विश्वभर आज : यस्ता छन् तपाईंले थाहा पाउनुपर्ने अन्तर्राष्ट्रिय घटनाक्रम | Khabarhub Khabarhub

विश्वभर आज : यस्ता छन् तपाईंले थाहा पाउनुपर्ने अन्तर्राष्ट्रिय घटनाक्रम


१४ श्रावण २०८०, आइतबार  

पढ्न लाग्ने समय : 4 मिनेट


72
Shares
  • change font
  • change font
  • change font

आज साउन १४, २०८० या अंग्रेजी क्यालेन्डर अनुसार जुलाई ३०, २०२२ । तपाईँले थाहा पाउनुपर्ने आज संसारभर भएका प्रमुख घटनाहरू यसप्रकार रहेका छन् ।

द्रुत गतिमा गुडिरहेको बसका चालक निदाएपछि‘
पाकिस्तानको पञ्जाब प्रान्तमा द्रुत गतिमा हुँइकिएको यात्रुवाहक बसका चालक निदाउँदा पाँच जनाको मृत्यु भएको छ । घटनामा अन्य २० जना घाइते भएका छन् । दुर्घटनामा तीन जना महिला र दुई जना बालबालिकाले ज्यान गुमाएका छन् ।

पूर्वी पञ्जाब प्रान्तको राजनपुर जिल्लामा आइतबार उक्त दुर्घना भएको जनाउँदै प्रहरीले घाइतेमध्ये धेरैको अवस्था गम्भीर रहेकाले मृतकको सङ्ख्या बढ्न सक्ने बताएको छ । दुर्घटनाबारे जानकारी पाउनेबित्तिकै प्रहरी र उद्धार टोली घटनास्थलमा पुगेर शव र घाइतेलाई नजिकैको अस्पताल पुर्‍याइएको प्रमुख अस्लमले सञ्चारकर्मीलाई बताएका छन् ।

तीर्थयात्री सवार उक्त बस पञ्जाबको दक्षिणी क्षेत्रमा रहेको सुफी संत सखी सरवरको मन्दिरबाट ज्याकोबाबाद जिल्लातर्फ फर्केको थियो । दुर्घटनामा घाइते भएका बस चालकले यात्रा सुरु गर्नुअघि चरेस सेवन गरेको आशङ्का स्थानीय प्रहरीले उनको रगत परीक्षण गराउन आदेश दिएको छ ।

नाइजरमाथि प्रतिबन्ध लगाउने अफ्रिकी नेताहरूको तयारी
पश्चिम अफ्रिकी नेताहरूले नाइजरमा विकसित पछिल्लो घटनाक्रमलाई लिएर चिन्ता व्यक्त गर्दै अपदस्थ निर्वाचित राष्ट्रपति मोहम्मद बाजुमलाई पुनःस्थापना नगरे नाकाबन्दी गर्ने तयारी गरेका छन् ।

गत बुधबार नाइजरका निर्वाचित राष्ट्रपति मोहम्मद बाजुमलाई अपदस्थ गरी राष्ट्रपतिका सुरक्षा प्रमुख जनरल अब्दुरहमाने टियानीले देशको शासन व्यवस्था आफूले सञ्चालन गर्ने घोषणा गरेपछि हुन लागेको पश्चिम अफ्रिकी नेताहरूको असाधारण शिखर सम्मेलनले नाइजरमा लोकतन्त्र बहालीका निम्ति नाकाबन्दी लगाउने तयारी गरेका हुन् । साहेल क्षेत्रमा भएको सैन्य विद्रोहका विरुद्ध रहेका उनीहरूले प्रतिबन्धको घोषणा गर्ने सम्भावना बढेको गएको बताइएको छ ।

