धानबालीमा समस्या, पाल्पाका किसानलाई उत्पादन घट्ने चिन्ता | Khabarhub Khabarhub

धानबालीमा समस्या, पाल्पाका किसानलाई उत्पादन घट्ने चिन्ता


१४ कार्तिक २०७९, सोमबार  

पढ्न लाग्ने समय : 4 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- दुई दशकको समय धानखेतीमा बिताएका ज्यामबहादुर राना अहिले भने धानबालीबाट सन्तुष्ट छैनन् ।

पाल्पाको रामपुर नगरपालिका कृषि शाखामा माग गरेबमोजिम १८ किलो सावित्री जातको धान करिब चार रोपनी जग्गामा लगाएका उनी सबै धानमा रोग लागेपछि चिन्तित छन् ।

घर अगाडिको खेतमा लगाएको धानबाली बोटमै सुकेर नोक्सान हुँदा रामपुर नगरपालिका–५ स्थित भम्बक निवासी राना वर्षभरि के खाने भन्ने चिन्तामा छन् ।

“लामो समय देखि धान लगाउँदै आएको हो, मलजल पनि राम्रै दिइएको भए पनि यो वर्ष धान राम्रो फलेन, परिवार कसरी धान्ने हो ? उनले भने, “केही फलेका बोट पनि सुक्दै गयो, यस्तो समस्या जीवनमा पहिलो पटक भोग्नुपरेको छ ।”

चार रोपनी जग्गामा राम्रो फल्दा २० मुरीसम्म उत्पादन लिने उनी यस पटक आधा पनि उत्पादन लिन हम्मे हम्मे पर्ने राना बताउँछन् ।

खेतमा लगाइएका धानबाली पसाउन भन्दा अघिदेखि बोट पहेँलै भएर सुक्दै जाने समस्या विस्तारै खेतभरि लगाइएका धानमा फैलिँदै जाँदा बाला नै निस्कन नसकेको उनको गुनासो छ ।

सो विषयमा कृषि प्राविधिकसमक्ष क्षतिपूर्तिका लागि जानकारी गराएको रानाले बताए । अम्बिका डोटेलले कृषि शाखा रामपुरबाट ल्याइएको धानको बीउमा समस्या देखिएको बताउँछिन् । उनले राम्रो बीउ पाइन्छ भन्ने आशाले शाखामा नाम टिपोट गरी ल्याइएको बीउ नै खराबीका कारण समस्या देखिएको बताइन् ।

“धान स्याहार्नै नपाइने गरी बिग्रेको छ, धान कुहिने सुइरा मर्ने, भित्रभित्रै रातै हुने, डढ्ने जस्ता समस्या देखिएपछि महँगो मूल्य तिरेर रासायनिक मल प्रयोग गरियो, बाला लागे पनि दाना पोटिला छैन, कुनै बालामा कालो दाग लागेको अवस्था, किसान पनि बाँच्नुपर्‍यो, क्षतिपूर्ति हामीलाई चाहियो, मलजल, श्रम सबै खेर जाने भयो”, उनले भनिन् ।

यस्तो समस्या रामपुरका विभिन्न ठाउँमा लगाइएका धानबालीमा देखिएको किसानले बताएका छन् ।

केही किसानले बीउकै खराबीले समस्या भएको दाबी गर्छन् । सोही ठाउँकै हरिमाया गौतमले रामपुर नगरपालिकाबाट ल्याइएको बीउमा रोग लागेपछि ठूलो नोक्सानी परेको गुनासो सुनाइन् ।

करिब ९० मुरी धानको उत्पादन लिने उनी यस पटक दश मुरी धान उत्पादन लिन पाइएला या नपाइएला भन्ने दोधारमा छिन् ।

बालामा दाना राम्रोसँग पनि लागेको छैन भने केही बाला लागेका धान पनि सुकेर नोक्सान पुगेको छ ।

गौतमले सावित्री जातको दुई बोरा धान रामपुर नगरपालिकाबाट वितरित धान ल्याएकी हुन् । सो बीउ लगाएका खेतभरि नै समस्या देखिएपछि सम्बन्धित निकायले क्षतिपूर्ति दिनुपर्ने उनको माग छ ।

