विश्वभर आज : यस्ता छन् तपाईंले थाहा पाउनुपर्ने अन्तर्राष्ट्रिय घटनाक्रम | Khabarhub Khabarhub

विश्वभर आज : यस्ता छन् तपाईंले थाहा पाउनुपर्ने अन्तर्राष्ट्रिय घटनाक्रम


५ आश्विन २०७९, बुधबार  

पढ्न लाग्ने समय : 6 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

आज असोज ५, २०७९ या अंग्रेजी क्यालेन्डर अनुसार सेप्टेम्बर २१, २०२२ । तपाईंले थाहा पाउनुपर्ने आज संसारभर भएका प्रमुख घटनाहरू यसप्रकार रहेका छन्:

पुटिनद्वारा आंशिक सैन्य परिचालनको आदेश, पश्चिमा मुलुकद्वारा चर्को निन्दा

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले देशमा आंशिक सैन्य परिचालनको आदेश दिएका छन् ।

राष्ट्रपति पुटिनले युक्रेनमाथि आक्रमण जारी राख्दै अर्थतन्त्रलाई ‘युद्धकालीन चरणमा’ राख्नको लागि देशमा आंशिक सैन्य परिचालनको घोषणा गरेका हुन् ।

देशभरि टेलिभिजनमा प्रसारण गरिएको पूर्व रेकर्ड गरिएको भाषणमा पुटिनले ‘मातृभूमि, यसको सार्वभौमसत्ता र क्षेत्रीयताको रक्षा गर्न’ आफूले यो निर्णय लिएको बताए ।

‘यदि हाम्रो देशको क्षेत्रीय अखण्डता खतरामा छ भने, हामी हाम्रा जनताको रक्षा गर्न सबै उपलब्ध साधनहरू प्रयोग गर्छौं’, पुटिनले भने ।

यता राष्ट्रपति भ्लादिमिर पुटिनले रुसी भूभागमा आंशिक सैन्य परिचालन गर्न दिएको आदेश आंशिक कमजोरीको संकेत भएको युक्रेनका लागि अमेरिकी राजदूतले बुधबार बताएकी छिन् ।

‘जनमत संग्रह र सेना परिचालन रुसी असफलताको संकेत हो’ राजदूत ब्रिजेट ब्रिंकले एक ट्विटर सन्देशमा लेखेकी छिन् ।

यसबाहेक रुसले युक्रेनमा आफ्नो नियन्त्रणमा रहेका क्षेत्रमा जनमत संग्रहको योजना अघि सारेको छ । शुक्रबारदेखि सुरु हुने गरी पाँच दिनसम्म मतदान सञ्चालन गरिने रुसी योजना छ । यसअनुसार पूर्वी क्षेत्र लुहान्स्क र दोनेत्स्कका साथै दक्षिणमा जापोरिज्जिया र खेरसनमा जनमत सङ्ग्रह घोषणा गरिएको छ ।

अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सका अनुसार उक्त क्षेत्र युक्रेनी भूभागको करिब १५ प्रतिशत वा युक्रेनको छिमेकी हंगेरीको क्षेत्रफल बराबर रहेको छ ।

हाल रुसको नियन्त्रणमा रहेका युक्रेनका केही भागहरूमा तत्काल तथाकथित जनमत संग्रह गर्ने मस्कोको योजनाको पश्चिमी राष्ट्रहरूले निन्दा गरेका छन् । चार युक्रेनी क्षेत्रहरूमा रूसी समर्थित अधिकारीहरूले उनीहरू रुसको हिस्सा बन्ने कि नबन्ने भन्ने मतदानका लागि बोलाएको बताइएको छ ।

अमेरिका, जर्मनी र फ्रान्सले यस्तो ‘नक्कली’ जनमत सङ्ग्रहको नतिजालाई कहिल्यै मान्यता नदिने बताएका छन् । नेटो सैन्य गठबन्धनले यो योजनाले तनाव बढेको जनाएको छ।

