तपाईंलाई थाहा छ, कसरी बन्छन् कानुन ? | Khabarhub Khabarhub

तपाईंलाई थाहा छ, कसरी बन्छन् कानुन ?


१६ असार २०७६, सोमबार  

पढ्न लाग्ने समय : 4 मिनेट


6
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– सरकारले पछिल्लो समय सदनमा दर्ता गरेका केही विधेयक आलोचित भए । सरकारका लागि विपक्षी दलहरूको आलोचना त अस्वाभाविक हुँदैन तर सत्तारूढ दलका केही शीर्ष नेताहरूले नै विधेयक तर्जुमाका क्रममा पार्टीभित्र कुनै आन्तरिक परामर्श नगरेको आरोप आयो । कतिपय शीर्ष नेताको अभिव्यक्ति दोस्रो तहका नेतामार्फत मुखरित भए ।

किन विवादमा परिरहेका छन् सरकारी विधेयक ? किन आलोचना हुन्छ मस्यौदाको ? विधेयक तर्जुमाका क्रममा हुने एक दर्जनभन्दा बढी यस्ता चरण छन्, जहाँ हरेक विधेयक परिमार्जनका थुप्रै सम्भावना हुन्छन् । मस्यौदा भएको विधेयकलाई अन्तिम रूप दिई पारितको दायित्व विधायिकासँगै सुरक्षित हुन्छ । विधायिकी परीक्षणभन्दा पहिले नै सैद्धान्तिक र विषयगत रूपमा सुधार हुने पनि धेरै चरण हुन्छन् ।

विधेयक तर्जुमाका दर्जनभन्दा बढी आन्तरिक प्रक्रिया छन् । आन्तरिक प्रक्रिया पूरा गरेपछि मात्र विधेयक दर्ताका लागि पठाइन्छ । संसद्मा दर्तापछि पारितका पनि मस्यौदा चरणजत्तिकै प्रक्रियागत कारबाही हुन्छ । विधेयकको विषय र गम्भीरका आधारमा सदनको छलफल निर्भर हुन्छ ।

कानुन, न्याय तथा संसदीय मन्त्रालयका सहसचिव हुमबहादुर केसी विधेयक संसद्मा पुर्‍याइनुअघि लामो चरण पूरा हुने बताउँछन् । उनी भन्छन्, “नयाँ विधेयक र संशोधनमा केही प्रक्रिया फरक छ तर धेरै लामो चरण पार गरेपछि मात्र विधेयक दर्ताका लागि अनुमति हुन्छ । आवश्यकता पहिचानदेखि मस्यौदा हुँदै मन्त्रिपरिषद्सम्म निकै लामो प्रक्रिया तर्जुमाका चरणमा लाग्छ । ’’

कसरी तयार हुन्छ विधेयक ?

हरेक योजना, नीतिजस्तै विधेयक तर्जुमामा पनि समस्या पहिचान गरिन्छ । अर्थात् विधेयकको किन आवश्यकता पर्‍यो भन्ने उद्देश्य र कारण खोजिन्छ । पहिचानका विभिन्न स्रोत हुन्छन् । जसमा संविधानले उल्लेख गरेका नीति र निर्देशक सिद्धान्त हेरिन्छ । राजनीतिक दलका घोषणापत्र कार्यान्वयनका लागि पनि कानुन आवश्यक पर्छ । तत्कालीन समस्या सम्बोधन गर्न, कुनै कार्यलाई कसुर कायम गर्न वा हटाउन पनि कानुनको आवश्यकता पर्छ । अन्तर्राष्ट्रिय समुदायमा गरिएका प्रतिबद्धता र अदालतको आदेश पनि कानुन तर्जुमाका स्रोतहरू हुन् ।

आवश्यकता पहिचानपछि नयाँ विधेयक तर्जुमा गर्ने वा पुरानो ऐनको संशोधन भन्ने टुङ्गो लाग्छ । पुरानै संशोधन भए सैद्धान्तिक स्वीकृति लगायतको प्रक्रिया छोटिन्छ, नयाँ भएमा सम्बन्धित निकायले कानुन मन्त्रालयसँग सैद्धान्तिक स्वीकृति माग गर्छ । सैद्धान्तिक स्वीकृतिको ढाँचा छुट्टै छ । सैद्धान्तिक स्वीकृतिको चरणमा नै कानुनका प्रचलित सिद्धान्त पालना भए वा नभएको, विधेयक संविधान अनुकूल रहे नरहेको परिमार्जनको अवसर हुन्छ । कानुनले स्वीकृति दिएपछि आर्थिक दायित्व सिर्जना हुने विधेयकको हकमा अर्थ मन्त्रालयको सहमतिका लागि पठाइन्छ ।

