विधानअनुसार कांग्रेस चल्ने हो भने ९० प्रतिशत समस्या हल हुन्छ: गगन थापा (अन्तर्वार्ता) « Khabarhub

विधानअनुसार कांग्रेस चल्ने हो भने ९० प्रतिशत समस्या हल हुन्छ: गगन थापा (अन्तर्वार्ता)



नेपाली कांग्रेसका नेता गगन थापा पार्टी भित्र र बाहिर पनि रुचाइएका र चर्चामा रहेका नेता हुन् । पार्टीलाई शुद्धिकरण गर्नुपर्ने र समृद्ध कांग्रेस बनाउने अभियानमा उनी दृढताका साथ लागेका छन् । कांग्रेस र कांग्रेस इतरका धेरैले रुचाएका नेता थापाले खबरहबसँगको कुराकानीमा कांग्रेसको शुद्धिकरणका लागि भएका पहल र भावी योजनाका विषयमा खुलेरै कुराकानी गरेका छन् । नेता  गगन थापासँग  खबरहबका लागि  अमृतराज काफ्ले पछिल्लो राजनीतिक अवस्था, नेपाली कांग्रेसभित्रको आन्तरिक समस्या लगायका विषयमा कुराकानी गरेका छन् । प्रस्तुत छ थापासँगको कुराकानीको सम्पादित अंश–

नेपाली राजनीतिको मियोकै रुपमा रहेको नेपाली कांग्रेस पछिल्लो समय आन्तरिक रुपमा कमजोर देखिएको छ, कांग्रेसले भ्रातृ संगठनहरुको समस्यापनि समाधान गर्न सकेन, पछिल्लो उदाहरण नेपाल विद्यार्थीसंघको तदर्थ समिति पनि गठन हुन सकेन, कहाँ चुक्यो कांग्रेस ?

हेर्नुस्, यो नेपाली कांग्रेस पार्टीमा देखिएका समस्या नौला समस्याहरु होइनन्, यो चाँहि हामीले विरासतमा प्राप्त गरेका समस्या हुन् । पार्टी सञ्चालनमा यो जुन खालको समस्याहरु देखियो हामी हाम्रो पार्टीको समस्याहरुको जरामा पुग्न चाँहिरहेका छैनौं ।

जस्तो नेपाल विद्यार्थी संघकै उदाहरण हेरौँ, नेपाल विद्यार्थी संघको सदस्य बन्ने मान्छे नेपालमा एक करोडभन्दा बढी रहेछ, जुन मान्छे हाम्रो उमेर समुहभित्र पर्छ १६ देखि ३२ वर्षसम्म, सालखाला १ करोड भनौँ । हामीले ४० वर्षको उमेर समुहलाई तरुण दल भन्छौँ ।

१ करोडमध्ये करिब २० लाख विद्यार्थी नेविसंघले काम गर्ने शैक्षिक केन्द्रहरुमा छ । त्यो शैक्षिक केन्द्रहरुमा हामी छौँ भने त्यहाँभित्र १ लाख मान्छेमा हाम्रो उपस्थिती हुन्छ । १ लाखजतिमा हाम्रो भौतिक उपस्थिती भएपनि हाम्रो प्रभाव १ करोडमा पार्नुपर्नेछ । हाम्रो नेपाल विद्यार्थी संघ त हामीलाई यस्तो चाहियो, जस्को उपस्थिती थोरै ठाउँमा होला तर जस्को कार्यक्रम र आन्दोलनले करोडौँमा कसरी प्रभाव पार्ने भन्ने विषयमा मैले केन्द्रीय समितिमा उठाए हामी कसैको रुची रहेन ।

पार्टी वरिष्ठ नेताहरुका बीचमा सधै हार्दिक सम्बन्ध होस् भन्ने चाहना सबैले राख्नु स्वभाविक हो । नेताहरुका बीचमा प्रेम होस् । मैले भनेको के भने हामीलाई चाहिएको प्रेममात्रै होइन, हामीलाई चाहिएको विवाह हो

