शान्तिपूर्ण र भयरहीत चुनावका लागि धवलागिरि क्षेत्रमा सुरक्षा प्रबन्ध चुस्त | Khabarhub Khabarhub

शान्तिपूर्ण र भयरहीत चुनावका लागि धवलागिरि क्षेत्रमा सुरक्षा प्रबन्ध चुस्त


२७ कार्तिक २०७९, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- आसन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्य चुनावलाई शान्तिपूर्ण र भयरहीत बनाउन धवलागिरि क्षेत्रका चारै जिल्लामा सुरक्षा प्रबन्ध चुस्त पारिएको छ । मतदानको दिन नजिकिँदै गर्दा सुरक्षाका दृष्टिबाट कुनै कमी हुन नदिन सुरक्षा निकाय लागिपरेका छन् ।

बागलुङसहित पर्वत, म्याग्दी र मुस्ताङस्थित जिल्ला सुरक्षा समितिले मतदानस्थललाई अतिसंवेदनशील, संवेदनशील र सामान्यमा वर्गीकरण गरी सुरक्षा रणनीति तयार पारेको छ । विगतका घटनाको विश्लेषण, मतदाता संख्या, भौगोलिक अवस्थिति, मतदानस्थलको दूरी र राजनीतिक शक्ति सन्तुलनलाई हेरेर मतदान केन्द्रको वर्गीकरण गरिएको हो ।

बागलुङका कूल एक सय छ मतदानस्थलमध्ये ३५ प्रतिशतलाई अतिसंवेदनशील, १५ प्रतिशतलाई संवेदनशील र ५० प्रतिशतलाई सामान्यमा वर्गीकरण गरिएको छ । मतदानस्थलको अवस्था र संवेदनशीलता हेरेर सुरक्षा योजना बनाइएको जिल्ला सुरक्षा समितिले जनाएको छ ।

समितिका प्रमुख एवं प्रमुख जिल्ला अधिकारी रमेश ढकालले सुरक्षाकर्मीको खटनपटन टुङ्गिएको बताए । “नेपाली सेना, सशत्र प्रहरी बल, जनपद प्रहरी र राष्ट्रिय अनुसन्धान गरी चारै निकायको समन्वयबाट सुरक्षा व्यवस्थापनको काम भइरहेको छ”, उनले भने, “मङ्सिर १ गतेसम्ममा कर्मचारीसहित सुरक्षाकर्मी मतदान केन्द्रमा पुगिसक्छन् ।”

प्रजिअ ढकालले राजनीतिक दलका चुनावी अभियान पनि सौहार्द र शान्तिपूर्ण रुपमा सञ्चालन भइरहेको बताए । “सुरक्षा व्यवस्था सुदृढ छ, कुनै पनि खालको चुनौती जिल्लामा छैन, चुनाव स्वच्छ, शान्त र भयरहित वातावरणमा सम्पन्न गराउन सुरक्षा निकाय कटिबद्ध छ”, उनले भने ।

केही दल र समूहले निर्वाचन बहिष्कारको घोषणा गरेकाले उनीहरुका गतिविधिमाथि नजिकबाट निगरानी भइरहेको समितिले जनाएको छ । सुरक्षा संवेदनशीलतालाई दृष्टिगत गरी आठदेखि २२ जनासम्म सुरक्षाकर्मी एउटा मतदान केन्द्रमा परिचालन गरिने भएको छ ।

मतदान केन्द्रको भित्री सुरक्षामा जनपद र म्यादी प्रहरी खटिनेछन् भने बाहिरी सुरक्षा घेरामा भने सशत्र प्रहरी र नेपाली सेना रहनेछ । जिल्ला प्रहरी कार्यालय म्याग्दीका प्रहरी नायब उपरीक्षक तिलक भारतीले चुनावमा खटिने सुरक्षाकर्मी सम्बन्धित स्थानीय तहमा पुगिसकेको बताए ।