“धान खेती गरेरै बुढ्यौलीपन लाग्यो, कहिलेकाहीँ मौसम अनुकूल नहुँदा सामान्य रोग किराको समस्या देखिए पनि अहिलेजस्तो खेतभरि नै लगाएको धान नै बिग्रने गरी समस्या जीवनमा कहिल्यै भोग्नु परेन, धान लगाउँदा लागेको ट्याक्टर भाडा, मल, गोडमेल गर्दा लगाइएको खेताला सबै खर्च यो वर्ष नउठ्ने हुँदा हामी किसान मारमा परियो”, उनले गुनासो पोखिन् ।

धान पसाउने बेलामा परेको निरन्तर अबिरल वर्षाले क्षति पुर्‍याएपछि यस वर्ष धान उत्पादनमा कमी आउने देखिएको छ ।

वर्ष दिन खाने अन्नबाली राम्रोसँग स्याहार्न नपाउँदा कसरी पेट पाल्ने समस्या उत्तिकै छ ।

किसानले माग गरेअनुसार रामपुर नगरपालिकाले बीउबिजन गुणस्तर नियन्त्रण केन्द्र हरिहर भवन ललितपुरबाट तोकिएको धान बीउ स्रोत केन्द्रबाट बीउ ल्याएर रामपुरका किसानलाई वितरण गरिएको हो ।

रौतहट चन्द्रपुरस्थित प्रतीक कृषि तथा बीउ बिजन सहकारी संस्थाबाट २० हजार ९२० किलो सावित्री, चितवनको किसान मातृभूमि कृषि कम्पनी प्रालिमार्फत चार हजार ५८० किलो ल्याइएको सावाँ मन्सुली जातको धानको बीउ किसानको मागको आधारमा रामपुरमा वितरण गरियो ।

बीउमा समस्या नभई धानबालीमा फड्के किराको प्रकोपका कारण यस पटक समस्या देखिएको रामपुर नगरपालिका कृषि शाखा प्रमुख रामहरि पाण्डेयले बताए ।

“किसानको खेतबारीमा स्थलगत निरीक्षण गर्दा बीउमा समस्या देखिँदैन, फड्के किराले धानको फेदबाट बालासम्म चुसेर सबै हरियो भाग खाइदिँदा यस्तो समस्या देखिएको हो, वर्षा धेरै भएकाले अहिले धानबालीमा रोग किराको समस्या निम्तियो”, शाखा प्रमुख पाण्डेयले भने।

समस्या लिएर आउने किसानलाई स्थलगत बाली निरीक्षणपश्चात् नगरपालिकाले निःशुल्क विषादी पनि वितरण गरेको उनको भनाइ छ ।

यस वर्ष रामपुरमा मात्र नभई अन्य छिमेकी पालिकामा पनि विभिन्न रोग किराको प्रकोपले धानमा असर पुगेको कृषि प्राविधिकहरू बताउँछन् ।

रम्भा गाउँपालिका–१ सगाहाका रमेश रानाभाटलाई धान कम फलेपछि वर्ष दिनको गुजारा कसरी चलाउने चिन्ताले सताएको छ ।

‘फड्के किराले सखापै पार्ने गरी धानबालीलाई सतायो ।’ उनले भने । दुःख सँग लगाइएको धान भकारी भरेर वर्ष दिनलाई परिवार पालौला भन्ने आशामा रहेका उनी बाली भित्र्याउनै नपर्ने गरी रोग लागेर धानमा असर पारेपछि चिन्तित छन् ।

“परिवारको आयस्रोत केही छैन, धान लगाएर वर्ष दिन जीविका धान्ने हो, बीउ राखेदेखि गोडमेल गर्दासम्म धेरै दुःख गरियो”, उनले भावुक हुँदै भने ।

वर्षा सकिएपछि काटेको धान बालीमा पनि प्रकोप फैलिँदा स्याहार्नै नपर्ने अवस्था भएपछि खेतमै पाँजासहित आगोमा जलाएर नष्ट गर्नु परेको उनी बताउँछन् ।

करिब छ रोपनी क्षेत्रफलमा लगाइएको धान राम्रै फले पनि स्याहार्ने बेला रोगले सताउँदा ठूलो समस्या थपिएको छ ।

पाँच जनाको परिवारलाई वर्ष दिन खान पुग्ने सो जग्गामा लगाइएको धान यस पटक नोक्सान हुँदा परिवार कसरी पालिने भन्ने चिन्ताले उनलाई रातदिन सताएको छ ।