अहिले के भयो ? समस्याको चुरोमा छलफल गर्न नचाहेपछि चाहे हामी तदर्थ समिति बनाउँ, या हामी ३२ वर्षे लगाउँ, समस्या ज्यूँकात्यूँ रहन्छ । यो एउटा उदाहरण मात्रै हो प्रत्येक विषयमा यस्तै छ ।

कांग्रेसको संरचनामै समस्या छ कि भन्ने विषयको वहस चुनाव पछि अलिअलि शुरु भएको थियो । एउटा चुनावमात्रै होइन, अलिकति फराकिलो परिधिभित्र राखेर हेर्नुपर्छ कि भन्ने थियो तर ५/६ महिनापछि सरकारले आफ्नो गति छाडेपछि यत्तिकै पनि चल्दोरहेछ भन्ने मनोविज्ञान कांग्रेसमा फेरि हावी भएको अबस्था छ ।

पार्टी विधान अनुसार चलेन भनेर तपाईंहरुले भन्दै आउनु भएको छ । महासमिति बैठकपछि पार्टी विधान अनुसार चल्ने अपेक्षा धेरै कांग्रेसी नेताकार्यकर्ताको थियो तर कुनै परिवर्तन आएन भनेर नेतृत्वको आलोचना गरिरहेका छन्, कांग्रेसमा देखिएको वास्तविक समस्या चाँही के हो ?

यो विषयलाई यसरी हेरौँ । नेपाली कांग्रेसको एउटा विधान छ । हामी संविधानको, कानूनको पालना भएन भनेर सरकारमाथि प्रश्न उठाइरहेका छौँ ।

सरकार संविधान र विधिले चल्नुपर्छ भन्यौँ । हाम्रो विधि भनेको के हो ? हाम्रो विधि भनेकै हाम्रो विधान हो, त्यो परिधिभित्र मात्रै पार्टी रहन्छ, विधानले भनेअनुसार मात्रै पार्टी सञ्चालन हुनसक्छ, त्यो पार्टी सञ्चालन गर्दाखेरिका निर्णहरु विवेकसम्मत हुन्, राजनीतिक हुन्, भन्ने कुरा जुन अपेक्षा गरिएको हुन्छ त्यो वाञ्छनीय छ ।

निर्णय गर्नेले मेरो निर्णय पहिलो कुरा विधिसम्मत हुनुपर्छ, विधिसम्मत गर्दैगर्दा विवेकसम्मत भयो भने यो निर्णयले अपेक्षित प्रतिफल दिन्छ, यसरी नै हुन्छ पार्टी सञ्चालन ।

तर हाम्रा बहुसंख्यक निर्णयहरु आफूअनुकुलतामा हुन्छ, त्यो विधिलाई हामीले मानिरहेका छैनौं । मेरो फाइदा छ भने त्यो विधिसम्मत् नभएपनि चल्छ । यो मेरो हकमा पनि लागू हुन्छ, अरुको हकमा पनि लागू हुन्छ । कांग्रेस गुदी कुरामा छलफल गरिरहेको छैन कांग्रेसले अब एकपटक अडिएर छलफल गर्नुपर्नेबेला आएको छ ।

भनेपछि विधान अनुसार नचल्दा कांग्रेसमा समस्या आएको हो ?

विधिसम्मत रुपमा पार्टी सञ्चालन गर्ने हो भने अहिले कांग्रेसमा देखिएका कति समस्या स्वतः हल हुन्छन् मेरो दाबी छ । ९० प्रतिशत समस्या कांग्रेस आफ्नो विधानअनुसार चल्यो भने स्वतः हल हुन्छन्, यो मेरो दाबी हो । किनभने विधानसम्मत गर्नासाथै सबै समस्या हल हुन्छन्, मेरो अनुभव हो यो ।

तपाईं कांग्रेसको केन्द्रीय नेता हुनुन्छ, विधान अनुसार पार्टीलाई चलाउने कुरामा तपाइको पनि भूमिका हुन्छ । अब भनिदिनुस्, विधान अनुसार पार्टी चलाउन नदिने को हो ? सभापति, पदाधिकारी वा केन्द्रीय सदस्य ?

