महिलाले आफ्नो स्वास्थ्यलाई ध्यान दिन परिवार भन्दा पहिला आफूलाई माया गर्नुपर्छ। विभिन्न समयमा महिलाले आफ्नो स्वास्थ्यका लागि विशेष ख्याल गर्नु आवश्यक हुन्छ। स्वास्थ्यकर खानापीनले स्वास्थ्य सुधार हुन्छ। कुन समयमा महिलाले आफ्नो स्वास्थ्यमा कति ध्यान दिने ? यी र यस्तै विषयमा आधारित रहेर जनस्वास्थ्य विज्ञ डा. अरुणा उप्रेतीसँग प्रभा थापाले गरेको कुराकानी सम्पादित अंश :
खानपानको कारणले जनस्वास्थ्यमा असर पारेको कुरालाई तपाईंको अध्ययनले कस्तो देखाएको छ ?
अहिले नेपालमा नसर्ने रोगको धेरै बिगबिगी छ। त्यसको प्रमुख कारण हाम्रो अस्वास्थ्य जीवन शैली र बदलिएको खानपान हो। अहिलेको स्थितिमा मानिसले घरमा भन्दा बाहिर नै खान रुचाएको अवस्था छ। हरेक स्थानमा होटलको व्यवस्था रहेको छ। मान्छेले घरमा भन्दा बाहिर नै खान रुचाएको हुन्छ। अहिले खानपान बढी बाहिर नै भएको हो जस्तो लाग्छ। बाहिरको खानामा चिल्लो, चिनी, नुन बढी हुन्छ। त्यसले स्वास्थ्यमा असर पार्छ। यो पछिल्लो समय खानपानको कुराले मान्छेमा मोटोपन तथा मधुमेह जस्ता रोग लाग्ने गरेका छन्। काठमाडौंमा १९ प्रतिशत मानिसलाई मधुमेहको समस्या छ। उच्च रक्तचापको समस्या बढी छ। यो सबै समस्या हाम्रो खानेकुरा तथा जीवन शैलीसँग सिधा सम्बन्ध रहेको हुन्छ। अमेरिकामा बालबालिका मोटोपनको सिकार भएको तथ्य धेरै रहेको छ। त्यो बच्चा ठूलो भएमा मधुमेह हुन्छ। त्यसकारण पछि मानिसमा विभिन्न स्वास्थ्य समस्या देखिने सम्भावना धेरै हुन्छ। भारतलाई मधुमेहको राजधानी नै भनिन्छ। त्यहाँ अहिलेको तथ्याङ्क अनुसार पाँच करोड भन्दा बढी मानिस मधुमेहको सिकार भएको देखिएको छ। खानपानकै कारण नेपालमा अहिलेको स्थिति धेरै नाजुक भएको छ।
खानेकुरामा परम्परागत ज्ञान तथा भोजन जोडिएको हो ?
भोजनको हाम्रो परम्परागत ज्ञान हामीले विस्तारै बिर्सेर गएका छौं। सादा दाल, भात र तरकारी खाने मान्छेले खाजामा प्राय घरमै भएको खानेकुरा नै खाने चलन रहेको थियो । अहिले खाजामा बालबालिका चाउचाउ जस्ता चिजहरू खाएको कारण नकारात्मक असर पारेको छ। चाडपर्व खानासँग जोडिरहेका हुन्छन्। घरको खानेकुरा घरपरिवार बसेर खाने परम्परागत संस्कार रहेको थियो। त्यो हटेको छ। अहिले त्यो परम्परा नै हराउँदै गएको छ। हामी परम्परागत खानालाई बिर्सेर गएको अवस्था छ। केही वर्षपछि विदेशी आएर अध्ययन गरेर अगे्रजी भाषामा लेखेपछि हामी हाम्रो खानेकुरा राम्रो रहेछ भनेर विचार गर्ने छौँ होला। गुन्द्रुक, बेसार राम्रो चिज हो। स्वास्थ्यको लागि मत्त्वपूर्ण छ भनेर अन्य देशमा अध्ययन भएको छ। अब आउने १०–१५ वर्षपछि मानिसले आफ्नो परम्परा अनुसारको खानेकुरा र स्वास्थ्यको लागि आवश्यक पहिलाका हाम्रा परम्परागत खानेकुरालाई नै नियाल्ने र खाने अवस्था नै सिर्जना हुनसक्छ। कतिपय अवस्थामा विज्ञापनले होइन अध्ययनले पनि हामीहरूलाई भ्रममा पारेको हुन्छ। तोरीको तेल खानु, तोरीको तेल शरीरमा लगाउनु, तोरीको तेललाई प्रयोग गर्नु हाम्रो परम्परागत ज्ञानबाट नै हो। त्यसलाई अन्त्य गर्न सकिँदैन। बाहिरबाट अध्ययन अनुसन्धान गरेर खानु हुँदैन भन्दा छोड्ने, खानुपर्छ भन्दा खाने नेपालीमा समस्या नै छ। अरूको कुरा सुन्ने बानीको विकास हामीमा रहेको छ। अण्डा सुत्केरी आमालाई, बाल बच्चाहरूलाई कुपोषणबाट बचाउन खानु आवश्यक हुन्छ। आम मानिसको लागि अण्डा स्वास्थ्यकर छ। यसले विभिन्न रोग लाग्नबाट बचाउँछ। यो खानेकुरा पनि समय समयको परिवर्तन रहेछ। घ्यु खानु, तेलको प्रयोग गर्नु यो हाम्रो ज्ञान नै थियो। त्यसमा नै हामीलाई बानी भएको हो। परम्परागत अध्ययनलाई हामीले लेखेर राखिदिएपछि अबको पुस्ताले कतै न कतै त पढ्लान् नि भनेर मैले त्यो बारेका किताब लेख्न अध्ययन गर्दैछु।
पछिल्लो समय खाना खाने समय परिवर्तन भएको छ। १६ घण्टा खाली पेट राख्ने चलन सुरु भएको छ। यो कत्तिको आवश्यक हो ?
