विश्वभर आज : यस्ता छन् तपाईंले थाहा पाउनुपर्ने अन्तर्राष्ट्रिय घटनाक्रम « Khabarhub

विश्वभर आज : यस्ता छन् तपाईंले थाहा पाउनुपर्ने अन्तर्राष्ट्रिय घटनाक्रम


३ बैशाख २०८०, आइतबार  

पढ्न लाग्ने समय : 4 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

आज वैशाख ३, २०८० या अंग्रेजी क्यालेन्डर अनुसार अप्रिल १६, २०२३ । तपाईंले थाहा पाउनुपर्ने आज संसारभर भएका प्रमुख घटनाहरू यसप्रकार रहेका छन् ।

प्रहरी हिरासतमा कुख्यात भारतीय अपराधी एवम् पूर्वसांसद अतिकको हत्या

भारतका कुख्यात अपराधी एवम् पूर्वसांसद अतिक अहमदको प्रहरी हिरासतमा हत्या भएको छ । भारत उत्तर प्रदेशको प्रयागराजमा प्रहरी संरक्षणमै उनी र उनका भाई अशरफको गोली हानी हत्या भएको हो ।

स्वास्थ्य परीक्षणका लागि अस्पताल लगिएका बेला सञ्चारकर्मीले उनहरुसँग संवादको प्रयास गरिरहेका बेला उनीमाथि गोली प्रहार भएको हो ।

हत्या गरिएको घटना टेलिभिजन च्यानलले खिचेका भिडियोमा समेत रेकर्ड भएको जनाइएको छ । भिडियोमा अतिक र अशरफलाई हत्कडी लगाइएको देखिएको छ ।

पत्रकारको भेषमा आएका बन्दुकधारीले उनीहरुमाथि गोली चलाएका हुन् । गोली हानेपछि बन्दुकधारीलाई प्रहरीसमक्ष आत्मसमर्पण गरेका थिए । घटनामा संलग्नलाई प्रहरीले नियन्त्रणमा लिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

केही समयअघि अतिकका छोरा पनि प्रहरीको मुढभेडमा मारिएका थिए । अतिकमाथि विगत दुई दशकयता हत्या, अपहरण, जबरजस्ती चन्दा असुलीजस्ता अभियोग छ ।

यसअघि अतिकले आफ्नो ज्यानमाथि खतरा रहेको बताएका थिए । घटनापछि उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले न्यायिक छानबिनको निर्देशन दिएका छन् ।

सुडानमा झडप हुँदा ५६ जनाको मृत्यु

सुडानको राजधानी खार्तुममा हिजोदेखि जारी विद्रोही अर्धसैनिक बल र्‍यापिड सपोर्ट फोर्स (आरएसएफ) र सरकारी सेनाबीचको झडपमा ५६ जनाको मृत्यु भएको छ । घटनामा करिब छ सय जना घाइते भएका छन् । आज पनि बिहानैदेखि भइरहेको प्रत्यक्षदर्शीहरूले बताएका छन् ।

विद्रोही समूह आरएसएफले राष्ट्रपतिको कार्यालय, खार्तुम विमानस्थल, सरकारी टेलिभिजन र अन्य महत्वपूर्ण स्थान आफ्नो नियन्त्रणमा रहेको दाबी गरेपछि खार्तुमका सुनसान सडकमा लगातार विस्फोट र बन्दुक पड्केको आवाज सुनिएको छ । सरकारी सेनाले विद्रोहीका दाबीलाई अस्वीकार गर्दै आएसएफका आधार क्षेत्रमा हवाई हमला जारी राखेको बताएको छ । सुडानी वायु सेनाले नागरिकहरूलाई घरभित्रै बस्न आग्रह गरेको छ ।

प्रजातन्त्र समर्थक स्वतन्त्र चिकित्सकहरूको समूहले ५६ जना नागरिकका साथै कैयौँ सुरक्षाकर्मीको मृत्यु भएको जानकारी दिएको छ । उक्त समूहले छ सय जना घाइते भएका बताएको छ । दोहोरो झडपका कारण आवतजावतमा कठिनाइ भएकाले धेरै घाइतेलाई अस्पताल पु¥याउन नसकिएको जानकारी दिँदै सुडानी डाक्टरको समूहले मृतकको सङ्ख्या बढ्नसक्ने बताएको छ ।