हाम्रो बानी परिसक्यो विधानअनुसार नचल्ने । हामी सबै दोषी छौँ यसमा । मान्छे वर्षौदेखि एउटा अभ्यास गरेर आयो, आफ्नो आदतको बन्दी हुन्छ भन्छन् नि ! आदतलाई हामी छाड्न चाहिरहेका छैनौँ । र यो आदतले पुर्‍याएको जुन क्षति छ यसको बारेको हिसावकिताव नराखेरपनि समस्या भएको हो हामीलाई ।

कांग्रेस पार्टी गुट, उपगुट, समूह र परिवारवादमा अल्झिएका कारण कमजोर बनेको स्वयं कांग्रेस कार्यकर्ता र विश्लेषकहरु बताउँछन्, के भन्नुहुन्छ ?

पार्टी विधिसम्मत चल्यो भने धेरै समस्य आफै हल हुन्छन् । किनभने पार्टीभित्र समूहहरु बन्छन्, यसलाई हामी चलनचल्तीको भाषामा गुट भनौँला । तर समूहको बन्धक पार्टी बन्नुहुँदैन ।

हामीकहाँ त समूह भन्दा पनि गिरोह बने । जस्तो हाम्रो केन्द्रीय समितिको बैठक सञ्चालन हुँदै गर्दाखेरी हामीहरुले हेर्‍यौ भने पार्टीको केन्द्रीय समितिको छलफलको धेरै ठूलो अर्थ रहँदैन , यो चाँहि कसरी चल्छ भने समूह समूहमा बाँडिएको एउटा पार्टीको बिसौनीजस्तो मात्रै बन्छ ।

विधिसम्मत् चलायो भने थुप्रै कुरा यहीभित्र पनि मिल्दै जान्छ । दोस्रो कुरा हामी कस्तो कल्पना गर्छौ भने हामी विहान उठ्दै गर्दा पार्टीभित्र गुटहरु नभएको परिकल्पना गर्छौ । त्यो भनेको त पार्टी मर्ने कुरा हो । जुनदिन पार्टीभित्र गुट हुँदैन समूह हुँदैन त्यो दिन पार्टी मर्‍यो भनेर घोषणा गरे हुन्छ ।

४ वर्षपछि हुने चुनावमा कांग्रेसलाई किन भोट दिने भन्यो कसैले भने के भन्ने ? नेकपा सरकारले राम्रो काम गरेन त्यसैले मलाई भोट देउ भन्ने, यो पनि एउटा उत्तर हो, २००७ सालमा प्रजातन्त्र ल्याएको, २०१५ सालमा विपीको सरकारले भयानक काम गरेको त्यो पनि उत्तरै हो । तर मेरो भनाइ चाँहि यस्तो उत्तरले अब पार्टी चल्दैन । कांग्रेसलाई किन भोट दिनेभन्दा २०८० सालमा मलाई भोट दियौ भने ५ वर्ष यो हुन्छ, ५० वर्षमा यो हुन्छ भन्न सक्नुपर्‍यो ।

पार्टीभित्र समूहहरु बन्छ, भत्किन्छ त्यो सामान्य कुरा हो । महत्वपूर्ण कुरा के हो भने पार्टीभित्र किन गुट बन्छ, कसरी बन्छ, कसरी भत्किन्छ यो महत्वपूर्ण कुरा हो । कांग्रेसभित्र बनेका समूहहरु विचारका आधारमा बनेका छन् कि नेपाली कांग्रेसले कुन आधारमा बाटो लिने भन्ने विषयमा त्यो समूहरुका बीचमा मतभेद छ, कि त्यो दण्ड पुरस्कारका विषयमा मात्रै मतभेद हुन् ।

सामान्यतया नेपाली कांग्रेसभित्रको समूहहरु निर्माण गर्दा धेरैजसो विषय तत्कालका आफ्ना स्वार्थहरुसँग जोडिएको छ । आफ्नो सुरक्षासँग जोडिएको छ ।

महासमिति बैठक अवधिभरी सभापति र वरिष्ठ नेताबीच ‘लभ परेको’ चर्चा चल्यो । तर पछिल्लो समय उहाँहरुबीचको सम्बन्धमा फेरि तिक्तता आएको जस्तो देखिएको छ नि !

