एमालेकै अविश्वासले ‘टेन्सन’मा टोपबहादुर | Khabarhub Khabarhub

डेटलाइन अर्घाखाँची

एमालेकै अविश्वासले ‘टेन्सन’मा टोपबहादुर

पुष्पा भुसालको बलियो पकडले चुनावी अंकगणितमा फेरबदल



सन्धीखर्क – अर्घाखाँचीबाट पाल्पासम्म जोडने घुम्ती सडक आयोजना करीब तिन दशक बितिसक्दा पनि अझै पूर्ण भएको छैन। २०४८ सालमा ट्रयाक खोलिएको र २०६३ सालमा एक किलोमिटर कालोपत्रे भएको सडकका लागि त्यसयता २०७४ सालसम्म पनि बजेट छुटयाइएन।

२०७४ सालको निर्वाचनमा अर्घाखाँचीका तात्कालीन दुई क्षेत्रमा खडा भएका हरेक दलका उम्मेदवारले यो सडक पिच गर्ने नारा दिए। तर, काम भने सुस्त छ।गत निर्वाचनमा अर्घाखाँची क्षेत्र नम्बर–१ बाट निर्वाचित टोपबहादुर रायमाझी मन्त्रीसमेत भए। तर, रायमाझीले सडक कालोपत्रे गर्नतर्फ ध्यान दिएनन्।

बुटवल–सन्धीखर्क सडकपछिकै महत्त्वपूर्ण मानिने पाल्पा जोड्ने घुम्ती सडकलाई अलपत्र छाडेका रायमाझी पुनः चौंथो पटक प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि भोट माग्दै गाउँ–गाउँ डुलिरहेका छन्। सत्ता राजनीति र दल बदलको खेलमै भुलेका रायमाझीलाई चौंथो पटकको प्रतिस्पर्धा भने सकसपूर्ण बन्दै गएको छ।

नेकपा(माआवादी)का तर्फबाट पहिलो र दोस्रो संविधानसभाको निर्वाचन तथा २०७४ को निर्वाचन गरेर लगातार तीन पटक निर्वाचित भएका रायमाझी यसबीचमा बारम्बार मन्त्री र उपप्रधानमन्त्रीसमेत बने।

अर्घाखाँचीमा एमालेका टोपबहादुर रायमाझीले गठबन्धनकी साझा उम्मेदवार कांग्रेस नेत्री पुष्पा भुसालसँग प्रतिस्पर्धा गर्नुपर्नेछ। माओवादी छोडेर एमाले बनेका रायमाझीका लागि यो फलामको चिउरा जस्तै हुनेछ।

२०७४ को निर्वाचनमा उनी बाम गठबन्धनका साझा उम्मेदवार भएकाले सहजै जित हासिल गरेका थिए। २०७९ सम्म आइपुग्दा अर्घाखाँचीका दुईवटा क्षेत्र गाभिएर एक मात्र क्षेत्रमा सीमित भएको छ।

वाम गठबन्धन छिन्न भिन्न भएको छ। रायमाझी पनि दश वर्षसम्म चलेको सशस्त्र विद्रोह संचालन गर्ने माउ पार्टी माओवादी केन्द्रबाट अलग भएका छन्। उनी कुनैबेला आफैले ‘घाँसमा लुकेको हरियो सर्प’को बिल्ला भिराएको दल नेकपा(एमाले)मा आवद्ध छन्। उनी अर्घाखाँचीबाट उम्मेदवार बनेका छन्।

एकमात्र निर्वाचन क्षेत्र रहेको अर्घाखाँचीमा प्रतिनिधि सभाका लागि एमालेका रायमाझीले वाम–लोकतान्त्रिक गठबन्धनकी साझा उम्मेदवार नेपाली कांग्रेसकी पुष्पा भुसालसँग प्रतिस्पर्धा गर्नुपर्नेछ, जुन रायमाझीका लागि फलामको चिउरा चपाएसरह भइरहेको छ।
अर्घाखाँचीबाट नेपाल मजदुर किसान पार्टीका सतेज दुवाल, राप्रपा नेपालबाट खलिल मियाँ, जनसमाजवादी पार्टी नेपालबाट पिताम्बर अर्याल, जनता समाजवादी पार्टी नेपालबाट नेत्रबहादुर थापा, राष्ट्रिय स्वतन्त्र पार्टीबाट हरिप्रसाद भुसाल खडा भएका छन्।

