आज दिनभर रवि लामिछानेको उम्मेदवारी कायम, पहिचानकै पक्षमा उभिने माओवादीको निर्णय, एनआईसी बैंकले ऋणीको घरमै राख्यो सुरक्षा गार्ड, राष्ट्रियगानमा सुरुको धुन हटाउन सरकारलाई ओलीको सुझाव,सन्दीपविरुद्धको बलात्कार मुद्दाको सुनुवाइ हेर्दाहेर्दैमालगायत समाचारले प्रमुख स्थान पाए ।
यी हुन् आज दिनभरका मुख्य समाचारहरू :
रवि लामिछानेको उम्मेदवारी कायम
चितवन २ मा आसन्न उपनिर्वाचनका लागि उम्मेदवारी दिएका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको उम्मेदवारी कायम भएको छ ।
लामिछानेको उम्मेदवारी खारेज गर्नुपर्ने माग गर्दै उनीविरुद्ध चार उजुरी दर्ता भएका थियो । उनीविरुद्ध परेका दाबी विरोध खारेज भएसँगै उनको उम्मेदवारी कायम भएको हो ।
लामिछानेले नेपाली नागरिकता पुनःप्राप्तिका लागि आवश्यक प्रक्रिया पूरा गरी उम्मेदवारी दिएको भन्दै उजुरी परेको थियो ।
पहिचानकै पक्षमा उभिने माओवादीको निर्णय
नेकपा माओवादी केन्द्रले प्रदेश १ को नाम पहिचानका आधारमा हुनुपर्ने माग राख्दै जारी आन्दोलनको पक्षमा रहेको जनाएको छ ।
पार्टी कार्यालय पेरिसडाँडामा बुधबार बसेको माओवादी पदाधिकारी बैठकले कोशी नामकरणबारे जारी आन्दोलनको विषयमा धारणा तय गर्दै पहिचानकै पक्षमा उभिने निर्णय गरेको हो ।
उनले प्रदेशको नामकरण गर्ने अधिकार प्रदेशसभालाई रहेपनि माओवादी पहिचानकै आधारमा प्रदेशको नामाङ्करणको पक्षमा रहेको बताए ।
बैठकले प्रदेश नामकरणका विषयमा भएको आन्दोलनका क्रममा मृत्यु भएकालाई सहिद घोषणा गर्दै उचित राहत दिन सरकारसँग आग्रह गर्ने निर्णय गरेको प्रवक्ता महराले बताए ।
त्यस्तै बैठकले मिटरब्याज पीडितहरुको पक्षमा माओवादी रहेकोले सरकारले छानबिन गरेर वार्ताका माध्यमबाट समस्या हल गर्नुपर्ने निष्कर्ष निकालेको उनले बताए ।
त्यस्तै प्रवक्ता महराले बिहीबारसम्ममा सरकारले पूर्णता पाउने जानकारी पार्टी अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गराएको जानकारी दिए ।
अर्थमन्त्री डा. महतसँग अमेरिकी राजदूतको भेटवार्ता
अर्थमन्त्री डा. प्रकाशशरण महतसँग नेपालका लागि अमेरिकी राजदूत डिन आर थम्पसन्ले शिष्टाचार भेट गरेका छन् ।
आज मन्त्रालयमा भएको भेटमा दुई देशबीच सहयोगको दायरा अझ फराकिलो बनाउने विषयमा छलफल भएको थियो । कुन–कुन क्षेत्रमा अमेरिकाले थप अनुदान सहयोग उपलब्ध गराउन सक्छ भन्ने विषयमा मन्त्री डा महत र राजदूत थम्पसन्बीच छलफल भएको मन्त्री डा महतले बताए ।
मिलेनियम च्यालेन्जर कर्पोरेशन (एमसीसी) र अमेरिकी सहयोग नियोग (युएसएड) मार्फत अमेरिकाले नेपालमा अनुदान थप्न इच्छुक रहेको तथा नयाँ परियोजनामा लगानी गर्न अमेरिका तयार रहेको भेटपछि मन्त्री डा महतले बताए ।