त्यसलाई म यसरी हेर्छु, पार्टी वरिष्ठ नेताहरुका बीचमा सधै हार्दिक सम्बन्ध होस् भन्ने चाहना सबैले राख्नु स्वभाविक हो । नेताहरुका बीचमा प्रेम होस् । मैले भनेको के भने हामीलाई चाहिएको प्रेममात्रै होइन, हामीलाई चाहिएको विवाह हो ।

कैलेकाहीँ फेरि विवाहमा प्रेम हुन्न । प्रेमयुक्त सम्बन्ध भएको विवाह हामीलाई चाहिएको हो । विवाह भनेको संस्था हो । विवाहमा कम्प्रमाइज हुन्छ, विवाहमा केही मूल्य मान्यता हुन्छ, के गर्ने के नगर्ने भन्ने नियम कानून हुन्छ तर त्यो नियम कानून भएन भने खोक्रो हुन्छ ।

प्रेम छ विवाह पनि छैन, नियम कानून केही पनि छैन भने त्यो अस्थायी हुन्छ । कुनै पनि बेला त्यो घृणामा जानसक्छ । हाम्रो त्यही भएको हो । नेताहरुका बीचमा प्रेम होस् भन्ने चाहन्छौँ । प्रेम भएपछि थपडी बजाउँछौँ । तर त्यो विवाहमा परिणत भयो कि भएन त्यो हेर्दैनौ हामी । हामीलाई चाहिएको वलियो संस्था हो । त्यो बाटो तर्फ जानुपर्छ भन्ने लाग्छ ।

नेतृत्वले गुट बनायो भन्दै तपाईं युवा नेताहरु पनि समूह बनाउँदै हिँड्नु भयो…

हामी निरन्तर रुपमा क्रियाशिल छौँ । हामीले निर्वाचनपछि पार्टीभित्र विभिन्न चरणमा छलफल होस् भन्ने चाहेका थियौं । केन्द्रीय समिति, महासमितिसम्म पनि छलफल हुनुपर्छ भन्ने हाम्रो माग थियो । त्यो पूरा पनि भयो । हामीले सोचेअनुरुप भएन होला, तर महासमितिसम्म ल्याउने कुरामा त सफल भयौँ ।

अब महासमितिको प्रकरण टुंगिएपछि हामी पार्टीभित्र उठाइरहेका एजेण्डाको वैचारिक पक्षमा छलफल गर्न चाहिरेका छौं र पार्टीको तल्लो तहमा गएर छलफल गर्ने पूर्वतयारीमा छौँ । त्यसको प्रयास गरिरहेका छौँ ।

एकातिर वैचारिक पक्षमा काम पनि गर्ने, अर्कोतिर पार्टीमा आचरणका सम्बन्धमा जागरण पनि ल्याउने, पार्टी सदस्य हुनुको अर्थ के हो ? नेपाली कांग्रेसको अपेक्षित आचरण के हो ? पार्टी सदस्यहरुमा यसबारे जागरण ल्याउन हामी देशैभरी छलफलमा जुटिरहेको अबस्था छ । यो प्रक्रिया अगामी महाधिवेशनसम्म नै चल्छ ।

समयमै महाधिवेशन हुनेमा कतिको विश्वस्त हुनुहुन्छ ?

पार्टीको महाधिवेशन भएको अब आउने फागुनमा ४ वर्ष पुग्छ । हामीले पार्टीको अधिवेशन कहिल्यैपनि ४ वर्षमा गरेका छैनौँ । स्वभाविक रुपमा एकवर्ष थपिन्छ भन्ने कुरा नै भयो । सभापतिजीले पटक–पटक भनिरहनुभएकै छ । एकवर्ष समय थप्ने तयारी भइरहेको छ ।

त्यसो भए वर्तमान कार्यसमितिको म्याद एक वर्ष थप्न तपाईंहरु तयार हुनुभएको हो ?

