काठमाडौँ – यतिबेला देश संसदीय निर्वाचनमा होमिएको छ। आम मतादाता प्रदेश तथा प्रतिनिधिसभाका लागि जनप्रतिनिधि छान्ने तयारीमा छन्। मतदान व्यक्तिगत अधिकार हो, सम्पत्ति होइन। तर साझा विरासत हो। कहिल्यै गाउँ नफर्किएका नेता पनि गाउँगाउँमा हात जोड्दै कुदिरहेका छन्।
यो देख्दा कुनै अनौठो र आश्चर्य मान्नु पर्दैन। चुनाव नजिकिँदै गर्दा तपाईँहरूलाई लाग्न सक्छ, जस्तो सुकै मान्छे उठोस्, मतलब भएन भोट आफ्नै पार्टीको मान्छेलाई दिने हो। अर्को कुरा चिनेको, नाता पर्ने वा सम्बन्ध भएको मान्छे छ भने उसलाई दिने हो।
त्यति मात्रै होइन। कसैले नि केही गर्ने हैनन्, म त भोट नै नदिने, यत्तिकै बस्छु … यस्तै सोच बनाउँदै हुनुहुन्छ, होला। मैले तपाईँहरूको मनकै कुरा भनेँ या भनिन्। थाहा छैन। तर पक्कै पनि यो सोच तपाई हाम्रो लागि हो।
किनकि हामी धेरै वितृष्णामा पुगिसकेका छौँ। तर जबसम्म हामीमा यस्ता सोच रहिरहन्छन्, तबसम्म परिवर्तन कदापि हुँदैन। तपाई हामीलाई याद भएकै कुरा हो, यिनै कारणले हामी जस्ता युवाका कलिला सपनाहरूमाथि तुसारापात हुनेछ। तपाईँहरूकै सन्ततिमाथि ठुलो घात हुनेछ।
तपाईँ हामीले कसैको लोभ लालचमा परेर भोट हाल्यौँ भने तपाईं हाम्रो साना–साना सन्ततिको सपनाहरूको हत्या गर्दै हुनेछौँ। तपाईँको भोट बिक्री भयो भने तपाईकै कारणले तपाईँको आफ्नै छोरा छोराछोरीको भविष्य पनि बिक्री हुन सक्छ। त्यसैले भोट बिकाउ होइन, टिकाउन हुनुपर्छ।
अहिलेसम्म नेपालमा हुँदै आएको चुनावी अभियानको अभ्यास हेर्ने हो भने झुटा आश्वासन, शक्तिको दुरुपयोगका जालाहरुले घेरिएको हुन्छ भन्दा फरक नपर्ला। अब त्यो जालो तोड्नु भएन भने तपाईँकै घरको कसैले ताल्चा तोड्दा पनि तपाईँ टुलुटुलु हेर्ने भन्दा केही गर्न नसक्ने अवस्था नआउला भन्न सकिन्न।
नेपाललाई सिंगापुर बनाउने, सुखी नेपाली समृद्ध नेपाल बनाउने सपनाहरू तपाई हामीले नै सजाएका थियौ। जुन हाम्रै देशका नेताले देखाएका थिए, के ती सपना पुरा भयो त ? सपना त धेरै सजायौं। तर हाम्रो देश सिंगापुर होइन, नेपाललाई नेपाल जस्तो बनाउने नेतृत्वको खोजीमा अझै भौतारिएको छ।
समाजको आर्थिक, सामाजिक, सांस्कृतिक कुराहरूको विषयमा राम्रो ज्ञान भएको र सबैलाई समायोजन गरेर लान सक्ने भिजन र दुरदर्शिता भएको मान्छे चाहिन्छ।
यो पाँच वर्षको कार्यकाल हेर्दा आफ्ना आसेपासे चाकडीबाज गर्ने मात्रै अर्थतन्त्रमा रमाउने बाहेक केही गरेको देखिन्न। त्यसैले मतदान गर्नु पूर्व एक पटक गम्भीर भएर सोच्नेबेला आएको छ, म के र कसका लागि भोट दिँदै छु ? मेरो मतको सही सदुपयोग हुन्छ कि हुँदैन ? तपाईँको मत लिने मान्छेले समाज, गाउँ शहर, तपाईँको क्षेत्र र सम्पूर्ण देशका लागि के गर्न सक्छ भन्ने कुरा सोचेर मात्र मत खसाल्नुहोस्।
तपाईँको मतपेटिकामा खस्दै गर्दा तपाईंलाई यस्तो अनुभूति हुनुपर्यो कि मैले अबको पाँच वर्षलाई मेरो गाउँलाई मेरो ठाउँलाई बनाउने काम हुनेछ। अब मेरो ठाउँको समस्या बिस्तारै हटेर जानेछन्।
मलाई काम गर्ने मान्छे चाहिएको हो, चुनाव चिन्ह र फलानो पार्टीसँग मेरो कुनै सम्बन्ध छैन भन्ने सोच यदि तपाई हामीमा आउन सक्यो भने पक्कै पनि देशले राम्रो व्यक्ति पाउने छ।
सामान्य जागिर खानका लागि समेत न्यूनतम योग्यताको जरुरी पर्छ भने राजनीतिमा आउनका लागि योग्यता त पक्कै चाहिन्छ। हो, अबको चुनावमा यसको थिती बसाल्नुपर्नेछ। त्यसैले यो देशलाई ८० वर्ष पछाडी धकेल्ने होइन, अबको ८० वर्षसम्म चलाउन सक्ने, हाक्न सक्ने उमेद्दवार छान्नुहोस्।
राजनीतिमा त समाजको आर्थिक, सामाजिक, सांस्कृतिक कुराहरूको विषयमा राम्रो ज्ञान भएको र सबैलाई समायोजन गरेर लान सक्ने भिजन र दुरदर्शिता भएको मान्छे चाहिन्छ। के हामीले यस्तो मान्छे अब छान्नु पर्दैन ? के अब हाम्रा होइन, राम्रा छान्ने बेला आएन र ?