युद्धको बीचमा वैध र निष्पक्ष निर्वाचन गर्न सकिन्छ भन्ने सुझावलाई पश्चिमाहरूले खारेज गरेका छन् । जर्मन चान्सलर ओलाफ सोल्जले युद्धबीच जनमत संग्रह गर्ने रुसी योजनाको निन्दा गरेका छन् भने फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्रोंले रुसीको योजनले लोकतन्त्रको धज्जी उडाएको टिप्पणी गरेका छन् ।

अमेरिकी राष्ट्रिय सुरक्षा सल्लाहकार जेक सुलिभानले अमेरिकाले जनमत सङ्ग्रहलाई कहिल्यै पनि मान्यता नदिने बताए ।

ग्रिस र टर्कीले वार्ता गर्नुपर्छ : ग्रिक प्रधानमन्त्री

पूर्वी भूमध्यसागरका परम्परागत प्रतिद्वन्द्वी मुलुकहरु टर्की र ग्रिसबीच तनाव मत्थर हुन नसकेको अवस्थामा दुई छिमेकी मुलुक वार्तामा संलग्न हुनुपर्ने ग्रीसका प्रधानमन्त्री किरियाकोस मित्सोटाकिसले बताएका छन् ।

प्रधानमन्त्री किरियाकोस मित्सोटाकिसले स्थानीय रेडियो स्टेशन स्फेरासँगको अन्तर्वार्तामा वार्ता सधैं फलदायी नभए पनि वार्ता भने गरिनुपर्ने बताएका हुन् ।

‘हामीलाई के कुराले एकताबद्ध गर्छ र के कुराले हामीलाई विभाजित गर्छ त्यो दुबै देशका जनताले बुझेका छन्, त्यसैले हामीले हाम्रो मतभेद घटाउनुपर्छ । विवाद रातारात समाधान हुँदैनन् तर वार्ता भने जारी राख्नुपर्छ जसले एकदिन समस्या समाधानको बाटोमा लैजान्छ ।’ उनले भने ।

प्रधानमन्त्रीले भने एजियन र भूमध्यसागरमा सामुद्रिक र ऊर्जा विवादलगायत विभिन्न मुद्दाहरूले गर्दा दुई देशबीचको सम्बन्ध लामो समयदेखि तनावपूर्ण रहेको छ ।

पछिल्लो समय विभिन्न घटनालाई लिएर दुबै पक्षले एक अर्काविरुद्ध कडा टिप्पणी गर्दै आएका छन् ।

‘हामीसँग बलियो गठबन्धन र सशस्त्र बलहरू छन् । सबैलाई थाहा छ कि उनीहरू ग्रीससँग जिस्किन चाँहदैनन् प्रधानमन्त्री किरियाकोस मित्सोटाकिसले भनेका छन् ।

जापानी प्रधानमन्त्री कार्यालयनजिकै आत्मदाहको प्रयास

जापानी प्रधानमन्त्रीको कार्यालयनजिकै एकजनाले आत्मदाहको प्रयास गरेका छन् । प्रधानमन्त्री फुमियो किशिदाको कार्यालय नजिकै आफूलाई आगो लगाएपछि एक व्यक्तिलाई बेहोस अवस्थामा अस्पताल लगिएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् ।

बुधबार टोकियोमा भएको घटनाको बारेमा प्रहरीले टिप्पणी गर्न अस्वीकार गरेको छ । टिभी असाहीका अनुसार आगो निभाउने प्रयास गर्ने क्रममा एक प्रहरी अधिकारी घाइते भएका छन् ।

ती व्यक्तिले आत्मदाह गर्न थालेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । आत्मदाहको प्रयास गर्ने व्यक्ति ७० वर्षको रहेको जनाइएको छ ।

ती व्यक्तिले केही महिनाअघि हत्या भएका पूर्वप्रधानमन्त्री शिन्जो आबेको राजकीय अन्त्येष्टि गर्ने योजनाको विरोध गरेको सो टेलिभिजन स्टेसनले जनाएको छ । थिए ।

घटनास्थल नजिकैबाट प्रहरीले ‘म कडा विरोध गर्दछु’ लेखेको पत्र फेला पारेको अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले जनाएको छ । बुधबार आबेको ६८ औँ जन्मदिन हो ।

