धान बिक्री गर्न रातभर किसान खुला आकाशमुनि « Khabarhub

धान बिक्री गर्न रातभर किसान खुला आकाशमुनि


२९ मंसिर २०७९, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

भजनी – कैलालीको जानकी गाउँपालिका–३ सुवर्णपुरका गर्भु चौधरी मङ्गलबार बिहानै खाद्य व्यवस्था तथा व्यापार कम्पनीको टीकापुर गोदाममा धान बिक्रीका लागि पुगेका थिए।

सरकारले धानको समर्थन मूल्य तोकेको लामो समयपछि धान खरिद सुरु गरेपछि १६ बिघामा लगाएको धान बिक्रीका लागि गर्भु टीकापुर गोदाम पुगेका हुन्। धान बिक्रीका लागि आएका उनी रातभर त्यहीँ बसे। लाइनमा बसेका गर्भुको बुधबार पनि पालो आएन। ‘दुईवटा गोरु गाडामा धान ल्याएर आएको थिए। लाइन धेरै लामो रहेछ।’ उनले भने, ‘असोजमा भित्र्याएको धान बिक्री गर्न निकै सास्ती छ। ‘

जानकी गाउँपालिका–७ का हिक्मतबहादुर चौधरी पनि धान बिक्री गर्नका लागि दुई रात बिक्री केन्द्रमै बस्नुपरेको बताउँछन्। बाह्र बिघा १० कट्टा क्षेत्रफलमा धान खेती गरेका उनले १० क्विन्टल धान अन्यत्र लगेर बिक्री गरिसकेका छन्। घर खर्च टार्न र हिउँदे खेती गर्न मल खरिदका लागि सस्तोमा धान बिक्री गरेको उनले बताए।

‘बजारमा प्रती क्विन्टल रु दुई हजार चार सयका दरले धान बेचेर घरको खर्च जोहो गर्नुपर्यो। बाँकी धान बिक्रीका लागि खाद्यको बिक्री केन्द्रमा ल्याएर आएको छु’, चौधरीले भने, ‘घरबाटै खाना ल्याएर यतै खाँदै बसेको छु। खुला आकाशमुनि चिसोमा पालो कुरेर बस्नुपरेको छ।’

टीकापुर नगरपालिका–१ का रामचरण चौधरी बुधबार मात्रै ट्र्याक्टरमा धान ल्याएर टीकापुर गोदाम पुगेका थिए। उनको पालो एक सय ७९औँ स्थानमा छ। उनलाई धान बिक्री गर्न तीन दिन यहीँ बस्नुपर्ने बाध्यता छ। ‘धान बिक्री गर्न पालो कुर्नुपर्ने अवस्था छ। चिसो मौसममा खुला आकाशमुनि रात बिताउनुपर्ने बाध्यता छ।’ उनले भने, ‘ठाँउठाउँमा काँटा लगाएर धान खरिद गर्ने व्यवस्था गरेको भए यस्तो समस्या पर्ने थिएन।’

भजनी नगरपालिका–८ का सुरेन्द्र चौधरी पनि टीकापुर नगरपालिका–७ स्थित धान खरिद केन्द्र पुगेको दुई दिनपछि मात्र धान बिक्री गरे। कम्पनीले धान खरिद गर्न थालेपछि खरिद केन्द्रमा किसानको अत्यधिक भीड छ। ‘दुई महिनासम्म खाद्यलाई पर्खेर बस्नुपर्यो। अहिले पनि धान बिक्री गर्न सकस छ’, चौधरीले भने। दुईचार रुपैयाँ बढी पाइने आशाले बसेका किसानको धान बिक्री गर्नका लागि अहिले तछाडमछाड भएको छ।

भजनी नगरपालिका–८ का हरिकुमार चौधरी धान बिक्री गर्न खाद्यको खरिद केन्द्रमा गोरु गाडामा धान भरेर पुगे पनि बेच्न पाएनन्। बर्सातको समयमा आएको बाढीले क्षति पुर्‍याएको र धान सफा नभएको भन्दै उनको धान खरिद गर्न खाद्यले मानेन। ‘राम्रो नभएको भन्दै मेरो धान खरिद गर्न खाद्यले मानेन। फिर्ता लिएर जाँदैछु’, उनले भने, ‘आजसम्म खाद्यको आशामा धान बजारमा बिक्री नगरेर बसे, अब बजारमा लिएर बिक्री गरेर घर जान्छु।’

धान बिक्रीका लागि खाद्यको खरिद केन्द्र पुगेका हरिकुमारजस्तै धेरै किसान खाद्यले धान खरिद गर्न नमानेपछि निरास भएर फर्किएका छन्। खाद्यले गुणस्तर हेरेर मात्रै धान खरिद गर्ने गरेको छ। पानीले नभिजेको, परालको टुक्रा, पोकटा नमिसिएको ताजा मोटा धान मात्र खरिद गर्न थालिएको छ।

कम्पनीले जिल्लामा पाँच क्षेत्रबाट धान खरिद सुरु गरेको छ। टीकापुर नगरपालिकामा खाद्यको नगरपालिकाको वडा नं १ टीकापुर शाखा, वडा नं ७ सत्ती, धनगढी उपमहानगरपालिकाको मोहनपुर गोदाम, भजनी नगरपालिका र जोशीपुर गाउँपालिकाबाट धान खरिद थालिएको छ। खाद्य व्यवस्था तथा व्यापार कम्पनीले मोटा धानको न्यूनतम मूल्य प्रती क्विन्टल रु दुई हजार नौ सय ६७ र मध्यम धानको मूल्य रु तीन हजार एक सय २८ कायम गरेको छ। कात्तिकमै धानको समर्थन मूल्य निर्धारण गरिएको भए पनि धान खरिदको अधिकार नदिँदा खरिद प्रक्रिया सुरु हुन सकेको थिएन।

कैलालीमा यस वर्षका लागि ४० हजार क्विन्टल धान खरिद गर्न केन्द्रबाट अनुमति प्राप्त भएको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडकी सुदूरपश्चिम कार्यालय प्रमुख इन्जिला बस्नेतले जानकारी दिए।

प्रकाशित मिति : २९ मंसिर २०७९, बिहीबार  ९ : ०७ बजे

केपी ओलीलाई रविको चुनौती : पार्टीमा जस्तै संसदीय चुनाव पनि जितेर देखाउनू

काठमाडौं- राष्ट्रिय स्वन्त्र पार्टीका सभापति रवि लामिछानेले नेपाली कांग्रेर र

‘झरीपछिको इन्द्रेणी’को नयाँ गीत ‘जब फर्किन्छ घर’ सार्वजनिक

काठमाडौं – गत शुक्रबारदेखि प्रदर्शनरत फिल्म ‘झरीपछिको इन्द्रेणी’को नयाँ गीत

भोजपुरको पाँचधारेमा बौद्धस्तूप निर्माण

भोजपुर– टेम्केमैयुङ गाउँपालिका-९ पाँचधारेमा पर्यटकीय तथा धार्मिक क्षेत्रको प्रवर्द्धन गर्ने उद्देश्यले

भक्तपुरमा एक महिनामा १४ वटा जघन्य अपराध

भक्तपुर– भक्तपुरमा पछिल्लो एक महिनामा १४ वटा जघन्य अपराधका घटना घटेका

चिसोबाट दमरोगीलाई कसरी बचाउने ?

श्वासप्रश्वास रोग मानिसको मृत्यु गराउने रोगमध्ये विश्वको चौथो प्रमुख रोगमध्ये