कमजोर समुदायलाई खाद्य सहायता प्रदान गर्ने राष्ट्रसङ्घीय निकाय विश्व खाद्य कार्यक्रमका तीन जना कर्मचारी पनि मारिएका छन् । पश्चिम सुडानको कब्कावियामा रहेको सैन्य आधार शिविरमा भएको झडपमा उनीहरूको मृत्यु भएको अधिकारीहरूले बताएका छन् ।

बेलायत, अमेरिका, युरोपेली सङ्घ, रुस र चीनले तत्काल युद्ध अन्त्यको आह्वान गरेका छन् । संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटरेसले सैनिक जनरल बुरहान र आरएसएफका जनरल मोहमद हमदान डगालोसँग टेलिफोनमा कुरा गर्दै अविलम्ब हिंसा अन्त्य गर्न आग्रह गरेका छन् ।

खार्तुमस्थित अमेरिकी राजदूत जोन गोडफ्रेले गोलाबारी र विष्फोटको आवाजबाट ब्युझिँएको बताउँदै सर्वसाधारण सुडानीलेझै आफू पनि दूतावासका कर्मचारीसँग सुरक्षित स्थानमा आश्रय लिइरहेको बताएका छन् ।

निःशुल्क खाद्यान्न वितरणमा अनियमितता भएको भन्दै पाकिस्तानमा प्रदर्शन

पाकिस्तानको खैबर पख्तुनख्वा प्रान्तमा निःशुल्क खाद्यान्न वितरणमा अनियमितता भएको भन्दै स्थानीयहरुले प्रदर्शन गरेका छन् । पाकिस्तानको खैबर पख्तुनख्वा प्रान्तको बजौर क्षेत्रमा खाद्यान्न वितरणमा अनियमितता भएको भन्दै प्रदर्शन गरेका हुन् ।

पाकिस्तानमा चरम आर्थिक संकटमा फसिरहेका बेला सरकारले निशुल्क वितरण गर्ने पिठोमा अनियमिता भएको भन्दै प्रदर्शनको आयोजना गरिएको हो ।

पाकिस्तानबाट प्रकाशित हुने डन अखबारका अनुसार प्रदर्शनमा जमात उलेमा ए इस्लाम (फजल), खार तहसिल, पाकिस्तान पिपुल्स पार्टी, जमात ए इस्लामीलगायत संगठनका प्रतिनिधिको सहभागिता थियो ।

उनीहरुले नाराबाजी गर्दै खाद्यान्न वितरणमा भएको भ्रष्टाचारबारे अनुसन्धान गर्न सरकारसँग माग गरेको डनले जनाएको छ ।

उइगुरलाई रमजानको व्रत बस्न नदिन चीनमा जासुस परिचालन

सिन्जियाङ प्रान्तमा अल्पसङ्ख्यक उइगुर मुसलमानलाई रमजानको व्रत बस्न नदिनका लागि चीनले जासुस परिचालन गरेको खुलेको छ । रेडियो फ्रि एसियाले टुर्पान क्षेत्रका प्रहरी अधिकारीलाई उद्धृत गर्दै यस्तो खुलासा गरेको हो ।

रमजानको प्रारम्भीक दिनहरुमा व्रत बसेको अशंकामा ५६ जनालाई पक्राउ गरिएको र तीमध्ये ५४ जनाले व्रत बसेर कानून उल्लङ्घन गरेको पुष्टि भएको रेडियो फ्रि एसियाले जनाएको छ ।

चीनले सन् २०१७ यता सिन्जियाङ प्रान्तका उइगुर मुसलमानलाई रमजानको ब्रत बस्न प्रतिबन्ध लगाउँदै आएको बताइन्छ । रेडियो फ्रि एसियाले जनाएअनुसार चीनको सुरक्षा संयन्त्रले आम सर्वसाधारण, प्रहरी अधिकारी एवम् छिमेक समितिका सदस्यलाई जासुसको रुपमा परिचालन गर्ने गरेको छ ।