अर्थमन्त्री डा महतले भने, ‘नेपालको आर्थिक विकासमा अमेरिकी सहयोग महत्वपूर्ण रहेको छ, अहिले पनि आर्थिक समृद्धिका लागि नेपालले कुन क्षेत्रमा लगानी खोजेको हो, त्यसमा अनुरोध आओस् भन्ने अमेरिकाले चाहेको छ ।’
सो भेटका क्रममा अमेरिकी सरकारको अनुदान सहयोगका लागि मन्त्री डा महतले राजदूत थम्पसन्लाई धन्यवाद दिएका थिए ।
राष्ट्रपति र प्रधानमन्त्रीको सचिवालय सदस्य संख्या घटाउन आग्रह
नेपाली कांग्रेसका महामन्त्री गगन थापाले राष्ट्रपति र प्रधानमन्त्रीलाई सचिवालय सदस्यको संख्या घटाउन आग्रह गरेका छन्।
बुधबार नेपाल वित्तीय संस्था कर्मचारी संघको राष्ट्रिय महाधिवेशन समुद्घाटन समारोहमा सम्बोधन गर्दै महामन्त्री थापाले याे संख्या घटाउन आग्रह गरेका हुन् ।
देशको आर्थिक अवस्था संकटग्रस्त रहेकाले अनावश्यक खर्चलाई कटौती गर्नका लागि राष्ट्रपति र प्रधानमन्त्रीलाई सचिवालय सदस्यको संख्या घटाउनुपर्नेमा उनकाे जोड छ ।
राष्ट्रपति र प्रधानमन्त्रीदेखि विभिन्न निकायका पदाधिकारीहरू सबैले अत्यावश्यकबाहेकको खर्चलाई कटौती गर्नुपर्ने उनले बताए।
महामन्त्री थापाले विकासको क्षेत्रमा हुने खर्च र पुँजीगत खर्चमा भने अझ सुधार गर्नुपर्ने बताए। यसो गर्न सकेमा देशको आर्थिक अवस्थामा सुधार आउने उनले बताए।
निर्वाचन आयोगद्वारा उपनिर्वाचनमा उम्मेदवारले गर्न पाउने खर्च निर्धारण
निर्वाचन आयोगले आगामी वैशाख १० गते आइतबार हुने प्रतिनिधिसभा सदस्यको उपनिर्वाचनका लागि उम्मेदवारले खर्च गर्न पाउने अधिकतम हद (सीमा) निर्धारण गरेको छ ।
आयोगको आज बसेको बैठकले उपनिर्वाचनका लागि गत असोज ३१ को नेपाल राजपत्रमा तोकिए बमोजिम नै हुने गरी चितवन जिल्ला निर्वाचन क्षेत्र नं २ तथा बारा जिल्ला निर्वाचन क्षेत्र नं २ का लागि २९ लाख र तनहुँ जिल्ला निर्वाचन क्षेत्र नं १ का लागि रु ३१ लाख खर्च गर्न पाउने गरी सीमा निर्धारण गरेको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जारी गरेकाे विज्ञप्तिमा उल्लेख छ ।
आयोगले तोकेको खर्चको हदभित्र रही निर्वाचनमा खर्च गर्न र प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ७२ को उपदफा (४) बमोजिम निर्वाचन खर्चको विवरण उम्मेदवार वा उम्मेदवारका प्रतिनिधिमार्फत निर्वाचन परिणाम घोषणा भएको मितिले पैँतीस दिनभित्र सम्बन्धित जिल्ला निर्वाचन कार्यालयमा पेस गर्नसमेत आयोगले भनेको छ ।
सहकारीलाई पूँजीवादीकरण हुनबाट रोक्नुपर्नेमा प्रधानमन्त्रीको जोड
