अपरान्ह ४ बजेसम्मका मुख्य १० समाचार | Khabarhub Khabarhub

अपरान्ह ४ बजेसम्मका मुख्य १० समाचार


७ आश्विन २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : 4 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ : बिहानैदेखि आज पनि विभिन्न राजनीतिक, आर्थिक तथा सामाजिक घटनाक्रम चलिरहेका छन् । पछिल्लो चौबीस घण्टामा राजधानी काठमाडौँदेखि देशभरका समाचार अपडेटका साथै अन्तर्राष्ट्रिय र खेलकुदका विभिन्न गतिविधि तथा कार्यक्रम भइरहेका छन् । अपरान्ह ४ बजेसम्मका मुख्य १० समाचार यस्ता छन्ः

१. सत्ता गठबन्धनको बैठक बालुवाटारमा जारी 

सत्ता गठबन्धनका शीर्ष नेताहरूको बैठक अहिले बालुवाटारमा  जारी छ । आगामी निर्वाचनमा प्रत्यक्ष तर्फको सिट बाँडफाँडमा सहमति जुटाउन  प्रधानमन्त्री निवास बालुवाटारमा बैठक बसिरहेको  हो । गठबन्धनमा चुनावी तालमेल गर्ने सहमति भए पनि सिट बाँडफाँडका लागि डेढ महिना अघि कार्यदल गठन गरिएको थियो। गठबन्धनका शीर्ष नेताहरू निरन्तर छलफलमा जुटेपनि सहमति भने जुट्न सकेको छैन्  प्रतिनिधिसभाका १६५ र प्रदेशसभाका ३३० वटै निर्वाचन क्षेत्रमा दलहरूको बढी दाबी परेपछि सहमति जुट्न नसकेको नेताहरूले नै बताउने गरेका छन्। गठबन्धनको नेतृत्व गरिरहेको नेपाली कांग्रेसले बढी सिट लिने अडान नछोडेपछि सत्ता साझेदार अन्य तीन दलका शीर्ष नेताले यसअघि आज छुट्टै छलफल गरेका छन् । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल र जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवबीच सिट बाँडफाँडका विषयमा छलफल भएको बताइएको छ ।

२.  खुलेआम संविधान मिच्ने काम संविधानकै पालक र संरक्षकबाट भयो प्रचण्ड

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संविधान खुलेआम मिच्ने काम संविधानको पालक र संरक्षकबाट भइरहेको बताएका छन । काठमाडौंमा आज अखिल नेपाल किसान महासङ्घको भेललाई सम्बोधन गर्दै प्रचण्डले प्रतिगमनको षड्यन्त्र नरोकिएको भन्दै संविधान खुलेआम मिच्ने काम संविधानको पालक र संरक्षकबाट भइरहेको बताए । उनले नागरिकता विधेयक प्रमाणीकरण गर्ने काम संविधानमाथिको प्रहार भएको बताए । सतर्कता गुमाएमा कुनै पनि दिनमा प्रतिगमन हुने खतरा रहेको उनको भनाई छ । उनले प्रतिगमन रोक्न जनताको पहल गर्नुपर्ने र सडकमा समेत जानुपर्ने अवस्था आउन सक्ने धारणा राखे देशको अस्थिरताको कारक प्रचण्ड नै हो भनेर निकै प्रचार भइरहेको भन्दै उनले एकथरी मान्छेहरू प्रचण्ड सिद्धियोस् भनेर रातदिन धुप हालेर बसेको उल्लेख गरे । नेपाल  राष्ट्र र जनताको त्याग, तपस्या र बलिदानबाट  प्राप्त उपलब्धि उल्ट्याउने षड्यन्त्र अन्तर्गत भइरहेकाले सबै सचेत हुनुपर्ने उनको भनाई छ ।

३. कोरियाले नेपाललाई २ अर्ब अमेरिकी डलर अनुदान सहायता दिने 

दक्षिण कोरियाले आप्रवासी कामदारहरूको पुनःएकीकरणका लागि साइबर ब्युरो स्थापना गर्न अनुदान उपलब्ध गराउने भएको छ । आयोजना कार्यान्वयनसम्बन्धी समझदारी पत्रमा अर्थ सचिव कृष्णहरि पुष्कर र नेपालका लागि गणतन्त्र कोरियाका राजदूत चोङ-सुक पार्कले हस्ताक्षर गरेका हुन् । कोरियाबाट नेपाल फर्कने आप्रवासी कामदारहरूको स्थिर पुनःएकीकरणका लागि चरणबद्ध सहयोग प्रणाली सुदृढ गर्ने र नेपाल प्रहरीको क्षमता अभिवृद्धि सहितको साइबर ब्यूरोको स्थापना गर्न सो अनुदान प्रयोग हुने अर्थमन्त्रालयले जनाएको छ । दुवै आयोजनाका लागि ८० लाख अमेरिकी डलरका दरले कोरिया सरकारले नेपाललाई कुल १ करोड ६० लाख अमेरिकी डलर करिब दुई अर्ब रुपैयाँ अनुदान सहायता उपलब्ध गराउनेछ ।

