आज दिनभर भोलि शतप्रतिशत मत पाउने प्रचण्डकाे विश्वास, नवनिर्वाचित उपराष्ट्रपति यादवले सोमबार शपथ लिने, सुदूरपश्चिम विश्वविद्यालयका पाँच क्याम्पसमा स्ववियु निर्वाचन अनिश्चित, सुनको मूल्य प्रतितोला एक लाख १० हजार कायमलगायत समाचारले प्रमुख स्थान पाए ।
यी हुन् आज दिनभरका मुख्य समाचारहरू :
भोलि शतप्रतिशत विश्वासको मत पाउँछु : प्रधानमन्त्री प्रचण्ड
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सोमबार विश्वासको मत लिने भएका छन् । आइतबार बसेको प्रतिनिधिसभा बैठकमा सभामुख देवराज घिमिरेले सोमबार प्रधानमन्त्री प्रचण्डले विश्वासको मत लिन लागेको जानकारी दिएका हुन् ।
सोही बैठकबाट बाहिरिने क्रममा प्रधानमन्त्री प्रचण्डले आफूले सबै सांसदबाट विश्वासको मत पाउने विश्वास व्यक्त गरे । आफूले शतप्रतिशत सांसदबाट विश्वासको मत पाउने उनले बताए ।
यसअघि ९९ दशमलव २५ प्रतिशत सांसदको विश्वासको मत पाएको बताउँदै प्रधानमन्त्री प्रचण्डले सोमबार शतप्रतिशत सांसदको विश्वासको मत पाउने बताएका हुन् ।
एमाले र राप्रपा सरकारबाट बाहिरिएपछि प्रधानमन्त्री प्रचण्डले प्रतिनिधिसभाबाट विश्वासको मत लिन लागेका हुन् । हालसम्म कांग्रेस, एकीकृत समाजवादी, राष्ट्रिय स्वतन्त्र पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी लोसपा नेपालले प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिने औपचारिक रुपमा निर्णय गरिसकेका छन् ।
नवनिर्वाचित उपराष्ट्रपति यादवले सोमबार शपथ लिने
नवनिर्वाचित उपराष्ट्रपति रामसहाय प्रसाद यादवले सोमबार पद तथा गोपनीयताको शपथ लिने भएका छन् । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सोमबार बिहान १० बजे राष्ट्रपति भवन शीतल निवासमा शपथ ग्रहणको कार्यक्रम तय भएको हो ।
यादव यही चैत ३ मा उपराष्ट्रपति पदनमा निर्वाचित भएका थिए । निर्वाचनमा यादवले ३० हजार ३२८ मतभार प्राप्त गरेका थिए । निवर्तमान उपराष्ट्रपति नन्दबहादुर पुनको कार्यकाल यही चैत ४ मा सकिएको छ ।
निर्वाचन आयोगले राष्ट्रपति पौडेलसमक्ष उपराष्ट्रपति निर्वाचनको मत परिणामसहितको प्रतिवेदन आज दिउँसो बुझाउँदैछ ।
सरकारमा सहभागी हुने कांग्रेसको निर्णय
नेपाली कांग्रेसले पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा सहभागी हुने निर्णय गरेको छ । कांग्रेसले प्रतिनिधिसभामा प्रतिपक्षको बेञ्च नेकपा एमालेलाई छोड्ने भएको हो ।
पार्टीका प्रवक्ता डा. प्रकाशशरण महतका अनुसार आज बसेको कार्यसम्पादन समितिको बैठकले पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा सहभागी हुने र प्रतिपक्षको बेञ्च एमालेलाई छाड्ने निर्णय गरेको हो ।
उनले अघि भने, ‘फेरि एउटा गठबन्धन बनेको छ, त्यसलाई मध्यनजर गरेर कांग्रेस सरकारमा पनि सहभागी हुने निर्णय गरेको छ ।’
रास्वापाले प्रचण्डलाई विश्वासको मत दिने
राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिने निर्णय गरेको छ ।
