दिनभर आज: यी हुन् तपाईंले छुटाउन नहुने आजका मुख्य समाचारहरू | Khabarhub Khabarhub

दिनभर आज: यी हुन् तपाईंले छुटाउन नहुने आजका मुख्य समाचारहरू


३१ जेठ २०८०, बुधबार  

पढ्न लाग्ने समय : 4 मिनेट


57
Shares
  • change font
  • change font
  • change font

आज दिनभर समाजवादी मोर्चा बन्छ, फेरि नयाँ नेकपा बनाउने प्रधानमन्त्री प्रचण्डकाे भनाई, भ्रष्टाचारविरुद्धको अभियानबाट पछि नहट्न सरकारको ध्यानाकर्षण, महानगरभित्रका अव्यवस्थित तार हटाइँदै, कांग्रेस कार्यवाहक सभापतिको जिम्मेवारी खड्कालाई, सिफारिस कार्यान्वयन नभएको थारू आयोगको गुनासोलगायतका समाचारले प्रमुख स्थान पाए ।

समाजवादी मोर्चा बन्छ, फेरि नयाँ नेकपा बनाउने प्रधानमन्त्री प्रचण्डकाे भनाई

प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले समाजवादी क्रान्तिको तयारीका लागि व्यापक समाजवादी संयुक्त मोर्चाको तयारी भइरहेको बताएका छन् ।

नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) जिल्ला समन्वय समि ति दाङद्वारा आयोजित अगुवा कार्यकर्ता भेलामा बोल्दै प्रधानमन्त्रीले समाजवादी मोर्चा हुँदै नयाँ नेकपासम्म पुग्नेगरि पहलकदमी लिइएको बताएका हुन् ।

भ्रष्टाचारविरुद्धको अभियानबाट पछि नहट्न सरकारको ध्यानाकर्षण
प्रेस सेन्टर नेपालले कुनै पनि बहानामा भ्रष्टाचारविरुद्धको अभियानबाट पछि नहट्न सरकारको ध्यानाकर्षण गराएको छ ।

प्रेस सेन्टरका अध्यक्ष विष्णु सापकोटासहितको प्रतिनिधिमण्डलले आज प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई ध्यानाकर्षणपत्र बुझाउँदै सरकारले भ्रष्टाचारविरुद्ध शून्य सहनशीलतासहित चालेको कदम, गरेको निर्णय र कारबाही प्रक्रियाले आम जनमानसमा सकारात्मक सन्देश र नयाँ आशाको सञ्चार गरेकाले उक्त अभियानलाई अझ सशक्त बनाउन आग्रह गरेको हो ।

द्वन्द्वकालीन मुद्दालाई अदालतमा पुर्‍याउनु देशलाई पुनः द्वन्द्वमा धकेल्ने षडयन्त्र : डा. भट्टराई

नेपाल समाजवादी पार्टीका अध्यक्ष डा बाबुराम भट्टराईले द्वन्द्वकालीन मुद्दालाई बल्झाएर अदालतमा पुर्‍याउनु देशलाई पुनः द्वन्द्वमा धकेल्ने षडयन्त्र भएको बताएका छन् ।

जिल्लामा सञ्चालित रणनीति पूर्वाधार विकासको अवस्थाबारे जानकारी लिन गोरखा आएका उनले सदरमुकाममा आज आयोजित पत्रकार भेटघाट कार्यक्रममा भने, “यो घटना एक प्रकारको पुरानो घाउहरुलाई कोट्याई रहेर देशलाई फेरि द्वन्द्वतिर फर्काउने केही शक्तिको चलखेल हो । त्यसैका लागि यसमा केही पात्रहरुलाई उभ्याइएको छ ।”

महानगरभित्रका अव्यवस्थित तार हटाइँदै

काठमाडौँ महानगरपालिकाभित्र अव्यवस्थितरूपमा राखिएका टेलिफोन, इन्टरनेटलगायतका तार व्यवस्थापनको काम धमाधमरूपमा भइरहेको छ ।