लामो समयसम्म नाइजरलाई आफ्नो उपनिवेश बनाएको फ्रान्सले विद्रोहहरूलाई अस्वीकार गर्दै वैधानिक राष्ट्रपति बाजुमलाई पुनःस्थापना गर्न माग गरेको छ । उसले नाइजरलाई प्रदान गरिने सुरक्षा र आर्थिक सहयोग निलम्बन भएको घोषणा पनि गरेको छ । त्यसैगरी युरोपेली सङ्घले पनि सबैखाले सहयोग रोकिएको बताएको छ । राष्ट्रपति बाजुमविरुद्ध यसअघि पनि विद्रोह भएका छन् । अफ्रिकी सङ्घले दुई साताभित्र संवैधानिक सरकार बहाल गर्न नाइजरका जनरलसँग माग गरेको छ । पश्चिम अफ्रिकी राष्ट्रहरूको आर्थिक समुदायले पनि त्यस्तै गर्ने विश्वास गरिएको छ ।

उक्त समुदाय र अन्तर्राष्ट्रिय जगतले लोकतन्त्रको रक्षा गर्न तथा यस क्षेत्रमा लोकतान्त्रिक शासन व्यवस्थालाई सुदृढ बनाउन हरसम्भव प्रयास गर्ने नाइजेरियाका राष्ट्रपति एवम् पश्चिम अफ्रिकी राष्ट्रहरूको आर्थिक समुदायका अध्यक्ष बोला टिनुबुले एक विज्ञप्ति निकालेर बताएका छन् । नाइजरमाथि प्रतिबन्ध लगाउने अधिकार उक्त समुदायमा निहित छ । पन्ध्र सदस्यीय समुदायमा नाइजर पनि एक सदस्य हो ।

आइतबारको नाइजेरियाको राजधानी अबुजामा समुदायको बैठक बस्नुअघि अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनले नाइजरको अवस्थाप्रति गहिरो चासो व्यक्त गर्दै राष्ट्रपति टिनुबुसँगको टेलिफोन वार्तामा त्यहाँ संवैधानिक व्यवस्था पुनर्स्थापना गर्न राष्ट्रपति टिनुबुको निरन्तर प्रयासमा अमेरिकाले सघाउने प्रतिबद्धता व्यक्त गरेका थिए ।

नाइजरका छिमेकी माली र बुर्किना फासोले २०२० यता दुई वटा असफल सैन्य विद्रोह झेलिसकेका छन् । इस्लामिक स्टेट समूह र अल–कायदासँग सम्बन्धित जिहादीहरूद्वारा लामो समयदेखि चलिरहेको विद्रोह अन्त्य गर्न असफल भएकोमा दुबै देशका नागरिक क्रुद्ध छन् ।

जनरल टियानीले पनि जहादीहरूद्वारा लामो समयदेखि चलिरहेको विद्रोह अन्त्य गर्न असफल भएको, भ्रष्टाचार र आर्थिक समस्या बढेका तथा सुरक्षा व्यवस्थामा भएको ह्रासलाई सम्बोधन गर्न सत्ता हातमा लिएको बताएका छन् ।

अफ्रिकी सङ्घ तथा अन्य अन्तरराष्ट्रिय संस्था, नाइजरका सहयोगी जर्मनी संयुक्त राज्य अमेरिका, युरोपेली सङ्घ, फ्रान्सलगायत देशका साथै संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले सैन्य विद्रोहको निन्दा गर्दैै राष्ट्रपति बाजुमलाई अविलम्ब रिहा गर्न आह्वान गरेका छन् ।

भूपरिवेष्टित राष्ट्र नाइजर विश्वकै निर्धनतम राष्ट्रमध्येको एक हो । सन् १९६० मा फ्रान्सबाट स्वतन्त्र भएपछि चारपटक यस्ता विद्रोह भइसकेका छन् । राष्ट्रपति बाजुमविरुद्ध पनि दुई पटक विद्रोह भएको छ

जम्मु कश्मीरमा चेनब पुल बनेसँगै भारतीय सेनाको रक्षा क्षमता बढ्ने
भारतको जम्मु कश्मीरमा विश्वकै सबैभन्दा अग्लो स्थानमा निर्मित रेलवे पुल सञ्चालनमा आउने भएको छ ।

चेनब नदीमाथि निर्मित उक्त पुल विगत १५ वर्षयता निर्माणको चरणमा रहेको छ । यस पुल सञ्चालनमा आएसँगै बारम्बार अस्थीर रहँदै आएको कश्मीर क्षेत्रमा भारतीय सेनाको रक्षा क्षमतामा वृद्धि हुने अपेक्षा गरिएको छ ।

