आज दिनभर कर्णाली सरकारबाट बाहिरियो एमाले, आर्थिक लेनदेनको ‘फोन टेप’ बाहिरिएपछि रास्वपा सांसद ढाकाकुमार श्रेष्ठ निलम्बित, नागरिकता विधेयक प्रमाणीकरण गरिदिन राष्ट्रपतिलाई बालकृष्ण खाँणको आग्रह, कोरोना सङ्क्रमण बढेसँगै खोप लगाउन मन्त्रालयको आग्रह, सन्दीपको मुद्दामा स्वास्थ्य परीक्षण गर्ने चिकित्सक झिकाउन अदालतको आदेशलगायत समाचारले प्रमुख स्थान पाए ।
कर्णाली सरकारबाट बाहिरियो एमाले
कर्णाली प्रदेश सरकारबाट नेकपा एमाले बाहिरिएको छ । नेकपा माओवादी र एमालेबीचको सहमति अनुसार गठन भएको सरकारबाट आज नेकपा एमाले बाहिरिएपछि अब नेपाली कांग्रेस सरकारमा सहभागि हुने निश्चित भएको हो ।
मुख्यमन्त्री राजकुमार शर्मासामू नेकपा एमालेका तर्फबाट आर्थिक मामिला तथा योजना मन्त्री विनोद कुमार शाह, उद्योग, पर्यटनवन तथा वातावरण मन्त्री जीतबहादुर मल्ल र सामाजिक विकास मन्त्री टेकराज पछाइले राजीनामा दिएका छन् ।
आर्थिक लेनदेनको ‘फोन टेप’ बाहिरिएपछि रास्वपा सांसद ढाकाकुमार श्रेष्ठ निलम्बित
मेडिकल व्यवसायी दुर्गा प्रसाईँसँग दुई करोड रुपैयाँ घुस मागेको अडियो बाहिरिएपछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट सांसद ढाकाकुमार श्रेष्ठ निलम्बित भएका छन्।
अडियो बाहिरिएपछि रास्वपाले सांसद श्रेष्ठलाई निलम्बन गरेको छ। श्रेष्ठलाई कारबाही गरिएको रास्वपाका सहमहामन्त्री कबिन्द्र बुर्लाकोटीले जानकारी दिएका छन् ।
सांसद श्रेष्ठले मेडिकल व्यवसायी प्रसाईँसँग दुई करोड रुपैयाँ मागेको अडियो सार्वजनिक भएको हो। मन्त्री बन्ने भए साढे २ करोड बुझाउन पार्टी सभापति रवि लामिछानेले भनेको भन्दै सांसद श्रेष्ठले मेडिकल व्यवसायी दुर्गा प्रसाईँसँगको कुराकानीमा सुन्न सकिन्छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल नेतृत्वको सरकारमा स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री आफ्नो पार्टीको भाग परेको श्रेष्ठले प्रसाईँलाई सुनाएका छन् । उनले प्रसाईँसँग दुई करोड रुपैयाँ व्यवस्थापन गरिदिन आग्रह गरेका छन् । उनले तत्काल एक करोड भएपनि मन्त्री बनाउन सभापति लामिछाने तयार रहेको प्रसाईँलाई सुनाएका छन् ।
नागरिकता विधेयक प्रमाणीकरण गरिदिन राष्ट्रपतिलाई बालकृष्ण खाँणको आग्रह
नेपाली कांग्रेसका नेता बालकृष्ण खाँणले नागरिकता विधेयक प्रमाणीकरण गरिदिन राष्ट्रपति रामचन्द्र पौडेललाई सार्वजनिक रुपमा आग्रह गरेका छन् ।
जनकपुरमा आइतबार नेपाल प्रेस युनियन धनुषाले गरेको पत्रकार सम्मेलनमा उनले नागरिकता विधेयक प्रमाणीकरण गरिदिन राष्ट्रपति पौडेललाई सार्वजनिक रुपमा आग्रह गरेका हुन् ।
संघीय संसद्का दुवै राष्ट्रिय सभा र प्रतिनिधिसभाले पारित गरेर पठाएको नागरिकता विधेयक तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीले प्रमाणीकरण नगरी रोकेर राखेकी थिइन् ।