यसैगरी हाम्रो नेपाली पार्टीबाट दुर्गा बन्जाडे, मंगोल नेशनल अर्गानाइजेसनबाट पूर्णबहादुर थापा, राप्रपाबाट होम नारायण बेल्वासे र राष्ट्रिय जनमुक्ति पार्टीबाट मघुबहादुर सारुले उम्मेदवारी दिएका छन्। यी अनेक उम्मेदवारले प्राप्त गर्ने मतले पनि रायमाझीको जित र हारमा प्रभाव पार्ने आंकलन गरिएको छ।

‘टेन्सन’मा टोपबहादुर
२०६४ सालदेखि निरन्तर तीन पटकसम्म चुनाव जितेका रायमाझी र २०६४ मा प्रत्यक्ष तथा २०७४ मा समानुपातिक गरेर दुई पटक संसद र उपसभामुखसमेत बनिसकेकी पुष्पा भुसालबीच नै सोझो टक्कर हुँदैछ।

दश वर्षे सशस्त्र विद्रोहमा माओवादीका अग्रणी नेता मानिने रायमाझी माओवादीभित्र अध्यक्ष पुष्पकमल दाहाल र डा. बाबुराम भट्टराईबीच अन्तरविरोध हुँदा डा. भट्टराईको पक्षमा थिए।
‘दाहालले लडाकुको राशन पचाए’ भन्दै डा. भट्टराईको पक्षमा खुलेर लागेका रायमाझी डा. भट्टराईले नयाँ शक्ति पार्टी गठन गर्दा भने माओवादीमै टिकेर बसेका थिए।

डा. भट्टराईलाई दाहालसँग कलहका लागि उक्साउनसम्म उक्साउने, तर ऐन मौकामा सहयोग नगर्ने उनको स्वभाव देखेपछि डा. भट्टराई भन्ने गर्थे, ‘टोपबहादुर पनि अवसरवादी नै रहेछन्।’ एमाले र माओवादी केन्द्र मिलेर नेकपा गठन भयो। त्योबेलासम्म रामबहादुर थापा, टोपबहादुर रायमाझी, लेखराज भट्ट आदि नेता दाहालकै पक्षमा थिए।

जसै सर्वोच्चले नेकपालाई पूर्ववत एमाले र माकेकै अवस्थामा पुर्याइदियो, रामबहादुर थापा, रायमाझी र लेखराज भट्टलगायतका नेता भने माउ पार्टीमा जानुको साटो एमालेमै रहे।
नेकपा अस्तित्वमा हुँदा नै पार्टीको दस्तावेजमा ‘माओवादी जनयुद्ध’समेत लेख्न नमान्ने र माओवादीप्रति लामो समयसम्म घृणा र आक्रोश ओकल्ने केपी ओलीलाई नेता मानेर एमालेमै रहनुका पछाडि रायमाझीलगायतका पूर्व माओवादी नेताहरुको ‘अवसरवाद’बाहेक केही थिएन।
रायमाझीलाई थाहा थियो, माउ पार्टी माओवादीको खस्कदो सांगठन र कमजोर जनाधारका भरमा अब राजनीति चल्नेवाला छैन। उनी एमालेजस्तो दरिलो संगठनमा नेता बन्न चाहन्थे। नभन्दै ओलीको कृपाले उनी अहिले एमालेको सचिव बन्न सफल भएका छन्।

रायमाझीलगायतका पूर्व माओवादी खेमाका एमाले नेता कुनै पनि बेला माके अध्यक्ष दाहालको भुलभुलैयामा परेर माउ पार्टी माओवादीमै फर्किने हुन् कि भन्ने आशंका खाँटी एमाले गणमा अझै व्याप्त छ।

