपेक्षित परिणाम दिन नसक्ने जिकिर गर्दै उनले सरकारको मात्र मुख हेरेर नभई शिक्षाको स्वामित्वसँगै निगरानी समाजले लिनुपर्नेमा जोड दिए। समुदायले शिक्षाको महत्त्व नबुझेसम्म शिक्षा क्षेत्र अघि बढ्न नसक्ने र बेरोजगारी समस्यासमेत समाधान नहुने उल्लेख गर्दै उनले समुदायले शिक्षा हाम्रो हो, हामी शिक्षा क्षेत्रलाई अघि बढाउनुपर्छ भन्ने मनोभावना नलिएसम्म शिक्षा क्षेत्रको विकास हुन नसक्ने बताए ।

“पहिला पहिला समाजले शिक्षालाई महत्त्वका साथ लिन्थ्यो, निगरानी गर्दथ्यो त्यसैले त्यति बेला सरकारी विद्यालयको स्तरमाथि थियो ठूला ठूला विद्वान् उत्पादन गर्दथ्यो”, उनले भने, “तर अहिले समाजलाई शिक्षासँग कुनै मतलब छैन, निजी विद्यालय थुप्रै खुलेका छन्, सरकारी विद्यालयका शिक्षक राजनीतिमा लागेका छन्, विद्यालयको अवस्था बेहाल छन्, जसका कारण शिक्षा क्षेत्र तहसनहस हुँदै गएको छ ।” त्यसैले समुदाय, विद्यार्थी, अभिभावक, जनप्रतिनिधि सबैले विद्यालय हाम्रो हो, हामीले बनाउनुपर्छ भन्ने भावना जागृत गर्नुपर्छ उनको भनाइ थियो ।

कार्यक्रममा सहरी विकासमन्त्री मेटमणि चौधरीले जनकपुरधामलाई धार्मिक पर्यटकीय क्षेत्र बनाउन सरकार प्रतिबद्ध रहेको बताए। धार्मिक, संस्कृति र ऐतिहासिक नगरी जनकपुरधामलाई धार्मिक पर्यटकीय क्षेत्र बनाउन सरकार गम्भीर रहेको उल्लेख गर्दै मन्त्री चौधरीले यहाँका पोखरी तथा मठमन्दिरको जीर्णाेद्धारलगायतका कार्य भइरहेको जानकारी दिए।

जनकपुरधामको मुख्य चुनौतीका रूपमा देखिएको फोहोर मैला व्यवस्थापनका लागि जग्गा उपलब्ध भए सरकारले फोहोर मैला व्यवस्थित गर्न बजेट उपलब्ध गराउने प्रतिबद्धतासमेत उनले व्यक्त गरे ।

जनकपुरधाम उपमहानगरपालिकाका प्रमुख मनोजकुमार साहको अध्यक्षतामा आयोजित विद्यालय भवन शिलान्यास कार्यक्रममा सहरी विकास मन्त्रालयका सचिव डा रमेशप्रसाद सिंहले कूल रु १० करोडको लागतमा निर्माण हुन लागेको विद्यालय भवन निर्माण कार्य १५ महिनाभित्र सम्पन्न हुने प्रतिबद्धता व्यक्त गरे।

पुरानो वास्तुकलामा आधारित भई आधुनिक निर्माण सामग्री प्रयोग गरी तयार हुने दुई तल्ले विद्यालय भवन निर्माणका लागि गणपति बाबा निर्माण सेवा प्रालि धुलिखेलले सम्झौता गरेको र आगामी २०८० मङ्सिर ३० गतेभित्र निर्माण सकिने सम्झौता भएको सङ्घीय आयोजना कार्यान्वयन एकाइ जनकपुरधाम धनुषाका प्रमुख प्रदीप खनालले जानकारी दिए।

प्रकाशित मिति : ५ आश्विन २०७९, बुधबार  ६ : ३५ बजे

मेरो माइक्रोफाइनान्सले साढे ७ प्रतिशत बोनस दिने

काठमाडौं– मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले करिब ८ प्रतिशत

घिनाटार–टाउनचोक सडक कालोपत्र सुरु

दमौली – यहाँको देवघाट गाउँपालिका–५ स्थित घिनटार–टाउनचोक–देवपुर सडक कालोपत्र सुरु

प्लास्टिकजन्य फोहोर नजलाउन आग्रह

काठमाडौं – वन तथा वातावरण मन्त्रालयले प्लास्टिकजन्य फोहोर तथा कृषिजन्य

ग्रामीण महिलाको आयआर्जनको माध्यम बन्दै कोदो

गलेश्वर – म्याग्दीको रघुगङ्गा गाउँपालिका–६ की हिमा छन्त्यालले यस वर्ष

दिगो विकास लक्ष्यमा उल्लेख्य प्रगति : अर्थमन्त्री पौडेल

काठमाडौं– उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले दिगो विकास लक्ष्यहरू प्राप्तिका