नविनयुक्त सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माद्वारा पद बहाली | Khabarhub Khabarhub

नविनयुक्त सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माद्वारा पद बहाली


३ माघ २०७९, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नविनयुक्त सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले पद बहाली गरेकी छिन् । आज राष्ट्रपति कार्यालय शीतल निवासमा पद तथा गोपनीयताको शपथ लिएलगत्तै सिंहदरबारमा पुगेर उनले पदभार ग्रहण गरेकी हुन् ।

पदभार ग्रहण गर्दै मन्त्री शर्माले ‘सञ्चारको पहुँच सुनिश्चित गराउने’ सम्बन्धी कार्यक्रमको विद्युतीय माध्यमबाट सुरुआत गरिन् । उनले सञ्चार तथा प्रविधिको सेवालाई देशव्यापी बनाउनेतर्फ आफ्नो विशेष सक्रियता हुने बताइन् ।

उनले देशभर सञ्चार सेवालाई सर्वसुलभ, पहुँचयोग्य बनाउने र त्यसका लागि सबैसँग मिलेर काम गर्ने प्रतिबद्धता व्यक्त गरिन् । आफू नयाँ क्षेत्रमा आएको भन्दै मन्त्रालय र मातहतका सबै निकायको यथेष्ट जानकारी लिएर यसभित्र रहेका समस्या समाधान गर्ने उनको भनाइ छ ।

पदभारपछि सञ्चारकर्मीसँगको सङ्क्षिप्त कुराकानी गर्दै उनले पार्टीले दिएको जिम्मेवारीलाई पूर्णरुपमा कार्यान्वयन गर्ने र त्यसमा सबैको साथ तथा सहयोग जरुरी रहेको बताइन् । नेकपा माओवादी केन्द्रकी स्थायी समिति सदस्य शर्माले गत मङ्सिर ४ मा सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा नेकपा एमालेका महासचिव शङ्कर पोख्रेललाई पराजित गर्दै विजयी भएकी थिइन् ।

विसं २०७० र २०७४ मा प्रतिनिधिसभामा समानुपातिक सदस्यका रुपमा निर्वाचित भएकी उनी २०७२ साल कात्तिकदेखि २०७३ कात्तिकसम्म सामान्य प्रशासनमन्त्रीको जिम्मेवारीमा रहेकी थिइन् । विसं २०२६ असोज ९ गते घोराहीको मसिनामा बुबा गिरिराज शर्मा र आमा पार्वती शर्मा पौड्यालको कोखबाट जन्मेकी उनले २०४२ सालदेखि राजनीतिक यात्रा सुरु गरेकी हुन् ।

विसं ०४२/४३ देखि अनेरास्ववियुको स्कुल इकाइ कमिटीबाट विद्यार्थी राजनीति होमिएकी उनी अखिलको जिल्ला उपाध्यक्ष, २०४८ सालमा अखिल नेपाल महिला सङ्घ क्रान्तिकारीको दाङ अध्यक्ष, २०५० मा केन्द्रीय सदस्य, २०५१ मा वाईसिएलको केन्द्रीय सदस्य, २०५३ सालदेखि २०५७ सालसम्म अखिल नेपाल महिला सङ्घ क्रान्तिकारीको केन्द्रीय अध्यक्ष भएकी थिइन् ।

विसं २०५७ मा नेकपा माओवादीको केन्द्रीय सदस्य बनेकी उनी काठमाडौँ उपत्यका उपब्यूरो इन्चार्जको भूमिकामा रहेकी थिइन् । विसं २०५८ चैतमा पार्टीका केन्द्रीय सदस्य तथा श्रीमान् कृष्णध्वज खड्कासँगै चाबहिलबाट पक्राउ परी नेपाली सेनाको ललितपुरस्थित राजदल गण र पोखराको सैनिक ब्यारेकमा बसेकी थिइन् ।

युद्धविराम भएर सरकार र माओवादीबीच वार्ता सुरु भएपछि उनी २०५९ साल चैत ३१ मा दुवै जना मुक्त हुँदै पार्टीमा क्रियाशील भइन् । विसं २०७० र २०७४ मा संसदीय दलको सचेतकको जिम्मेवारी निर्वाह गरेकी शर्मा माओवादीभित्र स्थापित नेतृसमेत हुन् ।

मङ्सिर ४ मा सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा माओवादी केन्द्रबाट प्रत्यक्षतर्फ निर्वाचित हुने शर्मा एक्ली महिला हुन् । आफूलाई सामाजिक न्याय र समानताको पक्षधरका रुपमा परिचित गराउन चाहने मन्त्री शर्मा कृषि र अर्थतन्त्रको विषयमा पनि रुचि राख्छिन् ।

पार्टीको विद्यार्थी, युवा र महिला सङ्गठनमा लामो समय बिताएकी शर्माले राज्यबाट संविधानसभा पदक प्राप्त गरेकी थिइन् । समाजशास्त्रमा स्नातकोत्तर गरेकी शर्माको स्थायी ठेगाना घोराही उपमहानगरपालिका–१८ दाङ हो ।

प्रकाशित मिति : ३ माघ २०७९, मंगलबार  ३ : ०१ बजे

लेबनान र इजरायलमा रहेका नेपालीले आफ्नो अवस्था अपडेट गर्नू : परराष्ट्रमन्त्री

काठमाडौं– परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले इजरायल र लेबनानमा रहेका

पहिलो द्विपक्षीय भ्रमणका लागि माल्दिभ्सका राष्ट्रपति मुइज्जु भारत प्रस्थान

माले– माल्दिभ्सका राष्ट्रपति मोहम्मद मुइज्जु आइतबार प्रथम महिला साजिदा मोहम्मदसँग

स्वास्थ्य सेवामा स्वास्थ्यकर्मीहरू संवेदनशील हुन आवश्यक छ : मुख्यमन्त्री कार्की

मोरङ– कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले मानव जीवनसँग प्रत्यक्ष जोडिएको 

सर्लाहीमा बाढी : मृतकका परिवारलाई जनही दुई लाख सहयोग

बरहथवा– बाढी तथा डुबानमा परेर ज्यान गुमाएका सर्लाहीको बलरा नगरपालिकाका

व्यापारीको गुनासो : सोचे जस्तो छैन व्यापार

काठमाडौं– ‘रोजी रोजी र छानी छानी, आउनुहोस् आधा छुटमा सामान लैजानुहोस्’ न्युरोडका