नवलपुरको देवचुलीमा सर्पदंशको उपचार सुरु « Khabarhub

नवलपुरको देवचुलीमा सर्पदंशको उपचार सुरु


१९ असार २०८०, मंगलबार  

पढ्न लाग्ने समय : 1 मिनेट


84
Shares
  • change font
  • change font
  • change font

नवलपुर– नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को देवचुली नगरपालिकामा सर्पदंशको उपचार सुरुआत भएको छ । दुम्कौलीमा रहेको देवचुली नगर अस्पतालमा सोमबारदेखि सर्पदंशको उपचार थालिएको हो । देवचुली नगर अस्पतालमा चौबीसै घन्टा आकस्मिक सेवासहित सर्पदंशको उपचार सेवा सुरु गरिएको अस्पतालका प्रमुख जनस्वास्थ्य अधिकृत चित्रबहादुर सुनारले जानकारी दिए ।

नगर अस्पतालमा उपचार सुरु भएपछि देवचुली नगरवासीलाई सर्पदंश हुनेबित्तिकै उपचारका लागि गैँडाकोट तथा कावासोती जानुपर्ने बाध्यताको अन्त्य भएको उनको भनाइ छ । नवलपुरका पालिकासहित तराईमा सर्पदंशका बिरामीले समयमा उपचार नपाउँदा मृत्युवरण गर्नेको सङ्ख्या बढ्दो छ ।

सर्पदंशबाट हुने मृत्यु न्यूनीकरणका लागि देवचुली नगर अस्पतालमा चौबीसै घन्टा आकस्मिक सेवासहित सर्पदंश उपचार सेवा सुरु गरिएको जनस्वास्थ्य अधिकृत सुनारको भनाइ छ । यदि कसैलाई सर्पले टोकेको अवस्थामा धामीझाँक्री तथा झरफुकमा जान नहुने जनाउँदै उहाँले बिरामीलाई सिधै नगर अस्पतालमा ल्याउनुपर्ने बताए ।

सर्पदंश उपचार सेवा शुभारम्भ कार्यक्रममा नगरप्रमुख हरिप्रसाद न्यौपानेले नगरवासीलाई पूर्णरूपमा स्वास्थ्य सेवा प्रदान गर्न आफूहरूले नगर अस्पतालको सेवा विस्तारमा ध्यान केन्द्रित गरेको बताए ।

उनले गर्मी महिना सुरु भएसँगै सर्पदंशको जोखिम उच्च हुने भएकाले यसबाट जोगिन उच्च सतर्कता अपनाउन आग्रह गरे । नगरपालिकाले नगर अस्पताललाई आवश्यक जनशक्तिसहित चौबीसै घन्टा सञ्चालन गर्न आगामी आर्थिक वर्ष २०८०–८१ का लागि एक करोड १० लाख विनियोजन गरेको उनको भनाइ छ ।

यस वर्षमात्रै जिल्लामा तीन सय ९४ जनालाई विषालु तथा अविषालु सर्पले टोकेका स्वास्थ्य कार्यालय नवलपुरले जनाएको छ । कार्यालयका‘‘फोकल पर्सन’ डिल्लीराम तिवारीका अनुसार जिल्लामा विषालु सर्पले १५ पुरुष तथा १२ महिला र अविषालु सर्पले एक सय ८५ पुरुष तथा एक सय ७७ महिला गरी तीन सय ७२ जनालाई टोकेको छ ।

सर्पले टोकेको ठाउँमा घाउ बन्ने, रगत बग्ने, सुन्निने, रातो हुने, दुख्ने, वाकवाकी लाग्ने, चक्कर आउने, कमजोरी महसुस हुने, टोकेको ठाउँ लाटो हुने वा झमझमाउनेजस्ता लक्षण देखिने तिवारीको भनाइ छ ।

सर्पले डसेको ठाउँलाई चल्न नदिई स्थिर राख्ने, सर्पले टोकेको ठाउँमा काट्ने, चुस्ने बाँध्ने नगर्ने तथा टोकेको ठाउँमा रासायनिक पदार्थ तातो–चिसो प्रयोग नगर्ने र बिरामीको आत्मविश्वास कायम राख्ने गर्नुपर्ने जनाइएको छ ।

प्रकाशित मिति : १९ असार २०८०, मंगलबार  ९ : ३४ बजे

चिसोबाट प्रभावितहरूलाई सहयोग गर्न संयोजक प्रचण्डको आग्रह 

काठमाडौं–  नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मौसममा आएको

प्रदीप पौडेलले महामन्त्रीमा उम्मेदवारी दिने

काठमाडौं– नेपाली कांग्रेस नेता एवं पूर्वमन्त्री प्रदीप पौडेलले पार्टीको १५औँ

धरानबाट करिब १ सय ८० किलो गाँजा बरामद

सुनसरी– धरान उपमहानगरपालिका-६ पानबारी चोकटीबाट बेवारिसे अवस्थामा रहेको गाँजा करिब १ सय

२५ वर्षपछि सुन्धाराको निकास खुल्यो, प्राचीन स्वरूपमा पुनरुत्थान गर्ने वडाको योजना

काठमाडौं– पाशुपत क्षेत्रअन्तर्गत जयबागेश्वरी मन्दिरसँगै रहेको ऐतिहासिक सुन्धाराको बन्द पानी