कैदीबन्दीका बालबच्चा हुर्काउँदै आएकी रानालाई अब उपसभामुखको जिम्मेवारी | Khabarhub Khabarhub

कैदीबन्दीका बालबच्चा हुर्काउँदै आएकी रानालाई अब उपसभामुखको जिम्मेवारी


७ माघ २०७९, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


84
Shares
  • change font
  • change font
  • change font

झापा– कैदीबन्दीका बालबच्चाहरूकी ‘आमा’ इन्दिरा रानामगर जनप्रतिनिधिहरूको सर्वोच्च थलो प्रतिनिधिसभाको उपसभामुख बनेकी छिन् । झापाको अर्जुनधारा-११ सालबाडी निवासी उनको अभिभावकत्वमा दुईवटा विद्यालय र १० वटा बाल संरक्षणगृह सञ्चालनमा छन् । जहाँ झापाबाट पाल्पासम्मका कारागारमा बन्दी जीवन बिताइरहेका कैदीबन्दीका दुई हजार असहाय छोराछोरीले आश्रय मात्र होइन, शिक्षादीक्षा पनि पाइसकेका छन् ।

जीवनका ५२ वर्षे उकाली-ओराली बिताइसकेकी उनलाई आज प्रतिनिधिसभाको बैठकले उपसभामुख पदमा निर्वाचित गर्‍यो । अब उनी कैदीबन्दीका छोराछोरीहरूको मात्र नभएर ‘संसद्कै नेतृत्व’ गर्ने महत्वपूर्ण जिम्मेवारीमा पुगेकी हुन् ।

बुवा स्व प्रताप रानामगर र आमा स्व मनमाया रानामगरको कान्छी सुपुत्रीका रूपमा विसं २०२७ मा झापाको अर्जुनधारामा जन्मिएकी उनले २२ वर्षअघि दुईवटा कोठा भाडामा लिएर काठमाडौँमा कैदीबन्दीका असहाय छोराछोरीलाई आफ्नै संरक्षणमा लालनपालन गर्न थालेकी थिइन् । उनलाई यसका लागि प्रसिद्ध साहित्यकार पारिजातले प्रेरणा दिएकी थिइन् ।

घर छाडेर काठमाडौँमा पढ्न जाँदा उनलाई पारिजातले नै संरक्षण प्रदान गरेकी थिइन्। अर्जुनधाराको महारानीगञ्ज प्राथमिक विद्यालयको कक्षा ४ मा १२ वर्षको उमेरमा भर्ना भएर उनले औपचारिक शिक्षा प्रारम्भ गरेको उनका दाजु जगत् रानामगरले बताए । उनले समाजशास्त्रमा स्नातकोत्तर तहको शिक्षा प्राप्त गरिसकेकी छिन्। उनकी एउटी छोरी सुविना राना छिन् ।

पारिजातले सञ्चालन गरेको मानवअधिकारवादी संस्थामा उनले स्वयंसेवक बनेर मानवीय सेवाको थालनी गरेकी थिइन् । पारिजातसँगै कारागार जाँदा उनले कैदीबन्दीका दुःख र पीडामात्र नभएर तिनका सन्तानको अलपत्र अवस्थाको समेत जानकारी पाएकी थिइन् ।

उनले बन्दी सहायता नेपालमार्फत झापा, पाल्पा, काठमाडौँलगायत स्थानमा बाल संरक्षणगृह सञ्चालन गरिन् । तिनीहरूलाई पढाउन दुईवटा प्राथमिक विद्यालय सञ्चालन गरेको उनले नै झापामा सञ्चालन गरेको जुनकिरी प्राथमिक विद्यालयका प्रधानाध्यापक रञ्जित परियारले जानकारी दिए।

बन्दी सहायता नेपाल (पीए नेपाल) की अध्यक्ष इन्दिरा राना राजनीतिमा लागेको धेरै भएको छैन । उनी लगातार बालअधिकार र मानवीय सेवामा लागिन् । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को गठन हुँदासमेत उनी कुनै पार्टीमा हुन्थेनन्

रास्वपाका अध्यक्ष रवि लामिछानेले समाजसेवाबाट राजनीतिमा आउन आग्रह गर्दा उनी सुरुमा अलमलिएकी थिइन् । भुइँमान्छेको सेवामा लागिरहेको हुँदा राजनीतिमार्फत पनि समाजसेवा नै हुने कुरामा सहमत भएपछि उनी राजनीतिमा होमिइन् । छोटो अवधिमै रास्वपाले उनलाई समानुपातिक सिटबाट सांसद् निर्वाचित गर्‍यो । अब उनको जिम्मेवारी सांसदबाट धेरै माथि उक्लिएर संसद्कै अभिभावक अर्थात् उपसभामुख तहमा पुगेको छ ।

