काठमाडौं – नायिका रेखा थापा पछिल्लो समय खासै चर्चामा छैनिन् । कुनै बेला एकपछि अर्को गर्दै लगातार फिल्ममा व्यस्त बनेकी रेखाको वृत्ति केही वर्षयता ओरालो लाग्ने क्रममा छ । उनले अभिनय गरेका फिल्मले कमाइ गर्नु त परको कुरा, लगानी पनि सुरक्षित गर्न सकेका छैनन् ।
अर्कातिर रेखाले निर्माण गरेका फिल्ममा आफूलाई अझै पनि ‘हिरो’ कै रुपमा स्थापित गर्न खोज्छिन् । जुन कुरा दर्शकलाई मन परेको छैन । पछिल्लो समय प्रदर्शनमा आएको फिल्म ‘मालिका’ ले पनि रेखालाई खासै सफलताको स्वाद चाख्ने मौका दिएन ।
फिल्ममा मालिका बनेकी कमला ओली पनि फिल्म रिलिजसँगै कता हराइन् कता ।
अभिनेत्री हुँदै निर्देशक समेत बनेकी रेखा राजनीतिमा पनि होमिइन् । पहिले रेखा तत्कालीन नेकपा माओवादी पार्टीमा होमिएकी थिइन् । पछि सो पार्टी छोडेर तामझामका साथ कमल थापाको पार्टीमा सामेल भइन् । हुन त उनी पछिल्लो समय पार्टीगत राजनीतिक रुपमा झण्डै निष्क्रिय जस्तै छिन् ।
कतिपयले रेखालाई राजनीति नफापेको प्रतिक्रिया दिने गरेका छन् । त्यसो त उनका फिल्म पनि चलेका छैनन् यतिबेला ।
रेखा आजभोलि महिला हिंसाका विरुद्ध खुलेरै बोलेकी हुन्छिन् । त्यसो त उनी पछिल्लो समय महिला हिंसा न्यूनीकरणको अभियानमा पनि लागेकी छिन् ।
हालै रेशम चौधरीलाई भेट्न वीर अस्पताल पुगेकी थिइन् उनी । यस्तै विप्लव समूहमा संग्लग्न भएको आरोपमा प्रहरीले पक्राउ गरेपछि फिल्म ‘मालिका’ का निर्माता नरबहादुर कार्कीका पक्षमा बोल्दै उनले लामो स्टाटस लेखिन् ।
अभिनयका माध्यमबाट करोडौँ नेपालीमाझ आफ्नो परिचय बनाएकी रेखालाई अब भने अभिनय क्षेत्रमा जम्न गाह्रो हुने देखिएकाले ‘सेफ ल्याण्डिङ’ खोजेको भन्ने आरोप पनि कतिपयले लगाउँदै आएका छन् ।
जे होस्, रेखाका फ्यानले उनको अभिनय देख्न पाएका छैनन् । सामाजिक सञ्जालमा भने कहिलेकाहीँ फ्यानहरुले लेखिरहेका हुन्छन् – ‘रेखा दिदी, हजुरको नयाँ फिल्म कहिले आउँछ ?’
यता रेखा आफ्नो फिल्म करिअरको भन्दा पनि सामाजिक र राजनैतिक करिअरमा बढी चिन्तित देखिएकी छिन् ।
प्रतिक्रिया