जापानमा सबैभन्दा लामो समय सेवा गर्ने प्रधानमन्त्री आबेलाई जुलाई ८ मा चुनावी प्रचारका क्रममा गोली हानेर हत्या गरिएको थियो । उनको राजकीय अन्तेष्टि सेप्टेम्बर २७ मा हुँदै छ ।

ब्राजिलमा कन्टेनर डिपो भत्किँदा ९ जनाको मृत्यु

दक्षिण अमेरिकी मुलुक ब्राजिलको दक्षिणपूर्वी राज्य साओ पाउलोमा एक कन्टेनर डिपो भत्किँदा नौ जनाको मृत्यु भएको छ । राज्यको इटापेसेरियाका डे सेरा शहरमा मालसामान निर्यात गर्ने व्यवसायीलाई कन्टेनर बेच्ने र भाडामा उपलब्ध गराउने कम्पनीको कन्टेनर डिपोको एउटा भाग भत्किँदा नौ जनाको मृत्यु भएको र अन्य २८ जना घाइते भएको ब्राजिलका सञ्चारमाध्यमले जनाएका छन् ।

दुर्घटनाका बेला करिब ६४ जना कर्मचारी कन्टेनरमा रहेका त्यहाँको वारुणयन्त्र विभागका प्रवक्ता लुसियाना सोरेसाले बताइन् । भग्नावशेषबाट घाइतेहरूको उद्धार गरिएको उनले जानकारी दिइन् ।

यही अक्टोबर २ मा हुने निर्वाचनमा भोट माग्न उम्मेदवारद्वय एली सान्तोस र जोन्स डोनिटजले प्रचार अभियानका क्रममा डिपोका कर्मचारीसँग परामर्श गरेका थिए ।

डिपोमा जम्मा भएका कामदारले उनीहरूलाई बिदाइ गरिरहँदा ढलानको संरचनाको भाग भत्केर दुर्घटना भएको सरकारी अधिकारीहरूले बताएका छन् ।

दक्षिण सुडानमा सहायता गर्न राष्ट्रसङ्घीय एजेन्सीको अपिल

मानवीय सहायतासम्बन्धी संयुक्त राष्ट्रसङ्घीय एजेन्सीले दक्षिण सुडानमा विस्थापित भएका नागरिकको सहयोगका लागि अपिल गरेका छन् । सो देशमा रहेका नागरिकमा पछिल्लो समय मानवीय सहायताको ठूलो खाँचो परेकाले सहयोगका लागि सो आग्रह गरिएको हो ।

दक्षिण सुडानको अपर नाइल र जाङ्गेली राज्यमा यसरी विस्थापित हुनेहरुको ठूलो सङ्ख्या रहेकाले उनीहरुको सहयोगका लागि सो आग्रह गरिएको हो । सो क्षेत्रमा सहायताका वितरणका लागि जानसक्ने सुरक्षित मार्ग समेत नभएकाले सो कार्यका लागि समेत सहायता वितरण गरिरहेका अन्तर्राष्ट्रिय सङ्घसंस्थाहरुले अपिल गरेका छन् ।

उनीहरुले यस देशमा विगत लामो समयदेखिएको आन्तरिक द्वन्द्वका कारण दिन प्रतिदिन हजारौँ नागरिक विस्थापित भएको उनीहरुलाई मानवीय सहायताको खाँचो परिरहेको बताएका छन् ।

साथै पछिल्लो समयमा मानवीय सहायताको खाँचो परिरहेको क्षेत्रका नागरिकहरुसम्म पुग्न पनि सहायताकर्मीका लागि समस्या परेकाले यस विषयमा सोच्न सबै अन्तर्राष्टिय समुदाय र संयुक्त राष्ट्रसङ्घलाई आग्रह गरेका हुन् ।

पाकिस्तानमा डेङ्गु ज्वरो बढ्दै

पाकिस्तानमा डेङ्गु ज्वरोको फैलावट लगातार विस्तार भइरहेको पाइएको छ । यो महिना देशको दक्षिणी प्रान्त सिन्धमा मात्रै हालसम्म डेङ्गु ज्वरोका कारण २७ जना बिरामीको मृत्यु भएको प्रान्तीय स्वास्थ्य विभागले जनाएको छ ।

