विश्वभर आज : यस्ता छन् तपाईंले थाहा पाउनुपर्ने अन्तर्राष्ट्रिय घटनाक्रम « Khabarhub

विश्वभर आज : यस्ता छन् तपाईंले थाहा पाउनुपर्ने अन्तर्राष्ट्रिय घटनाक्रम


१४ बैशाख २०८०, बिहीबार  

पढ्न लाग्ने समय : 5 मिनेट


57
Shares
  • change font
  • change font
  • change font

आज वैशाख १४, २०८० या अंग्रेजी क्यालेन्डर अनुसार अप्रिल २७, २०२३ । तपाईंले थाहा पाउनुपर्ने आज संसारभर भएका प्रमुख घटनाहरू यसप्रकार रहेका छन् ।

भारतमा कोरोना सङ्क्रमितको सङ्ख्या घट्दै

अघिल्लाे दुई दिनको तुलनामा बिहीबार भारतमा कोरोनाका बिरामी घटेका छन् ।

केन्द्रीय परिवार स्वास्थ्य मन्त्रालयका अनुसार बुधबार नौ हजार छ सय २९ जनामा सङ्क्रमण पुष्टि भएको थियो भने बिहीबार नौ हजार तीन सय ५५ जना सङ्क्रमणको शिकार भएका प्रयोगशाला परीक्षणबाट प्रमाणित भएको छ ।

यो सङ्क्रामक रोगबाट बिहीबार २६ जनाले ज्यान गुमाएका छन् । मंगलबार छ हजार नौ सय ३४ जना सङ्क्रमित थपिएका थिए भने सोमबार छ हजार तीन सय जना बिरामी फेला परेका थिए ।

हाल भारतमा ५७ हजार चार सय १० जना सक्रिय सङ्क्रमित छन् भने चार करोड ४३ लाख ३५ हजार नौ सय ७७ जना कोभिड–१९ बाट पूर्ण निको भएका मन्त्रालयले जनाएको छ ।

संयुक्त राष्ट्रसंघद्वारा चाडमा एक हजार बढी सुडानी शरणार्थी परिवार दर्ता

सशस्त्र द्वन्द्व चलिरहेको छिमेकी सुडानबाट चाडमा प्रवेश गरेका एक हजार भन्दा बढी परिवारहरूलाई संयुक्त राष्ट्रसंघ शरणार्थी एजेन्सीले चाडमा दर्ता गरेको छ ।

चाडस्थित प्रतिनिधि लाउरा लो क्यास्ट्रोले बताएअनुसार ‘पूर्वी चाडमा सुडानी शरणार्थीहरूको आगमन बढ्दो छ । अप्रिल २५ गतेदेखि यहाँ शरणार्थीको प्रारम्भिक दर्ता सुरु गरिएको हो।’

क्यास्ट्रोले यसअघि समस्याग्रस्त सुडानबाट १०हजार देखि २० हजार मानिसहरू चाडमा भागेको अनुमान गरेका थिए । त्यस्तै विश्व खाद्य कार्यक्रम, युनएचसीआर, संयुक्त राष्ट्रसंघ बालकोष र चाडको राष्ट्रिय आयोगबीच शरणार्थी व्यवस्थापन का निम्ति संयुक्त मिसन सञ्चालन गरिएको छ।

संयुक्त राष्ट्रसंघले गत हप्ता चेतावनी दिँदै नयाँ आगमनहरू ‘बढ्दो’ मानवीय आवश्यकताहरू र ‘दीर्घकालीन’ रूपमा बढ्न सक्ने र बजेट अभावले गर्दा समस्या समाधानमा थप जटिलता आउन सक्ने प्रक्षेपण गरेको थियो ।

‘सुडानबाट उद्धार गरिएका थप २ सय ४६ जना भारतीय मातृभूमि फर्केका छन्’

सुडान द्वन्द्वका कारण उद्धारको पर्खाइमा रहेका भारतीयहरुमध्ये थप २४६ जनालाई लिएर अर्को विमान बिहीबार मुम्बईमा अवतरण गरेको छ ।

‘अर्को विमान मुम्बई आइपुगेकाे छ । थप २४६ जना भारतीय मातृभूमि फर्केका छन्,’ भारतीय विदेशमन्त्री जयशङ्करले ट्वीटरमा लेखेका छन् ।