अर्थबाट सहमति प्राप्त भएपछि विधेयक तर्जुमा स्वीकृतिका लागि मन्त्रिपरिषद्मा पेस हुन्छ । मन्त्रिपरिषद्ले तर्जुमाको सैद्धान्तिक स्वीकृति दिएमा सम्बन्धित मन्त्रालयले मस्यौदा तयार पार्छ । मन्त्रालयसँगै विधेयक तर्जुमाको अधिकार राख्ने निकायको हकमा पनि यही व्यवस्था लागू हुन्छ । मस्यौदाका चरणमा सम्बन्धित मन्त्रालयले विषय–विज्ञ तथा परामर्शदातासँग पनि विधेयक तर्जुमाका लागि सहयोग माग्न सक्ने अवस्था हुन्छ । विधेयकमा कुनै त्रुटि भएमा यो चरणमा पनि सच्याउन सकिन्छ ।

विधेयक तर्जुमा भएपछि राय परामर्शका लागि अगाडि बढ्छ । कुनै मन्त्रालयले तयार पारेको मस्यौदा अन्य मन्त्रालयसँग पनि जोडिने विषय भएमा सो मन्त्रालयसँग पनि परामर्श हुन्छ । यस्तै उक्त मस्यौदा कानुन मन्त्रालय र आर्थिक दायित्व सिर्जना गरेको अवस्थामा अर्थ मन्त्रालयमा जान्छ । सरोकारवाला निकाय, सङ्घ, संस्था लगायतसँग विधेयकको मस्यौदामा छलफल हुन्छ ।
सरोकारवालाको सुझाव, जोडिएका मन्त्रालयको राय र कानुन मन्त्रालयको समेत थप निक्र्योलपछि मस्यौदा विधेयकले अन्तिम रूप पाउँछ । यस्तो मस्यौदा सहमतिका लागि कानुन मन्त्रालयमा पुनः पठाइन्छ ।

कानुन मन्त्रालयले प्राप्त मस्यौदा संविधान कानुन अनुकूल भए नभएको अध्ययन गर्छ । यस्तै मस्यौदा अन्तर्राष्ट्रिय कानुन, नेपाल पक्ष राष्ट्र भएका विभिन्न अनुबन्धन अनुकूल भए नभएको पनि अध्ययन हुन्छ ।

व्यावहारिक दृष्टिकोणबाट पनि मस्यौदा विश्लेषण हुन्छ । यो चरणमा सम्बन्धित सरोकारवालासँग पुनः छलफल हुन्छ । विधेयक परिमार्जनका दृष्टिकोणले सबैभन्दा महìवपूर्ण चरण नै यही हो । संविधानविपरीत विधेयक तर्जुमा भयो भन्ने प्रश्नको निरुपण यही चरणबाट गर्न सकिन्छ ।

मस्यौदा मन्त्रिपरिषद्मा
मस्यौदा तयार भएपछि सम्बन्धित मन्त्रालयले संसद्मा दर्ता अनुमतिका लागि मन्त्रिपरिषद् पठाउँछ । मन्त्रिपरिषद्को पूर्ण बैठकमा छलफल वा विधेयक समितिमा छलफल भएपछि विधेयकले अनुमति पाउन सक्छ । विधेयक समितिले आधारभूत संरचना नबिग्रने गरी विधेयक परिमार्जन गर्न सक्छ । यो चरणमा पनि कुनै त्रुटि भएमा विधेयक सच्याउने अवस्था रहन्छ । मन्त्रिपरिषद्को विधेयक समिति कानुन, न्याय तथा संसदीय मन्त्रीको संयोजकत्वमा हुन्छ ।

मन्त्रिपरिषद्ले मस्यौदा दर्ताको अनुमति दिएपछि भने केही प्राविधिक काम मात्र बाँकी रहन्छ । अनुमोदन भएको विधेयक सम्बन्धित मन्त्रालयमा जान्छ । मन्त्रालयले विधेयकको उद्देश्य, कारण, प्रत्यायोजित विधायन तथा आर्थिक टिप्पणी तयार पार्नुपर्छ र व्याख्यात्मक टिप्पणी पनि यही चरणमा तयार पारिन्छ । त्यसपछि विधेयक संसद्मा दर्ता हुन्छ ।

संसदीय प्रक्रिया

विधेयक दर्तादेखि पारितसम्म संसद्का आफ्नै प्रक्रिया छन् । सरकारले ल्याएका सबै विधेयक सदनमा दर्ता हुन्छन् भन्ने पनि हुन्न । उद्देश्य, कारण, प्रत्यायोजित विधायन, आर्थिक टिप्पणी नभएका विधेयक दर्ता नहुन सक्छन् ।

विधेयक दर्तापछि सांसदहरूलाई वितरण हुन्छ । सरकारी विधेयक परिपक्व हुने समय तोकिएको हुन्छ । सो अवधि कटेपछि विधेयक सदनमा पेस गरिन्छ । कुनै विधेयक संविधान र राज्यले लिएको नीतिको आधारभूत सिद्धान्तविपरीत भएमा सांसदले पेस गर्न अनुमति माग्ने प्रस्तावउपर नै विरोधका सूचना दर्ता गर्न पाउँछन् । विधेयक माथिको प्रक्रियागत चुनौती विरोधको सूचनाबाटै सुरु हुन्छ ।

