दिनभर आजमा डच टिमसँग ७ विकेटले हारेपछि विश्वकप खेल्ने नेपालको सपना अधुरै, जसपाका पाँच केन्द्रीय सदस्य निष्कासित, अबको सिर्जना र अनुसन्धान परम्परा धान्नेमा सीमित हुनु हुँदैन, आगामी निर्वाचनमा रास्वपा पहिलो बन्छ, वर्तमान सरकार परिवर्तन हुने सम्भावना छैन, आगामी निर्वाचनमा एमाले एक्लैले १५० सिट ल्याउनेलगायतका समाचारले प्रमुख स्थान पाए ।
यी हुन् आज दिनभरका मुख्य समाचारहरू:
डच टिमसँग ७ विकेटले हारेपछि विश्वकप खेल्ने नेपालको सपना अधुरै
आईसीसी विश्वकप छनोट प्रतियोगितामा नेपाल नेदरल्याण्ड्ससँग ७ विकेटले पराजित भएको छ ।
नेपालले दिएको १६८ रनको सामान्य लक्ष्य नेदरल्याण्ड्सले केबल २७ ओभर १ बलमा ३ विकेट गुमाएर भेट्टायो । नेदरल्याण्ड्सका लागि म्याक्स ओडाउडले सर्वाधिक ९० रन बनाए ।
जसपाका पाँच केन्द्रीय सदस्य निष्कासित
निर्वाचनमा अन्तर्घात गरेको भन्दै जनता समाजवादी पार्टी (जसपा)ले पाँच केन्द्रीय सदस्यलाई निष्कासन गरेको छ ।
जसपाको शनिबार बसेको केन्द्रीय समिति बैठकले केन्द्रीय सदस्य दीपेन्द्र नेम्वाङ, देउकुमार नेम्वाङ, महेन्द्र चौधरी, मनोरञ्जन गोइत र धर्मेन्द्र मरवैतालाई निष्कासन गरेको हो ।
अबको सिर्जना र अनुसन्धान परम्परा धान्नेमा सीमित हुनु हुँदैन : प्रधानमन्त्री
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालमा अबको सिर्जना र अनुसन्धान केवल परम्परा धान्नेमा मात्र सीमित हुन नहुने बताएका छन् ।
नेपाल प्रज्ञा प्रतिष्ठानको ६६ औँ वार्षिक उत्सवका अवसरमा आज काठमाडौंमा आयोजित कार्यक्रममा प्रधानमन्त्रीले उक्त कुरा बताएका हुन् ।
रास्वपामाथि भ्रम छर्ने काम भइरहेको छ : सभापति लामिछाने
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफू र पार्टीका नेताहरूमाथि भ्रम छर्ने काम भइरहेको बताएका छन् ।
शनिबार काठमाडौंमा धादिङ काठमाडौं सम्पर्क विभाग गठन कार्यक्रमलाई सम्बोधन गर्दै लामिछानेले रास्वपा बलियो भएर अघि बढ्ने देखिएपछि काम नगर्ने र कुरामात्रै गर्ने भनेर आफू र पार्टीका नेताहरूमाथि भ्रम छर्ने काम भइरहेको बताएका हुन् ।
उनले आफू र पार्टीले बिभिन्न समयमा धेरै काम गरेको भन्दै ८४ को निर्वाचनमा एक एक हिसाब लिएर जनतामाझ जाने जिकिर गरे ।
यसैबीच राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आगामी निर्वाचनमा आफ्नो पार्टी पहिलो बन्ने दाबी गरेका छन् ।
शनिबार काठमाडौंमा धादिङ काठमाडौं सम्पर्क विभाग गठन कार्यक्रमलाई सम्बोधन गर्दै लामिछानेले आफू र पार्टीले विभिन्न समयमा धेरै काम गरेको भन्दै ८४ को निर्वाचनमा एक एक हिसाब लिएर जनतामाझ जाने जिकिर गरे ।
रास्वपा बलियो भएर अघि बढ्ने देखिएपछि काम नगर्ने र कुरामात्रै गर्ने भनेर आफू र पार्टीका नेताहरूमाथि भ्रम छर्ने काम भइरहेको समेत बताए । नागरिकका मुद्दाहरूमा दह्रो उपस्थिति आफैमा गहन कुरा भएकाले पाँच वर्षको हिसाब ब्याजसहित जनतालाई देखाउने उनको भनाइ छ ।
‘वर्तमान सरकार परिवर्तन हुने सम्भावना छैन’
सत्तारुढ दलका नेताहरूले वर्तमान सरकार परिवर्तन हुने सम्भावना नरहेको बताएका छन् ।