पार्टीको संसदीय दल र केन्द्रीय समितिको संयुक्त बैठकले सरकारलाई विश्वासको मत दिने निर्णय गरेको हो ।
प्रधानमन्त्री प्रचण्डले भोलि विश्वासको मत लिने कार्यक्रम छ । प्रतिनिधिसभामा रास्वपाका १८ जना सदस्य छन् ।
नेकपा एसले पनि प्रचण्डलाई विश्वासको मत दिने
नेकपा एकीकृत समाजवादीले पनि पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारलाई विश्वासको मत दिने निर्णय गरेको छ ।
केन्द्रीय कार्यालय आलोकनगरमा आइतबार बसेको केन्द्रीय सचिवालय बैठकले प्रचण्ड नेतृत्वको सरकारलाई विश्वासको मत दिने निर्णय लिएको पार्टीका प्रवक्ता जगन्नाथ खतिवडाले जानकारी दिए ।
लोसपाले प्रधानमन्त्रीलाई विश्वासको मत दिने
लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई विश्वासको मत दिने निर्णय गरेको छ ।
लोसपाको आज बसेको संसदीय दलको बैठकले प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिने निर्णय गरेको हो । लोसपाका वरिष्ठ नेता राजेन्द्र महतोका अनुसार प्रधानमन्त्रीलाई विश्वासको मत दिने र सरकारमा सहभागी हुने निर्णय भएको छ ।
‘पार्टीले प्रधानमन्त्रीलाई विश्वासको मत दिने निर्णय गरेको छ । विश्वासको मत दिएपछि सरकारमा सहभागी हुने बाटो खुल्नेछ’, नेता महतोले भने ।
बैठकले संसदमा सत्ता पक्षको बेन्चमा बस्ने निर्णय पनि गरेको छ । यसअघि लोसपाले प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिए पनि प्रतिपक्षी बेन्चमा बसेको थियो । लोसपाको तर्फबाट प्रतिनिधिसभामा चार सांसद छन् ।
सुदूरपश्चिम विश्वविद्यालयका पाँच क्याम्पसमा स्ववियु निर्वाचन अनिश्चित
सुदूरपश्चिम विश्वविद्यालयको केन्द्रीय क्याम्पससहित पाँच वटा क्याम्पसमा चैत ८ गतेका लागि तोकिएको स्वतन्त्र विद्यार्थी युनियन स्ववियुको निर्वाचन अनिश्चित बनेको छ ।
केही विद्यार्थी संगठनले विद्यार्थी भर्नाको विषयलाई लिएर निर्वाचन समितिको कार्यालयमा तालाबन्दी गरेपछि निर्वाचन समितिले निर्वाचन स्थगित गरेको हो ।
सुदूरपश्चिम विश्वविद्यालयको केन्द्रीय क्याम्पस, टीकापुर बहुमुखी क्याम्पस, बाजुरा क्याम्पस, बडीमालिका क्याम्पस र अछामको जनता बहुमुखी क्याम्पसको निर्वाचन स्थगित भएको विश्वविद्यालयका रजिष्टार यज्ञराज पाठकले जानकारी दिए ।
“पाँच वटा क्याम्पसमा विद्यार्थी सङ्गठनले तालाबन्दी गरेपछि निर्वाचन स्थगित भएको छ”, उनले भने, “अन्य आङ्गिक क्याम्पसमा निर्वाचन प्रक्रिया जारी छ ।” उनले निर्वाचनका लागि छलफलमार्फत सहमति खोज्ने प्रयास भइरहेको बताए ।
विश्वविद्यालयको केन्द्रीय क्याम्पस महेन्द्रनगरमा नेपाल विद्यार्थी सङ्घ, राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी सङ्घ र अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियनले निर्वाचन समितको कार्यालयमा तालाबन्दी गरेका हुन् ।
विद्यार्थी सङ्गठनहरुले विद्यार्थी भर्नाका लागि दुई दिनको समय तय गरी चुनावलाई असफल र विद्यार्थीहरुलाई मताधिकारबाट बञ्जित गर्न खोजेको आरोप लगाएका छन् । अन्य विद्यार्थी सङ्गठनले भने निर्वाचन हुनुपर्ने माग गरेका छन् ।
