गोलबजार– सिरहाको सखुवाननकारकट्टी गाउँपालिका-५ इटहर्वाका राजेन्द्र राम बाह्र वर्षको उमेर छँदा माटोको मूर्ति बनाउन थालेका हुन् । हाल उनी ६८ वर्षको भए । देवी देवताको मूर्ति बनाउन रामले झण्डै चार दशक खर्चिए । उनले आवश्यकताअनुसार अन्य मूर्ति पनि बनाउने गरेका छन् ।
सुरुआतमा मूर्ति बनाएर जीविकोपार्जन गर्न राजेन्द्रको परिवारलाई धौ धौ थियो । पछिल्लो समय भने यसबाट राम्रै आम्दानी गर्न सफल भएको उनी बताउँछन् । ‘जीवन गुजाराको माध्यम यसैलाई बनाएको छु’, रामले भने। रामलीला तथा भजन कीर्तन मण्डलीसमेत सञ्चालन गर्दैआएका उनलाई उक्त क्षेत्रमा नचिन्ने कमै छन् । रामलीला सञ्चालन गर्न उनी सिरहा, सप्तरी, धनुषा तथा भारतको बिहारसम्म पुग्छन् ।
आधुनिक जीवनशैलीमा रमाउन थालेपछि माटोको मूर्ति बनाउनेको सङ्ख्या घट्दै गएको छ । तर रामलाई भने मूर्ति बनाउन भ्याइनभ्याइ छ । ‘युवापुस्ता माटाको मूर्ति बनाउन इच्छुक देखिदैन’, उनले भने।
हिन्दू परम्परा तथा मिथिलाञ्चलमा मनाइने प्रायःजसो चाडपर्वमा माटोबाट निर्मित कलात्मक मूर्तिको प्रयोग गरिन्छ । चाडपर्वमा माटोबाट निर्मित रङगिविरङ्गी मूर्ति प्रयोग गरिएको छ । विशेषगरी कृष्णाअष्टमी, विश्वकर्मा पूजा, दसैँ, तिहार, छठ, सरस्वती पूजा, जितिया पर्व, गणेश, अनन्तचतुर्दशी, नागपूजा, महायज्ञलगायतमा मूर्ति खपत हुन्छ ।
देविदेवताका मूर्ति बनाउन राम बढी सक्रिय रहन्छन् । उनले बुवा मधुलालबाट सो सीप सिकेका हुन् । ‘बुवाकै सङ्गतबाट सबै कुरा सिके’, उनले भने, ‘पहिला मूर्तिको पारश्रमिक न्यून पाइन्थ्यो, अहिले राम्रै आम्दानी हुन्छ ।’ बुवाबाट आफुहुँदै उनले छोरालाई पनि मूर्ति बनाउने सीप बाँडेका छन् । हाल उनका ३५ वर्षीय छोरा शिवराम पनि मूर्ति बनाउनमै सक्रिय छन् । उनले पनि बुवा राजेन्द्रबाट सीप सिकिरहेका छन् ।
सबैजसोलाई कोरोना महामारीले प्रभावित पारेपनि राजेन्द्रलाई भने यसबाट खासै असर परेन । मूर्ति बनाउन उनलाई कोरोना कहरले पनि छेकेन । ‘कोरोना सङ्क्रमणका बेला पनि खासै समस्या भएन’, उनले भने, ‘बनाएका मूर्ति सबै बिक्री भए, छ जनाको परिवारको खर्च यसैबाट चलेको छ ।’
अहिले राजेन्द्र अरुबेला भन्दा बढी व्यस्त छन् । बिहानदेखि रातिसम्म वडादसैँका पूजाका लागि विभिन्न कलात्मक मूर्ति बनाउन व्यस्त छन्। ‘वर्षमा दुई याम कामको निकै चाप हुन्छ । अहिले नौ ठाउँबाट मूर्ति बनाउन माग भएको छ’, उनले भने। ‘यसबापत राजेन्द्रले आठ लाख ३० हजार पाश्रमिक लिएका छन् । चलाएको छु, केही रकम जोहो पनि गरेको छु ।’
प्रतिक्रिया