संकटमा परम्परागत पानी घट्ट | Khabarhub Khabarhub

संकटमा परम्परागत पानी घट्ट


२५ आश्विन २०७९, मंगलबार  

पढ्न लाग्ने समय : 3 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

भजनी– दुर्गम गाउँमा खानेकुराको लागि निकै अभाव, न्यून उब्जनी र खेतीपाती पनि शून्य हुँदा  दैनिक मजदुरी र पानीघट्ट सञ्चालन नै परिवारको आयआर्जनको माध्यम बनेको छ । अछामको रामारोशन गाउँपालिका–१ का बालाराम परियारको दैनिक जीवन यसरी नै बित्दै आएको छ । कैलाश खोलाको किनारमा भएको एक पानीघट्टले अझै पनि बालारामको १० जनाको परिवार पालिन्छ । 

‘खेतीबारी केही नहुँदा दिनभर मजदूरी वा  त्यही पानीघट्ट चलाएर  नै परिवार पाल्ने आधार बन्दै आएको छ, ‘ उनले भने, ‘त्यही घट्टले मेरो बुबाले गुजारा चलाए, मेरो पनि आधा उमेर त्यही घट्टका ढुङ्गा पल्टाएर बित्यो ।’अहिले  बालाराम ७० वर्ष पुगे पनि उनको जोशजागर अहिले पनि तन्नेरीकै जस्तो छ । अझै पनि कैलाश खोलाका ढुङ्गा पल्टाउने गरेका उनी घट्टमा गेडागुडी पिसाउन आएकासँग केही पिठो लिन्छन्। त्यसको कुनै नापजाँच भने हुँदैन । जसले जति दियो त्यतिमै चित्त बुझाउनुपरेको बालारामले बताए।

 ‘यति चाहिन्छ भनेर माग्ने चलन छैन । जति दियो त्यतिमै चित्त बुझाउनुपर्छ ।’ उनले भने, ‘दिनमा दुईदेखि  पाँच केजीसम्म पिठो भइहाल्छ ।’ गाउँमा त्यो बेला एक दर्जनभन्दा बढी पानी घट्ट रहेकामा अहिले बालारामको मात्रै छ । विसं २०७७ भदौ २ गते आएको कैलाश खोलाको बाढीले दर्जनौंँ पानीघट्ट बगाएपछि घट्ट सञ्चालकले त्यसपछि त्यो पेसालाई निरन्तरता दिन छोडेका हुन् ।  ‘गाउँगाउँमा बिजुली बत्ती पुगेपछि मिल पनि सञ्चालनमा आएका छन् । पहिलेको जस्तो पानी घट्टको महत्व पनि छैन ।’ स्थानीय दाताराम खनाल बताउँछन्, ‘पैसा नहुने, घट्टमै पिसेको पिठो राम्रो मान्ने मात्रै घट्टमा आउँछन्, नभए पानी घट्ट विस्थापित हुने अवस्थामा पुगिसकेको छ ।’ उनी परम्परागतरुपमा पुर्खाले बनाएका पानी घट्टको अस्तित्व लोप हुने अवस्थामा पुगेको गुनासो  गर्छन। त्यतिबेला खानको लागि निकै अभाव हुँदा, खेतीपाती नभएका अधिकांशको सहारा पानीघट्ट हुन्थ्यो । नदीको किनारमा निर्माण हुने अधिकांश पानी घट्टमा मेहनत भने निकै  हुन्थ्यो ।

ग्रामीण बस्तीका लागि पानीघट्ट एक महत्वपूर्ण आवश्यकताको  वस्तु हो । गेडागुडी पिसेर पिठो बनाउन पानीघट्ट र जाँतोको प्रयोग हुँदै आएको छ । जाँतोको विकल्पमा प्रयोग हुने गरे पनि पानीघट्ट ग्रामीण क्षेत्रको लागि महत्वपूर्ण साधनको रुपमा लिने गरिएको रामारोशन गाउँपालिका–१ का वडाध्यक्ष चक्रबहादुर साउदले बताए।

‘पानीघट्ट, जाँतो र ओखलसँग हाम्रो नजिकैको सम्बन्ध   छ । यसको संरक्षण र सम्बद्र्धन निकै आवश्यक छ ।’ वडा अध्यक्ष साउदले भने, संकटमा रहेका यस्ता वस्तुलाई संरक्षण गरी राख्न सके भावी सन्ततिका लागि इतिहास बन्न सक्छ ।’ त्यस्तै ग्रामीण बस्तीको अर्को महत्वपूर्ण साधन भनेको ओखल पनि हो । पिसानीका लागि पानीघट्ट र जाँतो जस्तै कुटानीको माध्यम ओखल हो । अहिले पुरानो पानीघट्ट, जातो र ओखलको अस्तित्व हराउँदै गएको छ ।