यसअघि बिहीबार नै केन्द्रीय विदेश राज्यमन्त्री भी मुरलीधरनले द्वन्द्वग्रस्त सुडानबाट उद्धार गरिएका १२८ जना भारतीय नागरिकलाई भारतीय वायु सेनाको विमान सी–१३० जे विमानबाट ‘अपरेसन कावेरी’ अन्तर्गत साउदी अरेबियाको जेद्दाह आइपुगेको बताएका थिए ।

‘अपरेसन कावेरी’को नेतृत्वमा भारतीय वायुसेनाको अर्को सी–१३० जे विमान १२८ जना भारतीयलाई लिएर जेद्दा आइपुगेको छ । जेद्दाह आइपुगेका सबै भारतीयलाई जतिसक्दो चाँडो भारत पठाउने प्रयास भइरहेको मुरलीधरनले बताए । उनले जेद्दाहमा भारतीय नागरिकहरू विमानबाट ओर्लेको भिडियो पोस्ट गरेका थिए।

भारतीय विदेश मन्त्रालयका प्रवक्ता अरिन्दम बागचीले ट्वीट गर्दै भन्छन्, ‘भारतीय वायुसेनाको चौथो सी–१३० जे विमान पोर्ट सुडानबाट १२८ यात्रु लिएर जेद्दाका लागि उडेको छ ।

‘अपरेसन कावेरी’ अन्तर्गत सुडानबाट उद्धार गरिएका भारतीयहरूको यो छैटौँ समूह हो । योसँगै कूल एक हजार १०० भारतीयहरूलाई सुडानबाट फिर्ता गरिएको छ ।

युद्धविरामका बीच सुडानमा हवाई हमला

अमेरिका र साउदी अरबको मध्यस्थतामा गत सोमबार मध्यरातदेखि सुडानमा लागू भएको ७२ घण्टे युद्धविरामका बीच राजधानी खार्तुममा हवाई हमला भएको छ ।

सैनिक जनरल अब्देल फताह अल बुरहान नेतृत्वको सुडानी सेनाले उनका पूर्वसहयोगी मोहम्मद हमदान डग्लोले नेतृत्व गरेको अर्धसैनिक र्‍यापिड सपोर्ट सपोर्ट फोर्स (आरएसएफ)लाई निशान बनाएर हवाई हमला गरेको हो । डाफरमा पनि घातक हमला भएका विवरण प्राप्त भएका छन् ।

व्यापार र विकासका लागि गठित आठ वटा अफ्रिकी देशको अन्तरसरकारी परिषद् आइजिएडीले जारी युद्धविरामलाई थप ७२ घण्टाका निम्ति लम्ब्याउन दक्षिण सुडानको राजधानी जुबामा वार्ताको प्रयत्न गरिरहेका बेला खार्तुममा पुनःयुद्ध चर्केको हो । प्रत्यक्षदर्शीका अनुसार हवाई हमलाका अतिरिक्त जमिनमा दुवै पक्षबीच गोली हानाहान भइरहेको छ । गोलीबारुद विष्फोटका चर्का आवाज सुनिएका छन् ।

युद्धविरामको अवधि अरू तीन दिन बढाउने आइजिएडीको प्रस्तावलाई सुडानी सेना प्रमुख बुरहानले सहमति जनाएका तर उनका प्रतिद्वन्द्वी डग्लोबाट स्पष्ट जवाफ प्राप्त नभएको सैनिक अधिकारीहरूले बताएका छन् ।

तेह्र दिनदेखि जारी युद्धमा कम्तीमा पाँच सय १२ जनाको मृत्यु भएको तथा चार हजार एक सय ९३ जना घाइते भएका सुडानी स्वास्थ्य मन्त्रालयले जनाएको छ । यद्यपि युद्धमा परी ज्यान गुमाउने र घाइते हुनेको सङ्ख्या यो भन्दा धेरै बढी भएको अनुमान गरिएकाे छ ।

श्रीलङ्कामा सयभन्दा बढी औषधिको अभाव

श्रीलङ्काका स्वास्थ्यमन्त्री केहेलिया रामबुकवेलाले सरकारी अस्पतालमा प्रयोग हुने १०० भन्दा बढी प्रकारका औषधिको अभाव रहेको बिहीबार संसदमा बताएका छन् ।

सरकारी अस्पतालमा एक हजार ३४७ प्रकारका औषधि प्रयोग हुँदै आएको तर यसमध्ये ११२ प्रकारका औषधिको अभाव रहेको उनले बताए ।

सरकारले औषधि आयातमा वार्षिक ५० अर्ब रुपैयाँ (१५ करोड ५० लाख अमेरिकी डलर) खर्च गर्ने गरेको उनले बताए ।