मृत्यु भएका सबै सिन्ध प्रान्तको प्रान्तीय राजधानी अर्थात देशको सबैभन्दा ठूलो सहर कराँचीका रहेको बताइएको छ । पछिल्लो २४ घण्टामा सिन्ध प्रान्तमा कुल तीन सय ५३ जना नयाँ डेङ्गुका बिरामी फेला पारिएको विभागले जानकारी दिएको छ ।

सेप्टेम्बर महिनामा बिरामी भएकाहरुको सङ्ख्या तीन हजार ५ सय ९४ पुगेको छ । वर्षभरि कुल बिरामीको सङ्ख्या छ हजार एक ६३ पुगेको छ । उत्तरपश्चिम खैबर पख्तुनख्वा प्रान्तमा पछिल्लो २४ घण्टामा दुई सय ८४ लाई डेङ्गु सङ्क्रमण भएको प्रान्तीय स्वास्थ्य विभागले जनाएको छ ।

यसवर्ष खैबर पख्तुनख्वा प्रान्तमा एक हजार सात सय २९ जना यस रोगबाट बिरामी भएका छन् । खैबर पख्तुनख्वा प्रान्तमा कुल बिरामीको सङ्ख्या पाँच हजार दुई ६४ पुगेको बताइएको छ । यसबाहेक, पूर्वी पञ्जाब प्रान्तमा पछिल्लो २४ घण्टामा दुई सय १५ सङ्क्रमित भएका प्रान्तीय स्वास्थ्य अधिकारीहरूले जानकारी दिएका छन् ।

पञ्जाबको राजधानी लाहोरमा एक सय पाँच जना बिरामी भएका छन् । रावलपिण्डी सहरमा ५४ जनामा यस रोग देखिएको छ । यसवर्ष रावलपिण्डीमा कुल बिरामीको सङ्ख्या तीन हजार ६ सय ४५ पुगेको छ ।

अमेरिकाको शिकागोस्थित आवासीय भवनमा विस्फोट

अमेरिकाको इलेनाई राज्यको शिकागो सहरमा रहेको एक आवासीय भवनमा विस्फोट हुँदा कम्तीमा आठ जना घाइते भएका छन् ।

शिकागोको साउथ अष्टिन क्षेत्रमा अवस्थित ४ तल्ले आवासीय भवनमा विस्फोट भएको अमेरिकी टेलिभिजन सीबीएसको अनलाइन संस्करणले जनाएको छ ।

साउथ अष्टिनको वासिंटन बुलेभार्ड र सेन्ट्रल एभिन्यु नजिकै विस्फोट भएको फक्स न्युजले जनाएको छ । विस्फोटमा घाइते भएका तीन जनाको अवस्था गम्भीर रहेको छ ।

विस्फोट भएको स्थान नजिकै रहेको भवन खाली गर्ने काम भइरहेको दमकल अधिकारीहरुले बताएका छन् । विस्फोटबारे प्रहरीले अनुसन्धान गरिरहेको छ ।

यता शिकागो सहरकी मेयर लोरी लाइटफुटले यस घटनामा खटिएका खोजी तथा उद्धारकर्मी, अग्नि नियन्त्रक एवम् सुरक्षाकर्मीलाई धन्यवाद दिएकी छिन् ।

युरोपमा कोभिड १९ को नयाँ लहर आउन सक्छ : इएमए

युरोपियन मेडिसिन एजेन्सी (इएमए) ले युरोपमा कोभिड १९ को नयाँ लहर आउनसक्ने भन्दै त्यसका लागि तयार रहन चेतावनी दिएको छ ।

उक्त एजेन्सीले कोभिड १९ को महामारी पूर्ण रुपमा टरेको नभएर अहिले केही कम मात्र भएको भन्दै युरोपमा अर्को लहर आउन सक्ने भएकाले तयार रहन भनेको हो ।

युरोपियन मेडिसिन एजेन्सीले युरोपका देशहरुमा अहिले महामारी कम देखिएको भएपनि युरोपेली नागरिकमा यसको प्रकोप भने नघटेको बताएको हो ।