महानगरपालिकाको ताकेतापछि सेवा प्रदायक कम्पनीले टेलिफोन, इन्टरनेट, केवललगायतका तार व्यवस्थित गर्ने उद्देश्यले तार काट्ने र हटाउने काम भइरहेको हो । तार व्यवस्थापनका लागि काटिएका तार सडकपेटीमा अलपत्र छोडिँदा पैदलयात्रुलाई समस्या हुनुका साथै त्यसले दुर्घटनाको जोखिम बढाएको काठमाडौँ महानगरपालिका–९ सिनामङ्गलका ज्ञानु राणाले बताए ।

कांग्रेस कार्यवाहक सभापतिको जिम्मेवारी खड्कालाई

नेपाली कांग्रेसको कार्यवाहक सभापतिको जिम्मेवारी उपसभापति एवं केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानका प्रमुख पूर्णबहादुर खड्कालाई तोकिएको छ ।

पार्टी सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा नियमित स्वास्थ्योपचार (फ्लोअप) का लागि सिंगापुर प्रस्थान गरेकाले कांग्रेसको विधानबमोजिम स्वदेश नफर्कुञ्जेलसम्मका लागि उनलाई पार्टीको कार्यवाहक सभापति तोकेको पार्टी कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

सिफारिस कार्यान्वयन नभएको थारू आयोगको गुनासो

थारू आयोगले सरकारसमक्ष पेस गरेको सिफारिस कार्यान्वयन नभएको गुनासो गरेको छ । महिला तथा सामाजिक मामिला समितिको मङ्गलबार बसेको ‘आयोगको क्षेत्राधिकार, गत वर्षमा सम्पन्न कार्यक्रम, पूरा हुन नसकेका काम, चालु आर्थिक वर्षको कार्यक्रम तथा समस्यासम्बन्धी’ बैठकमा आयोगले यस्तो जनाएको हो ।

सरकारलाई निर्वाचन कार्यालय खारेज गर्ने निर्णय पुनरावलोकन गर्न संसदीय समितिको निर्देशन

सरकारलाई जिल्ला निर्वाचन कार्यालय खारेज गर्ने निर्णय पुनरावलोकन गर्न निर्देशन दिइएको छ । सिंहदरबारमा बुधबार बसेको राष्ट्रिय सरोकार तथा समन्वय समितिले सरकारलाई उक्त निर्णय पुनरावलोकन गर्न निर्देशन दिएको हो ।

यही १५ जेठमा संघीय संसदको दुवै सदनको संयुक्त बैठकमा अर्थमन्त्री डा. प्रकाशशरण महतले आर्थिक वर्ष २०८०/०८१ को बजेटमा जिल्ला निर्वाचन कार्यालय खारेज गर्ने विषय समावेश गरिएको भन्दै सरकारको चर्को आलोचना भइरहेको छ ।

घरभाडामा २५ देखि ५० प्रतिशतसम्म छुट दिन माग

आर्थिक मन्दीले व्यवसायी पलायन हुने स्थिति आएको भन्दै घरभाडामा छुट दिन घरधनीसमक्ष माग गरिएको छ । पोखरास्थित नेपाल राष्ट्रिय घरभाडा सरोकार समितिले घरभाडामा कम्तीमा २५ देखि ५० प्रतिशतसम्म छुट दिनुपर्ने जनाएको हो ।

समितिद्वारा मङ्गलबार आयोजित पत्रकार सम्मेलनमा समितिका अध्यक्ष कमलप्रसाद न्यौपानेले घरबहाल कर पनि घरधनी आफैँले तिर्न आग्रह गरे । समितिले सम्झौताअनुरुप भाडा वृद्धिको समय आएको भए पनि त्यसलाई पछाडि सार्न माग गरेको छ ।

पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले झोलुङ्गे पुल निर्माणलाई प्राथमिकता

सरकारले पुरातात्विक स्थान र पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले आकर्षक र नौला झोलुङ्गे पुल निर्माणलाई प्राथमिकता दिने योजना बनाएको छ ।