तर, अहिले नयाँ राष्ट्रपतिको रुपमा रामचन्द्र पौडेल छन् । उनी कांग्रेसबाट राष्ट्रपति बनेका हुन् । नागरिकता विधेयक प्रमाणीकरण गर्नुपर्ने पक्षमा कांग्रेस रहँदै आएका बेला पूर्वगृहमन्त्री समेत रहेका खाँणले नागरिकता विधेयक प्रमाणीकरण गरिदिन राष्ट्रपतिसँग आग्रह गरेका हुन् ।
वैशाख १० मा हुने उपनिर्वाचनको तयारी तीव्र
आगामी वैशाख १० मा हुने प्रतिनिधिसभा सदस्यको उपनिर्वाचनका लागि उम्मेदवारको नामावली प्रकाशनसँगै निर्वाचन आयोग, राजनीतिक दल र उम्मेदवारहरू आफ्ना तयारीमा तीव्रताका साथ जुटेका छन् ।
मधेस प्रदेशको बारा क्षेत्र नं २, गण्डकी प्रदेशको तनहुँ क्षेत्र नं १ र बागमती प्रदेशको चितवन क्षेत्र नं २ मा हुने उपनिर्वाचनका लागि कूल ६९ जनाको उम्मेदवारी दर्ता भएको छ । जसमध्ये बारा क्षेत्र नं २ मा सबैभन्दा धेरै ३६ जनाको उम्मेदवारी परेको छ । साथै तनहुँ क्षेत्र नं १ मा नौ र चितवन क्षेत्र नं.२ मा २४ जना उम्मेदवारी परेको छ ।
बारा क्षेत्र नं २ मा गत मङ्सिर ४ गतेको प्रतिनिधिसभा सदस्य निर्वाचनमा जनता समाजवादी पार्टीबाट निर्वाचित रामसहायप्रसाद यादव उपराष्ट्रपतिमा निर्वाचित भएपछि सो क्षेत्रमा उपनिर्वाचन हुँदैछ । सो क्षेत्रमा त्यसबेला खसेकोमध्ये ६३ हजार सात सय ४२ सदर मतमा साहले १३ हजार आठ सय २२ मत प्राप्त गरी विजय हासिल गरेका थिए । उनका प्रतिस्पर्धी नेकपा (माओवादी केन्द्र) का शिवचन्द्रप्रसाद कुशवाहाले १३ हजार चार सय ३८ र स्वतन्त्र उम्मेदवार रामकिशोरप्रसाद यादवले ११ हजार ४३ मत प्राप्त गरेका थिए । समानुपातिकतर्फ जसपाले १३ हजार दुई सय ४२, नेपाली कांग्रेसले ११ हजार एक सय ७९ र नेकपा (एमाले)ले नौ हजार एक सय ९३ मत प्राप्त गरेका थिए ।
यस क्षेत्रमा उपनिर्वाचनका लागि सत्ता गठबन्धनका तर्फबाट जसपाका अध्यक्ष उपेन्द्र यादव, एमालेबाट पुरुषोत्तम पौडेल र सत्ता गठबन्धनमै रहेको जनमत पार्टीबाट शिवचन्द्रप्रसाद कुशवाहा उम्मेदवार हुन् । कुशवाह हालै माओवादी केन्द्रबाट जनमत पार्टीमा प्रवेश गरेका हुन् ।
मङ्सिर ४ गतेको निर्वाचनमा चितवन–२ बाट निर्वाचित राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने नागरिकतासम्बन्धी मुद्दामा सर्वोच्च अदालतको आदेशबाट पदविहीन भएपछि सो क्षेत्रमा उपनिर्वाचन हुन लागेको हो । उक्त निर्वाचनमा खसेकोमध्ये ८० हजार सात सय ५३ मत सदर भएकामा सभापति लामिछानेले ४९ हजार तीन सय मत प्राप्त गरी विजयी भएका थिए । उनका प्रतिस्पर्धी नेपाली कांग्रेसका उमेश श्रेष्ठले १४ हजार नौ सय ८८ र नेकपा (एमाले) का कृष्णभक्त श्रेष्ठले १४ हजार छ सय ५२ मत प्राप्त गरेका थिए ।