यद्यपी, रायमाझीजस्ता नेतालाई एमालेका पुराना ‘हार्ड कोर’ कार्यकर्ताले खासै विश्वास गर्दैनन्। एमाले नेतृत्वमा यतिबेला तिन खालका नेताहरु छन्। एउटा अध्यक्ष ओलीको कोटरीका नेताहरु छन्। विष्णु पौडेल, प्रदीप ज्ञवाली, विष्णु रिमाल, सुवास नेम्वाङ, गोकुल बाँस्कोटा, महेश बस्नेत र सूर्य थापा आदि नेता अध्यक्ष ओलीका अति निकट मानिन्छन्। ओलीको पूर्ण प्राधिकार र यिनै आसेपासे नेताहरुको तजविजमा एमाले चल्ने गरेको छ। एमालेको हेडक्वार्टरमा यिनै नेताको रजगज छ।

अर्कोथरी एमाले छन्, ‘दश बुँदे सहमति’वाला। कुनैबेला माधवकुमार नेपाल समूहमा रहेर पनि एकीकृत समाजवादीतिर नलागी एमालेमै रहेका यी नेतामध्ये घनश्याम भुसालले पार्टी परित्याग गरिसकेका छन्।

अष्टलक्ष्मी शाक्य, युवराज ज्ञवाली, भीम रावल आदि नेताले यसपाली टिकट नै पाएनन्। यी नेताको पार्टीमा कुनै सुनुवाइ पनि हुँदैन। तेश्रो मार्कमा एमालेमा पर्छन, पूर्व माओवादी नेता। रामबहादु थापा, रायमाझी, मणि थापा, लेखराज भट्ट आदि नेता पूर्व माओवादी कित्ताका हुन्। जसप्रति ‘खाँटी एमाले’ गणले खासै विश्वास गर्दैन।

रायमाझीलगायतका पूर्व माओवादी खेमाका एमाले नेता कुनै पनि बेला माके अध्यक्ष दाहालको भुलभुलैयामा परेर माउ पार्टी माओवादीमै फर्किने हुन् कि भन्ने आशंका खाँटी एमाले गणमा अझै व्याप्त छ।यही शंका र अविश्वासको प्रभाव स्वरुप अर्घाखाँचीको निर्वाचनमा रायमाझीको पक्षमा एमाले समर्थकले नै मत नहाल्ने हो कि भन्ने खतरा छ।

सत्ता गठबन्धनविरुद्ध एक्लै भिडेका रायमाझीले एमालेलाई पहिलो स्थान दिलाउन सफल त भएका छन्। तर, प्रतिनिधिसभा निर्वाचनमा आफैले जित्न भने उनलाई हम्मेहम्मे परेको छ।

माओवादी समर्थकले त उनलाई भोट दिने कुरै आएन। माओवादी पंक्तिको दृष्टिमा उनी ‘प्रतिगामी ओलीका मतियार’ भइहाले। एमाले पंक्तिले पनि रायमाझीलाई पूर्ण विश्वास गर्न नसकेकाले शंका र अविश्वासले यसपाली रायमाझीको लंका जलाउने सम्भावनालाई पनि नकार्न सकिन्न।

हालैको स्थानीय निर्वाचनमा सत्ता गठबन्धनविरुद्ध एक्लै भिडेका रायमाझीले एमालेलाई पहिलो स्थान दिलाउन सफल त भएका छन्। तर, प्रतिनिधिसभा निर्वाचनमा आफैले जित्न भने उनलाई हम्मेहम्मे परेको छ।

पुष्पाको बलियो पकड
अर्घाखाँचीमा दुई वटा निर्वाचन क्षेत्र हुँदा २०६४ सालमा क्षेत्र नम्बर– १ बाट रायमाझीले नेपाली कांग्रेसका मानबहादुर विश्वकर्मालाई हराएका थिए। त्योबेला क्षेत्र नम्बर–२ बाट नेपाली कांग्रेसकी पुष्पा भुसाल निर्वाचित भएकी थिइन्।

