चिसो बढेसँगै दम र निमोनियाको संक्रमण बढ्यो : जोगिन के गर्ने ? | Khabarhub Khabarhub

चिसो बढेसँगै दम र निमोनियाको संक्रमण बढ्यो : जोगिन के गर्ने ?

मौसमी फ्लुबाट बच्न खोप अनिवार्य


५ कार्तिक २०८१, सोमबार  

पढ्न लाग्ने समय : 3 मिनेट


78
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – गर्मीको सिजन सकिएर भर्खरै चिसो मौसमको सुरुवात हुँदैछ। काठमाडौं लगायत देशका उच्च पहाडी क्षेत्रमा विस्तारै चिसो बढिरहेको छ। चिसो बढेसँगै मौसमी फ्लुबाट प्रभावित बिरामी पनि धेरै बढेका छन्।

जाडोयाममा फ्लु भाइरसका कारण प्रायः सबै उमेर समूहका मानिसमा स्वास्थ्य समस्या आउने गरेको पाइन्छ। यत्तिबेला अस्पतालमा रुघाखोकी, ज्वरो, घाँटी दुख्ने र दमको समस्या लिएर आउनेको संख्या बढेको चिकित्सक बताउँछन्।

डेङ्गीका बिरामी घटे, दमका बढे

चिसो बढ्ने बित्तिकै दीर्घकालीन दमको समस्या भएका बिरामीलाई रुघाखोकी लाग्ने, निमोनिया हुनेलगायतका समस्या बढिरहेका छन् भने मौसम परिवर्तन हुनबेला भाइरल इन्फेक्शनका बिरामी पनि धेरै आउने गरेका टिचिङ अस्पतालमा कार्यरत छातीरोग विशेषज्ञ डा. पङ्कज पन्तले बताए ।

खबरहबसँग कुरा गर्दै डा. पन्तले भने, ‘केही समय अघिसम्म डेङ्गीका बिरामीहरू धेरै आउन गरेका थिए । अहिले फाट्फुट्टरूपमा डेङ्गी देखिए पनि यसको सङ्क्रमण लगभग सकिएको छ ।’ अहिले ओपिडीमा दैनिक आउने बिरामीहरूमा १० जनामा ५ जना चिसोका कारण रुघाखोकी लागेका हुने गरेका डा. पन्तले बताए ।

 डा. पङ्कज पन्त 

तीमध्ये कसैलाई भाइरल इन्फेक्शन हुन्छ भने कसैलाई खोकी लाग्ने, ज्वरो आउने, निमोनियाँ भएको जस्ता समस्या लिएर बिरामी आउने गरेका उनले बताए ।

दीर्घकालीन दमको समस्या भएका प्रायःजसो सबै बिरामी सास फेर्न गाह्रो भयो, रुघाखोकी लाग्यो, खकार बाक्लो हुन थाल्यो भनेर आउँछन् ।

बाँकी लामो समयदेखि खोकी सञ्चो भएन ज्वरो आइरहेको छ भनेर पनि युवा अवस्थाका बिरामी पनि धेरै अहिले आउने गरेका डा. पन्तले बताए ।

बालबालिकामा निमोनिया बढ्दै

चिसो बढेसँगै बालबालिकाहरूमा  भाइरल इन्फेक्शन र रुघाखोकीको सङ्क्रमण बढेको शिखर अस्पताल धुलाबारी झापामा कार्यरत बालरोग विशेषज्ञ डा. दिनेश शाहले बताए ।

डा. दिनेश शाह ।

उनले भने, ‘भाइरल इन्फेक्शन एक व्यक्तिबाट अर्को व्यक्तिमा सजिलै सर्ने भएकाले स्कुले बालबालिका धेरै प्रभावित हुने गरेका छन् ।’

अहिले दैनिकजसो २५ देखि ३० जना बिरामी आउँछन् । जसमध्ये रुघाखोकी र भाइरल इन्फेक्शनकै बिरामी धेरै हुने गरेका छन् भने निमोनियाका बिरामी पनि केही मात्रामा बढेको उनले बताए ।

