सन्तुलित परराष्ट्र नीति आवश्यक : राष्ट्रपति « Khabarhub

सन्तुलित परराष्ट्र नीति आवश्यक : राष्ट्रपति


११ फाल्गुन २०७९, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको सर्वोपरी हितलाई ध्यान दिएर परराष्ट्र नीति र अन्तर्राष्ट्रिय सम्बन्धलाई सन्तुलित ढङ्गले अघि बढाइनुपर्नेमा जोड दिएकी छिन् ।

नेपाल विश्व सम्बन्ध परिषद्को ७५औँ वार्षिकोत्सव समारोहलाई आज सम्बोधन गर्दै उनले बदलिँदो परिवेश अनुरूप नेपालको कूटनीतिक सम्बन्ध सन्तुलित तवरबाट सञ्चालन हुनुपर्ने बताइन् । “बदलिँदो परिवेशमा नेपालको परराष्ट्र नीतिको उद्देश्य र लक्ष्य प्राप्तिका लागि भइरहेका प्रयासका बारेमा यस्ता फोरममा छलफल हुन जरुरी छ”, उनले भनिन् ।

एकातिर विज्ञान तथा सूचना प्रविधिको क्षेत्रमा अभूतपूर्व विकासले मानव जीवनलाई सहज र सुखी बनाउन योगदान पुगेको भन्दै राष्ट्रपति भण्डारीले अर्कातर्फ विश्वव्यापी रूपमा अभूतपूर्व चुनौतीको सामना गरिरहेको भन्दै राष्ट्रपति भण्डारीले भूराजनीतिक जटिलता, बढ्दो असमानता, जलवायु परिवर्तनले ल्याएको सङ्कटलगायतका कारणले विश्व शान्ति र समृद्धिमा नयाँ चुनौती उत्पन्न भएको उल्लेख गरिन् ।

उनले आत्मनिर्भर, स्वावलम्बी र स्वाधीन अर्थतन्त्रको विकासमा वर्तमानको अन्तरनिहीतलाई चिर्दै नेपालको उपस्थितिलाई अर्थपूर्ण र प्रभावकारी बनाइनुपर्नेमा जोड दिइन् । नेपालले सदैव आफ्नो स्वतन्त्रता र सार्वभौमसत्ता अक्षुण्ण राखेको भन्दै राष्ट्रपति भण्डारीले परराष्ट्र नीतिमा व्यापक साझा सहमति तथा एकीकृत दृष्टिकोण निर्माण गर्न जरुरी रहेको उल्लेख गरिन् । “बदलिँदो आन्तरिक तथा अन्तर्राष्ट्रिय परिवेशलाई विचार गरी आफ्नो राष्ट्रिय हित अनुकूल परराष्ट्र नीति सञ्चालन गर्नु हाम्रो प्राथमिकतामा पर्नुपर्दछ । नेपालको संविधानले निर्दिष्ट गरेको मुलुकको शासन सत्ता, अखण्डता र राष्ट्रिय स्वाधीनतालाई केन्द्रमा राखेर अघि बढ्नुपर्छ”, उनले भनिन् ।

राष्ट्रपति भण्डारीले नेपालको परराष्ट्र नीतिको प्रमुख उद्देश्य नेपाल र नेपाली जनताको हित प्रवर्द्धन गर्नु रहेको उल्लेख गर्दै अन्तर्राष्ट्रिय समुदायमा नेपालको छवि उच्च राख्न र सबै देशबाट अधिकतम सद्भाव, समर्थन र सहयोग प्राप्त गर्न प्रभावकारी कूटनीतिको माध्यमबाट अनुकूल अन्तर्राष्ट्रिय वातावरणको सिर्जना गरिनुपर्नेमा जोड दिइन् । उनले भूपरिवेष्टित राष्ट्रको पारवहन अधिकारको पैरवी तथा पर्वतीय मुलुकको विकाससम्बन्धी अवधारणालाई अन्तर्राष्ट्रिय मञ्चमा अघि बढाउन नेपालले निरन्तर भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिइन् ।

राष्ट्रपति भण्डारीले दिगो शान्ति, समृद्धि र जनताको जीवनमा परिवर्तन ल्याउन नेपालले आर्थिक सामाजिक विकासलाई उच्च प्राथमिकतामा राखेको भन्दै दिगो विकासका लक्ष्य, अन्तर्राष्ट्रिय प्रतिबद्धता र राष्ट्रिय विकासको आकांक्षा पूरा गर्न आफू प्रतिबद्ध रहेको बताइन् । आर्थिक विकास, वैदेशिक लगानी प्रवर्द्धन, प्रविधि हस्तान्तरण र निर्यात प्रवर्द्धनमा राष्ट्रिय विकासलाई अन्तर्राष्ट्रिय सद्भाव र सहयोग अभिवृद्धिका लागि ध्यान केन्द्रित हुनुपर्ने उनको भनाइ छ ।

राष्ट्रपति भण्डारीले दुई छिमेकी मुलुक भारत र चीनसँगको मित्रवत सम्बन्धलाई थप प्रगाढ तुल्याउँदै पारस्परिक लाभका आधारमा सौहार्दपूर्ण सम्बन्ध कायम गरी आर्थिक लगानी आकर्षण गर्न पहल गरिनुपर्नेमा जोड दिइन् । उनले भारत र चीनले आर्थिक विकासमा गरेको अभूतपूर्व उपलब्धिबाट नेपाल खुसी रहेको भन्दै यसबाट अधिकतम लाभ लिनसक्नुपर्नेमा जोड दिइन् ।

दुई निकट छिमेकी मुलुकका साथै अन्य मित्रराष्ट्र तथा श्रम गन्तव्य मुलुकसँगको सम्बन्धलाई पनि उत्तिकै ध्यान दिन जरुरी रहेको उनको भनाइ छ ।

प्रकाशित मिति : ११ फाल्गुन २०७९, बिहीबार  ७ : ०३ बजे

झापा-५ का मतदातासँग भलाकुसारीमा जुटे बालेन

काठमाडौं – झापा–५ बाट उम्मेदवार बनेका बालेन्द्र साह मतदातासँगको छलफलमा

फराह खान निर्देशनमा फिर्ता, शाहरुखसँग नयाँ फिल्मको तयारी

काठमाडौं– बलिउडकी चर्चित निर्देशक तथा कोरियोग्राफर फराह खानले लामो समयपछि

रुकुमपूर्व : रुकुमकोट प्रहरी चौकी कब्जा गरेको क्षेत्र घुम्दै प्रचण्डले सुरु गरे घरदैलो अभियान

रुकुम पूर्व – हिजो पूर्वी रुकुमबाट मनोनयन दर्ता गराएका नेपाली

पर्वतको बाँसखर्कमा ‘मुख्यमन्त्री नवप्रर्वतन’ कार्यक्रम

पर्वत– पर्वतको जलजला गाउँपालिका–१ बाँसखर्कमा ‘मुख्यमन्त्री नवप्रर्वतन’ कार्यक्रम सञ्चालन भएको

रातारात पार्टी फेरेर उम्मेदवार बनेका हुसेन टिकट खोसिएपछि भन्छन्- सक्नेले साथ दिन्छन् नसक्नेले पाठ

काठमाडौं– नेकपा एमालेले नेपाली कांग्रेसबाट एमालेमा प्रवेश गरेका डा. अबुल