प्रधानमन्त्री एवम् नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सहकारी आन्दोलनलाई पूँजीवादीकरण हुनबाट रोक्नुपर्ने बताएका छन्। पार्टी सम्वद्ध भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण विभागले आज यहाँ आयोजना गरेको सहकारीकर्मीको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले सहकारी आन्दोलनलाई समाजवादको आधार खडा गर्ने साधनको रुपमा विकसित गर्नुपर्ने बताए ।
संविधानमा तीन खम्बे अर्थनीतिको व्यवस्था गरिएको उल्लेख गर्दै उनले सार्वजनिक निजी, साझेदारी र सहकारीलाईसँगसँगै अगाडि बढाउनुपर्नेमा जोड दिए। निकै ठूलो सङ्घर्ष र बलिदानको जगबाट प्राप्त भएको सो उपलब्धिलाई जोगाउँदै अगाडि बढ्नुपर्ने प्रधानमन्त्रीको भनाइ छ । प्रधानमन्त्री दाहालले भने, ‘संविधानले परिलक्षित गरेअनुसार समाजवादको आधार तयार पार्नसमेत सहकारी क्षेत्रको निकै ठूलो भूमिका रहन्छ । संविधानमा जे-जति मौलिक हकको व्यवस्था गरिएको छ, त्योसमेत समाजवादको आधार निर्माणसँग सम्बन्धित छ ।’
‘संविधान र संघीयताको कार्यान्वयनमा हाम्रा बहस छन् । कतिपय शक्ति परिवर्तनका मुद्दा उल्टाउने, समाजवादको आधार निर्माणमा अवरोध सिर्जना गर्ने काम गरिरहेका छन’, प्रधानमन्त्री दाहालले भने ,’सहकारी आन्दोलनलाई पूँजीवादीकरण गर्ने सोंच पनि समाजवादको आधार निर्माणमा अवरोध सिर्जना गर्ने विचार र मनोविज्ञानद्वारा निर्देशित छ ।’
सहकारी आन्दोलनलाई उत्पादनसँग नजोडी समाजवादको आधार निर्माण हुननसक्ने भएकाले कृषिमा आधारित उत्पादन सहकारीको निर्माण, परिचालन, बजारीकरण आवश्यक रहेको प्रधानमन्त्री दाहालको भनाइ छ । ‘नेपालको सन्दर्भमा आत्मनिर्भर अर्थतन्त्रको प्रमुख आधार कृषि क्षेत्र नै हो । यसलाई ठीक ढङ्गले बुझेर राज्यले लगानी केन्द्रित गर्न आवश्यक छ । उद्योगको हकमा पनि कृषिमा आधारितबाहेक अरु उद्योग दीर्घकालीन समाधान होइन । कृषिको सहकारीकरणमार्फत् मात्र आयात प्रतिस्थापन र आत्मनिर्भर अर्थतन्त्र सुदृढ गर्न सकिन्छ’ प्रधानमन्त्रीले भने ।
सम्बोधनका क्रममा प्रधानमन्त्री दाहालले नयाँ सरकारले पूर्णता प्राप्त गरिसकेकाले अब सरकारको सम्पूर्ण ध्यान नयाँ आर्थिक वर्षको नीति, कार्यक्रम र बजेट निर्माणमा केन्द्रित हुने बताए। प्रधानमन्त्रीले भने, ‘कठिन परिस्थितिमा सरकारको नेतृत्व गरिरहेको छु । चुनौती नै चुनौतीकाबीचसमेत देशका लागि केही गर्न सकिन्छ भन्ने दृढतासहित सरकारको नेतृत्व गरिरहेको छु । यसलाई मैले चुनौतीपूर्ण अवसर भनेको छु ।’
कार्यव्यवस्थामा दलीय प्रतिनिधित्वको संख्या टुंगियो
प्रतिनिधिसभाको कार्यव्यवस्था परामर्श समिति बैठकमा दलीय प्रतिनिधित्वको संख्या टुंगिएको छ ।
बुधबार बसेको सभामुख देवराज घिमिरे, उपसभामुख इन्दिरा रानासहित प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने दलहरूको बैठकले कार्यव्यवस्था परामर्श समिति बैठकमा सहभागी हुने दलीय प्रतिनिधित्वको संख्या टुंग्याएको सभामुखका प्रेस सल्लाहकार शेखर अधिकारीले जानकारी दिए ।
बैठकले कार्यव्यवस्थामा सभामुख, उपसभामुख, कानुनमन्त्रीसहित २१ जना सहभागी हुने गरी संख्या टुंग्याएको हो ।
जसअनुसार कांग्रेसबाट ६, एमालेबाट ५, माओवादी केन्द्रबाट २, राष्ट्रिय स्वतन्त्र पार्टी, राप्रपा, जसपा, एकीकृत समाजवादी, जनमत, लोसपा, नागरिक उन्मुक्ति र एक सिट भएका र स्वतन्त्रसमेत गरी एक एक जना कार्यव्यवस्था परामर्श समिति बैठकमा सहभागी हुनेछन् ।
अख्तियारद्वारा विशेष अदालतमा आरोपपत्र दायर
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सिम्रौनगढ नगरपालिकाका तत्कालीन प्रशासकीय अधिकृत विश्वराज मरासेनी, लेखा अधिकृत सर्मेन्द्रप्रसाद चौधरी र जिन्सी शाखा प्रमुख सुरेशप्रसाद यादवविरुद्ध विशेष अदालत, काठमाडौँमा आरोपपत्र दायर गरेको छ ।
आयोगका प्रवक्ता भोला दाहालका अनुसार टिप्पणी पेस तथा सफ्टवेयर खरिद कार्यको स्वीकृत गरी एक लाख ९९ हजार आठ सय ९७ भुक्तानी गरेको तर सफ्टवेयर खरिद नै नगरी सरकारी सम्पत्ति बदनियतपूर्वक हानिनोक्सानी गरेको पाइएकाले आरोपपत्र दायर गरिएको हो ।
राष्ट्रियगानमा सुरुको धुन हटाउन सरकारलाई ओलीको सुझाव
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रियगानमा रहेको सुरुको धुन हटाउनुपर्ने बताएका छन् ।
अखिल नेपाल पिछडा वर्ग (ओबिसी) महासङ्घको प्रथम महाधिवेशनको आज वीरगञ्जमा उद्घाटन कार्यक्रममा उनले राष्ट्रिय गानअघि सुरुमा बज्दै आएको धुनलाई हटाएर शब्दको धुन राख्नुपर्ने बताए ।
“राष्ट्रिय गानको सुरु पनि शब्दको धुनबाट हुनुपर्छ र अन्त्य शब्दकै धुनबाट हुनपर्छ” पूर्वप्रधानमन्त्री ओलीले भने, “तर अहिलेको हाम्रो राष्ट्रियगानमा शब्द सुरु हुनुअघि धुन राखिएको छ, त्यो ठीक छैन, त्यसलाई सच्याएर शब्दको धुनबाट सुरु गर्नुपर्छ, त्यो सच्याउन सरकारसँग आग्रह गर्दछु ।”
सामाजिक कुरीति र विकृति हटाउन सामाजिक अभियान चलाउनुपर्नेमा जोड दिँदै उनले सामाजिक न्यायका लागि ओबिसी महासङ्घको अगुवाइमा हुने सामाजिक अभियानमा आफ्नो पार्टीको भरपुर सहयोग रहने बताए ।
गरिबी अन्त्य गरी समृद्ध बनाउने आफ्नो पार्टीको लक्ष्य रहेको उनको भनाइ थियो । वीरगञ्जस्थित टाउन हलमा सुरु भएको ओबिसी महासङ्घको महाधिवेशन भोलिसम्म चल्ने आयोजकले जनाएको छ ।
विश्व बैंकद्वारा ‘नेपाल डेभलपमेन्ट अपडेट’ सार्वजनिक
विश्व बैंकले ‘नेपाल डेभपलमेन्ट अपडेट’ सार्वजनिक गरेको छ । अर्थसचिव तोयम राया र नेपाल, श्रीलङ्का तथा माल्दिभ्सका लागि विश्व बैंकका देशीय निर्देशक फारिस हदाद जार्वोसले उक्त प्रतिवेदन सार्वजनिक गरेका हुन् ।