कहिलेसम्म धानिरहने ‘पेट भरुवाहरूको शासन ? कहिलेसम्म निमुखा भएर बस्ने नागरिक ? कहिले सम्म चुपचाप सहने यी नेताहरूको अत्याचार ? आखिर कहिलेसम्म ?
अमेरिका, अस्ट्रेलियामा उपचार गर्ने नेपाली डाक्टर अब जुम्ला, हुम्ला लगायतका दुरदराजका नागरिकको उपचार गर्न आउन सक्ने वातावरण बनाउनुपर्छ।
यसो भन्दै गर्दा अहिलेसम्मका नेताले केही गरेनन् भन्न खोजेको होइन। उनीहरुले गर्दा देशको शासन व्यवस्था फेरिएको छ। प्रजातन्त्र, लोकतन्त्र, गणतन्त्र र संघीयता उनीहरुकै कारण आएको हो। तर शासन व्यवस्थाका नाममा यस्तो असमान विकास कहिलेसम्म ? यस्तो व्यक्ती रोज्नुस्, जसले नेपाललाई ८० वर्षसम्म बनाउने छ।
६० वर्ष अगाडी भोकमरीमा परेर नेपालले सहयोग गरेको देश दक्षिण कोरिया कहाँदेखि कहाँ पुगिसक्यो ? तर आज नेपाल कहाँ छ, भक्तपुरको चाँगुनारायणको मन्दिर लिच्छवीकालको हो।
तर त्यतिबेला पत्ता नलागेको अमेरिका अहिले कहाँ पुगिसक्यो ? त्यो समयमा स्वर्ण युगमा रहेको नेपाल अहिले कहाँ अनि कुन अवस्थामा छ ? कहिल्यै सोच्नु भएको छ ?
नेपालमा समय समयमा परिवर्तन नभएका पनि होइनन्। देश चलाउँछु भन्ने नेता नभएका पनि होइनन्। तर उहाँहरूको लगाव र योगदान त हामीले देखिसकेका छौँ। उहाँहरूको योगदान नभएको भने पक्कै पनि होइन। तर अब अहिले गनिएका शीर्ष र बुढापाका नेताहरु शासनव्यवस्था मात्रै होइन, आफ्नै जीवनको उत्तरार्धमा आउनु भएको छ। त्यसैले अब युवा पुस्तालाई यो देशको ताला चाबी सुम्पिनु अनिवार्य भइसक्यो।
अब, विश्वविख्यात अक्सफोर्ड र हार्वर्ड विश्वविद्यालयमा पढाउने नेपाली जनशक्क्ति नेपालको जेठो त्रिभुवन विश्वविद्यालयमा फर्काउनुपर्छ। तर त्यो वातावरण तय गर्न काम तपाई हाम्रो हातमा निर्णय गर्ने बेला छ।
अमेरिका, अस्ट्रेलियामा उपचार गर्ने नेपाली डाक्टर अब जुम्ला, हुम्ला लगायतका दुरदराजका नागरिकको उपचार गर्न आउन सक्ने वातावरण बनाउनुपर्छ।
नेता भनेको देशको भविष्य कोर्न सक्ने हुनुपर्छ। घरको, नातेदारको र सीमित चाकडीबाजको मात्रै भविष्य बनाउने होइन। त्यसैले यो चुनावमा हाम्रो र नराम्रो होइन, देशको भविष्य सुन्दर बनाउन सक्ने योग्य तथा राम्रा उम्मेदवारलाई जिताऔँ। अनि मात्रै हाम्रो देशले जित्नेछ। विकास र परिवर्तनले जित्नेछ।
प्रतिक्रिया