उखु किसानको सधैँको पीडा : उद्योगले रकम भुक्तानी नगर्दा ऋण गरेर गर्जो टार्नुपर्ने « Khabarhub

उखु किसानको सधैँको पीडा : उद्योगले रकम भुक्तानी नगर्दा ऋण गरेर गर्जो टार्नुपर्ने


२४ भदौ २०८३, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

सर्लाही– उधारोमा बिक्री गरेको नगदे बाली उखुको भुक्तानी यहाँका किसानका लागि सधैँको गलपासो बन्दै आएको छ । गत याममा उद्योगलाई उखु बेचेका किसान छ महिना भइसक्दासम्म पैसा नपाएपछि समस्यामा परेका हुन् ।

यहाँको धन्कौल गाउँपालिका–२ मा रहेको अन्नपूर्ण चिनी उद्योगले गत याममा मा उखु खरिद गरेको भुक्तानी अझै किसानलाई दिएको छैन ।
 
धन्कौल गाउँपालिका–३ निवासी कैलाश पासवानले उद्योगलाई दिएको ३०० क्विन्टल उखुको आंशिक रकममात्र पाएको बताए । उनले ५० कट्ठा खेतमा उखु लगाएका छन् । यसमध्ये आफ्नो २० कट्ठा र बाँकी ठेक्कामा लिएको हो । उखु बेचेको पैसा समयमा पाए समयमै ठेक्का बुझाउने उनलाई हतारो छ । कबोल गरेको समयमा ठेक्का रकम नतिरे साहुलाई ब्याज बुझाउनुपर्ने चिन्ता उनले व्यक्त गरे । 

‘घरको सबै खर्च खेतीबाट आएको पैसाले पुर्‍याउनु पर्छ’, उनले भने, ‘बालबच्चाको लालनपालन, शिक्षादिक्षा, चाडपर्व सबै यही उखु बेचेर आएको पैसाबाट टार्नु छ । तर, उद्योगले हरेक वर्ष झुटो आशा देखाउँदै दुःख दिने गरेको छ ।’  केही समय पहिलामात्र छोरीको विवाह गरेका कैलाशले गर्जो टार्न उद्योगले पैसा नदिएपछि साहुमहाजनसँग सयकडा तीनले ब्याजमा ऋण लिनुपरेको दुखेसो पोखे ।

उनले उद्योगबाट अझै ५६ हजार बढी रकम पाउन बाँकी छ । पाउने रकमको टुङ्गो नहुँदा आफूहरू उखुखेतीबाट निरास बनेको उनले बताए ।

उद्योगले पैसा दिनेबेला दिएको दुःख सम्झेर ४०० क्विन्टल उखु नगदमा बेचेको उनको भनाइ छ । नगदमा बिचौलियाले ३५ देखि ४० कम दाममा किनेर आफ्नो नाममा उद्योगलाई बिक्री गर्छन् । यसबाट किसानले पाउने अनुदानबापतको रकमसमेत दुरुपयोग हुँदै आएको छ । 

धन्कौल –२ का पाँचु सहनीको पनि आयआर्जनको एकमात्र उपाय खेतीपाती हो । उनी पनि ठेक्कामा लिएको खेतमा उखु रोप्ने र उद्योगलाई बेच्ने गरे। तर, सुरुमा स्थानीयलाई सुविधा पुग्छ भनेर सञ्चालनमा आएको उद्योगले बारम्बार ठगेको उनको गुनासो छ । यस उद्योगले उनको २०७४ सालमा बिक्री गरेको उखुको केही भुक्तानी अझै दिएको छैन । सोही समयमा उद्योग धरासायी बन्यो ।
 