“म्यादी प्रहरीसहित सुरक्षाकर्मी परिचालित भइसकेका छन्, सुरक्षा व्यवस्था मजबुत पारिएको छ”, उनले भने, “राजनीतिक दलका गतिविधि पनि मर्यादित र शान्तिपूर्ण छन् ।” जिल्ला सुरक्षा समितिका सदस्य प्रहरी नायब उपरीक्षक भारतीका अनुसार म्याग्दीमा रहेका कूल एक सय १९ मतदान केन्द्रमध्ये १५ वटालाई अतिसंवेदनशील, ५८ वटालाई संवेदनशील र बाँकीलाई सामान्यमा वर्गीकरण गरिएको छ ।

चुनावी सुरक्षाका लागि म्याग्दीमा सात सय ३३ म्यादी र चार सय नौ जना जनपद प्रहरी परिचालन गरिएको छ । मुस्ताङका सहायक प्रमुख जिल्ला अधिकारी रामचन्द्र ढकालले प्रजिअसहित सुरक्षा निकायका पदाधिकारीले जिल्लाका सबै मतदान केन्द्रको स्थलगत अध्ययन गरेपछि चुनावी सुरक्षा योजना बनाइएको बताए ।

“सुरक्षा योजनादेखि सुरक्षाकर्मीको खटनपटनलगायत मतदानपूर्वको तयारी पूरा भएको छ”, उनले भने, “सुरक्षा निकायबीच आपसी समन्वयबाट काम भइरहेको छ ।” सहायक प्रजिअ ढकालले मुस्ताङको सुरक्षा व्यवस्थामा कुनै अपुगता रहन नदिइने बताए । धवलागिरि क्षेत्रमा सबैभन्दा कम मतदाता रहेको मुस्ताङमा जम्मा ३९ मतदान केन्द्र छन् । सङ्घतर्फ एउटा मात्र निर्वाचन क्षेत्र रहेको मुस्ताङमा १० हजार नौ सय ५७ जना मतदाता छन् ।

पर्वतमा पनि सुरक्षा व्यवस्था सुदृढ पारिएको जिल्ला सुरक्षा समितिले जनाएको छ । निर्धक्कसँग मतदान केन्द्रमा पुगी आफ्नो मताधिकार प्रयोग गर्न समितिले मतदातालाई आग्रह गरेको छ । पर्वतका कूल ७४ मतदानस्थलमध्ये ३५ वटालाई अतिसंवेदनशील, ३१ वटालाई संवेदनशील र आठ वटालाई सामान्य सूचीमा राखिएको छ ।

चुनावलक्षित सुरक्षा प्रबन्ध सँगसँगै मतदान केन्द्र केन्द्रित तयारी सुरु भएको छ । मतदान अधिकृतसहित जनशक्तिको व्यवस्थापन, खटनपटनलगायत चुनावको व्यवस्थापकीय कामले तीव्रता पाएको छ । चुनाव आउन सात दिनमात्र बाँकी छ ।

प्रकाशित मिति : २७ कार्तिक २०७९, आइतबार  ३ : ५० बजे

ह्यारिसको कबज बन्दै ओबामा

ठिक १६ वर्षअघि युवा जस्तो देखिने बाराक ओबामा ओहायोमा बसमा

दशैँ टीकाको आज दोस्रो दिन, मान्यजनबाट टीका लगाउने क्रम जारी रहने

काठमाडौं– बडादशैँ टीकाको दोस्रो दिन आज पनि मान्यजनबाट नवदुर्गाको प्रसादस्वरुप

आज पापाङ्कुशा एकादशी व्रत

काठमाडौं– आज आश्विन शुक्लपक्षको पापाङ्कुशा एकादशी । आज एकादशीको व्रत

यी प्रदेशका पहाडी क्षेत्रमा वर्षाको सम्भावना

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले लुम्बिनी,

दशैँका दुई दिनमा ६३ हजारले गरे हवाईयात्रा

काठमाडौं – बडादशैँको दुई दिन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भएर कुल