विधेयक सदनमा पेस भएपछि सैद्धान्तिक विषयमा छलफल हुन्छ । सैद्धान्तिक छलफल सकिएपछि विधेयक संशोधन दर्ताका लागि अनुमोदन हुन्छ । प्रचलित नियमावलीअनुसार ७२ घन्टाको समय संशोधन दर्ताका लागि दिइन्छ । विधायिकाले विधेयक परिमार्जन गर्ने सबैभन्दा महत्वपूर्ण चरणको प्रारम्भ संशोधन दर्ताबाटै सुरु हुन्छ ।

संशोधन दर्तापछि विधेयक पुनः सदनमा नै पेस हुन्छ । सदनमा पेस भएको विधेयक तत्कालीन आवश्यकता, संशोधनको अवस्थासमेत हेरेर विभागीय मन्त्रीले सदनमा नै छलफल वा सम्बन्धित समितिमा पठाउनका लागि प्रस्ताव गर्न सक्नेछन् । सदनमा छलफल भएमा पारितको प्रक्रिया छिटो हुन्छ । समितिमा गएमा थप लम्बिन्छ ।

समितिमा दफावार छलफलका क्रममा पेस भएको विधेयक आवश्यकताअनुसार उपसमितिमा पठाउन पनि सकिन्छ । उपसमितिमा पठाइए उक्त प्रतिवेदन समितिले कुर्छ अन्यथा समितिले दफावार छलफल प्रारम्भ गर्छ । यस्तो छलफलमा समितिले संशोधनकर्ता, विधेयक प्रस्तुतकर्ता मन्त्रीलाई सँगै राख्छ । दुवैका कुरा सुनेर आवश्यक निर्णय लिइन्छ । समितिले विधेयकमा सरोकार राख्ने पक्षसँग समेत दफबार छलफलका क्रममा परामर्श गर्न सक्छ ।

समितिले विधेयकको दफावार छलफलको प्रतिवेदन तयार पारेपछि सदनमा पेस गर्छ । सदनमा प्रतिवेदन पेस भएपछि विभागीय मन्त्रीले प्रतिवेदन सहितको विधेयक छलफल र पारितका लागि सदनमा प्रस्ताव गर्ने व्यवस्था छ । सदनमा विधेयक पेस भएपछि संशोधन दर्ता तथा दफावार छलफल परिमार्जनका महत्वपूर्ण चरण र प्रक्रिया हुन् । हालको द्विसदनात्मक व्यवस्थामा विधेयक दुवै सदनमा परिमार्जन हुन सक्छन् । दुवै सदनबाट पारित भएपछि विधेयक प्रमाणीकरणको प्रक्रियामा जान्छ । राष्ट्रपतिद्वारा प्रमाणीकरणसँगै कानुनका रूपमा तत्कालै वा तोकिएको समयदेखि कार्यान्वयनमा आउँछ ।

जनमतको सुझाव पनि

सदनले कुनै विधेयक विधायकको मतसँगै जनताको राय पनि सुन्न आवश्यक मानेमा जनमतका लागि पठाउने व्यवस्था पनि छ । विवादास्पद विधेयकमा जनताको रायसमेत बुझेर निर्णय लिने प्रचलित मान्यताअनुसार विधायिकाले विधेयक जनमतका लागि पठाउँछ । संशोधन दर्ताको प्रक्रिया सुरु भएसँगै विधेयक जनमतका लागि पनि अनुमोदन गरिन्छ । जनमतबाट प्राप्त भएको रायसमेत सदनमा पेस गरी आवश्यकताअनुसार सुझाव ग्रहण गर्ने प्रचलन छ ।

गोरखापत्रबाट

प्रकाशित मिति : १६ असार २०७६, सोमबार  ७ : ४७ बजे

काठमाडौंमा एमालेको जनसभा पार्टीको पक्षमा जनमत बनाउन

काठमाडौं- नेकपा एमालेले मङ्सिर ७ गते काठमाडौंमा गर्न लागेको जागरण

ठेक्का अलपत्र पार्ने मन्त्रीको जवाफ- त्यो निर्माण कम्पनी नै मेरो होइन

काठमाडौं- देशका कयौँ स्थानमा ठेक्का लिएर विकास योजना अलपत्र लागेको

झापामा रगत अभाव

झापा– अस्पतालमा बिरामीको चाप बढेसँगै जिल्लामा रगतको अभाव हुन थालेको

रारा विमानस्थलमा नियमित उडान नहुँदा मुगुवासी समस्यामा

मुगु–  रारा विमानस्थल ताल्चामा नियमित उडान नहुँदा मुगुका सर्वसाधारण समस्यामा

भारतको प्रतिक्रिया- नेपालबाट बिजुली बंगलादेश पुग्नु उत्साहजनक

काठमाडौं- नेपाल-बंगलादेश विद्युत् व्यापारबाट ऊर्जा क्षेत्रमा क्षेत्रीय कनेक्टिभिटी बढाउने प्रतिक्रिया