लिलाबहादुरको कीर्तिमानः काठमाडौंबाट प्रस्थान गरेको हप्ता दिनमै सगरमाथाको सफल आरोहण | Khabarhub Khabarhub

लिलाबहादुरको कीर्तिमानः काठमाडौंबाट प्रस्थान गरेको हप्ता दिनमै सगरमाथाको सफल आरोहण



काठमाडौं- ३७ वर्षे लिलाबहादुर बस्नेतले ५ दिनमै सगरमाथा आरोहण गरी कीर्तिमान राखे । उनी गत मे १८, बिहान ७ बजे काठमाडौंबाट लुक्लाका लागि उडान भरी २२ मे का दिन बिहान ६ बजे सगरमाथाको शिखरमा पुगेका थिए ।

उनले काठमाडौंबाट प्रस्थान गरेको एक साताभित्रै सगरमाथाको सफल आरोहण गरिसक्ने लक्ष्य निर्धारण गरेका थिए । यसैअनुसार उनले सरकारसँग सगरमाथा आरोहणका लागि १० दिनको अनुमति लिएका थिए । सरकारले भने सामान्यतः सगरमाथा आरोहणका लागि ४० देखि ६० दिनको मात्र अनुमति दिने गरेको छ । सामाजिक, धार्मिक र जातीयलगायतका सबै भेदभावको अन्त्य गर्ने अभियानसहित उनले ऐतिहासिक आरोहण शुरु गरेका थिए । भित्री रुपमा सगरमाथा आरोहणका लागि तत्पर उनका लागि वाह्य बाधा र अफ्ठ्यारोले केही फरक पर्दैनथ्यो । त्यही दृढ अठोट कै कारण सबै चुनौतिलाई पार गर्दै उनी सगरमाथाको शिखरमा पुगे ।

उनको यो पाचौं सफल सगरमाथा आरोहण हो । यसअघि उनले सन् २००७, २००८, २००९ मा नेपालतर्फबाट र सन् २०११ मा तिब्बततर्फबाट सगरमाथाको सफल आरोहण गरेका थिए । उनले सन् २०१७ मा पनि सगरमाथा आरोहण गर्ने प्रयास गरेका थिए । तर त्यसबेला उनी साउथ कोलभन्दा माथि पुग्न सकेनन् ।

उनले पछिल्ला २० वर्ष पदयात्रामा बिताएका छन् । उनी सगरमाथा आरोहणका लागि भने सन् २००५ बाट मात्र आकर्षित भएका हुन् । त्यसबेला उनी पर्यटकका लागि पदयात्रा गराउने कम्पनीमा सहयोगी (भान्से) का रुपमा कार्यरत थिए ।

यसअघि नै ४ पटक सगरमाथाको आरोहण गरिसकेका बस्नेतले सगरमाथामा केही नयाँ गर्ने सोचेर सबैभन्दा छोटो समयमा सगरमाथाको आरोहण गर्ने लक्ष्य लिए । सोही अनुसार उनले सन् २०१४ मै एक साता भित्र सगरमाथाको शिखरमा पुगिसक्ने अठोट लिएका थिए । तर, त्यसबेला अप्रिल १८, २०१४ मा सगरमाथाको खुम्बु क्षेत्रमा गएको हिमपहिरोका कारण उनको त्यो लक्ष्य अधुरै रह्यो । उक्त हिमपहिरोमा परी १६ शेर्पाहरुले ज्यान गुमाएका थिए । आफ्नो लक्ष्यबाट पछि हटेका उनी त्यसपछि काठमाडौं फर्के ।

उनले सन् २०१५ मा पनि यो लक्ष्यलाई निरन्तरता दिने अठोट लिएका थिए । तर, विनाशकारी भूकम्पपछि सगरमाथामा गएको हिमपहिरोका कारण त्यस वर्ष पनि त्यो पूरा हुन सकेन । तैपनि हिम्मत नहारेका उनले यसअघिका अनुभवबाट पाठ सिक्दै यो वर्ष भने आफ्नो लक्ष्य पूरा गरिछाडे ।

आधार शिविरका पालमा पर्याप्त स्थान र खानेकुरा भएपनि त्यहाँ उनका लागि खाना र बस्ने ठाउँ नभएको बताइयो । पछिमात्र उनका साथी टासी शेर्पाले पालमा पर्याप्त खानेकुरा र बस्ने स्थान रहेको कुराको खुलासा गरेका थिए । बस्नेतलाई विश्वासघात भएको महशुस भयो ।