मौसमी फ्लुबाट बच्न खोप अनिवार्य
डा. पन्तका अनुसार मौसमी फ्लुबाट बच्नका लागि इन्फ्लुएञ्जा खोप अनिवार्य हुन्छ। यो खोपले भाइरसलाई नियन्त्रण गर्छ।

डा. पन्तले भने, ‘निमोकोकल भन्ने खोप छ जसले ब्याक्टेरियाबाट जोगाउँछ। इन्फ्लुएञ्जा खोप बालबालिकादेखि वृद्धवृद्धा सबैले वर्षमा एक पटक लगायौं भने मौसमी फ्लु र भाइरल इन्फेक्सनबाट जोगाउँछ।’

दीर्घकालीन दमका बिरामीले इन्फ्लुएञ्जा सँगसँगै अर्को निमोकोकल खोप पनि लगाउनुपर्ने उनले प्रष्ट पारे। ‘हामीले बारम्बार यसबारेमा जानकारी दिने गरेका छौँ। तर धेरैले चासो दिदैनन्’, डा. पन्तले थपे। चिकित्सकले दुई वटै खोप लगाउन सुझाव दिए पनि निमोकोकलको तुलनामा इन्फ्लुएञ्जा अलि सस्तो भएकाले त्यो खोप धेरैले लगाउने गरेको डा. पन्तको अनुभव छ। धेरै मानिसमा यसबारे अझै सचेतना नभएको उनले बताए।

चिसो मौसमको सुरुवातमा देखिने मौसमी फ्लुबाट बच्न चिसो खानेकुरा, अमिलो, फ्रिजमा राखिएको खानेकुरा नखान चिकित्सकले सुझाव दिएका छन्। यो मौसमी फ्लु सास फेर्दा एक व्यक्तिबाट अर्को व्यक्तिमा चाँडो फैलिने भएकाले सबैले मास्कको प्रयोग अनिवार्य गर्नुपर्ने सुझाव चिकित्सकको छ।

उपचार के छ ?
यसको उपचारको लागि छुट्टै औषधी केही पनि नभएको चिकित्सक बताउँछन्। घरमै बस्ने, आराम गर्ने, पानी प्रशस्त मात्रामा खानु नै यसको उपचार हो। मौसमी फलफूल खानु अगाडि हल्का मनतातो पानीले धुनु आवश्यक हुने डा. शाहले बताए।

बालबालिकामा भाइरल इन्फेक्सनसँगै निमोनियाको जस्तै कोखा हान्ने, उच्च ज्वरो आउने, खोक्दा कफ निकाल्ने, तीव्र गतिमा सास फेर्ने लक्षण देखिए तुरुन्तै विशेषज्ञ चिकित्सकको परामर्शमा उपचार गराउन उनको सुझाव छ।

प्रकाशित मिति : ५ कार्तिक २०८१, सोमबार  ८ : ३६ बजे

अमेरिकाले इजरायललाई सघाउनु बाध्यता कि आवश्यकता ?

काठमाडौं– अमेरिका र इजरायलबीचको मित्रता अन्तर्राष्ट्रिय समुदायबाट लुक्न सकेको छैन

गुरुकुल सञ्चालनका लागि मुठीदान अभियान

गण्डकी – पोखरा महानगरपालिका–३२ लामेआहालमा सञ्चालित राधाकृष्ण गुरुकुल संस्कृत विद्यालय

रिसोर्टमा भएको अपहरणमा संलग्न १७ लडाकुलाई आजीवन कारावासको सजाय

एजेन्सी– करिब २५ वर्षअघि मलेसियामा विदेशी र फिलिपिनो नागरिकको अपहरण

स्पेसएक्सले अन्तरिक्षमा पठायो २० इन्टरनेट स्याटेलाइट

काठमाडौं– स्पेसएक्सले एकै पटक २० ओटा इन्टरनेट स्याटेलाइट प्रक्षेपण गरेको

स्वास्थ्य मन्त्रालयले गर्‍यो सय दिनको प्रगति विवरण सार्वजनिक

काठमाडौं– स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आफ्नो सय दिनको प्रगति विवरण