जम्मु कश्मीरको रेयासी जिल्लामा निर्मित यो पुलले बक्कल र कौरीलाई जोड्ने भारतीय सञ्चारमाध्यमले जनाएका छन् । यस पुलको उद्घाटन आगामी डिसेम्बर वा जनवरीमा गरिसक्ने भारतीय रेल मन्त्रालयको लक्ष्य छ ।

यो पुलको उचाई १ हजार १ सय ७८ फिट रहेको भारतीय समाचार संस्था एएनआईले जनाएको छ । यो फ्रान्सको राजधानी पेरिसमा रहेको आइफेल टावरभन्दा २९ मिटर अग्लो हो ।

२५ हजार करोड भारतीय रुपैयाँको लगानीमा निर्मित उधमपुर, श्रीनगर, बरामुल्ला रेल लिंक परियोजनामा यो पुल समावेश रहेको भारतीय सञ्चार माध्यमले जनाएका छन् ।

यो पुलको सबै आवश्यक परीक्षण भइसकेको बताइएको छ । यस पुल सञ्चालनमा आएसँगै बन्दोबस्तीको सामान ढुवानी गर्न सेनाका लागि समयको बचत हुने भारतीय सञ्चार माध्यमले जनाएका छन् ।

जम्मुबाट श्रीनगरसम्म सैनिक बोकेको सवारीलाई १२ घण्टा र बन्दोबस्तीका सामान बोकेको सवारीलाई १६ घण्टा लाग्ने गरेकोमा यो पुल सञ्चालनमा आए तीन घण्टामात्र लाग्ने भारतीय सेनामा बन्दोबस्ती प्रमुखका रुपमा काम गरिसकेका पूर्वमेजर जनरल अमृत पालले जनाएका छन् ।

युक्रेनद्वारा मस्कोमा ड्रोन आक्रमण, विमानस्थल बन्द
रुसको राजधानी मस्कोमा ठूलो ड्रोन हमला भएको छ । एकैपटक धेरै ड्रोन आक्रमण भएपछि मस्कोमा हलचल मच्चिएको थियो । रुसी सेनाले जबाफी कारबाहीमा धेरै ड्रोनहरू खसालेको जनाइएको छ ।

ड्रोन आक्रमणपछि मस्कोमा हवाई यातायात बन्द गरिएको छ । आक्रमणबाट दुईवटा भवनमा क्षति पुगेको जनाइएको छ ।

आक्रमणको जानकारी दिँदै रुसी राजधानीका मेयरले मस्कोमा युक्रेनी ड्रोनले राति हमला गरेको र त्यसमा दुईवटा कार्यालय भवनमा क्षति पुगेको बताए । समाचार एजेन्सी एएफपीका अनुसार सो हमलाबाट मानवीय क्षति भने भएको छैन ।

दुई दिनअघि पनि युक्रेनी ड्रोनले मस्कोमा आक्रमण गर्ने प्रयास गरेको थियो, जसलाई रुसी सेनाले असफल बनाएको थियो । रुसी रक्षा मन्त्रालयले शुक्रबार राति युक्रेनको ड्रोन आक्रमण असफल भएको बताएको थियो ।

थाइल्याण्डमा पटका कारखानामा बिष्फोट हुँदा ९ जनाको मृत्यु
दक्षिणी थाइल्याण्डको एउटा आतिशबाजी कारखानामा विस्फोट हुँदा नौ जनाको मृत्यु भएको छ । घटनामा ११५ भन्दा बढी घाइते भएका छन् ।

स्थानीय सञ्चारमाध्यमका अनुसार नरथिवास प्रान्तको सुङ्गाई कोलोक सहरमा रहेको पटाका कारखानामा विस्फोट भएको हो । अहिलेको अवस्था हेर्दा मृत्यु हुनेको संख्या अझै बढ्न सक्ने विपद् रोकथाम तथा न्यूनीकरण विभागले जनाएको छ ।