आफ्नो आग्रहमा अर्थ मन्त्रालयले थप ४० अर्ब रुपैयाँ (१२ करोड ४० लाख डलर) थप गरेको जानकारी दिँदै उनले अभाव चाँडै अन्त्य हुने दाबी गरे।

श्रीलङ्काको आर्थिक सङ्कटका कारण सन् २०२२ देखि नै अस्पतालमा चिकित्सकीय अभाव देखिएको छ ।

सुडानमा रहेका चिनियाँ नागरिकको उद्धारमा नौसेना परिचालन

चीनले द्वन्द्वग्रस्त सुडानबाट करिब आठ सय नागरिकको उद्धार गर्न नौसेना परिचालन गरेको रक्षा मन्त्रालयले जनाएको छ ।

सोमबार मध्यरातदेखि युद्धविराम लागू भएपछि जनमुक्ति सेना आफ्ना नागरिकको उद्धारमा जुटेको हो । रक्षा मन्त्रालयले परिचालन हुने नौसेनाका जहाज र सैनिकबारे विस्तृत विवरण सार्वजनिक गरेको छैन ।

संयुक्त राज्य अमेरिका र साउदी अरबको मध्यस्थतामा सुडानी सशस्त्र बल (एसएएफ) र र्‍यापिड सपोर्ट फोर्सेस (आएसएफ) ७२ घण्टा युद्धविराम गर्न सहमत भएपछि विश्वका विभिन्न मुलुकले दूतावासका कर्मचारी र नागरिकलाई सुडानबाट सतह, हवाई र समुद्री मार्गबाट उद्धार गरिरहेका छन् ।

दश दिन लामो युद्धबाट तहसनहस भएको राजधानी खार्तुममा खाद्यान्न, औषधि, पानी र इन्धनको चरम अभाव भएको छ । सन् २०२२ को मध्यसम्ममा एक सय ३० भन्दा बढी चिनियाँ कम्पनीले सुडानमा लगानी गरेकाले त्यहाँ एक हजारको हाराहारीमा चिनियाँ नागरिक रहेका अनुमान गरिएको छ । चीनले सुडानलाई अफ्रिकामा आफ्नो सबैभन्दा ठूलो व्यापारिक साझेदार भएको बताएको छ ।

युद्धविरामको अवधि समाप्त हुनुअघि नै सुडानबाट कम्तीमा आठ सय चिनियाँ नागरिकलाई समुद्रीमार्गबाट उद्धार गर्ने लक्ष्य रहेको विदेश मन्त्रालयका प्रवक्ता माओ निङले बताएका छन् । रक्षा मन्त्रालयका प्रवक्ता तान केफेइले पनि सुडानको अवस्था बिग्रँदै गएकाले त्यहाँबाट आफ्ना नागरिकलाई यथाशक्य चाँडो उद्धार गर्न नौसेना प्रतिबद्ध रहेको बताएका छन् । चिनियाँ नागरिकको जीवन र सम्पत्ति रक्षार्थ सुडानका निम्ति नौसेना परिचालन गरिएको उनले बताएका छन् । प्रवक्ता तानका अनुसार गत सोमबार नै करिब तीन सय नागरिक सतहमार्ग भएर सुडानबाट बाहिरिएका छन् ।

सुडानको रक्षा मन्त्रालयका अनुसार दश दिने युद्धमा पाँच सय १२ जनाको ज्यान गएको छ भने चार हजारभन्दा बढी घाइते भएका छन् । ग्रेटर खार्तुमकाा केही भागका भवन भग्नावशेषमा परिणत भएका छन् । राजधानी खार्तुमको अन्तर्राष्ट्रिय विमानस्थल बन्द भएकाले धेरै विदेशीले आफ्ना नागरिकलाई वैकल्पिक अन्य मार्गबाट उद्धार गरेका छन् । उद्धारका निम्ति खार्तुम बाहिरका साना ‘एयर स्ट्रिप’हरू प्रयोग गरिएका छन् । खार्तुमबाट आठ सय ५० किलोमिटर टाढा रहेको सुडान पोर्टबाट पनि उद्धारका काम युद्धस्तरमा भइरहेका छन् ।