चीनमाथि सिन्जियाङका दशौँ हजार उइगुर मुसलमानलाई पुनर्शिक्षाका नाममा चीनले बन्दी शिविरमा राख्ने गरेको आरोप लाग्ने गरेको छ ।

जोजिला सुरुङमार्ग बने जम्मु कश्मीरमा पर्यटकको आगमन २/३ गुणाले बढ्छ : भारतीय मन्त्री गड्करी

भारतका केन्द्रीय मन्त्री नितिन गड्करीले जम्मु कश्मीरमा जोजिला सुरुङमार्गको निर्माण सम्पन्न भए यस क्षेत्रमा पर्यटकको आगमनमा २/३ गुणासम्म वृद्धि हुने बताएका छन् ।

निर्माणाधीन सुरुङमार्गको निरीक्षण भ्रमणपछि मन्त्री गड्करीले यस परियोजनाको निर्माण सम्पन्न भए यस क्षेत्रमा पर्यटकको आगमनमा २/३ गुणासम्म वृद्धि हुने बताएका हुन् । उनले जम्मु कश्मीरमा लेफ्टिनेन्ट गभर्नर मनोज सिन्हासँगै परियोजना निर्माणस्थलको निरीक्षण भ्रमण गरेका थिए ।

यस परियोजनाको निर्माण सम्पन्न भएसँगै पर्यटकको आगमन बढ्ने र यसबाट रोजगारीको वातावरण सिर्जना हुने उनको भनाइ छ । यससँगै कन्याकुमारीसँग कश्मीर जोडिने उनको तर्क छ ।

गड्करीले २५ हजार करोड भारतीय रुपैयाँको लागतमा जम्मु कश्मीरमा १९ वटा सुरुङ निर्माण भइरहेको समेत जानकारी दिए ।

आवासीय भवनमा आगो लाग्दा सोह्र जनाको मृत्यु

दुबईको एउटा आवासीय भवनमा आगलागी हुँदा १६ जनाको मृत्यु भएको छ भने नौ जना घाइते भएका छन् ।

शहरको पुरानो भागमा रहेको अल–रस छेउमा रहेको भवनको चौथो तलामा आगलागी हुँदा उक्त हताहति भएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् । निर्माण सुरक्षा र अग्नि सुरक्षा आवश्यकताको पालना नगरेको कारण आगलागी भएको सिभिल डिफेन्स फोर्सको प्रारम्भिक अनुसन्धानले देखाएको छ ।

दुबई संयुक्त अरब इमिरेट्सका सात इमिरेट्स मध्येको एक हो । यहाँ करिब ३३ लाख जनसङ्ख्याको बसोबास छ भने त्यसमा झण्डै ९० प्रतिशत विदेशी छन् । आगालागीमा ज्यान गुमाएका तथा घाइतेभएकाको राष्ट्रियता भने खुलाइएको छैन ।

सन् २०१७ देखि दुबईका अधिकारीहरूले आगोको जोखिम कम गर्न भवन नियममा कठोर प्रावधानको व्यवस्था घोषणा गरेका छन् । मुख्यतया भवनको बाहिरी आवरणमा प्रयोग हुने ज्वलनशील सामग्रीहरूलाई लिएर कडा नियम ल्याइएको हो ।

सुरक्षा कारबाहीमा आठ जना आतङ्कवादी मारिए

खैबर पख्तुनख्वाको दक्षिण वजिरिस्तान जिल्लाको जरमिलान क्षेत्रमा आतङ्कवादीविरुद्ध गरिएको सुरक्षा कारबाहीमा आठ जना मारिएका छन् ।

शनिबार गरिएको उक्त कारबाहीमा दुई जना सुरक्षा अधिकारीले पनि वीरगति प्राप्त गरेका पाकिस्तानी सेनाको सञ्चार शाखा इन्टर सर्भिसेस पब्लिक रिलेसन्स (आइएसपीआर)लाई उद्धृत गर्दै दैनिक समाचारपत्र डनले जनाएको छ । सुरक्षा फौजले कारबाहीस्थलबाट विभिन्न हातहतियार र गोलाबारुद पनि बरामद गरेको छ ।