४. ‘शताब्दी पुरुष जोशीको उपचारमा कुनै कमि हुँदैन’ 

संस्कृति पर्यटन तथा नागरिक उडड्यनमन्त्री जीवनराम श्रेष्ठले शताब्दी पुरुष सत्यमोहन जोशीको उपचारमा कुनै कमि हुन नदिने बताएका छन् । जोशीलाई उनकै निवासमा भेट्दै मन्त्री श्रेष्ठले जोशीको स्वास्थ्य अवस्था कमजोर हुँदै गएको र उपचार आवश्यक रहेकाले उपचारमा कुनै कमि हुन नदिने बताए । भेटका क्रममा जोशीले स्वास्थ्य लाभका लागि स्वास्थ्य कर्मी आवश्यक रहेको र स्वास्थ्य परिक्षण गर्नुपर्ने बताए । त्यस्तै जोशीले चित्रकारलाई बनाउन भनेको चक्रसंवरका लागि पनि बजेट अभाव भएको बताएपछि बागमति प्रदेशले आवश्यक बजेट बिनियोजन गर्ने जानकारी गराएका थिए ।आफ्नो ’अन्तिम इच्छा’ भन्दै लोक साहित्य परिषदमा पौभाः चित्र राख्न जोशीले चित्रकारलाई आग्रह गरेपछि चक्रसंवर कोर्ने काम जारी छ । त्यस्तै आजनै काठमाडौं महानगरका प्रमुख बालेन्द्र साहले जोशीसंग भेट गर्दै स्वास्थ्यलाभको कामना गरेका छन् ।  

५. अनामनगर क्षेत्रका अवैध संरचना भत्काइयो 

काठमाडौं महानगरपालिकाले अवैध संरचना भत्काउने कामलाई तीव्रता दिएको छ । महानगरले आज काठमाडौंको अनामनगर क्षेत्रमा रहेका अवैध संरचना डोजर लगाएर भत्काएको हो । सो क्रममा महानगरले अनामनगरको अक्सिडेन्टल पब्लिक स्कुलले सार्वजनिक जग्गामा पर्खाल बनाएको भन्दै डोजर लगाएको छ । सार्वजनिक जग्गामा संरचना बनाएको गुनासो आएपछि पर्खाल भत्काएको र सो क्षेत्रका अन्य अवैध र अनधिकृत संरचना हटाइने काठमाडौं महानगरका प्रहरी प्रमुख राजु पाण्डेले जानकारी दिए । नक्सा विपरीत बनेका र सार्वजनिक स्थानमा बनेका संरचनालाई भत्काउने अभियान निरन्तर चल्ने महानगरले जनाएको छ ।

६. नक्कली शैक्षिक प्रमाणपत्र सहित ९ जना पक्राउ 

काठमाडौंका विभिन्न स्थानबाट नक्कली शैक्षिक प्रमाणपत्र सहित ९ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा पाँचथर मितलाजुन गाउँपालिका-६ घर भई झापा, दमक नगरपालिका-५ बस्ने २५ वर्षीय समिर राई, कास्की पोखरा महानगरपालिका-१० घर भएका ४० वर्षीय अरूण कार्की, नुवाकोट बेलकोटगढी नगरपालिका-९ घर भएका  २५ वर्षीया राधिका तामाङ, स्याङजा चापाकोट गाउँपालिका-२ घर भएका ३८ वर्षीया सबिता श्रेष्ठ, झापा मेचीनगरनगरपालिका–६ घर भएका ४६ वर्षीय बिदुर प्याकुरेल, काठमाडौं कागेश्वरी नगरपालिकाघर भएका २१ वर्षीय सुरज राज खत्री, अछाम मंगलसेन नगरपालिका-१२ घर भएका २७ वर्षीय वीरेन्द्र बहादुर रावल, झापा बिर्तामोड नगरपालिका–५ घर भएका ४० वर्षीय दिनेशप्रसाई र दमक नगरपालिका–८ घर भएका ४८ वर्षीय सूर्य बहादुर श्रेष्ठ रहेका छन् ।

७. ट्रकको ठक्करबाट एक बालकको मृत्यु 

भक्तपुरको मनोहरा फाँटमा आज बिहान ट्रकको ठक्करबाट एक बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा सिन्धुपाल्चोक घर भइ मनोहरा फाँट बस्ने १७ महिनाका सलिन श्रेष्ठ रहेका छन् । ट्रकको ठक्करबाट गम्भीर घाइते भएका उनको उपचारका क्रममा समिट अस्पताल लोकन्थलीमा मृत्यु भएको हो । सडक छेउमा खेल्दै गरेका उनलाई आज बिहान पौने ९ बजे बा ५ ख ७८१७ नम्बरको पानी बोकेको ट्रकले ठक्कर दिएको थियो । ट्रक सहित चालक सिन्धुपाल्चोक मेलम्ची-३ घर भई मूलपानी बस्ने २३ वर्षीय आकाश भुजेललाई प्रहरी वृत्त ठिमी भक्तपुरले नियन्त्रणमा लिएको छ ।

