हराएन कटुवाल र मुखिया प्रथा | Khabarhub Khabarhub

हराएन कटुवाल र मुखिया प्रथा


२० आश्विन २०७९, बिहीबार  

पढ्न लाग्ने समय : 3 मिनेट


6
Shares
  • change font
  • change font
  • change font

ढोरपाटन– एक दशक अगाडिसम्म बागलुङका ग्रामीण भेगमा कटुवाल कराउने प्रथा सञ्चारको उपयुक्त माध्यम थियो । कटुवालले गाउँमा कुनै सार्वजनिक सभा, सम्मेलन तथा काम परे अग्लो ठाउँबाट चर्को स्वरमा कराएर गाउँलेलाई सूचना दिने गर्थे । जब मोबाइल फोनको प्रयोग बढ्दै गयो, तब कटुवाल प्रथा पनि हराउन थाल्यो ।

बागलुङको तमानखोला गाउँपालिका–३ तमान गाउँमा भने अझै पनि कटुवाल प्रथा प्रचलनमै छ । गाउँका अधिकांश नागरिकको हात हातमा मोबाइल पुगे पनि तमान गाउँका स्थानीयले यो प्रचलनलाई बचाएका छन् । गाउँमा बहुउपयोगी र भरपर्दो सूचनाको माध्यमको रुपमा मानिएको कटुवाल प्रथा प्रभावकारी भएकाले हटाउन नसकिएको स्थानीय बताउँछन् ।

अहिले स्थानीय रुपलाल बुढा मगरले कटुवालको काम गरिरहेका छन्। गाउँलेहरुबाट आफूले यो जिम्मेवारी पाएको पाँच वर्ष भएको रुपलालको भनाई छ । चार वर्षमा कटुवाल फेर्ने गाउँलेको नीति भए पनि रुपलाल फेरि दोहोरिएका छन् । उनको काम चर्को स्वरमा कुर्लिएर सूचना प्रवाह गर्ने हो । रुपलालले गाउँमा पूजाआजा, झारा, मेला महोत्सव तथा अन्य सार्वजनिक कार्यक्रमहरू हुँदा गाउँलेलाई सूचना पु¥याउने काम गर्दै आएको बताउँछन् । गाउँलेलाई कुनै पनि सार्वजनिक चासो, सरोकारका कार्यक्रमहरूको सूचना दिनको लागि अग्लो स्थानमा गएर हाँको हालेपछि गाउँलेहरु सोही सूचनाको आधारमा कार्यक्रम, बैठक, सभाहरूमा सहभागी हुने गरेको उनको भनाई छ । ‘यो चलन त परम्परादेखि चल्दै आएको हो, गाउँलेले हटाउन सकेका छैनन्, मेरो काम गाउँमा केही कार्यक्रम भयो भने सूचना दिने हो’ रुपलालले भने ।

उनले तमान गाउँमा तीन सय ७४ घरधुरीका नागरिकलाई सूचना दिँदै आएको बताए । सबै घरका नागरिकलाई एकै ठाउँबाट हाँको हालेर सूचना पुर्‍याउन नसक्ने हुँदा गाउँको देउराली डाँडा, किरी, हिले लगायतका ठाउँमा पुगेर सूचना दिने गरेको रुपलाल बताउँछन् । 

‘गाउँ ठूलो छ, एक ठाउँबाट कुर्लिएर सबैले सूचना पाउन सक्दैनन्, सूचना पाएनन् भने फेरि कार्यक्रममा जाँदैनन्, उनीहरूले सूचना नपाएपछि मलाई कारबाही हुन्छ’ रुपलालले भने’ ‘त्यही भएर गाउँको देउराली डाँडा, किरी, हिले डाँडामा गएर हाँको हाल्छु, गाउँलाई सूचना दिनु राम्रो काम हो सूचना प्रवाहको भरपर्दो माध्यम बन्न पाएकोमा खुसी छु ।’

तमान गाउँमा कटुवाल मात्रै होइन, मुखिया प्रथा पनि कायमै छ । अहिले गाउँमा एक जना मुखिया हुन् । गाउँलेले स्थानीय ललित घर्ती मगरलाई मुखिया बनाएका छन् । मुखियाले दिएको आदेश अनुसार रुपलालले गाउँलेलाई सूचना दिने काम गर्छन् । मुखिया मातहत नै कटुवालले काम गर्नु पर्ने स्थानीयको नियम छ ।

कटुवालले वर्षभरि सूचना प्रवाह गरेबापत एक घरबाट दुई सय रुपैयाँ प्राप्त गर्ने गर्छन् । तीन सय ७४ घरधुरी रहेको तमान गाउँबाट रुपलालले हरेक वर्ष ७४ हजार आठ सय रुपैयाँ कमाउने गरेको बताउँछन् । दैनिक सूचना प्रवाह गर्न नपर्ने हुँदा अरु कामसमेत गर्न सकिने उनको भनाई छ ।

‘कटुवाल काम गर्न धेरै कठिन छैन, यो काम सधैँ पनि हुँदैन, बेला मौकामा मात्रै हो, अरु समयमा घरबारीको काम पनि गर्छु, जनताको सेवाको रुपमा लिएको छु मैले यो कामलाई’ उनले भने ‘गाउँमा हाँको हाल्ने काम त बाजे बराजुदेखिनै हुँदै आएको हो मैले सुरु गरेको होइन ।’