सुरक्षाकर्मीले गत मङ्गलबार खैबर पख्तुनख्वाको बाजौर जिल्लाको लोसुम क्षेत्रमा गरेको कारबाहीमा तीन जना र अघिल्लो दिनको कारबाहीमा पनि तीन जना आतङ्ककारीलाई मारेको थियो ।

विगत केही महिना यता देशका विभिन्न भागमा आतङ्कवादी सङ्गठनले आक्रमणलाई तीव्र पारेपछि सक्रिय बनेको सुरक्षा फौजले प्रतिआतङ्वादका कारबाहीलाई व्यापक बनाएको छ ।

आतङ्कवादी सङ्गठन तेहरिक–ए–तालिबान पाकिस्तान र सरकारसँगको वार्ता गत वर्षको नोभेम्बरमा भङ्ग भएपछि अफगानिस्तानको सीमावर्ती क्षेत्रमा केन्द्रित भएर उक्त सङ्गठनले खैबर पख्तुनख्वाका सुरक्षाकर्मीमाथि आक्रमण बढाएको छ ।

सुडानी अर्धसैनिक समूहद्वारा राष्ट्रपति भवन कब्जा

सुडानमा सशस्त्र बलका प्रतिद्वन्द्वी समूहबीचको तनाव हिंसात्मक बन्दै गएपछि सुडानी अर्धसैनिक समूह र्‍यापिड सपोर्ट फोर्सेज (आरएसएफ) ले राष्ट्रपति भवनमाथि आफ्नो नियन्त्रण रहेको दाबी गरेको छ ।

प्रत्यक्षदर्शीहरूले बताएअनुसार सुडानको राजधानी खार्तूमस्थित राष्ट्रपति भवन र सेनाको मुख्यालय वरपर भीषण भिडन्त भएको छ ।

आरएसएफले एक विज्ञप्ति जारी गर्दै खार्तूम, मारवा र अल–अबैदमा रहेका विमानस्थललाई आफ्नो नियन्त्रणमा लिएको र त्यसपछि अन्तर्राष्ट्रिय अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने उडान रद्द गरिएको दाबी गरेको छ ।

आरएसएफका अनुसार उनीहरूले आफ्नो एउटा आधार शिविरमा सेनाले अचानक आक्रमण गरेपछि प्रतिरोध गरेका थिए । यसैबीच खार्तूमस्थित ‘थिङ्क ट्याङ्क कन्फ्लुएन्स एडभाइजरी’का संस्थापक निर्देशक खोलुद खैरले सेना र आरएसएफले सत्ता सुदृढीकरणका विषयमा आफ्नो विरोधी धारणाका कारण कहिल्यै तालमेल नगरेको बताए ।

प्रकाशित मिति : ३ बैशाख २०८०, आइतबार  ७ : ५९ बजे

फिफा विश्वकप : भिड्दैछन् फ्रान्स र सेनेगल

काठमाडौँ । फिफा विश्वकप २०२६ मा छैटौँ दिन चार खेल

फेवातालमा हावाहुरीले पल्टायो डुंगा, दुई भारतीय पर्यटकको उद्धार

काठमाडौँ । सशस्त्र प्रहरीले फेवातालबाट दुई जना भारतीय पर्यटकको सकुशल

उपकुलपतिका उम्मेदवारहरूलाई अन्तर्वार्तामा बोलाइयो

काठमाडौँ । शिक्षा तथा खेलकुद मन्त्रालयले विभिन्न विश्वविद्यालयमा उपकुलपतिका लागि

११ महिनामा सरकारको झण्डै ११ खर्ब राजस्व उठायो

काठमाडौँ : सङ्घीय सरकारले चालु आर्थिक वर्षको ११ महिनामा राजस्वतर्फ

बडीकेदारका तत्कालीन अध्यक्ष, उपाध्यक्षसहित १० जनाविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौं। अख्तियार दुरूपयोग अनुसन्धान आयोगले बडीकेदार गाउँपालिका डोटीका तत्कालीन अध्यक्ष