“टाउकैमाथि जहाज खस्यो, भाग्यले बाँचे” | Khabarhub Khabarhub

“टाउकैमाथि जहाज खस्यो, भाग्यले बाँचे”


३ माघ २०७९, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


2.6k
Shares
  • change font
  • change font
  • change font

पोखरा – फुर्सद भयो कि सेती खोँचमा माछा मार्न जाने कुमार आलेको बानी थियो । आइतबार विहान साढे १० बजे तिर उनी सधैजसो बल्छी बोकेर माछा मार्न खोँच झरे । नदीमा बल्छी थापेको त्यस्तै १०/१५ मिनेट जति भएको हुँदो हो माथिबाट आएको ठूलो आवाज उनको कानमा नराम्रोसँग ठोक्कियो । एकैछिन दिमागमा सन्नाटा छायो ।

“केही सोच्नै नपाउँदै एकाएक ढुङ्गाहरु खस्न थाले, खसेका ढुङ्गा पिठ्युँ र खुट्टामा बजारिए”, त्यो दिनको घटना सम्झँदै गर्दै ३७ वर्षे उनले भने, “ढुङ्गा बजारिएपछि म पानीमा कतिबेला पुगेछु पत्तै भएन ।”

यतिकैमा आगो र धुँवाको कालो मुस्लो देखियो । ढुङ्गा र आगोको झिल्का खोँचमा निरन्तर झरिरहेका थिए । उनी पानीबाट निस्किएर अलिक पर कुनामा रहेको चट्टानमुनी ओत लागे । “कसैले बम पड्काएको हो कि भन्ने लाग्यो”, उनले थपे, “ढुङ्गा झर्न अलिक कम भएपछि जसोतसो त्यहाँबाट निस्केर छिटोछिटो उकालो लागेँ ।”

केही मिनेटको उकालो चढेपछि जलिरहेका जहाजका टुक्रा देखिए । उनलाई तबमात्रै जहाज दुर्घटना भएको रहेछ भन्ने यकिन भयो । “बुढापाकाहरु काल नआएसम्म मरिन्न भन्थे, हो जस्तो लाग्यो”, उनले भने, “आइतबार त्यस्तै भयो, म ठूलो भाग्यले बाँचे ।”

खुट्टा र पिठ्युँमा लागेको चोट देखाउँदै आलेले भने, “धन्न ढुङ्गा टाउकोमा लागेन नत्र म पनि बाँच्ने थिइन, खुट्टा र पिठ्युँमा हेर्नुस् त कति नराम्ररी चोट लागेको छ, अहिले हिँड्न पनि गाह्रो भएको छ ।”

आले यती एयरलाइन्सको विमान दुर्घटना भएको स्थलबाट पाँच मिनेटको पैदल दूरीको नागार्जुन टोलमा बस्छन् । त्यहीँकै राम बल्क उद्योगमा चालकका रुपमा काम गर्न थालेको १० वर्ष भयो । तनहुँ कुर्लुङका आलेका चार छोरी र एक छोरा छन् । “भगवानले मलाई बचाउनु भयो, नत्र श्रीमती र बालबच्चाको के हाल हुन्थ्यो होला ?”

अहिले आले टाउकै माथि जहाज खस्दा पनि बाँच्न पाएकोमा भगवानलाई धन्यवाद दिँदै बसेका छन् । “यो त मेरो ठूलो भाग्यो हो, म बाँचे तर आँखा अगाडिको यत्रो जहाज दुर्घटना र त्यहाँ सवार यात्रुको मृत्युको खबरले भने विक्षिप्त बनाएको छ, नजिक गएर त्यहाँका दृश्य हेर्ने आँट पनि आएको छैन”, उनले भने ।

पोखरा महानगरपालिका वडा नं १५ स्थित सितारामको प्लटिङ भनेर चिनिने स्थान नजिकको सेतिको खोँचमा आइतबार करिब ११ बजे आसपासमा यति एयरलाइन्सको ७२ सिटे जहाज दुर्घटना ७० जनाको शव फेला परेको छ । बाँकी दुई जनाको खोजी अझै जारी छ ।

घटनास्थलबाट निकालिएका शवलाई पश्चिमाञ्चल क्षेत्रीय अस्पतालको पोष्टमार्टम भवनमा राखिएको छ । अस्पताल स्रोतका अनुसार काठमाडौँ शिक्षण अस्पतालका फरेन्सिक प्रमुख टोलिको नेतृत्वमा र पोखरा स्वास्थविज्ञान प्रतिष्ठान तथा अन्य शिक्षण संस्था फरेन्सिक विज्ञ चिकित्सकबाट शवको वर्गीकरण गर्ने काम सकिएको छ ।

सनाखत गर्न मिल्ने शवको परिवासँग ‘भेरिफाइ’को काम भइरहेको छ । भेरिफाइपछि शवको पोस्टमार्टम शुरु भएको छ । थप सनाखत गर्नुपर्ने देखिएका डीएनए परीक्षणका लागि काठमाडौँ पठाउने तयारी गरिएको सहायक प्रमुख जिल्ला अधिकारी अनिलकुमार शाहीले जानकारी दिए । उनका अनुसार ४६ जनाको शव काठमाडौँ पठाउनु पर्ने र बाँकी २३ जनाको पोखरामै पोष्टमार्टम गरी आफन्तलाई बुझाइने छ ।

प्रकाशित मिति : ३ माघ २०७९, मंगलबार  १२ : २४ बजे

जनकपुरको अन्तर्राष्ट्रिय रंगशाला १७ वर्षदेखि अलपत्र, जग्गा सम्झौता भंगपछि स्थानीय निरास

जनकपुरधाम– जनकपुरमा निर्माणाधीन रहेको श्री रामजानकी बहुउद्देश्यीय अन्तर्राष्ट्रिय रंगशाला चितवनको

लगानी सम्मेलनमा किन गएनन् एमाले अध्यक्ष ओली?

काठमाडौं- आइतबारदेखि सुरू भएको तेस्रो लगानी सम्मेलन उद्घाटन सत्रमा प्रमुख

बझाङ उपनिर्वाचन : छबिसपाथिभेराको वडा १ बाट मत गन्न थालियो

बझाङ– बझाङको मतगणना छबिसपाथिभेरा गाउँपालिकाबाट सुरु भएको छ । मुख्य

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा ६ घण्टापछि उडान 

काठमाडौं – प्रतिकुल मौसम कारण बिहानैदेखि बन्द भएको पोखरा अन्तर्राष्ट्रिय

वेस्ट इन्डिज ‘ए’ ले नेपाललाई दियो १६१ रनको लक्ष्य

काठमाडौं -वेस्ट इन्डिज ए ले नेपाललाई १६१ रनको लक्ष्य दिएको