स्थानीय कृष्ण बुढाथोकीले परम्परादेखि चल्दै आएका चलनहरुलाई निरन्तरता दिनु पर्ने बताए । उनले यस्ता परम्परा मौलिक संस्कृतिसँग जोडिएको भन्दै आधुनिकताले निकै ठूलो प्रभाव पारेको बताए ।

मुखियालाई पनि मान्छन् गाउँले

तमान गाउँमा अहिले पनि मुखिया प्रथा कायमै छ । अहिले तमान गाउँका मुखिया ३५ वर्षीय ललित घर्ती मगर हुन् । उनले तमान गाउँका तीन सय ७४ घरधुरीलाई नेतृत्व प्रदान गरिरहेको छ । गाउँमा हुने विवाद मिलाउने, गाउँलाई व्यवस्थित र व्यवस्थापनको काम घर्तीले गरे ।

मुखियाको काम र भूमिकाका हिसाबले अहिलेका जनप्रतिनिधि जस्तै भए पनि आफूले कुनै पनि सेवा सुविधा नपाउने घर्तीको भनाई छ । परम्परादेखि यो प्रथा चल्दै आएको र आफूहरूले यसलाई निरन्तरता दिएको भन्दै आफूको कार्यकालसमेत सकिन थालेको बताए । आफ्नो कार्यकाल चार वर्षको हुने उनको भनाई छ ।

‘गाउँमा जति पनि चलन छन्, त्यो सबै हाम्रा पाका पुर्खादेखि नै चल्दै आएका हुन्, हामीहरूले त्यसको निरन्तरता दिएको हो, गाउँमा हुने विशेष कामहरू, पूजाआजा, कार्यक्रम हुँदा सबैलाई खबर गर्ने, वन थुन्दा, फुकाउँदा कुनै मिति तोकेर मात्रै त्यो काम गर्छौं,’ मुखिया घर्तीले भने ‘मुखियाले गाउँको नेतृत्व गर्ने हो, अहिलेको वडा अध्यक्ष जस्तै हो, तर मुखियाले कुनै पनि सेवा सुविधा लिदैनन्, समाज सेवानै हो ।’

घर्तीभन्दा अगाडि तमान गाउँको मुखिया जितेन्द्र रोका थिए । उनको मृत्यु भएपछि घर्ती मुखियामा चुनिएका हुन् । अहिले उनले दुई कार्यकाल चलाउँदै छन् । पछिल्लो समय जननिर्वाचित प्रतिनिधि पनि जनताको सेवामा आएकाले आफूले गाउँपालिका र वडासँग समन्वय गरेरै काम गर्दै आएको उनको भनाई छ ।

स्थानीय सरकार नआउँदा गाउँका सबै काम मुखियाले गर्ने गरे पनि जनप्रतिनिधि आएपछि सहकार्य समन्वय गरेर काम गरेको उनले बताए । ‘स्थानीय सरकार नआउँदा गाउँको काम सबै मुखियाले गथ्र्यो, गर्नुपथ्र्यो, अहिले जनप्रतिनिधि आएपछि उनीहरुसँग सहकार्य गरेर काम गर्छौँ, उनीहरुलाई पनि सहज, हामीलाई पनि सहज भएको छ, जसरी पनि समाज परिवर्तन गर्ने हो’ उनले भने।

तमानखोला  गाउँपालिकाका अध्यक्ष जोकलाल बुढा मगरले गाउँमा अहिले पनि पुराना प्रथाहरू कायम रहनुले परम्पराको संरक्षण भएको बताए । मुखिया र कटुवाल दुवै प्रथा समाज परिवर्तनका लागि चल्दै आएको हुँदा अहिले जनप्रतिनिधिसँग समन्वय गरेर काम गर्दा सहज भएको उनले बताए ।

‘परम्परादेखि नै आएका यस्ता चलनहरुले हामीलाई सहज भएको छ, मुखियाले जनप्रतिनिधिले गर्ने काममा हस्तक्षेप गर्दैनन्, हामीहरूले गर्ने कतिपय कामहरू उनीहरूले गर्दै आएका थिए, अहिले हामीसँग सहकार्य गरेर काम गर्छन्, यसले गाउँलेको सेवा पनि भएको छ, परम्पराको संरक्षण पनि’ अध्यक्ष बुढा मगरले भने । 

प्रकाशित मिति : २० आश्विन २०७९, बिहीबार  ३ : ४५ बजे

महन्थ ठाकुरले थपे ८ जना केन्द्रीय सदस्य

काठमाडौं – महन्थ ठाकुर नेतृत्वको  लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) मा

सिंहदरबार वैद्यखानाको अनुगमन गर्दै स्वास्थ्यमन्त्रीले भने- औषधी उत्पादनका लागि बजेट अभाव हुन दिन्नौँ 

काठमाडौं– स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले सिंहदरबार वैद्यखानामा आयुर्वेदिक औषधी

हिरासतमा सु्तेका ‘रविको फोटो’बारे कास्की प्रहरी भन्छ : अनुसन्धान भइरहेको छ

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने हिरासतमा सुतिरहेको दाबीसहित

कृषि विकास बैंकले १०.५३ प्रतिशत बोनस दिने 

काठमाडौं– कृषि विकास बैंक लिमिटेडले १०.५३ प्रतिशत बोनस दिने भएको

५० रन नपुग्दै कर्णालीले ओपनरसहित गुमायो ३ विकेट

काठमाडौं– नेपाल प्रिमियर लिग अन्तर्गतको दोस्रो क्वालिफायर खेलमा जनकपुरविरुद्ध कर्णाली