काठमाडौँ- देशका विभिन्न स्थानबाट लागूऔषधसहित १२ जना पक्राउ परेका छन् । काठमाडौं, चन्द्रागिरी नगरपालिका २ देउराली भञ्जाङबाट अवैध लागूऔषध गाँजाजस्तो देखिने वस्तु ८ सय ग्रामसहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा मकवानपुर थाहा नगरपालिका ६ बस्ने २३ वर्षीय निमा स्याङतान र धादिङ थाक्रे गाउँपालिका ७ बस्ने २४ वर्षीय बिरे तामाङ रहेका छन् ।
प्रहरी प्रभाग नागढुंगाबाट खटिएको प्रहरीले धुनीबेशीबाट काठमाडौंतर्फ आउँदै गरेको बा ९१ प ४५९ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार उनीहरूलाई उक्त लागूऔषधसहित फेला पारी पक्राउ गरेको हो ।
त्यसैगरी, ललितपुरको ललितपुर महानगरपालिका १५ बोधिग्रामबाट अवैध लागूऔषध गाँजा ५ केजी ७ सय ६० ग्राम, गाँजाको फूलपातसहित ९ सय १२ ग्राम, पोल्याण्डको धुलो १ किलो ८ सय २० ग्राम, चरेसजस्तो देखिने पदार्थ १ सय ८० ग्राम र नगद २२ हजार ५ सय ९५ रूपैयाँसहित गोरखा थालाजुङ गाउँपालिका घर भई काठमाडौं काडाघारी बस्ने ४० वर्षीया शान्ति रानामगरलाई प्रहरीले पक्राउ गरेको छ । प्रहरी वृत्त सातदोबाटोबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषधसहित फेला पारी पक्राउ गरेको हो ।
यता झापाको दमक नगरपालिका ८ डाँफे चोकबाट अवैध लागूऔषध ब्राउनसुगरजस्तो देखिने पदार्थ २ ग्राम ५ सय मिलिग्रामसहित कमल गाउँपालिका ४ बस्ने ३६ वर्षीय टेकेन्द्र कटुवाललाई प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थसहित फेला पारी पक्राउ गरेको हो ।
यस्तै, कपिलवस्तु, बाणगंगा नगरपालिका ४ सिद्रिपुर बस्ने ४५ वर्षीय दान बहादुर मल्ललाई अवैध लागूऔषध ब्राउनसुगरजस्तो देखिने पदार्थ २ ग्राम १० मिलिग्रामसहित प्रहरीले पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय पिपराबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त पदार्थ फेला पारी उनलाई पक्राउ गरेको हो ।
कैलालीको धनगढी उपमहानगरपालिका ३ त्रिनगर ब्यारेल नजिकबाट अवैध लागूऔषध खैरो हेरोइन १ ग्राम ६ सय २० मिलिग्रामसहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा धनगढी उपमहानगरपालिका २ बस्ने २४ वर्षीया आयुषा बिष्ट र अछाम साफे बगर नगरपालिका ३ बस्ने २४ वर्षीय मुकेश कुँवर रहेका छन् ।
सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढी र प्रहरी चौकी त्रिनगरबाट खटिएको संयुक्त टोलीले उनीहरूलाई उक्त लागूऔषधसहित फेला पारी पक्राउ गरेको हो । साथै उनीहरूको साथबाट सुपप्र ०१००८ प ४६५ नम्बरको मोटरसाइकल समेत प्रहरीले बरामद गरेको छ ।
त्यसैगरी, कैलालीको टिकापुर नगरपालिका ६ बेलुवास्थित सडकबाट अवैध लागूऔषध खैरो हेरोईनजस्तो देखिने पदार्थ ४ ग्राम ८ सय १० मिलिग्रामसहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही नगरपालिका १ बस्ने २९ वर्षीय विशाल ज्ञवाली र सोही ठाउँ बस्ने २६ वर्षीय रोशन सुनार रहेका छन् । ईलाका प्रहरी कार्यालय टिकापुरबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थसहित फेला पारी पक्राउ गरेको हो ।
कञ्चनपुर, लौरी नगरपालिका ४ लक्ष्मीस्विट चोकबाट अवैध लागूऔषध खैरो हेरोईनजस्तो देखिने पदार्थ ८ ग्राम ६० मिलिग्रामसहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा कैलाली धनगढी उपमहानगरपालिका १३ कैलालीगाँउ बस्ने १८ वर्षका दुई जना किशोर रहेका छन् । ईलाका प्रहरी कार्यालय बेलौरीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थसहित फेला पारी पक्राउ गरेको हो ।
सप्तरी, कञ्चनरुप नगरपालिका(७ बालुवा टोल बस्ने ४० वर्षीय उमेश साहलाई अवैध लागूऔषध गाँजाजस्तो पदार्थ १६ किलो ९ सय ३० ग्रामसहित प्रहरीले पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त परिमाणको गाँजा फेला पारी उनलाई पक्राउ गरेको हो ।
प्रतिक्रिया