यस विष्फोटका सम्बन्धमा सहरका गभर्नर सानन पोंगाक्सर्नले सञ्चारमाध्यमलाई ११५ जना घाइते भएको र धेरैको अवस्था गम्भीर रहेको जनाए । सबैलाई उपचारका लागि अस्पताल भर्ना गरिएको छ ।

दुर्घटनास्थलमा राहत र उद्धार कार्य जारी छ । थप जानकारी दिँदै उनले विष्फोटका कारण बजारमा लागेको आगो अहिले नियन्त्रणमा आएको बताए ।

विस्फोटका सम्बन्धमा गभर्नरले प्रारम्भिक अनुसन्धानका अनुसार पटाखा कारखानामा स्टिल वेल्डिङका क्रममा आगलागी भएपछि विस्फोट भएको हो ।

विष्फोटबाट धेरै पसल, घर र सवारी साधनमा नराम्ररी क्षति पुगेको छ । सो विष्फोटसँग सम्बन्धित एउटा भिडियो सामाजिक सञ्जालमा भाइरल भइरहेको छ । जसमा धुवाँको मुस्लो उठेको देख्न सकिन्छ ।

कोलम्बियाका राष्ट्रपतिका छोरा अवैध सम्पत्ति आर्जनको आरोपमा पक्राउ

कोलम्बियाका राष्ट्रपतिका छोरा निकोलस पेट्रो अबैधरूपमा सम्पत्ति आर्जन गरेको आरोपमा पक्राउ परेका छन् ।

कोलम्बियाका राष्ट्रपति गुस्ताभो पेट्रोले आफ्ना छोरा निकोलसलाई अफ्नो चुनावी अभियानसँग जोडिएको एक घोटालामा अवैध सम्पत्ति आर्जन गरेको आरोपमा पक्राउ गरिएको जानकारी दिएका छन् ।

निकोलस पेट्रोले सन् २०२२ मा आफ्ना पिताको सफल राष्ट्रपतीय अभियानका लागि लागुऔषध तस्कर र अन्य तस्करहरूबाट ठूलो रकम लिएको र त्यसको प्रयोग उत्तरी शहर ब्यारान्क्विलामा विलासितामा बस्नका लागि प्रयोग गरेको आरोप लागेको थियो ।

अभियोजकहरूले राष्ट्रपतिका छोरा पेट्रोलाई अवैध रूपमा सम्पत्ति आर्जन गरेको र यसको अवैध संवर्धनको आरोपमा पक्राउ गरिएको पुष्टि गरेका छन् ।

यो प्रकरण सार्वजनिक भएदेखि राष्ट्रपति पेट्रोले देशका शक्तिशाली कोकिन मालिकहरूबाट पैसा प्राप्त गरेको आरोपहरूको खण्डन गर्दै आएका थिए। उनी आफैंले आफ्नो छोरामाथि छानबिन गर्न आग्रह गरेका थिए।

निकोलस पेट्रो उत्तरी एटलान्टिक विभागमा आफ्नो पिताको पार्टीको लागि सांसद थिए ।

प्रकाशित मिति : १४ श्रावण २०८०, आइतबार  ७ : ५९ बजे

गाउँबाट फर्केपछि

उ गाउँ हेरेर शहर फर्किएको छघरभरी लागेका माकुराका जालोउम्रिरहेका वनमाराका

पत्रकारिताको विकासले पारदर्शिता सुनिश्चित गर्छ : स्वास्थ्यमन्त्री

डुम्रे– स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले पत्रकारिताको विकासले पारदर्शिता सुनिश्चित

विद्युत् चुहावट १२ प्रतिशतमा झर्‍यो

काठमाडौं– नेपाल विद्युत् प्राधिकरणले चुहावटलाई उल्लेख्य रूपमा घटाउन सफल भएको

खोलानालामा आवश्यक वातावरणीय बहाव कम भएकामा जलस्रोतविद्हरूको चिन्ता

काठमाडौं – जलविद्युत् वा सिँचाइका लागि नदी तथा खोलाको पानी

क्यालिफोर्निया आगलागीमा लुटपाट बढेपछि कर्फ्यु

क्यालिफोर्निया– अमेरिकी राज्य क्यालिफोर्नियामा भएको आगलागी ५ दिन बितिसक्दा पनि