यस क्षेत्रबाट समानुपातिकमा रास्वपाले ३५ हजार नौ सय ४५, एमालेले १६ हजार सात सय ८४ र नेपाली कांग्रेसले १२ हजार एक सय ३२ मत प्राप्त गरेका थिए । यस क्षेत्रमा उपनिर्वाचनका लागि चार सय ७० थप भई एक लाख २४ हजार छ सय ९५ मतदाता कायम भएका छन् । उपनिर्वाचनका लागि रास्वपाबाट पुनः लामिछाने, कांग्रेसका जीतनारायण श्रेष्ठ र एमालेका रामप्रसाद न्यौपाने लगायतको उम्मेदवारी परेको छ ।
तनहुँ क्षेत्र नं १ मा मङ्सिर ४ गतेको निर्वाचनमा विजयी रामचन्द्र पौडेल राष्ट्रपति भएपछि यहाँ उपनिर्वाचन हुन लागेको हो । उक्त निर्वाचनमा खसकेकोमध्ये ६२ हजार छ सय ९५ सदर मतमध्ये पौडेलले २५ हजार तीन सय ६१ मत प्राप्त गरेका थिए । उनका प्रतिस्पर्धी नेकपा (एमाले) का एकबहादुर राना मगरले १९ हजार नौ सय ८१ र स्वतन्त्र उम्मेदवार गोविन्दराज जोशीले छ हजार आठ सय ८६ मत प्राप्त गरेका थिए । समानुपातिकतर्फ कांग्रेसले २० हजार एक सय ५८, एमालेले १६ हजार छ सय ८३ र रास्वपाले १२ हजार सात सय ७३ मत प्राप्त गरेका थिए ।
तनहुँ १ मा उपनिर्वाचनका लागि सत्ता गठबन्धनबाट नेपाली कांग्रेसका गोविन्द भट्टराई, एमालेबाट सर्वेन्द्र खनाल र राष्ट्रिय स्वतन्त्र पार्टीबाट डा स्वर्णिम वाग्लेलगायत उम्मेदवार छन् । यस निर्वाचन क्षेत्रमा मङ्सिर ४ गते यता एक सय ८५ मतदाता घटेर एक लाख २३ हजार तीन सय पाँच कायम भएका छन् ।
निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलका अनुसार स्वीकृत मतदाता नामावली बमोजिम २०७९ वैशाख ९ गतेसम्म १८ वर्ष उमेर पुग्ने व्यक्तिमध्ये ८८ लाख हजार ५२ हजार ४६ महिला, ९१ लाख ४९ हजार तीन सय ३५ पुरुष र एक सय ८५ अन्य गरी एक करोड ८० लाख एक हजार पाँच सय ६६ मतदाता कायम छन् । गत मङ्सिर ४ गते सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनयता १२ हजार नौ सय ९६ मतदाता सङ्ख्या वृद्धि भएको छ । उपनिर्वाचन हुने तीन जिल्लाका लागि एक सय ९४ मतदानस्थल र चार सय २७ मतदान केन्द्र कायम भएको छ ।
सो अनुसार गत मङ्सिर ४ गते सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनमा रहेका मतदान केन्द्र र मतदान स्थलमध्ये बारा क्षेत्र नं २ मा एक मतदान केन्द्र थप भएको छ ।
आयोगले उपनिर्वाचनका लागि यही चैत २४ गतेदेखि निर्वाचन आचारसंहिता, २०७९ जारी गरिसकेको छ भने उम्मेदवारले निर्वाचनमा खर्च गर्न पाउने हद निर्धारण गरिसकेको छ ।
कोरोना सङ्क्रमण बढेसँगै खोप लगाउन मन्त्रालयको आग्रह
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोरोना भाइरसको सङ्क्रमण बढिरहेकाले कोरोना भाइरसविरुद्धको खोप लगाउन सबैमा आग्रह गरेको छ । मन्त्रालयले दैनिक रुपमा सङ्क्रमण बढिरहेकाले खोप लगाउन आग्रह गरेको हो ।
मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीले सङ्क्रमण बढिरहेकाले पहिलो मात्रा, दोस्रो मात्रा र बुस्टर डोज लगाउन आग्रह गरेका छन् । शून्यमा झरेको कोरोना भाइरसको सङ्क्रमण अहिले दैनिक बढिरहेको छ । हिजो मात्र ६४ जनामा नयाँ सङ्क्रमित फेला परेका थिए भने हाल कुल सक्रिय सङ्क्रमितको सङ्ख्या ३५६ जना पुगेका छन् ।
काठमाडौँ उपत्यकामा मात्र हिजोसम्ममा १५ जना आइसोलेशन, आठ जना सघन उपचार कक्ष (आइसियु) र पाँच जना भेन्टिलेटरमा उपचार गराइरहेका छन् । अहिले काठमाडौँसहित उपत्यकाका ठूला अस्पतालमा कोरोना भाइरस विरुद्धको बुस्टर डोज लगाइँदै छ ।
स्वास्थ्य कार्यालय काठमाडौँका सूचना अधिकारी अञ्जना खड्काका अनुसार वीर अस्पताल, त्रिवि शिक्षण अस्पताल, शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, निजामती कर्मचारी अस्पताल, सशस्त्र प्रहरी बल अस्पताल, नेपाल प्रहरी अस्पतालबाट बुस्टर डोज खोप प्रदान गर्दै आइरहेको छ । यस्तै काठमाडौँका स्थानीय तहले पनि आवश्यकता अनुसार विभिन्न ठाउँमा खोप प्रदान गरिरहेका छन् ।
केही दिनअघि गरिएको अनुवांशिक अध्ययनमा नेपालमा पहिलो पटक कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोन एक्सविवि। १.१६ देखा परेको छ । मन्त्रालयले सङ्क्रमणको लक्षण देखिने बित्तिकै परीक्षण गराउन र आइसोलेशनमा बस्न अनुरोध समेत गरेको छ ।
महानगरद्वारा सिंहदरबारको फोहोर उठाउन बन्द
काठमाडौं महानगरपालिकाले सिंहदरबारको फोहोर उठाउन बन्द गरेको छ ।
महानगरपालिकाको काममा सिंहदरबारबाट असहयोग भएको भन्दै मेयर बालेन्द्र साह(बालेन)ले शुक्रबार फोहोर नउठाउने सामाजिक सञ्जाल मार्फत घोषणा गरेका थिए । त्यही घोषणाकाे आधारमा सिंहदरबारको फोहोर महानगरले नउठाएको हो ।
फोहोर मैला व्यवस्थापन संघका महासचिव मित्रप्रसाद घिमिरेले काठमाडौंका मेयर बालेनले फोन गरेर सिंहदरबारको फोहोर नउठाउन निर्देशन दिएपछि फोहोर नउठाएको बताए ।
सन्दीपको मुद्दामा स्वास्थ्य परीक्षण गर्ने चिकित्सक झिकाउन अदालतको आदेश
क्रिकेटर सन्दीप लामिछानेविरुद्ध परेको जबरजस्ती करणी मुद्दामा काठमाडौं जिल्ला अदालतले जाहेरीकर्ताको स्वास्थ्य परीक्षण गर्न चिकित्सकलाई झिकाउन आदेश दिएको छ ।
आइतबार न्यायाधीश शंकरराज बरालको इजलासले जाहेरीकर्ताको स्वास्थ्य परीक्षण गर्ने चिकित्सक नै झिकाउनु भन्ने आदेश दिएका हुन् । आइतबार वादीतर्फका कानुन व्यवसायीहरूले मेडिकल टिमका मुख्य डाक्टरको बकपत्र चाहिने माग गरेपछि अदालतले स्वास्थ्य परीक्षण गर्न चिकित्सकलाई बकपत्रका लागि झिकाउन आदेश दिएको हो ।
साथै आइतबारको इजलासले क्रिकेटरद्वय साहब आलम र अनिश श्रेष्ठको पनि बकपत्र गराउन आदेश दिएको छ । यसअघि मुख्य चिकित्सकको स्थानमा सहयोगी चिकित्सकको बकपत्र राखिएको भन्दै वादीतर्फका कानुन व्यवसायीले त्यसलाई अस्वीकार गर्दै मुख्य चिकित्सकलाई नै झिकाउन माग गरेका हुन् ।