पहिला भनिन्थ्यो, साँझ भएपछि नखानु। बिहान चाँडो भात खानु। त्यसले १२–१४ घण्टा त्यसै भएको थियो। हाम्रो परम्परागत धर्ममा व्रत बस्ने दैनिक एक छाक मात्र खानेकुरा खानु स्वास्थ्यका लागि अति राम्रो हुन्छ। तर सादा दालभात तरकारी खाने गर्नुपर्छ। नुनको प्रयोग कम गर्नु स्वास्थ्यका लागि अति राम्रो हो। इन्टरमिडियम फास्टिंग गर्नु स्वास्थ्यका लागि अति आवश्यक रहेको छ। भात धेरै खानु स्वास्थ्यको लागि नकारात्मक पक्ष हो। दही, मही, दूध, घ्यु खानु अति आवश्यक रहेको छ। भात खानु नराम्रो होइन तर मिलाएर खानुपर्छ।
चिनी रोग लागेको व्यक्तिले खाना नै खानु नहुने हो ? वा के कस्तो खाना खान मिल्छ ?
शिक्षाको धेरै कमी छ। स्वास्थ्यकर्मीले मधुमेह मिर्गौलाको समस्या वा अन्य कुनै समस्या भएको मानिसलाई हामीले शरीरलाई सम्पूर्ण रूपमा नहेरेर टुक्राटुक्रा बनाएरै हेर्ने गर्छौ। स्वास्थ्यकर्मीले औषधि दिन्छ तर परामर्श गर्ने चलन भने छैन। मधुमेह हुने व्यक्तिले चामल खानु नहुने भन्ने होइन। थोरै मात्रामा खाँदा केही फरक पर्दैन। कोदो, फापर जस्ता खानेकुरा बढी मात्रामा खाँदा स्वास्थ्यका लागि राम्रो गर्छ। मधुमेहले शरीरका अन्य भाग तथा मिर्गौला, आँखाका अन्य भागमा समस्या आउँछ। औषधिको प्रयोगसँग स्वास्थ्यकर खानेकुराको पनि प्रयोग गर्नुपर्छ।
तपाईंहरू ग्रामीण क्षेत्रमा गएर शिक्षा दिनुहुन्छ त्यहाँ कस्तो पाउनु हुन्छ ?
ग्रामीण क्षेत्रमा बसोबास गर्ने मानिसले आफ्नो स्थानीय खानेकुरा खान छोडेर उपत्रो रुपमा चाउचाउको प्रयोग गरेका छन्। ढुसी आएको बदाम खाँदा कलेजोमा धेरै असर गरेको हुन्छ। गाउँमा बिस्कुटको प्रयोग पनि धेरै रहेको छ। विदेशी बिस्कुट राम्रो भन्छन् तर बिस्कुट भन्ने चिज नै राम्रो हुँदैन। वास्तवमा चिउरा, मकै, भटमास नै स्वास्थ्यकर खाने कुरा हो। म गाउँघरमा गएर पनि भन्ने गर्छु, स्थानीय खानेकुरा नै खानुस् बजारमा भएका चाउचाउ, बिस्कुट जस्ता चिजको प्रयोग नै नर्गनुस्।
महिला स्वास्थ्यका लागि तपाईं के भन्नुहुन्छ ?
महिलाको महिनावारी, गर्व अवस्था र सुत्केरी भएपछि स्वास्थ्यमा विशेष किसिमको पोषणको आवश्यक पर्छ। त्यो बेलामा घर परिवारले ख्याल राख्नुपर्छ। यो परम्पराले हामीलाई सिकाएको तथा चलनमा नै छ। त्यसलाई हामीले सधै ध्यानमा राख्नुपर्छ। महिला घरको काम र बाहिरको काम गर्ने भएको हुनाले महिलाले पुरुषलाई घरको काममा संलग्न गराउनुपर्छ। नत्र भने महिलामा मानसिक तनाव र दबाब पर्छ। हरेक पुरुषले घरको काम गर्नु अति आवश्यक छ। महिलाले खानपिनमा ध्यान दिनुपर्छ। महिलाले आफ्नो स्वास्थ्यलाई ध्यानमा राख्नको लागि आफूले आफूलाई माया गर्न सिक्नुपर्छ। (एभिन्युजसँगको सहकार्यमा तयार अन्तवार्ता) प्रस्तुति : कुसुम गौतम













प्रतिक्रिया