नागरिकलाई अत्यावश्यक धेरै स्थानमा पुल बनेकाले अहिले विभागले नदी पार गर्नका लागि मात्रै भन्दा पनि नयाँ प्रविधि र आकर्षक पुल निर्माण सुरु गरेको हो । अब विगतमा बन्ने गरेका सामान्य झोलुङ्गे पुलभन्दा पर्यटनका लागि र पुरातत्वका लागि हेर्दा आकर्षक किसिमको पुल बन्न सक्ने स्थानीय पूर्वाधार विभागका उपमहानिर्देशक असोककुमार साहले जानकारी दिए ।

विवाह गर्न वडाको सिफारिस अनिवार्य

जाजरकोटको कुशे गाउँपालिका–९ ले विवाहपूर्व अनिवार्य सिफारिस लिनुपर्ने नियम लगाएको छ । बालविवाह न्यूनीकरणका लागि भन्दै वडाले विवाहपूर्व वडाको सिफारिस अनिवार्य गरेको हो ।

वडाध्यक्ष शिवराज गिरीले भने, ‘बढ्दै गएको बालविवाहलाई मध्यनजर गरी यस वडाले न्यूनीकरणका लागि सम्पूर्ण टोल बस्तीमा विवाहपूर्व वडाबाट सिफारिस लिई विवाह कार्य अगाडि बढाउन अनुरोध गरेको छ ।’

विवाहका लागि वडाबाट सिफारिस लिँदा उनीहरूको वास्तविक जन्म मिति थाहा हुने र बालविवाह न्यूनीकरणमा सहयोग पुग्ने अपेक्षा वडाले लिएको शिवराज गिरीले जानकारी दिए। वडालाई बालमैत्री वडा घोषणा गरिएको छ ।

कानून विपरीत सञ्चालन गरिएका २ स्वास्थ्य संस्थामा महानगरले लगायो ताला

काठमाडौं महानगरपालिकाले दुई वटा स्वास्थ्य संस्थामा ताला लगाइदिएको छ ।

अनुगमनका क्रममा कानूनी रुपमा सञ्चालन नभएको पाइएपछि तालाबन्दी गरिएको मेयर बालेन शाहले जानकारी दिएका छन् । महानगरपालिकाले यसअघि यही जेठ ६ गते असाहय विपन्नसहित लक्षित वर्गलाई कुल शैय्याको १० प्रतिशत निःशुल्क उपचार गर्नुपर्ने सूचना जारी गरेको थियो ।

काभ्रेपलाञ्चोकमा ‘बुक बस’ कार्यक्रम सञ्चालन

अमेरिकन दूतावासले यस वर्ष पनि काभ्रेपलाञ्चोकमा ‘बुक बस’ कार्यक्रम सञ्चालन गरेको छ । ‘सतोरी सेन्टर फर द आर्टस्’द्वारा उक्त कार्यक्रम हाल पनौती नगरको छ शैक्षिक संस्थामा क्रमशः सञ्चालन भइरहेको छ ।

शैक्षिक तथा सांस्कृतिक कार्यक्रमका रूपमा मङ्गलबारदेखि सञ्चालित बुक बसमा पाँच विद्यालय र एक पुस्तकालयमा विज्ञान, प्रविधि, संरक्षणबारे कार्यशाला तथा पुस्तक पठनपाठनका कार्यक्रम हुने जनाइएको छ । विद्यार्थीलाई शैक्षिक, सांस्कृतिक तथा ऐतिहासिक नदी र वरिपरिको वातावरणबारे रुचि बढाउन कार्यक्रमको आयोजना गरिएको संयोजक सोनिया तामाङले बताएका छन् । उनका अनुसार जेठ ३० देखि असार ९ गतेसम्म सञ्चालित कार्यक्रमअन्तर्गत पनौती आधारभूत विद्यालय, पुण्य हाइस्कुल, इन्द्रेश्वर मावि, सूर्योदय इङ्लिस बोर्डिङ स्कुल, सामुदायिक बोर्डिङ स्कुल तथा ज्ञान विकास सामुदायिक पुस्तकालयमा कार्यक्रम तथा प्रदर्शनी हुनेछ ।

