काभ्रेपलाञ्चोक – जापान सरकारको सहयोगमा बिपी राजमार्गअन्तर्गत काभ्रेपलाञ्चोकको पिप्लेदेखि बर्खेखोला सडकखण्डको स्थायी पुनर्निर्माण सुरु भएको छ । नेपालका लागि जापानी राजदूत माएदा तोरु र भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव गोपालप्रसाद सिग्देलले आइतबार उक्त परियोजनाको संयुक्त रूपमा शिलान्यास गरे ।
जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका) को आर्थिक तथा प्राविधिक सहयोगमा उक्त खण्डको ३.२ किलोमिटर सडक पुनर्निर्माण थालिएको सडक डिभिजन कार्यालय भक्तपुरका प्रमुख सिनियर डिभिजनल इन्जिनियर सुमन योगेशले जानकारी दिए । उनका अनुसार २०८१ असोज १२ को बाढीपहिरोका कारण क्षतिग्रस्त बिपी राजमार्गअन्तर्गत काभ्रेपलाञ्चोक र सिन्धुली क्षेत्रको करिब ३० किलोमिटर सडकखण्ड पुनर्निर्माण तथा मर्मत गर्नुपर्ने देखिएको छ ।
पिप्ले–बर्खेखोला खण्डको निर्माण जिम्मा जापानको सिमिजु कर्पोरेसनले लिएको हो । योगेशका अनुसार यो खण्डका लागि जापानले २ अर्ब ८० करोड येन अनुदान दिने गरी २०८२ कात्तिक १३ मा द्विपक्षीय सम्झौता भएको थियो । बाँकी कानुनी प्रक्रिया पूरा गरेर अहिले निर्माण सुरु गरिएको हो । यसअघि जाइकाको टोलीले पूर्वतयारीस्वरूप क्याम्प र अस्थायी डाइभर्सन बनाउने काम गरेको थियो । यो खण्डसहित अहिले बिपी राजमार्गको क्षतिग्रस्त सडक चारवटा खण्डमा विभाजन गरी निर्माण भइरहेको छ ।
यसबाहेक नेपाल सरकारको लगानीमा काभ्रेपलाञ्चोकतर्फ ठेक्का लागेका तीनवटा सडकखण्डमा हालसम्म २५ प्रतिशत काम सकिएको योगेशले बताए । २०८१ असोजको बाढीपहिरो र २०८२ को वर्षाले थप क्षति पुर्याएपछि गत मंसिरदेखि प्रक्रिया पुर्याएर स्थायी पुनर्निर्माण थालिएको हो ।

अहिले क्षति पुगेका विभिन्न स्थानमा ‘आरसिसी’ पर्खाल लगाउने काम भइरहेको छ । चौकीडाँडामा खोलाबाट प्लम्प पर्खाल तथा चारसयबेँसी र भकुन्डेबेँसीमा पनि ‘आरसिसी’ पर्खाल लगाउन सुरु गरिएको छ । यस्तै डालाबेँसी–मंगलटार र चारसयबेँसी–नार्के खण्डमा सडक चौडा बनाउने काम भइरहेको सडक डिभिजनले जनाएको छ । गत वर्ष र यस वर्षको बाढीले ‘वासआउट’ (सडक पूर्ण क्षति) गरेका स्थानमा आगामी दिनमा बाढीले क्षति नपुर्याउने गरी नयाँ संरचनाको डिजाइन गरिएको छ ।
यो वर्ष क्षतिग्रस्त स्थानमा जग र संरचना निर्माण गर्ने तथा सडक चौडा गर्ने काम सम्पन्न गर्ने लक्ष्य राखिएको छ । आगामी वर्ष बाँकी स्थानमा संरचना बनाई कालोपत्र गर्ने गरी कामलाई तीव्रता दिइएको योगेशले बताए । अबको पुनर्निर्माणमा राजमार्गको स्तरोन्नति गर्दै दुई लेनको सडक बनाइनेछ ।
“पुनर्निर्माण हुने सडकखण्ड दुई लेनको बन्नेछ र यसभित्र रहेका पुलका सारथि नयाँ संरचना बनाएर पुललाई पनि दुई लेनकै बनाइनेछ,” योगेशले भने । उनका अनुसार साविकका पाँचवटा पुललाई दुई लेनमा परिणत गर्ने योजना छ ।
अन्य तीन खण्डको प्रगति
डालाबेँसीदेखि चारसयबेँसीसम्मको ८.५ किमी सडक पुनर्निर्माणका लागि खानी–एवन–कमलजीत जेभीले १ अर्ब ४२ करोड ३७ लाख रुपैयाँमा ठेक्का पाएको छ । यस्तै, चारसयबेँसीदेखि भकुन्डेबेँसीसम्मको ११.०८ किमी सडकका लागि लामा–नवकान्तिपुर जेभीसँग १ अर्ब ३३ करोड ५३ लाख रुपैयाँमा सम्झौता भएको छ । नेपालथोकदेखि बर्खेखोलासम्मको ४.९० किमी सडक पुनर्निर्माणका लागि खरिढुङ्गा–घिसिङ–क्षितिज जेभीसँग ६१ करोड रुपैयाँमा ठेक्का सम्झौता भएको छ ।
जाइकाले निर्माण गर्ने सडकखण्डबाहेक अन्य खण्डमा सरकारले गत असोजअघि नै ठेक्का लगाइसकेको थियो । क्षतिग्रस्त खण्डको स्थायी पुनर्निर्माणका लागि सरकारले कुल ८ अर्ब ५० करोड रुपैयाँको स्रोत सहमति दिएको छ । जसमध्ये काभ्रेपलाञ्चोकतर्फका तीनवटा सडकखण्डलाई ७ अर्ब ५० करोड र सिन्धुलीतर्फको एक खण्डलाई १ अर्ब रुपैयाँ बजेट सुनिश्चित गरिएको हो ।

जापान सरकारकै अनुदान सहयोगमा आर्थिक वर्ष २०५३/५४ देखि बिपी राजमार्ग (धुलिखेल–सिन्धुली–बर्दिवास १६० किमी) निर्माण सुरु गरिएको थियो । खण्ड–खण्ड विभाजन गरी निर्माण गरिएको यो राजमार्ग जापानले २०७२ असार १८ मा औपचारिक रूपमा नेपाल सरकारलाई हस्तान्तरण गरेको थियो ।














प्रतिक्रिया