गत वर्ष काटेको धान वर्षाले डुबानमा परी ठूलै नोक्सानी उनले बेहोर्नु पर्यो । क्षतिपूर्तिका लागि रम्भा गाउँपालिकाले विवरण सङ्कलन गरेता पनि पहुँचवालालाई नै वितरण गरेर आफूलाई विभेद गरेको उनको गुनासो छ ।

सगाहाको नौ सय मुरी खेतभरि नै महामारीको रूपमा किराले सताउँदा यो वर्ष धानको उत्पादन घट्ने अगुवा कृषक ऋषिराम अर्याल बताउँछन् ।

उनका अनुसार गत वर्ष यस क्षेत्रमा फ्याट्टफुट्ट रूपमा देखिदा खासै धानमा असर परेन तर यस पटक ठूलै क्षति हुने गरी फैलिएको छ ।

आफूले लामो समय देखि धान लगाउँदै आएको भए पनि यस पटक जस्तो महामारीको रूपमा फड्के किराको प्रकोप विगतका वर्षमा नरहेको अर्यालको भनाइ छ ।

पाल्पाको रामपुर, माडीफाँट, हुँगी, अगाहाखोलालगायतका क्षेत्रमा धानबालीमा विभिन्न समस्या देखिएको छ ।

ठूलै समस्या देखिएको ठाउँमा स्थलगत निरीक्षण गरी आकस्मिक बाली उपचार सेवा दिइएको कृषि ज्ञान केन्द्र पाल्पाका प्रमुख कामना अधिकारी बताउँछिन् ।

रोग किराको पहिचान गरी कार्यालयबाट किसानलाई विषादी उपलब्ध तथा प्राविधिक सेवा दिइएको उनले बताइन् ।

उनका अनुसार गत असोजको अन्ततिर परेको अबिरल वर्षाले धानमा रोगको समस्या देखिएको हो ।

पाल्पामा करिब आठ हजार ६२० हेक्टर क्षेत्रफलमा धान रोपाई गरिँदै आइएको छ ।

जिल्लाको माडीफाँट, अर्गली, रामपुरफाँट, हुँगी, हेक्लाङ्ग, पूर्व खोला, दोभानलगायतका क्षेत्र धान उत्पादनको मुख्य पकेट क्षेत्र हुन् ।

सावित्री, हाइब्रिड, रामधान, सावाँ मन्सुलीलगायतका धानका जात जिल्लामा बढी चलनचल्तीमा छन् ।

रैथाने जात भने यहाँ हिजोआज कमै लगाउने गरिन्छ । उत्पादन बढी लिने उद्देश्यले कृषकहरू उन्नत प्रविधिका धानमा आकर्षित हुन थालेका छन् ।

प्रकाशित मिति : १४ कार्तिक २०७९, सोमबार  ३ : ०७ बजे

ट्राफिक प्रहरी पोस्ट काँकाडभिट्टाबाट टीभीआरएस प्रणाली सुरु

बिर्तामोड– ट्राफिक प्रहरी पोस्ट काँकडभिट्टाले आजदेखि मेचीनगरअन्तर्गतका मुख्य सडकमार्गमा ट्राफिक

सबै नेपाली नागरिकलाई स्वास्थ्य बिमामा अनिवार्य जोड्नुपर्छ : मन्त्री पौडेल 

काठमाडौं– स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले सबै नेपाली नागरिकलाई स्वास्थ्य

अस्ट्रियामा कन्जर्भेटिभ नेतृत्वको गठबन्धन सरकार बनाउने

एजेनसी – अस्ट्रियाको कन्जरभेटिभ पिपुल्स पार्टी (ओईभीपी) ले बिहीबार दुई मध्यमार्गी दलसँग मिलेर सरकारको

आवासीय चिकित्सकहरूलाई सरकारी सरह सेवा सुविधा दिन केयुको परिपत्र 

काठमाडौं– काठमाडौँ विश्वविद्यालय (केयू)  ले आवासीय चिकित्सकहरूलाई  सरकारी चिकित्सक सरह

मनाइयो राष्ट्रिय मगर एकता दिवस (तस्बिरहरू)

काठमाडौं– देशभरका मगर समुदायले आज ४३ औँ राष्ट्रिय मगर एकता