८. सिरियाको समुद्री तटमा डुंगा दुर्घटना हुँदा ६० जनाको मृत्य 

 लेबनानबाट शरणार्थीहरू लिएर गईरहेको डुंगा सिरियाको समुद्री तटमा दुर्घटना हुँदा मृत्यु हुनेको संख्या ६० पुगेको छ । गत मंगलबार लेबनानको उत्तरी मध्ये क्षेत्रबाट लेबनानी, सिरियाली तथा प्यालेस्टाइनी शरणार्थीहरू लिएर गएको डुंगा सिरियाली तटमा पुगेपछि पल्टिएको  थियो । उद्धारकार्य जारी रहेको र हालसम्म ६० जनाको शव फेला परेको अन्तराष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । डुंगामा कति जना सवार थिए भन्ने यकिन नभए पनि १ सय ५० जना भन्दा बढी शरणार्थीहरू रहेको अनुमान गरिएको छ । लेबनानको आर्थिक अवस्था नाजुक बनेपछि त्यहाँ बस्दै आएका शरणार्थीहरू युरोपेली देशतर्फ भाग्ने क्रममा दुर्घटना भएको हो ।  कुल ६० लाख जनसंख्या रहेको लेबनानमा  १ लाखको हाराहारीमा सिरियाली शरणार्थी रहेको जनाइएको छ । 

९. पाकिस्तानमा बाढी पहिरोका कारण थप २० जनाको मृत्यु  

पाकिस्तानमा बाढी पहिरोका कारण थप २० जनाको मृत्यु भएको छ । पछिल्लो एक दिनमा प्राप्त विवरणअनुसार मृत्यु भएका मध्ये १५ जना बालबालिका रहेका छन् भने दुई जना महिला रहेका छन् । पाकिस्तान प्रकोप व्यवस्थापन प्राधिकरणले पछिल्लो २४ घण्टामा मृत्यु भएका मध्ये १७ जना सिन्ध प्रान्तका मात्रै रहेको जनाएको छ । पाकिस्तानमा आएको बाढी पहिरोबाट सबैभन्दा धेरै सिन्ध प्रान्त प्रभावित भएको छ भने अन्य प्रान्तमा पनि असर परेको छ । बाढीपछिका घटनामा परी पाकिस्तानमा अरु कैयौँ घाइते भएका छन् भने लाखौँ विस्थापित भएका छन् । मध्य जुन महिनादेखि सुरु भएको मनसुनसँगै आएको वर्षाका कारण भएका घटनामा परी अहिलेसम्म एक हजार  पाँच सय ९६ जनाको मृत्यु भएको छ ।घटनामा परी अहिलेसम्म १२ हजार ८६३ जना घाइते भएको र उनीहरूको विभिन्न अस्पतालमा उपचार भइरहेको पनि प्राधिकरणले जनाएको छ ।

१०. नवौं राष्ट्रिय खेलकुद : महिला क्रिकेटका लागि टोलीको  घोषणा

मधेस प्रदेशले नवौं राष्ट्रिय खेलकुद अन्तर्गतको महिला क्रिकेटका लागि टोली घोषणा गरेको छ । मधेश प्रदेशले कविता गौतमको कप्तानीमा १४ सदस्यीय टिमको घोषणा गरेको हो । घोषित टोलीमा चार जना वैकल्पिक खेलाडी समेत रहेका छन् । मधेस प्रदेश नवौंका लागि महिला क्रिकेट टोली घोषणा गर्ने पहिलो टोली हो । गण्डकी प्रदेशमा आयोजना हुने नवौं राष्ट्रिय खेलकुद असोज २८ देखि कात्तिक ३ सम्म आयोजना हुनेछ । महिला क्रिकेट पोखरामा आयोजना हुनेछ । टोलीका प्रशिक्षकमा सुनिल शाह तथा टिम व्यवस्थापकमा शोभाकान्त पाण्डे रहेका छन् । 

 

 

प्रकाशित मिति : ७ आश्विन २०७९, शुक्रबार  ४ : २७ बजे

कालीगण्डकी करीडोर : जोमसोम–कागबेनी खण्डमा कालोपत्र

म्याग्दी– राष्ट्रिय गौरवको आयोजना कालीगण्डकी करिडोरअन्तर्गत मुस्ताङको सदरमुकाम जोमसोमदेखि मुक्तिक्षेत्र

दुईवटा संसदीय समितिको बैठक बस्दै

काठमाडौं– आज दुई वटा संसदीय समितिको बैठक बस्दै छ ।

हेलेन आँधीको जोखिममा फ्लोरिडा

फ्लोरिडा – अमेरिकाको फ्लोरिडा राज्य अहिले हेलेन नामको आँधीको जोखिममा

शान्ति प्रक्रियासम्बन्धी बाँकी काम चाँडो पूरा गर्न नेपाल प्रतिबद्ध छ : प्रधानमन्त्री

न्युयोर्क– प्रधानमन्त्री केपी शर्मा आलीले शान्ति प्रक्रियासँग सम्बन्धित बाँकी काम

घोडेपानी जोड्ने नयाँ पदमार्ग

म्याग्दी– कास्कीको नयाँ पुलबाट पर्वतको मोदी र जलजला गाउँपालिका हुँदै