यस पटकको सगरमाथा आरोहणका क्रममा उनले थुप्रै समस्याको सामना गर्नु पर्‍यो । प्रतिकुल मौसमभन्दा पनि आरोहणका लागि जिम्मा लिएको सभेन समिट ट्रेक्स कम्पनीले पर्याप्त रुपमा आवश्यक सहयोग नगर्दा आरोहणमा कठिन भएको उनले खबरहबलाई बताए । उक्त कम्पनीले उनको सगरमाथा अभियानका क्रममा पर्याप्त उपकरण र औजार उपलब्ध नगराएको उनको आरोप छ ।

कम्पनीले पर्वतारोहणमा लाग्ने सबै सेवाको शुल्क लिएपनि कुनै पनि सेवा उपलब्ध नगराएको उनको भनाइ छ । उनले उक्त कम्पनीमा व्यावसायिकता नभएको र कम्पनीले गराउने पदयात्रा तथा पर्वतारोहण अभियान पूर्ण रुपमा अव्यवस्थित हुने गरेको समेत आरोप लगाएका छन् । सगरमाथा आधार शिविरमा कम्पनीमा काम गर्ने मिङ्मा शेर्पाले अत्यावश्यक औजार तथा उपकरण उपलब्ध नगराएको उनले बताए ।

अन्तिम समयमा उनका साथी पेम्बा नोर्बु शेर्पाले उनलाई आवश्यक पर्ने औजार र उपकरण दिएर सहयोग गरेका थिए । आधार शिविरबाट आरोहण यात्रा रातिको दुई बजेभन्दा अघि नै शुरु गर्ने तयारी भएपनि कम्पनीको गैरजिम्मेवार व्यवहारका कारण उनको आरोहण बिहानको साढे १० बजेपछिमात्र शुरु भएको थियो ।

कम्पनीले खानाको प्रबन्ध नगरेका कारण उनी साउथ कोलसम्म भोकै आरोहण गर्न बाध्य भएको उनले सुनाए । खानाका विषयमा उनले सोधीखोजी गर्दा खान लिन पुनः आधार शिविरसम्म पुग्नुपर्ने जवाफ उनले पाएका थिए । तैपनि प्रतिकूलताका बाबजुद उनले हिम्मत भने हारेनन् । कम्पनीले खडा गरेका पालमा उनका लागि कुनै ठाउँ थिएन । यसै कारण आरोहणका क्रममा उनले पर्याप्त आरामसमेत गर्न नपाएको गुनासो गरे ।

उनले खबरहबसँग दुखेसो पोख्दै कम्पनीले अराोहणबारे सूचना दिनसमेत हिचकिचाएको बताए । आरोहण गर्ने क्रममा आधार शिविरमा रेडियो सम्पर्कसमेत हुन सकेको थिएन । आधार शिविरका पालमा पर्याप्त स्थान र खानेकुरा भएपनि त्यहाँ उनका लागि खाना र बस्ने ठाउँ नभएको बताइयो । पछिमात्र उनका साथी टासी शेर्पाले पालमा पर्याप्त खानेकुरा र बस्ने स्थान रहेको कुराको खुलासा गरेका थिए । बस्नेतलाई विश्वासघात भएको महशुस भयो ।

आफुलाई आरोहण गराउने जिम्मा लिएको कम्पनीले असहयोग गर्दा पनि उनी आफ्नो लक्ष्यबाट बिचलित भने भएनन् । यही क्रममा उनलाई अर्कै के–२ समिट कम्पनीले खानेकुरा र बस्ने स्थान उपलब्ध गराएको उनले बताए । त्यसअघि शेर्पाले उनलाई क्याम्प–२ मा कम्पनीले आफूलाई केवल ३ सिलिण्डर अक्सिजन दिएको भनी झुक्याएका थिए ।

उनले साउथ कोलमा नै अक्सिजनको सिलिण्डर प्रयोग गरिसकेका थिए । उनीसँग जम्मा दुई सिलिण्डरमात्र बाँकी थियो । यस्तो अवस्थामा बाटोमा चलिरहेको ट्राफिक जामका बेला ती सिलिण्डर पनि सकिने र सगरमाथाको शिखरमा श्वास फेर्न समस्या हुनसक्ने भय थियो उनमा । तर, पेम्बा दोर्जेले नै अक्सिजन दिएर उनलाई मृत्युको मुखबाट जोगाएका थिए ।

रेडियो सम्पर्क नभएपछि उनी थप अक्सिजनको सिलिण्डर मगाउने अवस्थामा थिएनन् । तर पेम्बा दोर्जेले दिएको अक्सिजन उनका लागि वरदान साबित भयो । उनकाअनुसार हिमाल आरोहण गर्दा पर्याप्त अक्सिजन भएन भने निद्रा लाग्ने र त्यसले आरोहण अभियानलाई नै खतरामा पार्न सक्ने हुन्छ । त्यसैले उनी पेम्बा दोर्जेले दिएको अक्सिजन लिएर नसुती नै साउथ कोलबाट सगरमाथाको शिखरतर्फको यात्रामा अघि बढे ।