अनेरास्ववियु क्रान्तिकारी कञ्चनपुरका अध्यक्ष कैलाश चन्द्र गिरीले यथाशीघ्र निर्वाचन प्रक्रिया थाल्नुपर्ने बताए । “हामीले पटक–पटक छलफल गरी निर्वाचन प्रक्रिया अघि बढाउन आग्रह गरेका छौँ”, उनले भने, “हाम्रो सङ्गठन निर्वाचनमा जान तयार छ ।”
सुदूरपश्चिम विश्वविद्यालयले भने ताला खोल्नका लागि पटक–पटक छलफल भएपनि सहमति जुट्न नसकेको जनाएको छ ।
कञ्चनपुरको महेन्द्रनगरमा ‘एयरक्राफ्ट म्युजियम’ सञ्चालनमा
कञ्चनपुरको महेन्द्रनगरमा ‘एयरक्राफ्ट म्युजियम’ सञ्चालनमा आएको छ । पर्यटन विकासमा टेवा पु¥याउने उद्देश्यका साथ एक करोड ५० लाख रुपैयाँको लगानीमा एयरक्राफ्ट म्युजियम सञ्चालनमा आएको हो ।
क्याप्टेन वेद उप्रेतीले नयाँ पर्यटकीय गन्तव्यका रूपमा म्युजियम सञ्चालनमा आएको उल्लेख गर्दै म्युजियममा सुदूरपश्चिमका प्रमुख पर्यटकीयस्थलको फोटो राखिने जानकारी दिए । नौ वर्षअघि धनगढीमा खुलेको म्युजियम जमिन अभावका कारण महेन्द्रनगरमा स्थापना गरिएको हो ।
“कस्मिक एयरको फोकर १०० जेट विमानलाई ल्याएर एयरक्राफ्ट म्युजियम बनाइएको हो ।” उनले भने “यसमा एकै पटक एक सय जनाले अवलोकन गर्न सक्ने र विमानको ककपिट तथा उडानका विषयमा पनि जानकारी लिन सक्नेछन् ।”
‘क्याप्टेन उप्रेती ट्रष्ट’ले महेन्द्रनगरमा एयरक्राफ्ट म्युजियमसँगै हेलिकप्टर, सिद्धबाबाको मूर्ति र स्विमिङ पुल निमार्ण गरेको छ । उनले सुदूरपश्चिम क्षेत्र पर्यटनको आकर्षक गन्तव्य बन्ने उल्लेख गर्दै पाइलट र टावरको रेकर्डिङ गरिएको संवादसमेत सुन्न सकिने बताए । म्युजियम प्रवेशका लागि प्रति व्यक्ति एक सय रुपैयाँ तथा विद्यार्थीका लागि ५० रुपैयाँ शुल्क तोकिएको छ ।
सुनको मूल्य प्रतितोला एक लाख १० हजार कायम
आइतबार सुनको मूल्यले हालसम्मकै उच्च रेकर्ड कायम गरेको छ । आज एकैदिन तोलाको २ हजार ९ सय रुपैयाँले बढेर सुनको भाउ एक लाख १० हजार रुपैयाँ कायम भएको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ।
शुक्रबार प्रतितोला एक लाख ७ हजार १०० रुपैयाँमा सुनको खरिद बिक्री भएको थियो । सुनको भाउ अझै बढ्ने अनुमान छ । अन्तर्राष्ट्रिय बजारमा बढ्दो अस्थिरता, बेरोजगारीलगायतका कारण सुनको भाउ बढेको हो ।
आज चाँदीको भाउ पनि बढेको छ । तोलामा ३५ रुपैयाँले बढेर चाँदी आज १ हजार ३ सय ४५ रुपैयाँमा कारोबार भइरहेको छ ।
सुदूरपश्चिममा सवारी दुर्घटनामा परी पाँच सय बढीको मृत्यु
सुदूरपश्चिम प्रदेशमा बर्सेनि सवारी दुर्घटना बढ्दै गएको छ । यसबाट ठूलो जनधनको क्षति हुने गरेको छ । ट्राफिक प्रहरीले आफ्नो सक्रियता बढाएको भनी दाबी गरे पनि प्रदेशका नौवटै जिल्लामा सवारी दुर्घटनामा भने कमी आउन सकेको छैन ।
गत तीन वर्षयता यहाँ एक हजार दुई सय ४६ सवारी दुर्घटना भएका सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जनाएको छ । दुर्घटनामा परेर ज्यान गुमाउनेको सङ्ख्या पनि बढेको देखिएको छ ।