रिपोटर्स क्लब नेपालले शनिबार काठमाडौंमा आयोजना गरेको साक्षात्कारमा उनीहरूले सरकार परिवर्तन हुने कुरा हल्लामात्रै भएको समेत बताएका छन् । साक्षात्कारमा नेकपा (माओवादी केन्द्र) का सचिव डिलाराम आचार्यले तत्काल आफ्नो पार्टीका अध्यक्ष पुष्पकमल दाहालको नेतृत्वको सरकार नढल्ने दाबी गरे ।
आगामी निर्वाचनमा एमाले एक्लैले १५० सिट ल्याउँछ
नेकपा एमालेका सचिव एवं सांसद योगेशकुमार भट्टराईले आगामी निर्वाचनमा एमालेले प्रतिनिधिसभामा एक्लै १५० सिट हासिल गर्ने दाबी गरेका छन् ।
शनिबार सर्लाहीको लालबन्दीमा नेकपा एमाले मधेश प्रदेशस्तरीय प्रचार भेलालाई सम्बोधन गर्दै भट्टराईले मिसन ८४ मा एमालेको ध्यान रहेको भन्दै प्रतिनिधिसभामा १५० सिट हासिल गर्ने दाबी गरेका हुन् ।
चित्त बुझ्नेगरि काम नगरे गठबन्धन फेरिन्छ : गगन थापा
नेपाली कांग्रेसका महामन्त्री गगन थापाले गठबन्धनले चित्त बुझ्नेगरि काम नगरे गठबन्धन फेरिने बताएका छन् ।
शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा उनले गठबन्धन ठीक ढंगले नचले र चित्त बुझेन भने गठबन्धन फेरिने बताएका हुन् । नेपाली कांग्रेसले सरकार छोड्नुपर्छ कि भन्ने डरले चुनावअघि नै गठबन्धन गर्नु गलत भएको उनको भनाइ छ ।
प्रचण्डकै नेतृत्वमा देशले समृद्धिको जग हाल्छ : मन्त्री किराँती:
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’कै नेतृत्वमा देशले समृद्धिको जग हाल्ने सम्भावना रहेको बताएका छन् ।
शनिबार नेपाल प्रज्ञा प्रतिष्ठानको ६६औँ वार्षिकोत्सव कार्यक्रमको पूर्वसन्ध्यामा आयोजित कविता महोत्सवमा उनले यस्तो बताएका हुन् ।
न्याय मर्न दिनु हुँदैन : मुख्यमन्त्री पाण्डे
गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले न्यायाधीशहरूले न्याय सम्पादन निष्पक्ष गरिदिएमा न्याय मर्न नपाउने बताएका छन् ।
मुख्य न्यायाधिवक्ताको कार्यालय गण्डकी प्रदेश स्थापनाको पाँच वर्ष पुगेको अवसरमा आज आयोजित ‘कार्यालयबाट भएका उपलब्धि, चुनौती, अवसर र भविष्य’ विषयक अन्तरक्रियामा उनले भने, ‘न्याय सम्पादन गर्दा दबाबमा भन्दा पनि न्याय मर्न नदिने किसिमबाट न्यायाधीशहरूले न्याय सम्पादन गर्नुपर्छ ।’
कर्णालीका प्रदेशसभा सदस्य खड्का सवार गाडी दुर्घटना
कर्णाली प्रदेशका प्रदेशसभा सदस्य तथा प्रदेश मामिला समिति सभापति कल्याणी खड्का सवार गाडी दुर्घटनामा परेको छ ।
सभापति खड्का चढेको कर्णाली प्रदेश ०२–००१ झ ००४४ नम्बरको सरकारी गाडी दुर्घटना भएको हो ।
नेपालगन्ज उपमहानगरमा एक अर्ब ६७ करोड ५६ लाख बजेट
नेपालगन्ज उपमहानगरपालिकाले सामूहिक बस्ती विकास गर्ने योजना अघि सारेको छ ।
बसोबासलाई व्यवस्थित गर्न रिङरोडको विकाससँगै आसपासका जग्गाको ‘ल्यान्डपुलिङ’मार्फत जग्गा विकास गर्ने योजना उपमहानगरको छ ।
१० स्थानीय तहले ल्याए बजेट, बाँकीको भोलि
आगामी आर्थिक वर्ष २०८०र८१ का लागि ७५३ मध्ये १० स्थानीय तहले बजेट सार्वजनिक गरेका छन् ।
स्थानीय सरकार सञ्चालन ऐनमा स्थानीय तहले प्रत्येक वर्षको असार १० गतेअघि नै वार्षिक बजेट ल्याउनुपर्ने व्यवस्था छ । सोही व्यवस्थाअनुसार हालसम्म १० स्थानीय तहले बजेट सार्वजनिक गरिसकेको सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले जानकारी दिएको छ ।
प्रतिक्रिया