काठमाडौँ- अभिव्यक्ति स्वतन्त्रताका लागि जेलमा रहेका इरानी अभियन्ता होसेइन रोनघीले आमरण अनसनलाई थप कडा बनाउने बताएका छन् । उनी गत केही हप्तादेखि भोक हडतालमा रहँदै आएका छन् । उनको अवस्था ‘गम्भीर’ रहेको बताइएको छ ।
चिकित्सकीय बिदाका लागि निवेदन दिएपनि अस्वीकृत भएपछि उनले गएरातिदेखि पानी पिउनसमेत अस्वीकार गरेको उनका भाइले शनिबार बताए । महसा अमिनीको इरानी हिरासतमा मृत्यु भएको विरोधमा गत सेप्टेम्बरयता जारी प्रदर्शनमाथि रक्तपातपूर्ण दमनको विरोधमा आवाज उठाएको केही दिनपछि ३७ वर्षीय रोनघीलाई पक्राउ गरिएको थियो ।
“होसेइनले जेलबाट फोन गरी दिएको जानकारीअनुसार उनलाई धेरै पटक दुर्व्यवहार गरिएको छ ।” उनका भाइ हसनले ट्वीटरमा लेखेका छन्, “आज होसेइनको रक्तचाप (ब्लड प्रेसर) निकै कम भयो र उनी बेहोस भए ।”
होसेइनका भाइले भने, “रोनाघीको अवस्था गम्भीर छ र पनि उनलाई मेडिकल छुट्टी दिन अस्वीकार गरिएको छ । होसेइनले आज रातिदेखि पानी पिउन पनि अस्वीकार गर्न थालेको बताएका छन् ।”
रोनाघीले गत सेप्टेम्बर २२ मा लण्डनस्थित इरान इन्टरनेसनल टेलिभिजनलाई दिएको अन्तर्वार्तामा सुरक्षा अधिकारीहरू उनको घरमा आएको बताएका थिए । टेलिभिजन च्यानलद्वारा प्रकाशित एक भिडियोमा निकै कमजोर देखिए पनि रोनाघीले अन्तर्वार्तालाई जारी राख्न आग्रह गरिरहेका देखाइएको छ ।
द वासिङ्टन पोस्टमा काम गर्ने ती सञ्चार अभियन्ताले अज्ञात स्थानबाट भिडियो सन्देश जारी गरेका थिए । तर सेप्टेम्बर २४ मा तेहरानको इभिन जेलमा अभियोजनकर्तालाई भेट्न गएका बेला सुरक्षा अधिकारीहरूले उनलाई हिरासतमा लिएको र कुटपिट गरेको उनका भाइले जनाएका छन् ।
“होसेइनलाई जे भएपनि न्यायपालिका, गुप्तचर मन्त्रालय, जेल सङ्गठन, अभियोजक र इरानी नेताको कार्यालय जिम्मेवार हुनेछ,” उनका भाइले ट्वीटरमा लेखेका छन् ।
इस्लामिक गणतन्त्र इरानमा महिलाका लागि लागू कठोर ड्रेस कोड उल्लङ्घन गरेको आरोपमा पक्राउ परेकी अमिनीको सेप्टेम्बर १६ मा हिरासतमा मृत्यु भएको थियो । ओस्लोस्थित मानवअधिकारवादी समूह इरान ह्युमन राइट्सले त्यसयता इरानभर भएको प्रदर्शनमा कम्तीमा ३०४ जनाको मृत्यु भएको जनाएको छ ।
हिरासतमा रहेकाहरूको बचाउ गर्ने कार्यमा संलग्न एक दर्जनभन्दा बढी वकिलहरूसहित इरानभर हजारौं मानिसहरूलाई प्रदर्शनमा सहभागी भएको आरोपमा गिरफ्तार गरिएको छ ।
प्रतिक्रिया