युरोपियन मेडिसिन एजेन्सीका प्रमुख म्याक्रो क्याबलेरीले भने, ‘यहाँका देशहरुमा अहिले कोभिडको सङ्क्रमण घटेको पाइएको छ । युरोपियन देशहरुले आगामी दिनमा यो महामारीको अर्को लहर आउन सक्छ भनेर यसबाट बच्ने उपायहरुको तयारीमा लाग्नुपर्छ ।’

उनले युरोपमा आगामी शरद ऋतुमा यसको प्रकोप थप बढ्न सक्ने पनि बताएका छन् । उनले गएका दुई वर्षदेखि यो ऋतुमा कोभिडको महामारी बढेको पाइएकोले अब आउने सो ऋतुमा पनि महामारीको प्रकोप बढ्न सक्छ भन्ने हिसाबको तयारी गर्नुपर्ने बताए ।

उनले पहिलेका वर्षहरुका तुलनामा पछिल्लो समयमा विकासित भएका कोभिडका नयाँ प्रजातिहरुको प्रभाव झन् धेरै देखिएकाले पनि यो प्रकोपबाट हुन सक्ने क्षतितर्फ सचेत रही तयारीका साथ रहन आग्रह गरेका छन् ।

पाकिस्तानमा बाढी : थप १० जनाको मृत्यु

पाकिस्तानमा बाढीको प्रकोप अझै साम्य हुन सकेको छैन । पछिल्लो २४ घण्टाको समयावधीमा पाकिस्तानको विभिन्न भागमा परेको मुसलधारे वर्षा र वर्षापछिको बाढीमा परी कम्तीमा १० को मृत्यु भएको राष्ट्रिय प्रकोप व्यवस्थापन प्राधिकरण (एनडीएमए) ले जानकारी दिएको छ ।

बाढीजन्य छुट्टाछुट्टै घटनाहरूमा ज्यान गुमाउनेहरूमध्ये चार बालबालिका र दुई महिला रहेका एनडीएमएले जनाएको छ । देशको सबैभन्दा बढी प्रभावित क्षेत्र दक्षिणी सिन्ध प्रान्तमा नौ जनाको मृत्यु भएको छ । त्यसपछि दक्षिणपश्चिमी बलुचिस्तान प्रान्तमा एक जनाको मृत्यु भएका जनाइएको छ ।

एनडीएमएले सार्वजनिक गरेको पछिल्लो विवरणअनुसार देशका छुट्टाछुट्टै स्थानमा भएका बाढीजन्य घटनामा हालसम्म एक हजार पाँच सय ६९ जनाको मृत्यु भएको छ । बाढीजन्य भवितव्यमा परी १२ हजार आठ सय ६० जना घाइते भएका छन् ।

यस प्रकोपले ५० हजार नौ सय ४० घरहरु क्षतिग्रस्त पारेको समाचारमा जनाइएको छ । बाढी प्रभावित क्षेत्रमा प्राधिकरण, अन्य सरकारी संस्था, स्वयंसेवी र गैरसरकारी संस्थाले उद्धार तथा राहत सामग्री वितरणलाई निरन्तरता दिइरहेका छन् ।

प्रकाशित मिति : ५ आश्विन २०७९, बुधबार  ७ : ५९ बजे

रास्वपा संसदीय दलको बैठक बस्दै

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को संसदीय दलको बैठक आज

अस्ट्रेलियासँग वेस्ट इन्डिज पराजित

काठमाडौं – अस्ट्रेलियाले वेस्ट इन्डिजसँगको पहिलो टेस्टमा १५९ रनको जित

प्रतिनिधिसभा बैठक बस्दै, नागरिकता विधेयक पारित गरिँदै

काठमाडौं– संघीय संसद अन्तर्गत प्रतिनिधिसभा बैठक आज बस्दैछ । बैठक

प्रधानमन्त्री ओली आज साँझ स्पेन प्रस्थान गर्दै

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओली आज स्पेन भ्रमणमा जाँदै छन्

साताको कार्टुन : बजेट बाँड्दै ‘बा’हरू

काठमाडौँ – सरकारका अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आगामी आर्थिक वर्षका लागि