सन् २०१९ को अभियान सकिएसँगै उनी अर्को वर्ष पनि सगरमाथामा नयाँ अभियानका साथ फर्किने मनशायमा छन् । अर्को वर्षको अभियान चाहिँ एकै सिजनमा ४ पटक सगरमाथा चढ्ने रहेको उनले सुनाए । उनले त्यो अभियान आफ्नो व्यक्तिगत कीर्तिमानका लागि भन्दा पनि सहयोगका हात अघि बढाउनका लागि मानिसहरुलाई आह्वान गर्ने उद्देश्यबाट प्रेरित रहेको बताए ।

उनको जीवनले नयाँ मोड लिएको छ । उनले हिमाली क्षेत्रमा भरियाका रुपमा काम शुरु गरेका थिए । शिक्षा नलिएका उनले जीवनयापनका लागि हिमाललाई नै चुने । उनी शुरुमा आरोहीहरुको झोला बोक्ने गर्थे । सगरमाथा आरोहीको झोला १५ किलोको हुने गर्छ । आधार शिविरबाट दक्षिण क्याम्प–२ सम्म झोला बोक्ने भरियाले ८० अमेरिकी डलरसम्म कमाउँछन् । त्यस्तै, क्याम्प–२ देखि साउथ कोलसम्म ८–१० किलोको झोला बोक्ने भरियाले १५० अमेरिकी डलरसम्म कमाउँछन् ।

तर, भरियाको ज्याला भने ट्रेकिङ एजेन्सीले नै मिलाएको हुन्छ । भारी बोक्ने कामका लागि ट्रेकिङ एजेन्सीले आरोहीसँग २ सय अमेरिकी डलर र थप बोनससम्म लिने गरेको छ । त्यो पैसा उनीहरुबीच बाँडिन्छ । त्यस्तै, अक्सिजनको अभाव हुने भएकाले भरियाले साउथ कोलबाट सगरमाथाको शिखरसम्म कम्तीमा ७ वटा अक्सिजन सिलिण्डर बोक्नुपर्छ ।

हिमाल आरोहणमा थुप्रै आरोह–अवरोह भोगेका उनी यसै पेशामा रमाउन चाहन्छन् । तर सन्तानको भविष्यका विषयमा भने उनको सोचाइँ के होला ? उनी आफ्ना छोराहरुलाई पर्वतारोहणको क्षेत्रमा लागून् भन्ने चाहन्छन् ? जवाफमा उनी भन्छन्, ‘अहँ, म जीवनभर अशिक्षित नै रहेँ । मैले भरियाका रुपमा काम शुरु गरेपनि अहिले आफैँ पर्वतारोही भइसकेको छु । पर्वतारोहणका लागि शारीरिक र मानसिक सबलता आवश्यक पर्छ । म मेरा छोराहरुले धेरै पढुन् भन्ने चाहन्छु, त्यसपछि उनीहरु सुखसँग जीवन बिताउन सक्नेछन् ।’

उनी सगरमाथाको फोहोर उठाउनु पर्नेमा जोड दिन्छन् । सगरमाथामा पुराना पाल, खानेकुराका प्याकेटहरु, आरोहीका शव, दिसापिसाब र अरु धेरै फोहोर रहेको बताउँदै त्यसलाई सफा गर्नुपर्ने उनको जोड छ । उनी भन्छन्, ‘हिमाल हाम्रो गौरव हो, हामीले यसको संरक्षण गर्नुपर्छ ।’

 

प्रकाशित मिति : १४ असार २०७६, शनिबार  ६ : ३४ बजे

ओलीले भने- कांग्रेससँग असमझदारी छैन, १८ महिनापछि देउवा प्रधानमन्त्री

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी अर्को सत्ता साझेदार नेपाली

कम्बोडिया जानुअघि सभामुखले भेटे राष्ट्रपति

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलसँग सभामुख देवराज घिमिरेले भेटवार्ता गरेका छन्

महाकाली सन्धिको बचाऊ गर्दै शंकर पोखरेलले भने- त्यसबेला एमाले फुटाए, अहिले सक्न खोज्दैछन्

काठमाडौं– नेकपा एमालेका महासचिव शंकर पोखरेलले एमालेलाई समाप्त पार्न ठूलो

चिसो मौसमलाई माइडियाको न्यानो राहत

काठमाडौं– माइडिया ब्रान्डले नेपाली बजारमा चिसो मौसमकालागी उपयोगी  विभिन्न इलेक्ट्रोनिक्स

गाडी नदेखेका ती हरिश, यी कलाकार कक्रोच !

काठमाडौं – हास्य टेलिश्रृङ्खलामार्फत बालबालिका र युवामाझ स्थापित कलाकार हुन्‌