२०७० सालमा रायमाझीले कांग्रेसका रामबहादुर बिसीलाई हराए। क्षेत्र नम्बर–२ बाट एमालेका डा. दुमन थापा (हाल दिवंगत)ले कांग्रेसकी भुसाललाई हराएका थिए।

२०७४ सालको निर्वाचनमा वाम गठबन्धनका साझा उम्मेदवार रायमाझीले ५० हजार ३ सय ८५ मतसहित जित हासिल गरेका थिए। उनका निकटतम प्रतिस्पर्धी कांग्रेसका रामबहादुर बिसीले ३१ हजार ९ सय ४१ मत ल्याएका थिए।

स्थानीय निर्वाचनमा प्राप्त मतको हिसाब गर्दा पनि एमालेभन्दा सत्ता गठबन्धन नै अगाडि देखिन्छ। हुन त स्थानीय चुनावमा जिल्लाका ६ नगरपालिकामध्ये ३ वटा प्रमुखमा एमालेले, दुईमा नेपाली कांग्रेस र एउटामा राष्ट्रिय जनमोर्चा विजयी भएका छन्। एमालेका वडाअध्यक्ष उम्मेदवारले कुल ४८ हजार २ सय ६० मत पाएका छन्। कांग्रेसका वडाध्यक्षले ३७ हजार ९ सय २५ मत ल्याएका छन्।

माओवादी केन्द्रले ७ हजार ७ सय ९०, राष्ट्रिय जनमोर्चाले ४ हजार २ सय ९४ र एकीकृत समाजवादीले ३ हजार ७ सय ३६ मत ल्याएका छन्। हाल सत्ता गठबन्धनमा रहेर चुनावी तालेमल गरेका कांग्रेस, माओवादी केन्द्र, राष्ट्रिय जनमोर्चा र एकीकृत समाजवादीको मत जोड्दा एमालेभन्दा बढी देखिन्छ। यसै कारण रायमाझीलाई मतको अंकगणितले पनि सकसमा पार्ने स्पष्ट देखिदैछ।

पुष्पा भुसालको पारिवारिक पृष्ठभूमि पनि राजनीति नै हो। २०१५ सालमा बीपी कोइरालाको नेतृत्वमा गठित मन्त्रिपरिषदमा स्वास्थ्यमन्त्री रहेका काशीनाथ गौतमकी छोरी पुष्पाले पिताबाटै राजनीतिमा लाग्ने प्रेरणा पाएकी हुन्।

रायमाझीले यसअघि रामबहादुर बिसीजस्ता स्थानीयस्तरका नेतालाई हराएका थिए। तर, यसपाली उनले राष्ट्रिय राजनीतिमै प्रभाव छाडेकी र उपसभामुखसमेत भइसकेकी सत्ता गठबन्धनकी ‘भेटरान’ उम्मेदवार पुष्पा भुसालसँग प्रतिस्पर्धा गर्नु परेकाले उनको ‘टेन्सन’ बढेको हो।

अर्घाखाँची पोखराथोकी भुसालको राजनीतिक यात्रा २०२८ सालदेखि निरन्तर जारी छ।
नेपाली कांग्रेसमा महिला विभाग, कानुन विभागमा लामो समय कार्यरत रहेकी भुसाल नेपाल महिला संघको महासचिवसमेत भइसकेकी छिन्।

महिला पंक्तिमा उनी लोकप्रिय हुनुको खास कारण चाहिँ उनले महिला अधिकार र समानताको पक्षमा सदनदेखि सडकसम्म आवाज उठाउँदै आएकी छिन्।

पुष्पा भुसालको पारिवारिक पृष्ठभूमि पनि राजनीति नै हो। २०१५ सालमा बीपी कोइरालाको नेतृत्वमा गठित मन्त्रिपरिषदमा स्वास्थ्यमन्त्री रहेका काशीनाथ गौतमकी छोरी पुष्पाले पिताबाटै राजनीतिमा लाग्ने प्रेरणा पाएकी हुन्।