आज सार्वजनिक भएको ‘नेपाल डेभपलमेन्ट अपडेट (अप्रिल २०२३) : फाइन– ट्युनिङ पोलिसी इन अ टर्बुलेन्ट इन्भायरन्मेन्ट’ प्रतिवेदनले सन् २०२३ मा नेपालको आर्थिक वृद्धिदर चार दशमलव एक प्रतिशत रहने प्रक्षेपण गरेको छ । यो प्रक्षेपण विश्व बैंकले गत अक्टोबर २०२२ मा गरेको प्रक्षेपणभन्दा कम हो ।
सन् २०२४ मा भने पर्यटन नेपालको आर्थिक वृद्धिदरमा केही वृद्धि भएर चार दशमलव नौ प्रतिशत कायम हुने प्रक्षेपण गरिएको छ । पर्यटन क्षेत्रको पुनरारम्भ, विप्रेषण आप्रवाहमा वृद्धि र मौद्रिक नीतिमा क्रमशः गरिने सहजताका कारण सन् २०२४ मा आर्थिक वृद्धिदर केही बढ्ने विश्व बैंकको प्रतिवेदनमा उल्लेख छ । सन् २०२३ मा दक्षिण एसियामा मुद्रास्फीति आठ दशमलव नौ प्रतिशत पुग्ने र सन् २०२४ मा सात प्रतिशत रहने अनुमान गरिएको छ ।
प्रतिवेदन सार्वजनिक गर्दै अर्थसचिव रायाले आर्थिक वर्षको पहिलो महिनादेखि सुस्त रहेको राजस्व संकलन सुधारोन्मुख रहेको बताए । ‘राजस्व संकलन विस्तारै सुधार हुने आशा गरेका छौँ । यो वर्ष पर्यटन, कृषि, रेमिट्यान्स तथा जलविद्युत् क्षेत्रमा राम्रो सुधार भइरहेकाले अर्थतन्त्रलाई त्यसले सकारात्मक बनाउने छ’, उनले भने, ‘यद्यपि, हामीलाई अझै पनि आन्तरिकरूपमा वित्तीय दबाब छ । मुलुकले यो चुनौती सामना गर्न सक्छ भन्ने कुरामा म विश्वास गर्छु ।’
दक्षिण एसियाका सबै मुलुकमा विगत १८ महिनादेखि औद्योगिक उत्पादनमा सुस्तता आएको नेपाल, श्रीलंका तथा माल्दिभ्सका लागि विश्व बैंकका देशीय निर्देशक फारिस हदाद जार्वोसले बताए । बाह्य क्षेत्रको समस्या व्यवस्थापन गर्न श्रीलंका, बङ्गलादेश तथा पाकिस्तानले अन्तर्राष्ट्रिय मुद्रा कोषको (आइएमएफ) को सहयोग लिएकोमा नेपालमा पनि आइएमएफको कार्यक्रमका लागि छलफल भइरहेको बताए।
त्रिभुवन विश्वविद्यालय अर्थशास्त्र विभागका प्रमुख प्रा डा शिवराज अधिकारीले नेपालले मूल्यवृद्धि, कमजोर पूँजीगत खर्च तथा अन्य प्रणालीगत चुनौती सामना गर्न नीतिगत बदलाव आवश्यक रहेको बताए। अहिलेको आर्थिक अवस्थालाई नेपालले दीर्घकालीन हितका लागि आफ्ना नीतिहरूलाई आमूल परिवर्तन गर्ने काममा लगाउनुपर्ने इक्रा नेपालकी बिजनेस हेड वर्षा श्रेष्ठले बताए।
सन्दीपविरुद्धको बलात्कार मुद्दाको सुनुवाइ हेर्दाहेर्दैमा
नाबालिग माथि बलात्कार अभियोग लागेका नेपाली क्रिकेटका पुर्व कप्तान सन्दीप लामिछानेको मुद्दा हेर्दाहेर्दैमा राखिएको छ।
न्यायाधीश केशवप्रसाद घिमिरेको इजलासमा तोकिएको मुद्दा पेशीमा पछाडिको क्रममा रहेकाले सुनुवाइका हुन नसकेको हो ।
क्रिकेटर लामिछानेका कानून व्यवसायीले केहीबेर सुनुवाइ गरेर हेर्दाहेर्दैमा राखेर निरन्तरता दिन आग्रह गरेका थिए ।