एक नाबालिकलाई जबरजस्ती करणी गरेको आरोपमा उनीविरुद्ध मुद्दा चलेको हो । यसअघि काठमाडौं जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा पठाउने आदेशलाई पाटन उच्च अदालतले सर्तसहित २० लाख धरौटीमा थुनामुक्त गर्न आदेश दिएको थियो ।
उक्त आदेशपछि सन्दीप थुनामुक्त भएका छन् । उनी थुना बाहिर रहेर कानुनी संघर्ष गरिरहेका छन् ।
नयाँ ब्रोकर लाइसेन्स विरुद्धको रिट सर्वोच्चद्वारा खारेज
धितोपत्र कारोबारका लागि नयाँ दलाल व्यवसायी (ब्रोकर) लाइसेन्स जारी गर्न नेपाल धितोपत्र बोर्डलाई बाटो खुलेको छ । नयाँ ब्रोकर लाइसेन्स जारी गर्ने बोर्डको निर्णय विरुद्धको मुद्दा सर्वोच्च अदालतले खारेज गरेको हो । अधिवक्ता दीपकविक्रम मिश्रले दायर गरेको मुद्दामा न्यायाधीशद्वय अनिलकुमार सिन्हा र सुष्मालता माथेमाको संयुक्त इजलासले आज उक्त मुद्दाको रिट खारेजको फैसला गरेको छ ।
धितोपत्र बोर्डले गत असोज २ गते धितोपत्र दलाल र धितोपत्र व्यापारीको अनुमतिपत्रका लागि निवेदन मागेको थियो । बोर्डको उक्त निर्णयविरुद्ध प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, अर्थ मन्त्रालय, नेपाल धितोपत्र बोर्ड र नेपाल स्टक एक्सचेन्ज समेतलाई विपक्षी बनाई अधिवक्ता मिश्रले गत असोज ३१ गते सर्वोच्च अदालतमा मुद्दा दर्ता गरेका थिए ।
उक्त रिट निवेदनमाथि सर्वोच्च अदालतले गत कात्तिक ४ गते अल्पकालीन अन्तरिम आदेश जारी गर्दै धितोपत्र बोर्डले नयाँ लाइसेन्स जारी गर्ने प्रक्रिया रोक्न भनेको थियो ।
धितोपत्र बजारको विकास तथा विस्तारका लागि भन्दै बोर्डले नयाँ ब्रोकर लाइसेन्स खुलाउने प्रक्रिया अघि बढाएको थियो । धितोपत्र कारोबारको सेवा तथा गुणस्तर स्वच्छ, निष्पक्ष, पारदर्शी र प्रतिस्पर्धी बनाई सर्वसाधारण लगानीकर्ताको पहुँच अभिवृद्धि गर्न धितोपत्र दलाल तथा धितोपत्र व्यापारी थप गर्न लागिएको बोर्डले बताउँदै आएको छ ।
चालु आर्थिक वर्ष २०७९-८० को धितोपत्र बजार तथा वस्तु विनिमय बजारसम्बन्धी नीति तथा कार्यक्रममा पनि ‘धितोपत्र बजारलाई देशव्यापी बनाउन वित्तीय रूपले सबल नयाँ धितोपत्र दलाल व्यवसायीको सङ्ख्या थप गरिनेछ’, उल्लेख छ ।
सुदूरपश्चिममा एकै दिन २२ जनामा कोरोना संक्रमण
सुदूरपश्चिम प्रदेशमा आइतबार एकै दिन २२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
सात सय ६२ जनामा एन्टिजेन विधिबाट कोरोना भाइरसको नमुना परीक्षण गरिएकोमा १८ जना र ४० जनाको पीसीआर विधिबाट गरिएको परीक्षणमा चार जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
स्वास्थ्य निर्देशनालय दिपायलले पछिल्लो २४ घण्टामा गरेको परीक्षणमा पोजेटिभ देखिएकामा १९ जना कैलालीका, दुई जना कञ्चनपुर र एक जना बैतडी जिल्लाका रहेको जनाएको छ ।
प्रतिक्रिया