ग्रेडर मेसिन हाँक्ने अनिता  « Khabarhub

ग्रेडर मेसिन हाँक्ने अनिता 


२५ कार्तिक २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


111
Shares
  • change font
  • change font
  • change font

घोराही- दाङको घोराही सहरदेखि गाउँसम्म बिग्रिएका सडक बनाउनेदेखि नयाँ सडकको ट्रयाक खन्ने काममा व्यस्त छिन्, अनिता थारु। साना सवारीसाधन चलाउने महिलाको संख्याभन्दा ठूला सवारीसाधन चलाउने महिला न्यून छन्। तर अनिता भने विगत चार वर्षदेखि दाङलगायत ठाउँमा सडक तथा पुल निर्माण गर्न ग्रेडर मेसिन चलाउँदै आएकी छन्।

उनी डेढ वर्षदेखि घोराही उपमहानगरपालिकामा ग्रेडर अपरेटरका रूपमा कार्यरत छिन्। अनिता पछिल्लो समय भने उपमहानगरपालिका भित्रका विकास निर्माणका काममा ग्रेडर मेसिन चलाउँदै आएकी छन्।

१२ कक्षासम्म अध्ययन सकेर घरमै बसेको समयमा आफन्तको सहयोगमा उनी बर्दियाबाट दाङ आएर ग्रेडर मेसिन चलाउन थालेकी हुन्।

‘कमजोर आर्थिक अवस्थाका कारण पढाइलाई अघि बढाउन नसकेर घरमै बसेकी थिएँ,’ उनले भनिन्, ‘घरमा त्यसै बस्नुभन्दा ग्रेडर मेसिन चलाउन सिक्ने सोच बनाए र दाङ आएकी हुँ।’

घोराही–मुर्कुटी सडक बनाउने काममा अनिताका भिनाजुले ग्रेडर मेसिन चलाउँथे। उनीसँगै उक्त सडक निर्माण गर्ने कम्पनीमा सहायक ग्रेडर अपरेटरका रूपमा एक वर्ष काम गरेपछि ग्रेडर चलाउन सक्ने भएको अनिता बताउँछिन्।

निर्माणको क्षेत्रमा काम गर्न कठिन भए पनि आत्मविश्वास र मेहनतले सफलता हासिल गर्दै गएको उनको भनाइ छ।

करिब एक चलाउन सिकेपछि अनिताले उक्त मेसिन राम्ररी चलाउन सक्ने भइन्। तर उनीसँग सवारी चालक अनुमति पत्र भने थिएन। यसका लागि २०७६ भदौमा तुलसीपुरमा परीक्षा दिइन्। परीक्षामा सहभागी १३ जनामध्ये उत्तीर्ण हुने अनिता भने एक्ली महिला थिइन्।

‘पहिलो प्रयासमै सवारी चालक अनुमति पत्र लिन सफल भएँ,’ उनले भनिन्। उनले त्यसपछि जागिरका क्रममा दाङ र बर्दियाका विभिन्न ठाउँमा निर्माणसम्बन्धी काम गरिन्।

‘ग्रेडर मेसिन चलाउन सक्थे, तर लाइसेन्स नहुँदा समस्या थियो,’ उनले भनिन्, ‘विसं २०७६ भदौमा लाइसेन्स खुलेपछि ट्रायल दिए। ट्रायलमा पास भएपछि मलाई काममा सहजता भयो।’ अन्य सवारी साधनभन्दा चलाउन कठिन भए पनि अनुभवले गर्दा सहज लाग्ने गरेको उनी बताउँछिन्।

‘अन्य उपकरणभन्दा यो चलाउन निकै कठिन हुन्छ,’ चालक अनिता भन्छिन्, ‘तर आफूभित्रको आत्मविश्वास र निरन्तरको मेहनतले मलाई अहिले सहज भएको छ।’ बेरोजगार बस्नुभन्दा कुनै पनि सीप सिकेर काममा लाग्न उनको अरू महिलालाई सल्लाह छ।

निर्माणका क्षेत्रमा महिलालाई काम गर्न कठिनाइ भए पनि आफ्नो कामबाट आफू सन्तुष्ट रहेको अनिताको भनाइ छ। ‘निर्माणको क्षेत्रमा काम गर्न गाह्रो भए पनि मलाई यही पेसामा सन्तुष्टि छ,’ उनले भनिन्, ‘धेरै पढेको भए ठूलो अपेक्षा हुन्थ्यो र अरू काम खोजिन्थ्यो होला। पढ्न सकिएन। त्यसैले ग्रेडर अपरेटर नै मेरा लागि ठिक छ।’

अनिता परिवारका चार सन्तानमध्ये एक्ली छोरी छन्। स्थानीय सूर्य माध्यमिक विद्यालयबाट १० कक्षा उत्तीर्ण गरेकी उनले बाँकेको कोहलपुरस्थित बागेश्वरी माध्यमिक विद्यालयबाट १२ कक्षा उत्तीर्ण गरेकी हुन्। कमजोर आर्थिक अवस्थाका कारण अनिताले पढाइ छोडेर मेसिन चलाउन थालिन्।

सुरुमा चलाउँदा महिलाले पनि ग्रेडर मेसिन चलाउँछन् भनेर धेरैले हेर्न आउने गरेको उनी सम्झिन्छिन्। ‘अहिले सबैलाई सामान्य लाग्न थालिसकेको छ,’ अनिताले भनिन्।

प्रकाशित मिति : २५ कार्तिक २०७९, शुक्रबार  ११ : ५२ बजे

नौ महिनामा एक हजार बढीको शल्यक्रिया

ढोरपाटन– धौलागिरि प्रादेशिक अस्पताल बागलुङमा विशेषज्ञ सेवा थपिँदै गएपछि बिरामीको

ट्रकको ठक्करबाट प्रहरी सहायक हवल्दारको मृत्यु

बागमती– पूर्व–पश्चिम राजमार्गअन्तर्गत मकवानपुर हेटौँडा उपमहानगरपालिका–११ थानाभर्‍याङस्थित सडकमा आज दिउँसो

बन्दीगृहजस्तो कष्टकर होल्डिङ सेल्टरभित्र बढ्दैछ घरझगडा

काठमाडौं- सरकारले डोजर चलाएर लखेटेको सुकुम्बासीलाई अस्थायी रुपमा राखिएको कीर्तिपुरस्थित

पोखरा स्पोर्टस् अवार्डका लागि उत्कृष्टको मनोनयन सार्वजनिक

काठमाडौं– १०औँ पोखरा स्पोर्टस् अवार्डका लागि उत्कृष्टको मनोनयन सार्वजनिक गरिएको

डा. मनोजकुमार शर्मा प्रधानन्यायाधीशमा सिफारिस

काठमाडौं- प्रधानमन्त्री वालेन्द्र शाहको आह्वानमा बिहीबार अपरान्ह बसेको संवैधानिक परिषदको