उपसभामुख पदमा पुगेपछि दलगत राजनीतिमा सक्रिय हुने परम्परा छैन । उपसभामुख राना पनि छोटो अवधिमै राज्यको उपल्लो मध्येको पदमा पुग्न सफल भइन्। उनी आफूलाई जहिल्यै भुइँमान्छेको रूपमा चिनाउनेछन् ।

 एक साताअघि झापास्थित बाल संरक्षणगृहमा सांसदको रूपमा आउँदा उनले आफू जुनसुकै ओहोदामा पुगे पनि कैदीबन्दीका बालबच्चाहरूको आमाका रूपमा आफ्नो भूमिका कहिल्यै नफेरिने भावुक अभिव्यक्ति दिएकी थिन्  । ‘हिजो भुइँमान्छे थिएँ, आज पनि उही भुइँमान्छे नै हुँ’, उनले भनेकी थिइन् ‘हिजो बालअधिकारका लागि सडकबाट कराउँथे, कसैले सुन्दैन थिए । अब त्यही आवाज संसद्भित्र गुञ्जाउँछु । मेरो आवाज अब सुनिनेछ भन्ने विश्वास लिएकी छु ।’

सन् २००० मा बन्दी सहायता नेपाल स्थापना गरेपछि उहाँको योगदानले चर्चा मात्र होइन, सम्मान पनि पाउन थाल्यो । सन् २००५ मा उनले प्रतिष्ठित ‘अशोका फेलो’ पाइन्। विभिन्न दाता र शुभचिन्तकहरूले उनको सत्कर्मलाई साथ दिँदै आर्थिक सहयोग पनि गर्न थाले । पुरस्कार र सम्मानवापत पाएको सबै साधन स्रोत उनले व्यक्तिगत वा पारिवारिक स्वार्थमा कहिल्यै लागिनन् । बाल संरक्षणको सञ्चालनमा सबै साधन र स्रोत खर्चिइन् ।

सन् २००९ मा उनले ‘एसिया जनसेवा’ अवार्ड पाइन्। सन् २०१४ मा उनले नोबेल पुरस्कार विजेता पाकिस्तानकी युसुफ मलाला र अमेरिकी जोन उडसँगै प्रतिष्ठित ‘वल्र्ड चिल्ड्रेन अनररी अवार्ड’ पाइन्। यी सम्मानहरूले उनको व्यक्तित्व अन्तर्राष्ट्रिय जगत्मा सुवासित भयो ।

सन् २०१७ मा बीबीसीले विश्वका सिर्जनशील महिलाहरूको सूचीमा नेपालकी इन्दिरा रानाको नाम समेट्यो । देशको ख्यातिलाई अन्तर्राष्ट्रिय मञ्चमा आलोकित बनाउनुहुने रानालाई उपसभामुखको पदमा पुर्‍याउनु भनेको सदनकै गरिमा बढाउनु हो भनेर आजकै संसद्मा उहाँको नाम प्रस्ताव गर्ने रास्वपाकी सांसद सोविता गौतमले बताइन् ।

– चन्द्रकला भण्डारी रासस

प्रकाशित मिति : ७ माघ २०७९, शनिबार  ७ : ३३ बजे

भिल्लारियलसँगको खेलमा रियल म्याड्रिडको जित

म्याड्रिड – स्पेनिस ला लिगाको रियल म्याड्रिडले अपराजित यात्रा कायम

पहिरो खसेपछि मेची राजमार्गको मर्मतसम्भार रोकियो

इलाम– पहिरोले क्षतविक्षत भएको मेची राजमार्गको माईखोला–भन्ज्याङ खण्डमा पुनः पहिरो

विश्व बैंकको सहयोगमा तनहुँका दुई सडक स्तरोन्नति

तनहुँ– विश्व बैंकको सहयोगमा तनहुँका दुईवटा सडक स्तरोन्नति गर्ने कामले

साउदी प्रो लिग : अल नासरको जित

काठमाडौं– साउदी प्रो लिग फुटबलमा अल नासर विजयी भएको छ

ट्रम्प फेरि पुगे पेनेसेल्भिनिया : अर्को विवादास्पद अभिव्यक्ति

पेनेसेल्भिनिया – विवादास्पद अभिव्यक्तिका लागि परिचित डोनाल्ड ट्रम्प फेरि एक