सभापतिको तयारी र चाहना त्यस्तै छ । उहाँसँग त्यसका लागि केन्द्रीय समितिमा अनुकुल संख्या पनि छ । हामीहरुले सभापतिजीको ध्यानाकृष्ट गर्न खोजेको के हो भने समय थप्ने कुरा पार्टीको आवश्यकता हो कि होइन स्पष्ट हुन जरुरी छ ।

पार्टीको आवश्यकता त्यो होइन, किन होइन भने, के का लागि ४ वर्षपछि म्याद बढाइराख्ने त ? हाम्रो त सबैतिर संरचना भत्किएको छ, अब हामीले संक्रमणकालिन व्यवस्थाअनुसार अन्तरिम व्यवस्था गर्नेभयौँ । हामीले २ वर्षका लागि अन्तरिम कमिटी बनाउने भयौँ ।

त्यसपछि हामीले नयाँ अधिवेशन गरेर नयाँ कमिटी बनाउने भयौँ । त्यो व्यवहारिक पनि छैन । त्यो भन्दा राम्रो महासमिति र केन्द्रीय समिति बैठकपछि सदस्यता वितरण शुरु गरौँ । त्यसको केही समयपछि वडा र गाउँ कमिटिको अधिवेशन गरौँ । केहीसमयपछि जिल्ला र प्रदेशको गरी सकेपछि केन्द्रको चुनाव गरौँ ।

केन्द्रको गरौँ भन्नेबेलासम्म साढे ४ वर्ष पुगिसक्छ अर्थात् ६ महिना समय थपिन्छ अहिलेको कार्यसमितिको । ठिक छ शेरबहादुर देउवाको नेतृत्वमा रहेको अहिलेको केन्द्रीय समितिको अहिलेको कार्यकाल आजको डेढवर्षपछि मात्रै अन्त्य गरौँला । त्यो भन्दा तलको कमिटिको त शुरु गरौँ ।

कांग्रेसका युवा नेताहरु नेतृत्व परिवर्तन गर्ने योजनासहित देश दौडाहमा लागेको चर्चा छ, यसको वास्तविकता बाहिर चर्चा भएजस्तै नेतृत्व परिवर्तनका लागि हो ?

यो महाधिवेशनपछि आउने नेतृत्वमा म वा मेरो उमेर समूहको पुग्ने विषय गौण कुरा हो, मेरो चासो भनेको कांग्रेस अब आम चुनाव जित्ने पार्टी भएर आउँछ वा आउँदैन पहिलो कुरा, त्यो भन्दा पनि माथिको कुरा त्यो चुनाव जितेर आएको कांग्रैसले त्यो बेलामा देश र जनताको अपेक्षा पूरा गर्न सक्ने जिम्मेवारी बहन गर्न सक्ने पार्टी हुन्छ कि हुँदैन, चुनाव त जितियो । पहिला पनि जितेको हो । त्यो क्षमता राख्ने पार्टी हामीले बनाउनुपर्छ ।

हामी नेतृत्वमा को पुग्ने भन्ने विषयमा अहिले छलफल गरिरहेका छैनौं । किनभने नेतृत्वको विषयले खटपट आउनसक्छ । नेतृत्वका विषयमा अहिले प्रवेश नगर्ने नै भनेका छौँ । प्रवेश गर्‍यौँ भने हाम्रो अरु कुरा रोकिन्छ ।

त्यस्तो पार्टी बनाउनका निम्ति थुप्रै कुरा गर्नुपर्छ, त्यसमध्येका एउटा कुरा अहिलेको नेतृत्वले पार्टी युवालाई जिम्मा लगाउनुपर्छ भन्ने एउटा मात्रै पाटो हो । त्यो नेतृत्व अहिलेको जस्तो छ पार्टी विचारका हिसावले कार्यक्रमका हिसाबले त्यो यसरी नै चल्छ । अहिलको नेतृत्व बुढाहरुले छाडेर युवा आएर केहीपनि चमत्कार हुनेवाला हैन ।