२०१७ सालमा राजा महेन्द्रले जन निर्वाचित सरकार भंग गरेपछि काशीनाथ गौतमलगायतका कांग्रेसका नेता कार्यकर्ता भारत निर्वासित भएका थिए। भुसाल पनि पितासँगै भारत निर्वासित भएकी थिइन्।

‘अग्रगमन भर्सेस अवसरवाद’मध्ये सचेत जनताले पक्कै अग्रगमन रोज्नेछन् भन्ने यहाँका मतदाताको रुझान अस्वभाविक पनि होइन।

२०६४ सालको संविधानसभामा निर्वाचित भएपछि संविधान निर्माणमा पनि उनले अग्रणी भूमिका निर्वाह गरेकी थिइन्। २०६३ सालको अन्तरिम संविधान मस्यौदा समितिमा समेत कांग्रेसबाट प्रतिनिधित्व गरेकी भुसाल मौजुदा संविधान र संविधानले प्रत्याभूत गरेका गणतन्त्र, धर्म निरपेक्षता, संघीयता समावेशीता रुपी उपलब्धिको रक्षाको पक्षमा दृढ छिन्।
अब हेर्नुछ, माओवादी पृष्ठभूमी भएर पनि एमालेमा ओलीको कोटरीमा रहेका रायमाझी र महिला हक अधिकारसहित लोकतन्त्रको पक्षमा दृढ भुसालमध्ये अर्घाखाँचीबाट यसपाली कसले बाजी मार्ला ?

दल बदलको खेल, अवसरवादी चरित्र र आफ्नो लामो माओवादी पृष्ठभूभीलाई चटक्कै बिर्सने रायमाझीको साख यसपाली केही हदसम्म गिरेकाले अर्घाखाँचीका जनताले उपसभामुख भएर आफ्नो प्रभावकारिता देखाइसकेकी महिला उम्मेदवार पुष्पा भुसाललाई नै नजिताउलान् भन्न सकिन्न।

किनकी, २०७९ सम्म आइपुग्दा अर्घाखाँचीको राजनीतिको ‘पाणिनी व्याकरण’ पनि धेरै बदलिइसकेको छ। ‘अग्रगमन भर्सेस अवसरवाद’मध्ये सचेत जनताले पक्कै अग्रगमन रोज्नेछन् भन्ने यहाँका मतदाताको रुझान अस्वभाविक पनि होइन।

प्रकाशित मिति : १५ कार्तिक २०७९, मंगलबार  १० : ४० बजे

यस वर्षको हात्ती सुन्दरी बनिन् बिजुलीकली (तस्बिरहरू)

चितवन- सौराहामा बिहीबारदेखि हात्ती तथा पर्यटन महोत्सव सुरू भएको छ

‘नेपालको प्रजातान्त्रिक आन्दोलनमा अमरराज कैनीको भूमिका महत्त्वपूर्ण छ’

दमौली– स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले नेपालको प्रजातान्त्रिक आन्दोलनमा अमरराज

मनमोहन सिंहको निधनप्रति पूर्वराष्ट्रपति भण्डारीद्वारा शोक व्यक्त

काठमाडौं– पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले भारतका पूर्वप्रधानमन्त्री डा मनमोहन सिंहको

माओवादीको आरोप- निजामती सेवा विधेयक अघि बढाउन सरकारले ढिला गर्‍यो

काठमाडौं– नेकपा माओवादी केन्द्रले  सङ्‍घीय निजामती सेवासम्बन्धी विधेयकलाई अघि बढाउन सरकारले

निजामती सेवा विधेयक आगामी संसद् अधिवेशनमा प्रस्तुत गर्ने

काठमाडौं– प्रतिनिधिसभा, राज्यव्यवस्था तथा सुशासन समितिमा सङ्घीय निजामती सेवा विधेयकमाथिको