ललितपुरको नख्खु-भैँसेपाटी सडक सम्पन्न « Khabarhub

ललितपुरको नख्खु-भैँसेपाटी सडक सम्पन्न


३२ जेठ २०८०, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


105
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– वर्षौँदेखि अलपत्र अवस्थामा रहेको ललितपुरको नख्खु-भैँसेपाटी सडक सम्पन्न भएको छ । सडकका केही भागमा थोरै काम बाँकी भए पनि सबैभन्दा समस्या रहेको नख्खु उकालोमा कालोपत्र सकिएको हो । 

सडकमा तल्लो प्याकेजको सबैभन्दा समस्या रहेका खण्डमा काम सकिएको काठमाडौँ उपत्यका सडक विस्तार आयोजनाले जनाएको छ । मुख्य सडकमा कालोपत्रसँगै छेउमा आवश्यक संरचनाको काम सकिएको आयोजनाका सूचना अधिकारी महानन्द जोशीले बताए । पाइप व्यवस्थापनको काम पनि भइसकेको उनले जानकारी दिए। उनले भने, ‘अप्ठ्यारो खालको काम सकिएको छ, अब एक-दुई ठाउँमा थोरै मात्रै गर्नुपर्ने छ’ ।

सबै पक्षको ध्यान तानेको र आयोजनालाई पनि विभिन्न अवरोधले गर्दा सरासर काम गर्न नसकेका खण्डमा नख्खु–भैँसेपाटीको आवास गेटसम्मको खण्ड रहेको थियो । अहिले सो खण्डको सडक कालोपत्र भएपछि नागरिकलाई सडकमा आवतजावत गर्न सजिलो भएको उनले बताए। सोह्रखुट्टेमा थोरै काम बाँकी रहेको सूचना अधिकारी जोशीले जानकारी दिए। अहिले पर्खाल हाल्ने काम भइरहेको र त्यो सकिएपछि कालोपत्र हुने उनले जानकारी दिए। 

नख्खु उकालोमा कालोपत्र सकिएपछि नख्खु–बुङ्मति सडकमा मुख्य काम सकिएर ससाना काम मात्रै बाँकी रहेको उनले बताए । कुनैकुनै खण्डमा ‘ओभर ले’ गरिने उनले बताए । उनका अनुसार सोह्रखुट्टेमा छेउमा पर्खाल लगाएर कालोपत्र गर्न लागिएको छ । उनले भने, ‘यी थोरै काम सकिएपछि ठेक्का सम्पन्न हुनेछ ।’

विगतका वर्षमा प्रगति कम रहेको यो सडकमा पछिल्लो केही वर्षयता भने निर्माणले गति लिन थालेको थियो । नख्खु उकालोबाहेक अन्यत्र निर्माणको काम भइरहेको थियो । उकालोमा भने सडकमा बिच्छ्याइएको संरचनाका कारण निर्माणमा अवरोध भएको थियो । पछिल्लो वर्ष काठमाडौँ उपत्यका खानेपानी लिमिटेडले पाइप व्यवस्थित गरेर मात्रै सडक निर्माण गर्न खोज्दा ढिलाइ भएको थियो । ललितपुर आउने पानी यही बाटो ल्याउने हुँदा यो खण्डमा धेरै पुराना पाइप रहेका थिए । सयौँ वर्ष पुराना पाइप व्यवस्थित नगरी कालोपत्र गर्दा पुनःभत्कने समस्या हुँदा पहिले त्यसलाई व्यवस्थित गरिएको हो । 

नख्खु–भैँसेपाटी सडक निर्माणमा भएको ढिलाइमा सरकारले चासो देखाउँदै आएको छ । यसअघि मन्त्रालयको जिम्मेवारी सम्हालेका उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठले पटकपटक स्थलगत निरीक्षण गरेका थिए । अहिले भौतिक पूर्वाधारमन्त्री प्रकाश ज्वालाले पनि दुई पटक सो सडकको निरीक्षण गरेका थिए ।

पाँच किलोमिटर लम्बाइको सो सडक निर्माणको काम विसं २०७३ असारदेखि सुरु भएको थियो । सडकको चौडाइ २० मिटर हुने र सडकमा वर्षाको पानी जाने पाइप, पैदलयात्रु मार्गलगायतका संरचना निर्माण गरिने ठेक्का सम्झौतामा उल्लेख थियो । आशिष बिरुवा सिएम जेभीले तीन दशमलव पाँच र पप्पु महालक्ष्मी वल्डवाइड जेभीले एक दशमलव पाँच किमी सडक निर्माण गर्ने गरी सम्झौता भएको थियो । 

प्रकाशित मिति : ३२ जेठ २०८०, बिहीबार  १ : ३७ बजे

नेपाल मेडिकल काउन्सिलको रजिस्ट्रारमा डा. सुप्रभात श्रेष्ठ

काठमाडौं– नेपाल मेडिकल काउन्सिल (एनएमसी)को रजिस्ट्रारमा डा. सुप्रभात श्रेष्ठ नियुक्त

तोलामा ३ हजार रुपैयाँले बढ्यो सुनको मूल्य, कतिमा भइरहेको छ कारोबार ?

काठमाडौं– स्थानीय बजारमा आज पनि सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी

मधेसका आठ जिल्ला शाखालाई सञ्चार सामग्री हस्तान्तरण

जनकपुरधाम– मधेस प्रदेश सरकारले प्रदेशका आठवटै जिल्लाका नेपाल पत्रकार महासङ्घ

सम्बन्धविच्छेदको चर्चाबीच गोविन्दा-सुनिताको सम्बन्धमा नयाँ ट्विस्ट, आखिर के भयो ?

बलिउडमा कलाकारको फिल्मी करियरसँगै उनीहरूको निजी जीवन सधैँ चर्चाको विषय

राष्ट्र बैंकद्वारा ८५ अर्ब रुपैयाँको निक्षेप संकलन गर्दै

काठमाडौं– नेपाल राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागले वित्तीय बजारबाट ८५