उक्त सवारी दुर्घटनामा परेर यहाँ पाँच सय तीनको ज्यान गएको प्रदेश ट्राफिक प्रहरी कार्यालयको तथ्यांकमा उल्लेख गरिएको छ । सवारी दुर्घटनामा सबैभन्दा बढी मोटरसाइकल छन् । चालु आर्थिक वर्षको आठ महिनामा मात्रै यहाँ एक सय ८७ सवारी दुर्घटना भएकामा एक सय २१ जनाले ज्यान गुमाएका छन् । यो आवमा एक सय ४६ गम्भीर र एक सय ५७ सामान्य गरी तीन सय तीन जना घाइते भएका छन् ।
यस्तै गत आव २०७८–७९ मा पाँच सय एक सवारी दुर्घटनामा एक सय ९६ जनाले ज्यान गुमाएका छन् । आव २०७७–७८ मा पाँच सय ५८ सवारी दुर्घटनामा एक सय ८६ जनाको मृत्यु भएको छ । यी दुई वर्षमा पनि सवारी दुर्घटनामा परेर सयौँ जना अंगभंग भएका छन् ।
दुर्घटनाका मुख्य कारण ट्राफिक नियमको उल्लङ्घन नै देखिएको सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालयका प्रमुख तथा प्रहरी उपरीक्षक नेत्रमणि गिरीले बताए। उनले भने, ‘सवारी दुर्घटना हुने मुख्य कारण ट्राफिक नियमको पालना नगर्नु नै हो, सबैले सवारी चालकले ट्राफिक नियमको पालना गर्ने हो भने दुर्घटना निकै कम हुने देखिन्छ ।’
सवारीसाधनको चाप बढ्दै जानु, यात्रु र चालक दुवैको लापरवाही र सडकको अवस्थाका कारण बर्सेनि सवारी दुर्घटना बढ्दै गइरहेका छन् । मोटरसाइकल चलाउँदा हेलमेट प्रयोग नगर्नु, ग्रामीण क्षेत्रमा पनि सवारीसाधनको गति कम नहुनु, सडकमा सवारीको चाप बढ्दै जानु, सडक पुराना र साँघुरो हुनु र सवारीचालक तथा सवारीधनीले प्रहरीलाई छलेर भए पनि क्षमताभन्दा बढी भार बोक्नुलगायतले सवारी दुर्घटना बढ्दै गएको ट्राफिक प्रहरीले जनाएको छ ।
मादक पदार्थ सेवन, मोबाइल प्रयोग गरेर सवारी चलाउनु, यात्रु बोक्ने साधनमा सवारीचालक र सवारीधनीले जनावरदेखि खाद्यान्नसम्म बोकेर ग्रामीण क्षेत्रमा गाडी चलाउने र त्यसतर्फ प्रहरीको ध्यान कम जाँदा बढी दुर्घटना भइरहेको छ । यस्तै सवारीका कारण हुने दुर्घटनामा सवारीसाधनमा आउने यान्त्रिक गडबडी, ओभरलोड, ब्रेकफेल, टायर पन्चर, सवारीको बत्ती पनि कारण छन् ।
जस्तै चढ्दा र ओर्लँदा ख्याल नगर्दा, झुन्डिएर तथा छतमा यात्रा गर्दा र बाटो काट्दा होस नपु¥याएर पनि दुर्घटना भएका छन् । सडकका कारण हुने दुर्घटनामा भने खाल्डाखुल्डी, साँघुरो बाटो, बाटोमा हुने निर्माण सामग्री, उकालो–ओरालो, घुम्ती र मोड, ढल, जीर्ण सडकलगायत छन् । यस्तै हुस्सु, कुहिरो, बाढी–पहिरो र हावाहुरीका कारण पनि दुर्घटना भएको पाइएको ट्राफिक प्रहरीले जनाएको छ ।
दुर्घटना न्यूनीकरणका लागि विभिन्न प्रयास भइरहेका छन् । सवारी दुर्घटना न्यूनीकरणका लागि प्रहरीले छड्के जाँच, टाइमकार्डदेखि ‘रिफ्रेस रेन्टर’को अभ्यास भइरहेको प्रमुख गिरीको भनाइ छ । दुर्घटना न्यूनीकरणका लागि ट्राफिक प्रहरीले विद्यालयस्तरमा जनचेतनामूलक कार्यक्रम र यातायात व्यवसायी र चालकलाई समेत बेला–बेलामा सचेत गराउने कार्य गरेको छ । उनले भने , ‘नियमित जाँचसँगै जनचेतनामूलक सन्देश दिँदै आएका छौँ, प्रदेशभरि दुई सय बढी सचेतनामूलक होर्डिङ बोर्ड राखेका छौँ, चालकसँग एक मिनेट कार्यक्रम सञ्चालनमा छ ।’
प्रतिक्रिया