४ वर्षपछि हुने चुनावमा कांग्रेसलाई किन भोट दिने भन्यो कसैले भने के भन्ने ? नेकपा सरकारले राम्रो काम गरेन त्यसैले मलाई भोट देउ भन्ने, यो पनि एउटा उत्तर हो, २००७ सालमा प्रजातन्त्र ल्याएको, २०१५ सालमा विपीको सरकारले भयानक काम गरेको त्यो पनि उत्तरै हो । तर मेरो भनाइ चाँहि यस्तो उत्तरले अब पार्टी चल्दैन । कांग्रेसलाई किन भोट दिनेभन्दा २०८० सालमा मलाई भोट दियौ भने ५ वर्ष यो हुन्छ, ५० वर्षमा यो हुन्छ भन्न सक्नुपर्‍यो ।

नेपालको अवस्था यस्तो हुन्छ, नेपाललाई त्यहाँ पुर्‍याउन हामीसँग आधार यस्तो छ भन्न सक्नुपर्‍यो । विगतमुखी होइन, भविष्यमुखी कांग्रेस चाहियो । मानौं भविष्यमुखी कांग्रेस भयो तर त्यो बताउने मान्छे विगतमुखी भयो भने म्याच गर्छ त ? अवश्य गर्दैन । त्यसैले त्यो अवस्थामा पुर्‍याउन हाम्रो जेनेरेशनको साथीहरु पहिला एक्लाएक्लै काम गर्‍यौँ । एक्लाएक्लै काम गर्दा परिणाम ल्याउन सकिएन । ‘नक’ गरियो हेर्नुस्, हल्ला गरियो, जनमत निर्माण भयो तर प्राप्ती भएन ।

तपाईंहरुको समूहबाट नेतृत्वमा दावेदारी हुन्छ कि यो पुरानो समूहको पक्षमा लाग्ने माहोल मात्र हो ? 

जे पनि हुनसक्छ । अहिले धेरै ठूलो संख्यामा केन्द्रीय सदस्यहरुका बीचमा छलफल चलिरहेको छ । हामी नेतृत्वमा को पुग्ने भन्ने विषयमा अहिले छलफल गरिरहेका छैनौं । किनभने नेतृत्वको विषयले खटपट आउनसक्छ । नेतृत्वका विषयमा अहिले प्रवेश नगर्ने नै भनेका छौँ । प्रवेश गर्‍यौँ भने हाम्रो अरु कुरा रोकिन्छ ।

हामीले चाहेको कांग्रेस बनाउन नेतृत्व एउटा कम्पोेनेन्ट हो, यही नेतृत्वबाट हुँदैन, यस्तै नेतृत्वबाट हुँदैन, तर कोबाट हुन्छ कस्तोबाट हुन्छ अहिले प्रवेश नगरौँ । अरु बाँकी विषयमा प्रवेश गरौँ भनिरहेको अवस्था छ ।

प्रकाशित मिति : २ फाल्गुन २०७५, बिहीबार  ११ : ४१ बजे

‘एमालेले हेडलाइन बनाउन कुनै कुकुरको खुट्टा टोक्न जाँदैन’

काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूहरूका विरोधीहरूबारे तिखो

ईश्वर पोखरेललई ओलीको जवाफ : उपाध्यक्षज्यूलाई किन सन्चो भएन उहाँलाई नै सोध्नुपर्छ

काठमाडौं- जेन-जी आन्दोलनको प्रसंगमा आफूले बयान दिन जानुपर्ने भनेर बुधबार

पनौतीमा पुस पहिलोसाता जिल्लाव्यापी तेक्वान्दो प्रतियोगिता हुँदै

काभ्रेपलाञ्चोक– पनौती नगरपालिकामा आगामी पुस ४ गतेदेखि काभ्रेपलाञ्चोक जिल्लाव्यापी प्रथम

सीमा विवाद र अमेरिकी शुल्क वृद्धिका कारण कम्बोडियाको आर्थिक वृद्धि सुस्त : विश्व बैङ्क

न्होम्पेन- सम्पत्ति क्षेत्रमा गिरावट, थाइल्यान्डसँगको सीमा विवाद र अमेरिकी शुल्क

ओलीको चुनौती : १४१ वटा पार्टी मिलेर कांग्रेस-एमालेसँग लड्न आए हुन्छ

काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले निर्वाचन आयोगमा दर्ता