संयुक्त राष्ट्रसङ्घीय निकायहरूले सुडानीहरू चाड, इजिप्ट, दक्षिण सुडानलगायत स्थानतर्फ भागेका बताएका छन् । इण्डोनेसियाली सेनाले बुधबार सुडान पोर्टबाट एक सय १० जना आफ्ना नागरिकलाई उद्धार गरी साउदी अरबको जेद्दा पुर्‍याएको छ । हालसम्म छ सय ६७ जना इण्डोनेसियाका नागरिकको उद्धार भइसकेको छ ।

‘बुद्धधर्मको मर्म विश्वमा फैलाउन बौद्ध शिखर सम्मेलन उपयोगी’

बुद्धधर्मको मर्म विश्वमा फैलाउन गत साता नयाँदिल्लीमा सम्पन्न विश्व बौद्ध शिखर सम्मेलन उपयोगी भएको तिब्बती बौद्धधर्मका शिक्षकले बताएका छन् ।

बौद्धगुरु योङ्गे मिङ्ग्युर रिम्पोछेले बुद्धधर्मको सार संसारमा फैलाउन विश्व बौद्ध शिखर सम्मेलनबाट मद्दत पुगेको बताए ।

बौद्धगुरु रिम्पोछेले गत साताको शिखर सम्मेलनबाट बौद्धधर्मको सारलाई विश्वमा फैलाउन योगदान पुगेको बताउँदै सम्मेलनबाट आफूलाई पनि सिक्ने अवसर प्राप्त भएको उल्लेख गरे । बुद्ध धर्मको प्रादुर्भाव नेपालबाट भएको तथा यो धर्मको मुख्य सन्देश प्रेम र करुणा भएको उनले बताए ।

‘बुद्धधर्मका सन्दर्भमा नेपाल र भारतबीच घनिष्ठ सम्बन्ध छ, यो धर्मले दुवै देशलाई एकताबद्ध गरेको छ । हाम्रा निम्ति बुद्ध धर्मको जननी नेपाल र जनक भारत हो,’ नेपाल र भारतबीचको निकट छिमेक सम्बन्धका साथै धार्मिक सम्बन्धबारे चर्चा गर्दै तिब्बती गुरूले भने । बुद्धधर्मबारे नेपाल र भारतबाट धेरै शिक्षा पाइने बताउँदै उनले नेपालमा जन्मनु भएका बुद्धले भारतका धेरै स्थानमा यसको प्रचार गर्दै धेरै शिष्यलाई ज्ञान दिएको आफ्नो बुझाइ सुनाए ।

संस्कृति मन्त्रालयले आयोजना गरेको उक्त सम्मेलनलाई सम्बोधन गर्दै प्रधानमन्त्री नरेन्द्र मोदीले ‘अतिथि देवो भवः’ बुद्धभूमिको परम्परा भएको तथा बुद्धका आदर्शबाट प्रेरित भएर जीवन बिताएका धेरै व्यक्तिको सम्मेलनमा भएको उपस्थितिले बुद्धको वरिपरि आफू रहेको अनुभूत भएको उल्लेख गरेका थिए । उनले बुद्ध व्यक्तिभन्दा पनि विचार हो भन्ने आफूलाई लागेको बताएका थिए ।

प्रकाशित मिति : १४ बैशाख २०८०, बिहीबार  ८ : ०५ बजे

चिडियाखानामा पनि बर्डफ्लू देखिएपछि…

काठमाडौं– ललितपुरको जावलाखेलस्थित सदर चिडियाखाना परिसरभित्र रहेका जीवजन्तुहरूमा बर्डफ्लु संक्रमण

चलचित्र समाजको सामूहिक स्मृति र सांस्कृतिक पहिचान हो : सञ्चारमन्त्री डा तिमिल्सिना

काठमाडौं– सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाले चलचित्र क्षेत्र मनोरञ्जनको

नेकपा नेतालाई प्रचण्डको सुझाव- प्रतिक्रियावादीलाई फाइदा पुग्छ, निराशाको खेती नगर्नुस्

काठमाडौं– नेपाली कम्युनिस्ट पार्टी(नेकपा)का संयोजक पुष्पकमल दाहाल प्रचण्डले प्रतिक्रियावादीलाई फाइदा

चोरीको गाडी प्रयोग गरी चोरी गर्दागर्दै एकजना पक्राउ

काठमाडौं– सर्लाहीको बरहथवा नगरपालिका-३ स्थित प्रतिटोलमा चोरीको गाडी प्रयोग गरी चोरी

मन्त्रिपरिषद् बैठक बस्दै

काठमाडौं– नेपाल सरकार मन्त्रिपरिषद् बैठक आज अपराह्न साढे ४ बजे बस्ने