कल्धरी बिक कुनैबेला बिहान ३/४ बजे उठ्नुहुन्थ्यो । बिहानको चुलोचौको भन्दा पहिले ओखलमा धान कुट्नु उनको नियमित काम हुन्थ्यो । ‘साना छोराछोरी, परदेशीएका श्रीमान्, कामको चाप ।’उनले भने, ‘छोराछोरी उठ्नुभन्दा पहिला सबै काम सक्नुपर्थ्यो । उनीहरूलाई खाजा खुवाएर  मेलापात जानु हाम्रो दैनिक काम थियो ।’

अहिले अवस्था फेरिएको छ । गाउँमा मिल सञ्चालनमा आएपछि ओखल कल्धरीले चलाउनै परेको छैन ।  मिलले गर्दा कल्धरी मात्रै होइन कैयौँ महिलालाई  त्यस्ता कामबाट फुर्सद मिलेको छ ।  दिनभर बाहिरी कामको चटारोमा रहने महिला बिहानको समय धान कुटेर चामल बनाउन ओखलमै व्यस्त हुनेगर्थे । ‘दिनभरको कामको थकानले  छिट्टै निदाएछु । निद्रामा पनि भोलिको कामको चिन्ता थियो । हातमा घडी थिएन । असोजको महिना खेती भित्राउने चटारोमा आधा रातमै धान लिएर ओखल पुगेकी रहेछु ।’ विगतका दिन स्मरण गर्दै नामसरा खनालले भने, ‘धान कुटेर फेरि दुई-अढाइ घण्टा सुतेपछि मात्र उज्यालो भयो । त्यो बेलाको दुःख र अहिलेको सुविधा सम्झँदा अहिले पनि मन थाम्न गाह्रो हुन्छ ।’

स्थानीयवासी चन्द्रा परियार यति छिटो समय परिवर्तन भएकामा अचम्म मान्छिन्। मट्टितेलबाट लाल्टिन र टुक्कीको सहारामा आधा जीवन बिताएकी उनलाई कहिलेकाहीँ एकाएक भएको परिवर्तन सपना जस्तै लाग्ने गरेको छ ।  उनी गाउँगाउँमा बिजुली आएपछि मिल सञ्चालन भएर कुटानीपिसानीमा सहज भए पनि पुरानो परम्परा हराउँछ कि भन्ने चिन्ता पनि बढेको बताउँछिन्।

 ‘घरघरमा बिजुली पुग्यो । गाउँमा यातायात पुग्यो । सबै कुराले सहज भएको छ ।’ चन्द्राले भनिन्, ‘यहीँ सुविधा र सहजताले हाम्रा पुर्खाको दैनिक उपयोगका सम्पत्तिको अस्तित्व हराउँदै जाने त होइन? ‘ गाउँमा सबै कुराको सहजता भएपछि पहिलेको जस्तो कामको  चटारो पनि हटेको छ । नागरिक फुर्सदिला भएका छन् । पिठ्यूँमा भारी बोकेर मेलापात जानुपर्ने बाध्यता टरेको छ । दिनभर घट्टमा पालो कुरेर बस्नुपर्ने बाध्यता अन्त्य भएको छ । त्यस्ता कयौँ समस्याबाट छुटकारा पाए पनि पुर्खादेखिको परम्परागत संरचनाको अस्तित्व नै समाप्त हुने चिन्ता पनि बढ्दै गएको छ ।

– झलनाथ खनाल रासस

प्रकाशित मिति : २५ आश्विन २०७९, मंगलबार  १२ : ३८ बजे

हवाई टिकट मूल्यवृद्धि नियन्त्रण गर्न राष्ट्रिय ध्वजावाहक बलियो हुनुपर्छ : मन्त्री पाण्डे

काठमाडौं– संस्कृति, पर्यटन र नागरिक उड्डयन मन्त्री बद्री प्रसाद पाण्डेले

भूकम्पका कारण नेपालमा १३ जना घाइते

काठमाडौं– चीनको तिब्बतस्थित शिगात्से क्षेत्रलाई केन्द्रबिन्दु बनाउँदै गएको भूकम्पका कारण

भूकम्पबाट सगरमाथा राष्ट्रिय निकुञ्जको भवनमा क्षति

सोलुखुम्बु– भूकम्पका कारण सोलुखुम्बुको सगरमाथा राष्ट्रिय निकुञ्जको थामे पोस्ट कार्यालय

एमाले बैठकमा जवाफ दिँदै ओली, आजै समापन 

काठमाडौं– सत्ता रुढ नेकपा एमालेको जारी केन्द्रीय कमिटी बैठक आज

जर्मनीमा विद्युतीय कार बिक्री २७.४ प्रतिशतले घट्यो

एजेन्सी – गत वर्ष जर्मनीमा विद्युतीय कारहरूको बिक्री २७ दशमलव