सुरुका उद्योगपतिले उद्योग नै बेचिदिएपछि किसानले पाउनु दुःख पाएको उनी बताउछन् । ‘माग्न जाँदा २०७४ सालसम्मको भुक्तानी पुरानो मालिकले गर्ने हो भने, पछि विवरण फेला परेन भनेर दिँदै दिएन’, उनले भने । त्यसपछि आफूले रौतहट र सर्लाहीको हरिवनस्थित इन्दुशङ्कर चिनी उद्योगमा उखु बेचेको उनको भनाइ छ । यस वर्ष उद्योगले मिलगेट क्षेत्र तोकेर अन्यत्र काँटा नराख्ने सहमति गरेपछि बाहिरको उद्योग आएन ।

यसपछि आफूहरू मन नहुँदा नहुँदै बाध्य भएर अन्नपूर्णलाई उखु दिनुपरेको उनले जानकारी दिए । उनले यसपटक दिएको झन्डै ५०० क्विन्टल उखुको भुक्तानी पाउन बाँकी छ । नजिकै हरिवनमा रहेको उद्योगले उखु बिक्री गरेको १५ दिनमा भुक्तानी दिँदा आफूहरूलाई अन्नपूर्णले दुःख दिएको गुनासो गरे ।

अन्नपूर्ण चिनी उद्योगले सिजन २०८२/८३ मा तीन हजार १८६ जना किसानबाट खरिद गरेको नौ लाख ९३ हजार ७५२.६७ क्विन्टल उखु क्रसिङ गरेको थियो ।

उखु खरिदबापत हुन आउने ६१ करोड ६१ लाख २७ हजार ६५५ रुपैयाँमध्ये उद्योगले किसानलाई अझै रु २२ करोड हाराहारीमा भुक्तानी दिन बाँकी देखिएको छ । किसानको उजुरीपछि सहायक प्रमुख जिल्ला अधिकारी होमप्रसाद घिमिरेको अध्यक्षतामा गठन गरिएको छानबिन समितिले उद्योगबाट २२ करोड रुपैयाँको हाराहारीमा किसानले भुक्तानी पाउन बाँकी रहेको प्रतिवेदन सार्वजनिक भएको थियो ।

यता उद्योग प्रशासनले भने दैनिक किसानको भुक्तानी गरिरहेको दाबी गरेको छ । उद्योगका प्रशासकीय प्रमुख रमेश श्रीवास्तवले किसानको भुक्तानी बाँकी रहेको स्वीकार गरे ।

कात्तिक मसान्तसम्म सक्ने योजना रहेको उनले बताएका छन् । उद्योगले किसानको भुक्तानी दसैँ अगाडि गरिसक्नेगरी काम गरिरहेको उनको भनाइ छ । तर, बाँकीमध्ये अहिलेसम्म कति रकम किसानको खातामा दाखिला भयो भन्ने तथ्याङ्क उनीसँग छैन । रासस

प्रकाशित मिति : २४ भदौ २०८३, बुधबार  ११ : ३१ बजे

दसैँमा चितवनमा सवारी दुर्घटनामा कमी

चितवन– चितवनमा अघिल्ला वर्षको तुलनामा सवारी दुर्घटना तथा दुर्घटनामा परी

धनुषामा श्रीमान्–श्रीमती मृत फेला

जनकपुर– धनुषाको मिथिला बिहारी नगरपालिका–३ मथिलेश्वरमा श्रीमान्–श्रीमती मृतावस्थामा फेला परेका

रुपन्देहीमा नेपाल–भारतका पहलमानको कुस्ती प्रतियोगिता (तस्विरहरू)

रुपन्देही– नेपाल र भारतका पहलमानहरूको सहभागितामा रुपन्देहीको तिलोत्तमा नगरपालिका–१०, सगरहवा

महँगी र सरकारको नीतिविरुद्ध फ्रान्समा प्रदर्शन जारी, एकहजार बढी मानिस पक्राउ

काठमाडौँ– महँगी, आर्थिक असमानता र सरकारको नीतिविरुद्ध फ्रान्समा शनिबार भएको

स्याफ्रुबेँसीमा ‘बेलिब्रिज’ निर्माण तीव्र

रसुवा- स्याफ्रुबेँसीमा सवारी साधान आवतजावत गर्नसक्ने ‘बेलिब्रिज’ निर्माण तीव्र गतिमा