पर्यटकीय गन्तव्य काउलेपानी | Khabarhub Khabarhub

पर्यटकीय गन्तव्य काउलेपानी


२३ आश्विन २०७९, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


135
Shares
  • change font
  • change font
  • change font

लमजुङ – नेपालकै उत्कृष्ट होमस्टे गन्तव्यको पहिचान बनाएको लमजुङ जिल्लाको बेसीसहर नगरपालिका ३ स्थित गाउँसहरको होमस्टे गाउँ काउलेपानीले नेपालकै पहिलो वातावरणमैत्री होमस्टे गाउँको उपमा पनि पाएको छ। नगरपालिकाभित्रका सबै गाउँ वातावरणमैत्री बनाउने अभियानअन्तर्गत उक्त गाउँका सबै परिवारले वातावरणमैत्री १८ वटा सूचक पालना गरेकाले वातावरणमैत्री गाउँ घोषणा गरिएको हो। नेपालकै उत्कृष्ट गाउँ घोषित भएको काउलेपानीका बासिन्दाले प्यानसहितको चर्पी प्रयोग गर्ने, सड्ने र नसड्ने फोहोरलाई छुट्टाछुट्टै व्यवस्थापन गर्ने, पशुपक्षी तथा कुकुरको फोहोर व्यवस्थापन गर्ने, धुवाँरहित चुलो प्रयोग, फलफूलको बिरुवा रोप्ने जस्ता कार्य गर्दै आएकाले वातावरणमैत्री घोषित गरिएको छ।

होमस्टे रहेका घरमा चिटिक्क परेका सफा बेडरुम (सुत्नेकोठा), शौचालय, बाथरुम, पानीधारा, ऐना, टाबेल, साबुनलगायत आवश्यक सबै सामान राखिएका छन्। त्यस्तै, खानपिनमा पनि उनीहरु सचेत छन्।

काउलेपानी पुगेपछि आर्गा्निक खानाको साथमा लोकल कुखुरा, गुन्द्रुकको अचार, सिस्नुको खोले, कोदाको रोटी, दूधदही अनि लोकल रक्सी खान पाइन्छ। भव्य स्वागत सत्कारसहित बेलुकाको खाजा, खाना, क्याम्प फायरसहितको सांस्कृतिक कार्यक्रम, सुत्ने र बिहानको नास्तासहित प्रतिव्यक्ति एक हजारको हाराहारीमा काउलेपानीसँग साइनो जोड्न सकिन्छ।

यस क्षेत्रमा असारको महिनामा धान रोपाई, साउनमा कोदो रोपाई, भदौमा नेवाः समुदायको जात्रा, असोजमा रोटेपिङ, कार्तिकमा कटुस, मंसिरमा धानको दाँइ, पुसमा कोदो कुट्ने, माघमा बन तरुल खन्ने, फागुनमा गुराँस टिप्ने, चैत र वैशाखमा काफल र ऐसेलु टिप्ने, र जेठ महिनामा चुत्रो टिप्ने जस्ता दर्जन बढी प्याकेजमा पर्यटकहरूलाई काउलेपानी पठाउन सकिन्छ।

इतिहास
शाहवंशीय राज्य उदय भएको लमजुङ दरबार, काउलेपानी देवीको मन्दिर, कोट, किल्ला, गढी काउलेपानी होमस्टे नजिकै रहेको छ। १५औँ शताब्दीको ऐतिहासिक लमजुङ दरबार, काउलेपानी देवी मन्दिर, कोट, किल्ला, गढीलगायतका इतिहास बोकेका स्थलहरु यहाँका अमूल्य निधि हुन्।

प्राकृतिक सौन्दर्य
यहाँबाट बुद्ध, मनास्लु, अन्नपूर्ण, लमजुङलगायत हिमशृङ्खलाको कोठाबाटै अवलोकन गर्न सकिन्छ। लमजुङ दरबार, काउलेपानी मन्दिर, लमजुङका विभिन्न किल्ला काउलेपानीको आकर्षण हो। यस क्षेत्रमा विश्वमै दुर्लभ मानिने काँडे भ्याकुर देख्न सकिन्छ भने चरीबाघ पनि यहाँ पाइन्छ। समुद्री सतहबाट १६ सय मिटर उचाइमा रहेको काउलेपानीबाट बुद्ध, मनास्लु, अन्नपूर्ण, लमजुङलगायत १४ वटा हिमाल आँखै अगाडि देख्न सकिन्छ।

पर्यटन प्रवर्द्धन
ऐतिहासिक स्थल गाउँसहरस्थित काउलेपानी होमस्टेलाई नेपालकै उत्कृष्ट होमस्टे घोषणा गरिएपछि विदेशी पर्यटकको आगमन समेत वृद्धि हुँदै गएको छ। सन् २०११ देखि होमस्टे सञ्चालन भएको काउलेपानी सन् २०१४ मा गाउँ पर्यटन प्रवर्द्धन मञ्च (भिटो)होमस्टे गाउँ घोषणा गरेको थियो। सरकारले घुमफिर वर्षका रूपमा घोषणा गरेको १० वटा घुम्नै पर्ने ठाउँको रूपमा काउलेपानी पनि समावेश छ। काउलेपानी यहाँबाट १८० डिग्रीको विन्दुबाट बुद्ध, मनास्लु, अन्नपूर्ण, लमजुङ लगायत गरी १४ वटा हिमश्रङखला देख्न सकिन्छ।

लमजुङ जिल्लाको सदरमुकाम बेसीशहरबाट मोटरमा करिब ७ किलोमिटर कच्ची बाटो पार गर्दै पुगिने काउलेपानी गाउँ समुन्द्री सतहदेखि १६०० मिटर उचाइमा छ।
-न्युज कारखानाबाट

प्रकाशित मिति : २३ आश्विन २०७९, आइतबार  ७ : ४५ बजे

सडक अभावले करोडौँको स्याउ कुहिँदै

भक्तपुर– गोरखाको चुमनुब्री गाउँपालिकामा ३० हजार बोटमा फलेका करोडौँ मूल्य

जग्गादातालाई प्रहरीको सम्मान

बझाङ– अस्थायी प्रहरी पोष्ट झोता र छान्ना पाटादेवलका लागि निःशुल्क

जीर्णोद्धारपछि गलकोट दरबारमा पर्यटकको वृद्धि

बागलुङ– बागलुङको गलकोट दरबारमा आन्तरिक तथा बाह्य पर्यटकको चहलपहल बढ्न

महिलाले सञ्चालन गरेको डेरी उद्योगमा मासिक १० लाखको कारोबार

तनहुँ– तनहुँको देवघाट गाउँपालिका–५ स्थित चक्रवर्ती सामाजिक उद्यमी महिला सहकारी

ढोरपाटनमा सिकारका लागि पहिलो याम सुरु 

काठमाडौं– मुलुकको एकमात्र ढोरपाटन सिकार आरक्षमा नाउर, झारल र बँदेलको