समयमा किस्ता नतिरेपछि एनआईसी बैंकले ऋणीको घरमै राख्यो सुरक्षा गार्ड
समयमा व्याज नबुझाएको भन्दै एनआईसी एशिया बैंकले ऋणीको घरमा सुरक्षा गार्ड राख्न थालेको छ । धितो लिलामीको प्रक्रियामा गएका ऋणीको घरमा एनआईसी एशिया बैंकले सुरक्षा गार्ड राख्न थालेको हो ।
दमक नगरपालिका वडा नम्बर- ५ का दुर्गा प्रसाद कँडेलले समयमा किस्ता नतिरेको भन्दै एनएआईसी एसिया बैंकले घरमा नै सुरक्षा गार्ड खटाएको छ । बैंकले ३ दिन सुरक्षा गार्ड खटाएको हो। बिहान ९ बजेदेखि बेलुकी ५ बजेसम्म गार्ड तैनाथ गरिएको थियो ।
भारतबाट घर फर्किनेहरू कोरोनाको उच्च जोखिममा
पछिल्लो समय नेपालमा कोरोना संक्रमण बढ्दै गएको छ। पछिल्लो दुई सातायता नेपालमा कोरोना संक्रमितको संख्या नियमित बढिरहेको हो।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको पछिल्लो तथ्यांकअनुसार सोमबारसम्ममा देशभर सक्रिय संक्रमितको संख्या २२७ पुगेको छ। नेपालमा अहिले संक्रमितको संख्या बढ्नुमा ओमिक्रोनको नयाँ सब भेरियन्ट एक्सबीबी.१.१६ मुख्य कारक देखिएको छ।
भारतमा गत जनवरीको दोस्रो साता एक्सबीबी.१.१६ नामक नयाँ सब भेरियन्ट देखिन सुरु भएको थियो। यो ओमिक्रोनको सब भेरियन्ट रहेको विज्ञहरूले बताउँदै आएका छन्। भारतको गुजरात, तेलंगाना, महाराष्ट्र, कर्नाटक लगायतका राज्यमा फैलिएको यो भाइरस नेपालमा भारतबाट नेपाल भित्रिने नाकामा देखिएका संक्रमितहरूमा बढी देखिएको छ।
कुखुराको मासु किलोको २ सयमा किनेर ४ सयमा बेच्छन् व्यापारी
पोल्ट्री व्यवसायीले कुखुरा मासुको मूल्य घटाएपछि किसान मर्कामा परेका छन्। मंगलबारदेखि लागू हुने गरी जिउँदो बोइलर कुखुराको कोल्ड स्टोर मूल्य किलोमा १० रुपैयाँले घटाइएको नेपाल राष्ट्रिय कुखुरा बिक्री व्यवसायी संघले जनाएको छ।
अब जिउँदो ब्रोइलर कुखुराको मूल्य २८० रुपैयाँ प्रतिकिलो कायम भएको छ। यसरी मूल्य घटाउँदा आफूहरूलाई नसोथिएको कुखुरा किसानको गुनासो छ।
जिउँदो बोइलर कुखुराको मूल्य घटेसँगै तयारी मासुको मूल्य पनि घटेको छ। ४०० रुपैयाँ केजी रहेको तयारी मासुको मूल्य ३९० रुपैयाँ पुगेको संघका अध्यक्ष जङ्गबहादुर बेल्बासेले बताए।
पोल्ट्री व्यवसायीले किसानको खोरबाट प्रतिकेजी २८० रुपैयाँमा खरिद गरी ३९० मा बेच्ने गरेका छन्। नेपाल कुखुरा किसान सङ्घका अध्यक्ष झनक पौडेलले पोल्ट्री व्यवसायीले घटाएको मूल्य आफूहरूलाई स्वीकार नहुने चेतावनी दिएका छन्।
पोल्ट्री व्यवसायीले आफूहरूसँग २००–२५० रुपैयाँ प्रतिकेजी खरिद गरेर लैजान्छन् र त्यसलाई तयारी गरेर ४०० देखि ४५० रुपैयाँ प्रतिकेजीमा बिक्री वितरण गर्ने गरेको अध्यक्ष पौडेलले दाबी गरे।
प्रतिक्रिया