माओवादी र समाजवादीलाई स्वतन्त्रको ठूलो डर | Khabarhub Khabarhub

चुनावी चर्चा

माओवादी र समाजवादीलाई स्वतन्त्रको ठूलो डर

कांग्रेसले भोट नदिने त्रास, स्वतन्त्रबाट छैन आश


१ कार्तिक २०७९, मंगलबार  

पढ्न लाग्ने समय : 3 मिनेट


57
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ : आइतबार काठमाडौँ क्षेत्र नं. २ मा सत्ता गठबन्धनका शीर्ष नेताहरू चुनाव प्रचारमा देखिए । पूर्वसभामुख तथा काठमाडौँ क्षेत्र नं. २ की प्रतिनिधिसभा उम्मेद्वार ओनसरी घर्तीलाई भोट माग्न पुगेका सत्ता गठबन्धनका शीर्ष नेताहरू सोचेजति खुलेर ओनसरीका पक्षमा भोट माग्न सकेनन् ।

प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवा, पूर्वप्रधानमन्त्री तथा माओवादी अध्यक्ष प्रचण्ड, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल लगायत थुप्रै नेताहरू ओनसरीलाई भोट माग्न काठमाडौँ क्षेत्र नं. २ मा पुगेका हुन् ।

ओनसरीको पक्षमा बोल्दै प्रधानमन्त्री देउवाले उनी पहिले सभामुख भएको र अहिले सांसद बनेर मन्त्री बन्न सक्ने राम्रो क्षमताको भएको बताए । यस्तै प्रचण्डले ओनसरीलाई जिताएर पठाए मन्त्री बनाउँछु भन्ने आश्वासन दिए ।

माधव नेपालले पनि ओनसरीका पक्षमा खुल्ला हिसाबले भोट मागे । तर उनीहरूले भोट मागेजस्तो अवस्था भने काठमाडौँ क्षेत्र नं. २ मा छैन । यसका लागि ओनसरीले नयाँ नयाँ विकल्पबारे पनि सोचिरहेकी छन् ।

त्यो भनेको पहिलो, सो क्षेत्रमा कांग्रेस र एमालेको पकड छ । माओवादी उम्मेदवारलाई भोट दिन उनीहरूले मान्दैनन् । अहिले पनि ओनसरीको पक्षमा काठमाडौँ २ का कांग्रेस कार्यकर्ता खुलेर लागेका छैनन् । दोस्रो अहिले काठमाडौँ २ मा झण्डै २० जना जति स्वतन्त्र उम्मेद्वार छन् ।

स्वतन्त्रमध्ये स्थानीय प्रकाश अधिकारी क्यामेरा चुनाव चिन्ह लिएर उठेका छन् । यस्तै लौरो चुनाव चिन्हबाट कोषराज सुवेदी उठेका छन् । यस्तै स्वतन्त्र पार्टीबाट शोभिता गौतम उठेकी छन् । त्यसबाहेक नाम सुनेका र नसुनेका धेरै उम्मेद्वार पनि अहिले चुनावी मैदानमा छन् ।

निर्णायक ठानिएको कांग्रेसले भोट नदिएको खण्डमा ओनसरी जित्ने सम्भावना छैन । कांग्रेस खुलेर नलाग्दा ओनसरीको डर बढ्दो छ । त्यसअघि कृष्णप्रसाद भट्टराई, माधवकुमार नेपाल पनि चुनाव हारेको क्षेत्र पनि काठमाडौँ २ हो ।

सोहीकारण यसपालि माओवादी ‘हेभीवेट’ उम्मेदवारका रुपमा ओनसरी पुगेपनि उनले आश गरेजस्तो सजिलो भने छैन । काठमाडौँ क्षेत्र नं. २ मात्रै होइन, क्षेत्र नं. १ को अवस्था पनि उस्तै छ । स्थानीय तहको चुनाव हारेको कांग्रेसले अहिले प्रतिनिधिसभामा प्रकाशमानसिंहले जित्ने ठाउँ पनि बलियो देखिदैन ।

राप्रपाबाट रवीन्द्र मिश्रले लडिरहेको चुनावमा केही आश गर्ने ठाउँ भने छ । एमालेको मौन समर्थन रहेको राप्रपा उम्मेदवारलाई काठमाडौँका पुराना रैथाने नेता तथा कार्यकर्ताले पनि सघाउने सम्भावना छ ।

काठमाडौँ क्षेत्र नं. ५ मा रञ्जु दर्शनाले स्वतन्त्र उम्मेद्वारी दिएकी छन् । उनले दिएको उम्मेद्वारी अगाडि काठमाडौँ महानगरपालिकाको मेयरमा उनले ल्याएको भोटको सकारात्मक प्रभाव हो । तत्कालीन विवेकशील नेपाली पार्टीबाट उनले झण्डै २३ हजार बढी भोट ल्याएकी थिइन् ।

अहिले उनको उम्मेदवारीले काठमाडौँ क्षेत्र नं. ५ का अरु दलका उम्मेदवारलाई चिन्ताको विषय छ । चुनाव जित्नै नसकेपनि बलिया उम्मेदवारलाई कडा चुनौति दिइरहने दर्शनाले यसपटक पनि स्वतन्त्रको लहर बढेका बेला त्यो सम्भावना जीवित देखिन्छ ।