महाकाली प्रादेशिक अस्पतालको गुणस्तर वृद्धि

महेन्द्रनगरस्थित महाकाली प्रादेशिक अस्पतालले स्वास्थ्य सेवामा गुणस्तर वृद्धि गरेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, स्वास्थ्य निर्देशनालय सुदूरपश्चिम प्रदेशद्वारा गरिएको न्यूनतम सेवा मापदण्ड कार्यान्वयन कार्यक्रमअन्तर्गत महाकाली प्रादेशिक अस्पतालमा गरिएको अनुगमन मूल्याङ्कनमा विगतको तुलनामा अस्पतालले स्वास्थ्य सेवामा उल्लेख्य सुधार गरेको पाइएको हो ।

स्वास्थ्य सेवा विभागले विश्व स्वास्थ्य संगठनको मापदण्डअनुसार अस्पतालमा सेवा सञ्चालन भए-नभएको हरेक छ-छ महिनामा अनुगमन गर्ने गरेको छ । विभागका अनुसार सन् २०१९ मा महाकाली अस्पतालको गुणस्तर ३५ प्रतिशतमात्रै रहेको थियो । हाल अस्पतालले गुणस्तर वृद्धि गर्दै ८५ प्रतिशत पुर्‍याएको छ । त्यसैगरी २०२० मा अस्पतालले सेवा सुधार गर्दै ६३ प्रतिशत पुर्‍याएको थियो । सन् २०२१ मा ६८ प्रतिशत, २०२२ मा ७८ प्रतिशत सेवा सुधार भएको हो ।

पूर्वाञ्चल विश्वविद्यालय सेवा आयोगका अध्यक्षलाई कालोमोसो दल्ने नेविसंघ मोरङका सभापति पक्राउ

पूर्वाञ्चल विश्वविद्यालय सेवा आयोगका अध्यक्ष महेश दाहाललाई कालोमोसो दलेको आरोपमा नेपाल विद्यार्थी संघ (नेविसंघ) मोरङका सभापति सरोज पोखरेल पक्राउ परेका छन् ।

बुधबार मोरङको बुढीगंगा क्षेत्रबाट कालोमोसो दलेको घटनाको अनुसन्धान गर्न उनलाई जिल्ला प्रहरी कार्यालय सुनसरीको टोलीले पक्राउ गरेको हो । उनीमाथि सेवा आयोग अध्यक्ष दाहाललाई कालोमोसो दलेको आरोप छ ।

प्रकाशित मिति : ३१ जेठ २०८०, बुधबार  ९ : ०० बजे

दक्षिणसँगका सबै सीमा बन्द गरेको उत्तर कोरियाको घोषणा

सियोल– उत्तर कोरियाले दक्षिण कोरियासँगका सीमा पूर्ण रुपमा बन्दको घोषणा

‘लेकाली’को ५७ वर्ष : आफ्नै डम्फू, आफ्नै ताल

नेपाली संगीतमा मास्टर मित्रसेन, मेलवादेवी, मास्टर रत्नदास प्रकाशका पुस्तापछि धर्मराज

म्याग्दीको विकट डाँडागाउँमा स्वास्थ्यचौकी भवन निर्माण

म्याग्दी– म्याग्दीको मालिका गाउँपालिका–३ डाँडागाउँमा स्वास्थ्यचौकी भवन निर्माण भएको छ

ताप्लेजुङको अद्वितीय सिङ्जेमा ताल

ताप्लेजुङ– ताप्लेजुङको सिङ्जेमा ताल, प्राकृतिक सुन्दरता र धार्मिक आस्थाको अद्वितीय

आज कुन तरकारी कति मूल्यमा पाइन्छ ?

काठमाडौं– कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि