मेलम्चीमा पुरानै कम्पनी सिएमसीलाई फर्काइने | Khabarhub Khabarhub

मेलम्चीमा पुरानै कम्पनी सिएमसीलाई फर्काइने


२९ माघ २०७५, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडाैं–  मेलम्ची खानेपानी आयोजनाका बाँकी रहेको काम सम्पन्न गर्न इटालीको कम्पनी सिएमसी दी राभेनालाई नै फर्काउन पहल शुरु गरिएकाे छ । मेलम्ची खानेपानी विकास समितिले गत महीना ठेक्का सम्झौता तोडे पनि खानेपानीमन्त्रीस्तरबाटै पुरानै कम्पनीलाई फर्काउने पहल शुरु भएकाे हाे ।

नयाँ ठेक्का सम्झौतामार्फत काम गर्दा समय र लागत दुवै बढ्ने भन्दै खानेपानी मन्त्री बिना मगरले ठेकेदार कम्पनीलाई नै फर्काउन वार्ता टोली सिङ्गापुर पठाएकी थिइन् । मेलम्ची खानेपानी विकास समितिका उपकार्यकारी निर्देशक भोजविक्रम थापा, मन्त्रालयका कानून शाखामा कार्यरत उपसचिव गुणराज श्रेष्ठलगायतको टोली वार्ताका लागि गत साता सिङ्गापुर पुगेको थियो । कम्पनीलाई काममा फर्कनका लागि आवश्यक वातावरण मिलाउने बारेमा छलफल भएको उपसचिव श्रेष्ठले बताए ।

उनले भने, “काठमाडौँ फर्किएर काम गर्न सुरक्षित वातावरण छैन कि भन्ने उहाँहरुको चिन्ता रहेकामा हामीले काम गर्ने वातावरण सुरक्षित छ भन्ने आश्वस्त पारेका छौँ ।” सिङ्गापुरमा भएको वार्ता सकारात्मक रहेको उपसचिव श्रेष्ठले बताए ।

सिएमसीको लागत बढेकाले केही कुरामा नेपाल सरकार लचिलो भइदिओस् भन्ने कम्पनीको चासो रहेको उनले बताए । “थोरै मात्रै काम बाँकी रहेकाले त्यसलाई जतिसक्दो चाँडो सक्न मन्त्रीज्यूको चासो देखाउनुभएको छ”, उनले भने, “हामीले त्यहाँ भएका वार्ताका विषयमा मन्त्री र सचिव दुवैलाई प्रतिवेदन दिएका छौँ ।”

ठेकेदार कम्पनीले गत २९ मङ्सिरमा आयोजनाको सम्पूर्ण काम छाडेको थियो । पुस २ गते मेलम्ची खानेपानी विकास समितिले कम्पनीको कार्यसम्पादन जमानत, अग्रिम पेश्की जमानतलगायत गरेर झण्डै रु दुई अर्ब २१ करोड समितिका नाममा जफतका लागि पत्राचार गरेको थियो ।

पुस ५ गते कम्पनीले धरौटी रकम जफत नगरियोस् भन्दै निषेधाज्ञा माग गर्दै उच्च अदालत पाटनमा रिट हाले पनि अदालतले खारेज गरेको थियो । पुस १३ गते कम्पनीले ठेक्का तोडेको पत्रलाई पुनःस्थापित गरेर काममा नफर्कने जानकारी गराएको थियो ।

मन्त्रालयका प्रवक्ता शङ्करप्रसाद सुवेदी मेलम्चीको काम कसरी अघि बढाउने भन्ने समितिले नै निर्णय गर्ने बताए । मन्त्रालयका सचिव अध्यक्ष रहने समितिको निर्णयपछि मात्रै पुरानो कम्पनीलाई जिम्मेवारी दिने वा नयाँ ठेकेदारमार्फत काम गर्ने भन्ने निर्णय हुने उनले बताए ।

उनले भने, “समिति आफैँ स्वायत्त संस्था भएकाले हामीले यसो गर भन्न मिल्दैन ।” राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको मेलम्ची खानेपानी आयोजना निर्माणको काम ९० प्रतिशतभन्दा बढी सकिएको समितिले बताएको छ ।

प्रकाशित मिति : २९ माघ २०७५, मंगलबार  ७ : २९ बजे

सांसद बोहराको निधनका कारण प्रतिनिधिसभा बैठक केहीबेर ढिला सुरु हुने

काठमाडौं– संघीय संसद अन्तर्गत प्रतिनिधिसभाको बिहान ११ बजेका लागि बोलाइएको

प्रतिनिधिसभा सदस्य दीपक बोहराको निधन

काठमाडौँ- प्रतिनिधिसभा सदस्य दीपक बोहराको निधन भएको छ । राष्ट्रिय

कुलमान घिसिङले दायर गरेको रिटको पेसी न्यायाधीश चूडाल र पाण्डेयको इजलासमा

काठमाडौं– नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकबाट हटाइएका कुलमान घिसिङ र

सभामुख घिमिरेलाई भेट्न सिंहदरबार पुगे रवि

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेसहितका नेताहरूले सभामुख

प्रयोगमा आयो शीतभण्डार, धमाधम आलु भण्डारण गरिँदै

पाल्पा- आलु भण्डारणका लागि गाउँमा शीतभण्डार अभावमा खेमराज रानाले भैरहवामा