चौपायाको आहाराका लागि विकल्प खोजिँदै | Khabarhub Khabarhub

चौपायाको आहाराका लागि विकल्प खोजिँदै


७ बैशाख २०८०, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

भजनी – गौशालामा व्यवस्थापन गरिएका चौपायालाई आहाराको समस्या हुन थालेपछि कैलालीको भजनी नगरपालिकाले विकल्प खोज्न थालेको छ ।

गर्मी मौसम सुरु भएपछि चरन क्षेत्र उजाड भएपछि त्यसको विकल्पका लागि नगरपालिकाले सामुदायिक वनसँग समन्वय गर्न थालेको हो । नगरपालिकाले सामुदायिक वनका प्रतिनिधि र चौपाया व्यवस्थापन समितिलाई सँगै राखेर छलफल चलाएको छ ।

छलफलमा सामुदायिक वनको सीमित क्षेत्र केही समयका लागि खुला गर्न नगर प्रमुख केवल चौधरीले आग्रह गरेका छन् । उनले व्यवस्थापन भएका चौपाया छोड्दा किसानले लगाएको अन्न बाली नष्ट गर्नुका साथै पुरानै समस्या बल्झिने भन्दै सामुदायिक वनलाई सीमित क्षेत्रमा चौपायालाई चरिचरनका लागि खुला गरिदिन माग गरे ।

“चौपाया पनि भोकले मर्ने स्थिति आउनुभएन । किसानले पनि पुरानो समस्याबाट पुनः सास्ती पाउनुभएन । त्यसका लागि सामुदायिक वनले केही समयका लागि चौपायाको चरिचरनको क्षेत्र छुट्याएर सहयोग गरिदिनुपर्‍यो”, नगर प्रमुख चौधरी भन्छन्, “समस्या उब्जाउने भन्दा समाधानको विकल्प खोज्दा राम्रो हुन्छ । चौपाया व्यवस्थापन भएकै कारण किसानले लगाएको अन्न बाली भित्र्याउन पाएका छन् ।” उनले आगामी दिनमा सामुदायिक वनको केही भागमा घाँस लगाउने वातावरणमा पनि सहजीकरण गरिदिन सामुदायिक वनका पदाधिकारीलाई आग्रह गरेका छन् ।

“सधैँ नगरपालिकाले पैसा दिएर चौपाया व्यवस्थापन गर्न सकिने स्थिति छैन र सकिँदैन पनि । सामुदायिक वनमा घाँस रोपेर त्यहीँ घाँसबाट चौपायाको आहारा पूरा गर्नुपर्ने देखिन्छ”, नगर प्रमुख चौधरीले भने, “नभए एक गाई एक घरको अभियान सञ्चालन गरेर भएका चौपाया व्यवस्थापन गर्नुपर्छ । त्यसमा सरोकारवाला पहिले जिम्मेवार हुनुपर्‍यो ।” चौपायालाई व्यवसायसँग जोडेर काम गर्ने योजनाका साथ स्थानीयलाई आउन पनि उनले आग्रह गरेका छन् ।

महुन्याल सामुदायिक पशु चौपाया व्यवस्थापन समितिका अध्यक्ष देशराम चौधरीले आहाराको अभाव र चौपायालाई पानीको समस्या भएको बताएका छन् । भएको पराललगायतका स्रोत सकिएपछि चरनका लागि नगरपालिकालाई सामुदायिक वनसँग समन्वय गरेर वनको सीमित क्षेत्र खुला गरिदिन आग्रह गरिएको चौधरीले सुनाए । “नगरपालिकालाई आग्रह गरेका थियौँ, त्यो आग्रहअनुसार सामुदायिक वनसँग छलफल भएको हो”, अध्यक्ष चौधरी थप्छन्, “चौपायालाई पानीको पनि समस्या भएको छ । पानीको व्यवस्था र चरनका लागि वनको अनुमति मात्रै दिए पनि चौपायालाई बचाउन सकिन्छ ।”

सामुदायिक वनका पदाधिकारीले भने एकाएक कुनै निर्णय गर्न नसकिने बताएका छन् । पशुपति सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष भीमबहादुर चौधरीले सामुदायिक वनका अन्य पदाधिकारीसँग छलफल गरेर निर्णयमा पुग्न सकिने सकिने बताए। “अहिलेसम्म त्यसरी वनमा कसैलाई चरिचरनका लागि अनुमति दिएका छैनौँ । दिनुपर्ने स्थितिमा समितिमा छलफल गरेर निर्णयमा पुग्न सकिन्छ”, अध्यक्ष भीमबहादुरले भने, “आवश्यकता हो भने दिनु पनि पर्छ । भोकभोकै कसैलाई मार्नु त भएन ।”

आहाराको समस्या देखाएर चौपाया छोड्ने डरमा किसान देखिएका छन् । भर्खरै किसानले भजनीका अधिकांश क्षेत्रमा चैते धान लगाएका छन् । चौपाया छाडा छोडे लगाएको धान तथा मकै खेती नष्ट गर्ने भन्ने चिन्ता बढेको किसान बुद्धिराम चौधरी बताउँछन् । “चौपाया व्यवस्थापन हुँदा निकै राहत भएको छ । रातदिन खेत कुर्नुपर्ने अवस्थाको अन्त्य भएको छ । किसान ढुक्कले सुत्न पाएका छन्”, बुद्धिरामले भने, “चौपाया व्यवस्थापनको समस्या अहिलेकै अवस्थामा समाधान हुनुपर्छ । छोडेर होइन त्यसको विकल्प खोजेर आहाराको खोजी गरिनुपर्छ ।”

चौपाया व्यवस्थापन गरिएका गौशालामा चौपाया भोकले मर्न थालेपछि चौतर्फी स्थानीय सरकारको आलोचना हुँदै आएको छ । यसअघि कैलालीकै टीकापुर नगरपालिका र जानकी गाउँपालिकामा पनि चौपाया खान नपाएर गौशालामा मर्न थालेपछि आसपासका क्षेत्र दुर्गन्धित बनेका थिए ।

प्रकाशित मिति : ७ बैशाख २०८०, बिहीबार  १० : १४ बजे

महामन्त्री ढकाललाई कारबाही गर्ने रास्वपाको तयारी

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टीले महामन्त्री मुकुल ढकाललाई सामान्य कारबाही

मापदण्ड विपरीत तेल उत्पादन गर्ने कम्पनीलाई जरिवाना

काठमाडौं – काठमाडाैं महानगरपालिकाले मापदण्ड विपरीत तेल उत्पादन गर्ने चारवटा

काठेपुल तर्ने क्रममा बाढीले बगाउँदा एकजनाको मृत्यु

सुदूरपश्चिम – कैलालीको गौरीगङ्गा नगरपालिका–११ स्थित कटेनी नदीको बाढीमा बगेर

एकीकृत समाजवादीको महाधिवेशनमा प्रस्तुत सबै दस्तावेज अनुमोदन

काठमाडौं – नेकपा (एकीकृत समाजवादी)को दशौँ राष्ट्रिय महाधिवेशनमा प्रस्तुत गरिएका

एमालेले समर्थन फिर्ता लिएपछि प्रचण्ड नेतृत्वको सरकार अल्पमतमा

काठमाडौं – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकार अल्पमतमा परेको