यस्तै काठमाडौँ क्षेत्र नं. ९ बाट मिलन पाण्डेयले पनि उम्मेद्वारी दिएका छन् । उनको उम्मेदवारीले पनि मुख्य दलका बलिया उम्मेदवारलाई थोरै भएपनि चिन्ता थपिएको छ । यसअघि पनि संसदीय चुनाव लडेका उनले अहिले पनि सोका विषयमा त्यति ठूलो एजेन्डा र आफूतिर परिवर्तन ल्याउनेबारे खासै सोच्न सकेका छैनन् ।

कांग्रेसको भरथेगमा चुनाव लडिरहेका माओवादी र समाजवादीका नेताहरूलाई यतिबेला सबैभन्दा ठूलो स्वतन्त्रको डर छ । यता ठूला पार्टीले नपत्याउने र भएको भोट पनि स्वतन्त्रले काटिदिने हो कि भन्ने चिन्तामा उनीहरूले खुलेर न भोट माग्न सकेका छन् । न त कांग्रेसकै भोट बैंकबाट चुनाव जित्ने आधार बनाएका छन् ।

चितवनमा अहिले सबैभन्दा धेरै सामाजिक सञ्जालबाट चर्चा कमाइरहेका रवि लामिछाने पनि बलिया उम्मेद्वार देखिन्छन् । चितवन क्षेत्र नं. २ बाट चुनाव लडिरहेका रवि लामिछानेले एमाले र सत्ता गठबन्धनकै उम्मेद्वारलाई कडा चुनौति दिइरहेका छन् ।

कांग्रेस र एमाले मुख्य प्रतिष्पर्धा रहेको सो क्षेत्रमा पनि रविको उपस्थितीले दुवै दलका शीर्ष नेतादेखि उम्मेद्वारलाई पनि धौ–धौ पारेको छ । संयोग हुनुपर्छ, रविले २ नं. क्षेत्रमा उम्मेद्वारी दिँदो चितवन क्षेत्र नं. ३ मा उम्मेद्वारी दिने चर्चा चलेका माओवादी अध्यक्ष प्रचण्ड भने गोरखा पुगेका छन् ।

प्रचण्ड गोरखा पुग्दा उनले चुनाव जित्ने सम्भावना बढ्दो छ । तर त्यहाँ पुगेर एमालेबाट उम्मेद्वारी दिएर चर्चा कमाइरहेका अब्दुस मिया यतिबेला उनका लागि चुनौति बनिरहेका छन् । रौतहटबाट उम्मेद्वारी दिएका माधव नेपाललाई पनि भनेजस्तो सजिलो छैन ।

खासगरी उनीभन्दा बढी उनको पार्टीबाट उम्मेद्वारी दिइरहेका धेरै नेताहरुलाई यतिबेला स्वतन्त्रले सकस पारिरहेका छन् । आफ्नो कमजोर क्षेत्रमा कांग्रेसको साथ पाइने भएपनि स्वतन्त्रको लहरले उम्मेद्वारी नै छायामा पारिदिने चिन्तामा माओवादी र नेकपा समाजवादीका नेता तथा कार्यकर्ता छन् । सोहीकारण यसपटकको चुनावमा नेताहरुका लागि स्वतन्त्रको डर बढी छ ।

सत्ता गठबन्धनका उम्मेद्वारलाई कांग्रेस कार्यकर्ताले भोट नहाल्ने हो भने झन् ठूलो सकस छ । त्यसैले गर्दा पनि विभिन्न पार्टी तथा नयाँ उम्मेद्वार बनेका युवाहरुका कारण ठूला पार्टी ठूला नेता मात्रै होइन, दलीय आधारमा चलेका धेरै नेतालाई यसपालीको चुनावमा ठूलो डर देखिन्छ ।

प्रकाशित मिति : १ कार्तिक २०७९, मंगलबार  १ : ४८ बजे

भारतको ४७ करोड अनुदानमा बन्ने विकास परियोजनाका समझदारी पत्रमा हस्ताक्षर

काठमाडौं- भारत सरकारको अनुदान सहायताअन्तर्गत नेपालका शिक्षा, स्वास्थ्य, कृषि, खानेपानी

भारत र यूएईबीचको व्यापार लक्ष्य निर्धारित समय अगावै पूरा हुने

काठमाडौं – भारत र संयुक्त अरब इमिरेट्स (यूएई) बीचकोव्यापार लक्ष्य

कालो बजारी नियन्त्रण गर्न एमालेको माग

काठमाडौं – नेकपा (एमाले)ले चाडपर्वमा हुनसक्ने कालो बजारी नियन्त्रण गर्न

मोदी र जेलेन्स्कीबीच एक महिनामा दोस्रोपटक भेटवार्ता

काठमाडौं – झण्डै एक महिनाको अवधिमा भारतीय प्रधानमन्त्रीनरेन्द्र मोदीले युक्रेनका

एमाले नेतृ सुनिता बराल भन्छिन्- प्रविधिको दुरुपयोग गरेर चरित्र हत्या गरियो

काठमाडौं- नेकपा एमालेकी सचेतक सुनिता बरालले प्रविधिको दुरुपयोग गरेर आफ्नो