गुल्मीका स्थानीय तहको घरभाडामा ३९ लाख खर्च | Khabarhub Khabarhub

गुल्मीका स्थानीय तहको घरभाडामा ३९ लाख खर्च


२० जेठ २०८०, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

तम्घास– गुल्मीका स्थानीय सरकारले घरभाडामा वार्षिक ३९ लाखभन्दा बढी रकम खर्च गर्ने गरेको पाइएको छ । हालसम्म भाडामा बस्दै आएका जिल्लाका पाँच पालिकाले उक्त रकम घरभाडामा खर्च गरेका हुन् । 

स्थानीय तह स्थापना हुँदा सबै पालिका भाडाकै घरमा थिए । छ वर्षको अवधिमा केही पालिकाले प्रशासकीय भवन तयार गरे भने केहीले अस्थायी संरचना बनाएर कार्यसम्पादन सुरु गरेका छन् । जिल्लाका इस्मा, मुसिकोट, कालिगण्डकी, चन्द्रकोट र गुल्मीदरबार पालिकाले वार्षिक ३९ लाख चार हजार घरभाडामा खर्च हुने गरेको जिल्ला समन्वय प्रमुख दोर्णबहादुर खत्रीले बताए ।

कालीगण्डकी गाउँपालिकाको कार्यालय स्थापना भएदेखि भाडाको घरबाट सञ्चालन हुँदै आएको छ । अहिले कालीगण्डकीले घरभाडाबापत मासिक रू ६० हजारका दरले वार्षिक सात लाख २० हजार खर्चंदै आएको कार्यालयले जनाएको छ । गुल्मीदरबार गाउँपालिकाको कार्यालय पनि भाडाकै घरबाट सञ्चालन भइरहेको छ । गुल्मीदरबारले पनि मासिक ६० हजारका दरले वार्षिक सात लाख २० हजार घरभाडामा खर्चने गरेको पालिकाका सूचना अधिकारी नवराज घिमिरेले जानकारी दिए ।

मुसिकोटले मासिक ६६ हजार चार सयका दरले वार्षिक रू सात लाख ९६ हजार आठ सय घरभाडामै खर्च हुने सूचना अधिकारी प्रकाश घिमिरेले जानकारी दिनुभयो । इस्मा गाउँपालिकामा स्थानीय सरकारको पहिलो कार्यकालको अन्तिममा पालिकाको केन्द्र वडा नं ५ रजस्थलको रातापोखरा हुने गरी टुंगो लागेर कार्यालय बने पनि सञ्चालन हुन सकेन । हाल रजस्थल दोबाटामा घर भाडामा लिएर मासिक ३३ हजार भाडा तिर्ने गरेको पालिका कार्यालयले जनाएको छ ।

चन्द्रकोट गाउँपालिकाको कार्यालय चन्द्रकोट बहुमुखी क्याम्पसबाट सञ्चालन गरिएको छ । स्थापनाको समयमा निजी घरमा भाडा लिएर कार्यालय सञ्चालन गरेको चन्द्रकोटले केही समयपछि क्याम्पसमा कार्यालय सारेको थियो । अहिले चन्द्रकोटको मासिक रू एक लाख छ हजारका दरले वार्षिक १२ लाख ७२ हजार रकम घरभाडामा खर्च हुने सूचना अधिकारी शिव ज्ञवालीले जानकारी दिए । गत वैशाखसम्म मासिक रू ९७ हजार भाडा रहेकामा अहिले भाडा वृद्धि गरिएको उनले बताए ।

मुसीकोट नगरपालिकामा नयाँ बन्दै गरेको प्रशासकीय भवनको काम अन्तिम चरणमा पुगेको छ । चन्द्रकोट गाउँपालिकाका–४ शान्तिपुरमा पालिकाको भवन बन्दैछ । जिल्ला समन्वय प्रमुख दोर्णबहादुर खत्रीले आगामी चार वर्षमा सबै पालिकाका भवन बनाउने गरी समन्वय भइरहेको बताए । 

‘कतिपय पालिकाका भवन निर्माणाधीन छन्, कतिपयको जग्गाको अन्तिम टुंगो लागेको छ’, उनले भने, ‘जनप्रतिनिधिको यो कार्यकालभरि सबै पालिकाका भवन बनिसक्नेछन् ।’

प्रकाशित मिति : २० जेठ २०८०, शनिबार  २ : २७ बजे

ओझेलमा परेका पर्यटकीय गन्तव्यको प्रवर्द्धन गरौँ : प्रधानमन्त्री

काठमाडौं– संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको समेत कार्यभार सम्हालेकी

गुण्डुबाट ओलीले भने- असंवैधानिक सरकारको धम्कीले हामी डराएका छैनौँ 

काठमाडौं – पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले

गृहले भन्यो- अन्य पक्षलाई उक्साहट हुनेगरि कुनै कार्यक्रम नगर्नू 

काठमाडौं– गृह मन्त्रालयले वर्तमान अवस्थामा  सभा सम्मेलन तथा विरोध कार्यक्रम

गोला-मक्सुरमा अब हरेक घरमा धारो, टर्‍यो खानेपानीको संकट

सिरहा– कुनै समय आधा घण्टा हिँडेर खोला छेउको कुवा पुगेर

एसइई पूरक परीक्षाको नतिजा सार्वजनिक

भक्तपुर– राष्ट्रिय परीक्षा बोर्डले आज माध्यमिक शिक्षा परीक्षा (एसइई) पूरक